एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधवबाहेक असन्तुष्ट खेमाका सबै नेता पार्टीमा फर्कने
१५ असार २०७८, मंगलवार १३:५४
काठमाडौँ । नेकपा एमालेले दसौँ महाधिवेशन आयोजक कमिटी भंग गर्ने भएको छ । यस कमिटीले गरेका कारवाहीलाई अदालतले मान्यता नदिएको र असन्तुष्ट खेमाले पनि पार्टी एकताको मुख्य सर्त बनाएको कारण प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्न तयार भएका हुन् ।
आज एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । त्यही बैठकबाट यो संरचना भंग गरी ०७२ जेठ २ को संरचना ब्युँताउने निर्णय हुनेछ । यो निर्णयपछि असन्तुष्ट खेमातिर लागेका सबैजसो नेता कार्यकर्ता पार्टीमा फर्केर आआफ्नो भूमिकामा सक्रिय हुने भएका छन् ।
संस्थापनको यो तयारीलाई असन्तुष्ट खमाका नेताहरुले सकारात्मक भनेका छन् । यो अवस्थामा माधव नेपाल पनि पार्टीमा पर्किने उनीहरुको दावी छ । तर, नेपालनिकट स्रोतका अनुसार ओलीले एकदमै धेरै अपमान र गालीगलौज गरिरहेकाले उनी फर्किने सम्भावना कम छ । नेपालसँगै भीम रावल पनि पार्टी बस्ने सम्भावना कम रहेको बुझिएको छ । उनीहरु पुष्पकमल दाहाल प्रचण्डसँग मोर्चा बनाएरै जानुपर्ने पक्षमा छन् ।
सु
रेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरे लगायत प्रभावशाली नेताहरु एमालेमा फर्किने निश्चित भएको छ ।
असन्तुष्ट खेमाबाट लालबाबु यादव, शेरबहादुर तामाङ, गणेश पहाडी, उषाकला राई, विष्णु रिजाललगायत यसअघि नै संस्थापक्षमा उभिइसकेका छन् । रामकुमारी झाँक्रीलगायत ओलीप्रति आक्रामक नेताहरु पनि पार्टीको मूल धार नछाड्ने निर्क्योलमा पुगेको बुझिएको छ । झाँक्री घनश्याम भुसाल, योगेश भट्टराई र ठाकुर गैरेलगायतको पूर्वमाले समूहमा रहेकाले उनीहरु सबैजना एमालेमा रहने निर्णयमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा लागेर विपक्षी कांग्रेसका नेता शेरबहादुर देउवाको समर्थनमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये करिब २० जना एमालेमै फर्किने भएका छन् ।pathivara daily एमालेको यस निर्णयले विपक्षी देउवाको प्रधानमन्त्रीमा दावी कमजोर हुने भएको छ । अदालतमा बुझाएका १ सय ४६ सांसदमध्ये २० जनाले फिर्ता लिने, अरु कतिपयको दावी शंशयपूर्ण रहने र पार्टीबाट कारवाहीमा पर्ने सम्भावना भएकाले देउवाको दावीले अदालतबाट मान्यता पाउन मुस्किल भएको हो ।
पूर्वमाओवादी के गर्लान् ?
एमालेको दसौँ महाधिवेशन कमिटी भंग र २०७५ जेठ २ अघिको संरचना ब्युँताउने निर्णयले पूर्वमाओवादी नेताहरु केही समय बाहिरै पर्ने भएका छन् । उनीहरुले बाहिरै बसेर पार्टी एकताका पक्षमा योगदान गर्ने बताएका छन् । पुरानो संरचनाअनुरुपको केन्द्रीय समितिको बैठक बसेपछि पूर्वमाओवादी लगायत अन्य नेताहरुको पनि कार्यविभाजन हेरफेर तथा समायोजन गर्ने तयारी संस्थापन पक्षको छ । योसँगै स्थायी समितिलगायत अन्य संरचनामा पनि पद मिलान नयाँ ढंगले हुनेछ । यसैका निम्ति विधान संशोधनको काम पनि भइरहेको छ ।
महाधिवेशन के होला ?
एमालेभित्रको यो परिवर्तित राजनीतिले महाधिवेशन भने थप अन्योलमा परेको छ । सम्भवत: आगामी मंसिरका लागि घोषणा गरिएको महाधिवेशन अब टरेको छ ।
नयाँ ढंगले कमिटीहरु पुन:संरचना गर्ने, जिम्मेवारी हेरफेर गर्ने र सदस्यता पनि अद्यावधिक गर्ने कामले प्राथमिकता पाउनेछ । माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा बादल पक्षका कति सदस्य प्रवेश गर्छन् र उनीहरुलाई कति संगठित सदस्य दिने भन्नेमा केही समय खर्च हुने आकलन । त्यसमाथि आमनिर्वाचन भयो भने महाधिवेशन स्वत: पर धकेलिनेछ । असन्तुष्ट खेमा त्यागेर एमालेमा समाहित हुने नेताहरुले पनि महाधिवेशन केही समय पर धकेल्न चाहेका छन् । आफ्नो तयारीका लागि पनि उनीहरुले विलम्ब चाहेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया