प्रदेश २ मा चट्याङ लागेर एकैदिन ५ जनाको ज्यान गयो, तीन घाइते – Nagarikabhiyan : National News

प्रदेश २ मा चट्याङ लागेर एकैदिन ५ जनाको ज्यान गयो, तीन घाइते

जनकपुरधाम । प्रदेश २ मा एकैदिन चट्याङ लागेर पाँच जनाको ज्यान गएको छ ।

मंगलबार बिहान चट्याङ लागेर पर्सामा तीन र महोत्तरीमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुासार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । यादव भैंसी चराउन गएका थिए ।

यसै गरी बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको डीएसपी खनालले जनाए । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जनाए ।

खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रहेका अन्य ३ जना सामान्य घाइते भएका छन् ।

त्यसैगरि मनरासिसवा नगरपालिका वडा नं ४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैयाका ८० वर्षीय विशेश्वर राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।जनकपुर प्रेस

उनका अनुसार प्रमिला देवी घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।