कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पहिले कारवाहीमा परेका ११ नेताहरुलाई निम्ता दिइएको छैन
१५ असार २०७८, मंगलवार १७:०९
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पहिले कारवाहीमा परेका ११ नेताहरुलाई निम्ता दिइएको छैन ।
बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका कारवाहीमा परेका बाहेक केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
यसरी निम्ता नपाउनेहरुमा बरिष्ठ नेता माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जना रहनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएको थिएन ।
नेकपा एमालेको उक्त बैठकले २०७५ जेठ २ कै संरचनामा फर्काउने तयारी गरेको छ। वरिष्ठ नेता नेपाल पक्षको बटमलाइन पार्टीको संरचना पूर्ववत् अवस्थामा फर्काउनु पर्ने रहेको छ।
सर्वोच्च अदालतले समेत महाधिवेशन आयोजक कमिटीलाई वैधानिक निकाय मान्न नसकिने भन्दै उसले गरेका निर्णय उल्टाइदिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष तत्कालीन केन्द्रीय कमिटी नै ब्यूँताउन तयार भएको हो।
पार्टी एकताका विषयमा भइरहेका अनौपचारिक संवादमा नेपाल पक्ष सहमत भइसकेको छैन। यस्तो अवस्थामा बोलाइएको उक्त बैठकमा केही नेपाल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी हुने अपेक्षा ओली पक्षको छ।
बुधबारको बैठकका लागि अजेन्डा तय गर्न मंगलबार बेलुकी ५ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया