प्रदेश २ सहित देशभर बुधवारबाट अझै भारी वर्षा हुने
१४ असार २०७८, सोमबार १४:४२
जनकपुरधाम । आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।
योसँगै प्रदेश २ सहित देशभर भिषण वर्षा हुने भएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए। उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ।
यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया