१६ असार २०७८, बुधबार ०९:५७ – Page 3 – Nagarikabhiyan : National News

युरोकप: स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

एजेन्सी । स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे ।

स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यार्मोलेन्कोको पासमा जिन्चेन्को गोल गरेका थिए ।

तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याए । उनले इसाकको पासमा गोल गरे ।

यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ । यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराएर यस अघि नै अन्तिम आठमा पुगिसकेको छ ।

सिरहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सिरहा । सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

स १ त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए ।

पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजुद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए । माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।

देशभर भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरको मौसम बुधबार सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविदले बताएका छन् । तराई भू-भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम थप प्रभावित भएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।यसैबिच पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

आफैले चलाएको कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए । उक्त सडक खण्डमा नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसँग जानकारी नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

डाेटी । जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ /७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भपतन सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, समस्या परेको खण्डमा गरिने उक्त सेवा अस्थायी साधनका रुपमा प्रयोग गरिए महिलाको स्वास्थ्यमा नै असर पर्ने निकै सम्भावना छ ।” पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रूपमा प्रयोग हुन थालेका कारण यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।

जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन सेवा लिने बानी खासै राम्रो होइन, जिल्लामा गर्भवतनको गलत नजीर बसेको छ, यसले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ ।”

चालु आवमा २० वर्षमुनिका २८ महिलाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९६६ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको भने रेकर्ड राखिएको छैन । निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ ।

गत आवमा २० वर्षमुनिका ४९ र २० वर्षमाथिका ९८२ किशोरी तथा महिलाले गर्भपतन गराएका थिए । यस आव सकिन अझै एक महिना बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्ने जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।

गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका वरिष्ठ अनमी विधि भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भपतन गराउनुमा पुरुष बढी दोषी छन्, आफू असुरक्षित यौन सम्पर्क गर्ने अनि बच्चा बसे महिलालाई गर्भपतन गर्न दबाब दिने गरेका कारण जिल्लामा समस्या उत्पन्न भएको हो ।” असुरक्षित गर्भ रोकिए निजी मेडिकलबाट समेत औषधि किन्ने, औषधि खाएर गर्भपतन गर्ने र औषधि असरले उच्च रक्तस्राव हुँदै पछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफूअनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।

असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ ।

सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ । नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

आज २०७८ आषाढ १६ गते बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । खाद्यान्न लगाएत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

सेभ द सप्तरीले धान दिवस मनाईयो

राजविराज। १८ औं राष्ट्रिय धान दिवसको अवसरमा आज बिभिन्न ठाउमा धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराकासाथ धान दिवस मनाइएको छ ।
छिन्नमस्ता गाउापालिका र तिलाठी कोइलाडी गाउापालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीको आयोजनमा जिल्लाको छिन्नमस्ता गाउापालिका वडा नं. ७ का श्री लक्षमी कषक समूहको सहकार्यमा धान रोपाई दिवस मनाइएको छ ।
सो अवसरमासेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधिमैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कृषकलाई सहुलियत दिन गाउापालिकाले विगत वर्षहरुदेखि नै धान, गहुा, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउादै आएको बताउादै कृषकलाई आत्मनिर्भर बनाए मात्र समृद्धि ल्याउन सकिने उहााले बताउनुभयो ।
यस्तै सेभ द सप्तरीको आयोजनामा दिनाराम भद्री कृषक समुह तिलाठी कोइलाडी ४ का सहकार्यमा धान रोपाई कार्यक्रमको आयोजना गरेको हो ।
तिलाठी कोइलाडी गाउापालिकाले वडा नं. ४ स्थित खेतमा धान रोपेर दिवस मनाइएको हो । प्रत्येक साल असारमा मनाईने राष्ट्रिय धान दिवस रोपाई दहिचुरा खाएर मनाउने गरेको सेभ द सप्तरीका कृषि प्राबिधिक राम कुमार साहले बताउनुभयो ।
सो क्रममा कृषि विकास शाखा कार्यालय प्रमुख राना प्रताप सिंह, अधिकृत शिवानंद मिश्रा ,घिन्मस्ता ७ का डबलुसिपिसि भुपेन्द्र यादवको उपस्थित रहेको थियो ।
यसैगरी सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव,सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,फिल्ड अधिकृत संतोष यादव,सत्यनारायण थारु, बिदया मंडल,कृषि प्राबिधिक रामकुमार साह,समुदायिक परिचालक मुनेश्वर मुखिया ,चमपालाल शर्मा, सुपरभाइजर भुपेन्द्र सदा,लेखा सहयक रुपेश मंडल, लगायतका उपस्थित रहेको थियो ।

भोक्राहा नरसिंहमा धान रोप्दैँ मनाइयो धान दिवस

इनरुवा । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ राष्ट्रिय धान दिवसको नारा सहित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय धान दिवस मनाइएको छ ।
असार १५ गते मंगलबार भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र कृषि शाखा प्रमुख रेनुका चौधरीले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.१ स्थित किसानहरुको खेतमै गएर धान रोपेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी र कृषि शाखा प्रमुख रेनुका गाउँपालिकाबाट सवेरै किसानको खेत पुगे, उनीहरुले किसानहरुलाई धान रोप्दैँ देखेपछि मन पग्लियो, झट् गाडीबाट बाहिर निस्कियो, किसानहरुले रोप्दै गएको धान खेत तिर लाग्यो, उनीहरुपनि धान खेतमा एक्कासी धान रोप्न थाल्यो, धान रोप्दैँ गरेको किसान सहित धान रोप्न आएको मजदुर चकित भए ।
धान रोप्दैँ गरेको किसान सहित धान रोप्न आएको मजदुर भने वाह, आज तँ हामी भाग्यशाली छौँ क्या ?
ज्यालामजदुरमा आएका एक जनाले भने उनीहरुपनि किसानको छोरी भएकोले सजिलै हामीसँग सँगै धान रोप्यो आज हामी पनि खुशी भएको बताए ।
गाउँपालिकाको कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा प्रमुख चौधरीले धान रोप्दै गरेको थाहाँ पाएपछि भोक्राहा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उमेश कुमार मेहता धान रोप्दैँ गरेको स्थानमा आफु हेर्नका लागि पुगेको बताए ।
मेहताले भने धान दिवसमा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी र कृषि शाखा प्रमुख रेनुकाले किसानहरुसँग हिलोमै धान रोप्न आउँदा किसानहरुको मनोवल अझ उच्च भएको महसुश गरेको बताए ।
हुनत् हो , किसानहरुको मनोवल उच्च किन नहुनु ? भोक्राहा नरसिंह गाउँपालिकाको कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा प्रमुख चौधरी जस्तो व्यक्ति किसानको खेतमा सँगै पुगेर धान रोप्दा किन मनोवल उच्च नहुनु उनले भने ।
प्रायःजसो जनप्रतिनिधि र कर्मचारी हिलोमा धान रोप्न जादैनन् बरु सेल्फी खिचाउन र समाजिक सञ्जालमा धान रोप्दैँ गरेको फोटो हाल्न मात्र खेतमा जाने गर्छन । तर भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा चौधरी किसानकै खेतमा गएर मजदुरसँगै धान रोप्दा किसानहरु खुशी भएको भोक्राहा किसान कृषि सहकारी संस्थाका अध्यक्ष मेहताले जानकारी दिए ।
यता आर्थिक वर्ष २०७९ ÷०७८ मा भोक्राहा नरसिंह गाउँपालिकामा धान उत्पादनमा वृद्धि गर्नका लागि विभिन्न सहकारी संस्थाहरु मार्फत किसानहरुलाई उन्नत जातको धानको बिउ समेत वितरण गरिएको छ ।
भने कोरोना भाइरसका कारण भोक्राहा नरसिंह गाउँपालिकामा बजेट अभावमा कारण यस आर्थिक वर्ष धान दिवस मनाउन कुनै किसिमको बजेट विनियोजन नगरिएको र किसानकै खेतमा गएर धान दिवस मनाइएको कार्यवाहक अध्यक्ष मेहताले जानकारी दिइन् ।
उता अगामी आर्थिक २०७८÷०७९ का लागि कृषि क्षेत्रमा अनुमानित ९५ लाख रुपैयाँ विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्कायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले रुपा सुनारमाथि भएको जातीय विभेदको घटनामा सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काएकाे बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता थापाले नेपाली समाजमा जातीय विभेद अपवादमा हुने घटना नभएको भन्दै उत्पीडनमुक्त र समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताए ।

उक्त घटनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेको बताए । थापाले भनेका छन्, ‘जातीय विभेदलगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको यो गुरुत्तर दायित्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शन गर्न आवश्यक नठानेको बुझिन्छ ।’

सञ्चारकर्मी रुपा सुनारले जातीय विभेदकै आधारमा आफूलाई कोठा नदिएको घटना सार्वजनिक गर्नुका साथै घरबेटी सरस्वती प्रधानविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरेर अनुसन्धान अघि बढाए पनि चार दिनपछि मन्त्री कृष्णगोपाल श्रेष्ठ उनलाई रिहा गराउन प्रहरी कार्यालयमा नै पुगेका थिए ।

जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्नेतर्फ सचेत हुनुपर्ने नेता थापाले बताए । ‘यस्तो हुन नदिन विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने भएको छ’ उनले भने ।

संविधानले भेदभावलाई दण्डनीय मानेको र त्यस अनुसार कानुन पनि बनेको भन्दै थापाले जातीय विभेदको कुनै पनि घटनामा निष्पक्ष रूपमा संविधान र कानूनको यो प्रबन्ध कार्यान्वयन गर्नु राज्यको निर्विकल्प दायित्व हुने पनि बताएका छन् ।

विभेदको अन्त्य गर्न जातीय विभेदका घटनामा संलग्न व्यक्ति वा संस्थालाई सजाय दिनुका साथै विभेदका घटनालाई आर्थिक सामाजिक मुद्दाको रुपमा पनि हेर्नुपर्ने थापाको भनाइ छ ।

‘सरकारले जातीय विभेदलाई न्यायालयबाट हुनुपर्ने निरूपणको विषयसँगै आर्थिक, सामाजिक मुद्दाको रूपमा पनि हेर्नु पर्छ र सोही अनुसार निरन्तर सम्बोधन गरिरहनु पर्छ,’ उनले भने । विभेदको घटनामा प्रवेश गर्नेबित्तिकै सामाजिक सद्भाव खलबलिने नभई बरु यस्तो घटनालाई लुकाउनेरपन्छाउने गऱ्यो भने मानवीय र सद्भावयुक्त समाज कहिल्यै बन्न नसक्ने उनले बताए ।

दृष्टिबाट

स्थानीय तहको निर्वाचनको चार वर्ष पुरा , अधिकाशं निर्वाचीतहरु पुनः दोहर्याउने दाउमा

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित १२ वतै स्थानीय तहमा निर्वाचन सम्पन्न भएको चार वर्ष पुरा भएको छ । यहाँ निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले पहिलो कार्यकाल सिकाईमा वित्ने भएकाले अर्को निर्वाचनमा पनि आफै उम्मेदबार बन्ने दाउमा लागेका छन् ।
निर्वाचनमा इनरुवा १ नम्बर वडा अध्यक्षमा निर्वाचित रामचन्द्र पौद्धार पुन चुनाव लडने तयारीमा रहुभएको छ भने एमालेबाट पराजीत कानुन अधिकारी, जनता समाजवादी पार्टीबाट अभिनन्द यादव पनि चुनावी तयारीमा लाग्नुभएको छ । इनरुवा २. नम्बर वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव र सदस्य रन्जेश भट्टराई पनि वडा अध्यक्षको तायरीमा जुटेका छन् । एमालेबाट चिनेश्वर मेहताले समेत वडा अध्यक्षमा लड्ने तयारी गर्नुभएको छ । मेहता हाल पशु स्वास्थ्यकर्मी भएकाले सेवामा लागेको भन्दै चुनावको बेलामा राजीनामा दिएर चुनावी मैदानमा आउने पारिवारिक स्रोतले जनाएको छ । इनरुवा ३. नम्बर वडा अध्यक्ष कालुराम गुरुगं , सदस्य, कृष्ण पोखरेल, सरोज बराल र नेता विदुर सुवेदी समेत वडा अध्यक्षको उम्मेदबार बन्ने इक्छा जाहेर गरेको पार्टी स्रोतले जनाएको छ । इनरुवा ४. नम्बर वडा अध्यक्ष श्यामदेव मेहता समेत पुनः दोहोरयाउने दाउमा हुनुहुन्छ भने सदस्य विष्णु उराँवको पनी चर्चा वडा अध्यक्षका लागि चलेको छ । इनरुवा ५. नम्बर वडा अध्यक्ष अन्जनी कुमार पोखरेलले पुनः वडा अध्यक्षमै उम्मेदबार हुने दाउमा हुनुहन्छ । भने एमालेबाटै युवा नेता अधिकारकर्मी मेघराज न्यौपानेले पनि वडा अध्यक्षको उम्मेदबारको तयारी गर्दै हुनुहुन्छ । न्यौपानेले वलाहा क्षेत्रमा आफूलाई सबैले मन पाउने भएको र मतदान समेत गर्ने भएकाले आफू वडा अध्यक्षको उम्मेदबारी दिने तयारी स्वरुप एक वष अघिबाटै घरदैलौ , नागरिकभेटघाट कार्यक्रम सुरु गरेको बताउनुहुुन्छ । नेपाली काग्रंसबाट खेमराज पोखरेलकै चर्चा रहेको छ । इनरुवा ६. नम्बर वडा अध्यक्ष कोषराज अधिकारी पनि दोहोरयाउने दाउमा हुनुहुन्छ भने वडा सदस्य पुण्यवती शिवाकोटी, राजु दाहाल, हेमनाराय चौधरीको नाम पनि चर्चामा आएको छ । इनरुवा ७. नम्बर वडा अध्यक्ष किशोर कुमार सिहं पनि दोहोर्याउने दाउमा हुनुहुन्छ । एमालेबाट बनु चौधरी सहितको नाम चर्चामा छ । इनरुवा ८ नम्बर वडा अध्यक्ष रविन्द्र प्रसाद मण्डल पनि दोहोरयाउने बताउनुभएको छ । मण्डलले आफूले चार वर्षसम्ममा गरेको कामबाट नागरिकलाई आफूप्रति सन्तुष्टी रहेको र बाकी रहेको एक वर्षे कार्यकालमा थप काम गर्ने र घोषणा पत्रमा उल्लेख गरिएको कुराहरु थप पुरा गर्न वडाबासीले नै दोहोरयाउन भनेकाले पुनः वडा अध्यक्ष बन्ने बताउनुभयो । एमालेबाट अकोश साहले पनि कसरत जारी राखेका छन् । उता इनरुवा ९ नम्बर वडा अध्यक्ष बसिरमुदिन मंसुरी पनि दोहोरयाउने मनस्थितीमा रहेको छ । यहाँ एमालेबाटै सोयव खाँ ,कमल भौर, पुरानो नेता बलराम यादव, युवा नेता यदुनन्दन यादवको नाम पनि चर्चामा रहेको छ । त्यसतै नेपाली काग्रेंसबाट पराजीत कृष्णदेव मेहता, नेता हरि मेहता, बिन्दा साह, लक्ष्मी चौधरीको नाम पनि चर्चा रहेको छ । उता इनरुवा १० नम्बर वडा अध्यक्ष महमद सुल्तान मिँया र रमिद मिँयाको नाम चर्चा रहेको छ । त्यसैगरी नेपाली काग्रंसबाट महमद खलिल अख्खतरको नाम चर्चामा आएको छ । इनरुवा नगरपालिकामा नगर प्रमुख राजन मेहता पनि दोहोरयाउने तयारी गर्नुभएको छ । मेहताले आफ्नो कामबाट नगरबासी सन्तुष्ट रहेकाले दोस्रो कार्यकालका लागि अगामी निर्वाचनमा मेयरमै लड्ने तयारीमा रहेको बताउनुभएको छ । उपप्रमुख जमुना गौतम पनि मेयरका लागि कसरत गरिरहनुभएको छ । काग्रेंसमा हालसम्म अर्को उम्मेदबारको चर्चा नभएपनि तत्कालिन फोरम लोकतान्त्रिकबाट काग्रेंसमा समायोजन भएका नेता बौवालाल मेहता, हरिलाल मेहताले पनि मेयरमा इक्छा जाहेर गरेका छन् । नेकपा एमालेबाट पोष्टकुमार नेपाल, इन्द्र पोखरेल, पर्शुराम यादव, रामप्रसाद मेहताको नाम पनि चर्चामा आएको स्थानीयहरुले बताएका छन् । जनता समाजवादी पार्टीबाट दिलिप साहको नाम पनि मेयरका लागि चर्चामा आएको छ । नेकपा माओवादी केन्द्रबाट ओके दाहाल, तोया गिरी समेतले इक्छा जाहेर गरेको पार्टी स्रोतले जनाएको छ । यो आर्थिक वर्ष चुवानी वर्ष समेत हुने भएकाले आर्थिक वर्ष २०७८।७९का लागि बजेट पनि चुनावी अभियानमुखी ल्याएको केहीको प्रतिकृया छ ।

किर्ते कागजात तयार पारी सवारी कारोबार गर्ने पक्राउ

काठमाडौं ।  महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारी साधका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।
ग.३ च. १४६२ र प्रदेश ३ – ०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरी कारोबार गर्ने कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो । त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ ।

निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरु, होलो ग्राम, लाईसेन्स, राहदानी लगायत सरकारी लिखितहरु समेत बरामद भएको महाशाखा प्रमुख खापुङले बतए ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए ।

प्रदेश १ मा ४२९ जना नयाँ संक्रमित थपिए, ४६३ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४२९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ ।

सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना देखिएको छ ।

झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बाह्रदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १–१ जनामा कोरोना देखिएको छ ।

खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र तेह्रथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले छलफलमा बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो । उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

आफूमाथि निराधार आरोप : चौधरी

सुनसरीको रामधुनी नगरपालिका ६ की वडा सदस्य लक्ष्मी चौधरीले आफूमाथि निराधार आरोप लगाएर मिडियाबासी भएको भन्दै प्रतिवाद गर्नुभएको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै वडा सदस्य चौधरीले वडाबासी तथा पत्रकारहरुलाई सम्बोधन गर्नुहुदै केही दिनयता आफ्नो नाम जोडेर आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ । केही सिमित व्यक्ति र मिडियाले सही कुरा नबुझी, तथ्यको गहिराई नै नबुझीकन एकतर्फी रुपमा आफूलाई बदामान गर्न, व्यक्तिगत चरित्र हत्या र राजनीतिक प्रतिसोध साध्नका लागि राहत वितरण प्रकरणमा अनियमितता र भ्रष्टचार विषयमा नाम जोडेर आएको सूचना, भिडियो, प्रकाशित तथा प्रसारित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै झुठो प्रचारको निन्दा पनि गर्नुभएकोछ । हालै केही अनलाईन र एफएममा वडा सदस्य लक्ष्मी चौधरीले हिनामिना गरेको आरोप लगाएकोमा त्यो पूर्ण त झुठो आरोप, निराधार र कलोकल्पित तथा भ्रमात्मक मात्र भएकाले त्यसको पछि नलाग्न अपिल पनि गर्नुभएको छ । चौधरीले आफूले नगरपालिकाको नियम, ऐन, कानुन र नगर सभाबाट पास भएको कार्यक्रमहरु, योजना र बजेटलाई आर्थिक नियमालि समेतलाई ध्यानमा राखी पारदर्शि रुपमा नै गरेको सबैमा जानकारीका लागि अनुरोध पनि गर्नुभएको छ । सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ मा विपन्न वर्गकालागी ल्याइएको राहत सामग्रीमा अनियमितता भएको भन्दै आएको समाचार पनि निराधार, प्रमाणहिन र तथ्यहिन रुपमा आएको चौधरीको दावी छ । वडा अध्यक्ष , अन्य सदस्यहरु र वडा सचिव समेतको संलग्तनामा भएको काम कार्वाही र राहत वितरणसम्मको काममा वडा समितिका सबैको सहमती, हस्ताक्षर र योजनामा काम भएकोमा मेरो मात्रै नाम जोडेर एकतर्फी तथ्याहिन, कलोकल्पित, भ्रमात्मक, महिला जनप्रनिधि भएकोले अपमान समेत गरी राजनीतिक र व्यक्तिगत चरित्र हत्यासम्मको प्रयास गरेर समाचार आएकोमा त्यसको निष्पक्ष छानबिनको माग गर्दछु सेमत विज्ञप्तीमा भनिएको छ ।
वहाँले पत्रकारहरु, नागरिक समाज तथा मानवअधिकारकर्मीहरुलाई आफू अन्यायमा परेकाले न्यायको लागि पहल गरिदिनुहुन अनुरोध पनि गर्नुभएको छ । वहाँले यस वडामा हिनामिना गरेको आरोप निराधार र कलोकल्पित तथा भ्रमात्मक भएकाले त्यसको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ । अनावश्यक कुरा उठाएर राजनीतिक प्रतिसोध साध्नका लागि निराधार भष्टाचार गरेको अरोप लगाएकाले त्यो पुष्टी गर्न चुनौती पनि दिनुभएको छ । आफूहरुले अनिमियता नगरेको बरु पूर्ण रुपमा वडाबासी नागरिकको पक्षमा सक्रिय भएर काम, कार्वाही र कार्यक्रम गर्दै आएको, वडामा विकासको निर्माण कार्य गर्दै आएको बताउनुभयो । उता छानवीनमा सहयोग गर्ने समेत बताउनुभएको छ । वहाँले पराजीत सदस्यहरुलाई पनि समितिमा राखेकाले प्रतिसोध साध्ने काम हुन सक्ने भएकाले माथिल्लो निकायबाटै निष्पक्ष , स्वतन्त्र र तटष्थ भएर छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।

कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पहिले कारवाहीमा परेका ११ नेताहरुलाई निम्ता दिइएको छैन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पहिले कारवाहीमा परेका ११ नेताहरुलाई निम्ता दिइएको छैन ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका कारवाहीमा परेका बाहेक केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

यसरी निम्ता नपाउनेहरुमा बरिष्ठ नेता माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जना रहनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएको थिएन ।

नेकपा एमालेको उक्त बैठकले २०७५ जेठ २ कै संरचनामा फर्काउने तयारी गरेको छ। वरिष्ठ नेता नेपाल पक्षको बटमलाइन पार्टीको संरचना पूर्ववत् अवस्थामा फर्काउनु पर्ने रहेको छ।

सर्वोच्च अदालतले समेत महाधिवेशन आयोजक कमिटीलाई वैधानिक निकाय मान्न नसकिने भन्दै उसले गरेका निर्णय उल्टाइदिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष तत्कालीन केन्द्रीय कमिटी नै ब्यूँताउन तयार भएको हो।

पार्टी एकताका विषयमा भइरहेका अनौपचारिक संवादमा नेपाल पक्ष सहमत भइसकेको छैन। यस्तो अवस्थामा बोलाइएको उक्त बैठकमा केही नेपाल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी हुने अपेक्षा ओली पक्षको छ।

बुधबारको बैठकका लागि अजेन्डा तय गर्न मंगलबार बेलुकी ५ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ।