११ बैशाख २०७८, शनिबार ०४:२८ – Page 9 – Nagarikabhiyan : National News

जापानमा फेरि किन लाग्यो सङ्कटकाल

काठमाडौ । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ ।

प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो ।

एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ ।

महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ ।

बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ ।

सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् ।

विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् । एजेन्सी

राजनीतिक दलका नेताहरुलाई लाग्दैन कोरोना ?

काठमाडौं । स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमा राजनीतिक दलका नेताहरु पनि उत्तिकै अग्रपंक्तिमा छन् ।

कोभिड-१९ ले रोग, भोक,उमेर, वर्ग,जाती,पार्टी, धर्म केहि छुट्याउँदैन तर पनि स्वास्थ्य मापदण्ड पालना नगरेको आधारमा जुनसुकै पार्टी दलका अध्यक्ष देखि तल्लो तहका कार्यकर्तासम्म उत्तिकै कार्यक्रममा व्यस्तता छन् ।

नेपालमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै, सरकारको निर्देशन, स्वास्थ्य मापदण्डको धज्जी उडाउँछन् । गत मंगलबार अघिल्लो दिन आँफैले जारी गरेको आदेशको अवज्ञा गर्दै बालुवाटारमा दर्जनौं मानिस सहभागी गराउँदै प्रधानमन्त्रीले धार्मिक अनुष्ठान गर्नुभयो । जनताले मात्रै पालना गर्नुपर्ने तर आफूले पालना नगर्नुपर्ने जस्तो गरी प्रधानमन्त्री निवास बालुवाटारमा २५ जना भन्दा बढि मानिस भेला गरी सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरी कार्यक्रम गरियो । नेकपा एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री ओली थापाथली जानुभयो। त्यहाँ पनि सयौँ नेता कार्यकर्ता सहभागी थिए ।

माधव कुमार नेपाल पनि कोरोना भाइरसको उत्तिकै जोखिममा छन् । गत मंगलबार माधव पक्षीय सांसदहरु काठमाडौंको बानेश्वरमा घण्टौ एक साथ भेला भए । बिहिबार विहान पनि नेपाल पक्षका नेताहरु फेरि भेट गर्दै लामो समय एकसाथ समय बिताए । यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि २५ भन्दाबढी नेताकार्यकर्ताको भेलाहरुमा सहभागी भइरहेका छन् ।

सरकारले कोरोनाको जोखिम रहेको भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिन्छ अनि सरकार सञ्चालन गर्नेहरु नै त्यसको उल्लंघन गर्दै हिडिरहेका छन् । सार्वजनिक भेला गर्न समेत निषेध गरेपनि तिनै नेताहरु सार्वजनिक कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना नगरी सहभागी हुँदा नेताहरुमा संक्रमण हुने र ज्यान जोखिममा पर्ने समेत बढेको छ ।

मंगल ग्रहमा रहेकोे कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन सफल

काठमाडौ ।  मंगल ग्रहमा रहेकोे कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिलाई
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रयोग गरेर सफलता हासिल गरेको छ ।

मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो।

नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ।

मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ। साथै नासाले बिहीवार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ।

गत सोमवार पृथ्वी बाहेकको ग्रहमा नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्यूटीले इतिहास बनाएको थियो।

हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन्। यी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रुअरीमा मङ्गल ग्रहमा पुगेका थिए।

हेलिकप्टर जस्तै मोक्सी यन्त्रको पनि थप परीक्षणहरू गरिने छन्।

मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड छ र अक्सिजन ०.१३ प्रतिशत मात्रै छ जुन पृथ्वीको हावामा भएको २१ प्रतिशत अक्सिजनभन्दा निकै कम हो।

मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो।

बाँकी एक अणु कार्बन र एक अणु अक्सिजन मिलेर बनेको कार्बन मोनोअक्साइड त्यसले त्यहाँको हावामा छोडिदिएको छ।  बीबीसीको सहयोगमा

आज थप २,५५९ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ६४ नमुना परीक्षण गर्दा २ हजार पाँच सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पीसीआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन परीक्षणद्वारा १ सय १० जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४ सय १० जना संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ छ । पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणद्वारा पाँच जनाको मृत्यु भएको छ ।

अन्धभक्त मिडिया –  हजार जमाती “मानव बम” र लाखौं कुम्भ सहभागी “श्रद्धालु”

काठमाडौ । भारतको उत्तराखण्डमा हरेक १० वर्षमा कुम्भ मेला लाग्ने भएको छ । १ अप्रिलबाट हरिद्वारमा सुरु भएको कुम्भ मेला ३० अप्रिलमा सकिँदै छ ।

सो मेलामा लाखौँ मानिस कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी उपस्थित भएका छन् । तर आजभोलि भारतमा दैनिक दुई लाख भन्दा बढी कोभिड-१९ को संक्रमण पुष्टि हुँदै गइरहेका छन । भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलसहित भ्रमण दलका सदस्यहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

यतिबेला भारतका मिडिया, सामाजिक सञ्जालमा दुई वटा तस्विर देखिँदै आएका छन्- पहिलो कोभिड-१९ ले आक्रान्त समाज र त्यसले निम्त्याएको पीडा भने अर्को उत्सव जहाँ लाखौँ मानिसहरु धर्मको नाममा गंगामा डुबुल्की मारिरहेका छन् । हरिद्वारको कुम्भ मेलामा १० अप्रिल देखि १४ अप्रिलको पाँच दिनमा मात्र एक हजार ७०१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार यस घटनाप्रति भारतीय देशका कुनै राजनीतिक नेतृत्वलाई चिन्ता छैन ।
देशका विभिन्न ठाउँमा लकडाउनका कारण प्रवासी कामदार पलायन हुन थालेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमै मानिस उपचार नपाएर मृत्युवरण गरिरहेका छन् ।
कोभिड-१९ को महामारी बढ्दै जाँदा संक्रमण फैलाउने डर पनि कसैलाई देखिँदैन। यसलाई उनीहरुले कुनै अपराध मानेका छैनन्। उनीहरु मान्छन् कि यो कुम्भ मेलामा सहभागी माथि पुन्यको कृपा वर्षाइरहेका छन् । वर्षौँसम्म नयाँ चिकित्सक उत्पादनमा योगदान पुर्‍याएका चिकित्सक पनि अन्तिम समयमा अस्पतालमा चिकित्सकीय सेवा नपाइ मृत्युवरण गरेका घटना पनि सार्वजनिक भएका छन् । मोदी भने अर्कोतिर पश्चिम बंगालको चुनावी अभियानमा लागिरहेका छन् ।

अब कहानी १ वर्ष अगाडिको र अहिलेको तुलना :

गत वर्ष दिल्लीमा भएको तबलिगी जमातमाथि कोभिड-१९ संक्रमण फैलाउने ‘मानव वम’ को संज्ञा दिएको थियो । जसमा त्यहाँका मिडिया, राजनीतिक कर्मी, सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले अल्पसंख्यक मुस्लिम समुदायमाथि प्रहार गर्दै सामाजिक बहिस्कार सम्म गरेका थिए। मेनस्ट्रिम मिडियाले मुस्लिम समुदायमाथि ‘मानव बम’को संज्ञा समेत दिएका थिए ।

राज्य, शक्ति र सत्ताले कसरी अल्पसंख्यक माथि प्रहार गर्छ ? कसरी आरोप लगाउँछ ? भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा आयोजना गरिएको एक धार्मिक सभाबाट कोभिड-१९ को संक्रमण फैलिएको आशंका गरिएसँगै बंगलेवाली मस्जिद समेत भनिने निजामुद्दिन मरकजमा आयोजित सभामा १ हजार भन्दा धेरै मानिस सहभागी भएको सभामा पुगेका २४ जनामा भाइरसको संक्रमण देखिएपछि उनीहरु माथि तालिवानी भएकोसम्म आरोप लाग्यो । त्यही भारतमै आजभोलि जहाँ ‘पवित्र स्नान’ का नाममा लाखौँ मानिस गंगामा स्नान गरिरहेका छन् । तर भारतीय मिडियाहरुले उनीहरुलाई श्रद्धालुको संज्ञा दिइरहेका छन्। उनीहरुले गंगाको पानीमा आफ्नो पाप पखालिरहेका छन् जबकी कोभिड-१९ को संक्रमणको ग्राफले हरेक दिन रेकर्ड तोडिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यू’ घोषणा गरेको अघिल्लो दिन धेरै संख्यामा मानिस मस्जिदमा भेला भएका थिए । भारतीय प्रहरीका अनुसार उक्त सभामा भारतीयसँगै २ सयभन्दा बढी विदेशी नागरिक समेत सामेल भएका थिए। सभामा १९ जना नेपाली नागरिक समेत सहभागी भएका थिए। नेपालसँगै मलेसिया, म्यान्मार, अफगानिस्तानका नागरिक समेत त्यहाँ पुगेका थिए। तर, कोभिड-१९ को ग्राफ उकालो लाग्दै गर्दा हरिद्वारमा लागेको कुम्भ मेला भने त्यही जमातका लागि श्रद्धालुको भीड बनेको छ। उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले हरिद्वारको कुम्भ मेलालाई गत वर्ष दिल्लीको निजामुद्दिन तबलिगी जमातसँग तुलना गर्न नमिल्ने दाबी गरेको बीबीसीले जनाएको छ। उनले त्यतिवेला जमातमा सहभागी एउटा बन्द कोठामा रहेको र कुम्भ मेलामा सहभागी खुला आकासमा रहेको भन्दै सुरक्षित रहेको दाबी गर्दै आएका छन्। ‘यहाँ त गंगा बगिरहेको छ। मा गंगाको प्रवाह र आशीर्वादले कोरोनाको संक्रमण टाढा रहने छ। मा गंगाले यसलाई फैलिने दिने छैनन्। त्यसैले जमातसँग यसलाई तुलना गर्ने प्रश्न आउँदैन्,’ उनले भनेका थिए।

गत वर्ष अप्रिलमा नै कैयौँ मिडियाले दिल्लीको जमातलाई निसाना बनाउँदै ह्यासट्यागको ट्रेन्डिङ चलाएका थिए- कोरोना जिहाद भन्दै। मार्चको २५ तिर जब भारत भर कोभिड-१९ को संक्रमण २५० को हाराहारीमा थियो त्यतिवेला भाजपाका आइटी सेलका अमित मालवीयले नजामुद्दिनमा तबलिगी जमातमा मानिस भेला हुनु अपराध भएको भन्दै आलोचना गरेका थिए। त्यस्तै १४ अप्रिलमा ट्वीट गर्दै उनले दिल्लीका मुख्यमन्त्रीलाई निसाना लगाउँदै कोभिड-१९ नियन्त्रणमा असफल भएको आरोप लगाएका थिए ।

अन्तर्राष्ट्रिय मिडियामा कुम्भ मेलालाई लिएर भारतीय सरकारको आलोचना भइरहँदा त्यसतर्फ भारत सरकार सचेत भएको देखिँदैन। अर्कोतिर केही संख्यामा संक्रमण देखिँदा अल्पसंख्य मुस्लिम समुदायमाथि मानव बमको आरोप लगाइरहेका भारतीय मिडिया लाखौँ संक्रमित बढ्दै जाँदा कुम्भ मेला ‘सुपर स्प्रेडर’को रुपमा अगाडि आउँदा अझै उनीहरुलाई श्रद्धालुको नजरमा हेरिरहेका छन्। जतिखेर तबलिगी जमातको मामिला बाहिर आएको थियो मिडियाले एक किसिमको हिंसा फैलाउने अवस्था सिर्जना गरेका थिए। पछिल्लो समय पनि कैयौँ धार्मिक मेला आयोजना भएका छन्। तर, धर्म परिवर्तन हुँदा उनीहरुको चश्मा बदलिन्छ। हिन्दुका पर्व आउँदा उनीहरुको बचाउ गर्न लाग्छन्।” यो कुम्भ मेला अल्पसंख्यक मुस्लिम समुदायको कुनै सानो धार्मिक भेला पनि हुन्थ्यो त उनीहरु यतिवेला आतकंवादी करार भइसक्ने हुन्थ्योहोला। बीबीसीले उल्लेख गरेका छन् ।

बालुवाटारमा एमालेको बैठक जारी

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् ।

आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ ।

एप्पलसँग ह्याकरले मागे ६ अर्ब फिरौति

ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौति माग गरेको छ ।

कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यतिधेरै फिरौति माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् ।

समाचार अनुसार उक्त ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको छ र यो घटना एप्पलका भविष्यका प्रडक्टहरुसँग जोडिएको छ । किनकी ह्याकरहरुले एप्पलका आसन्न प्रडक्टहरु सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको बताइएको छ ।

एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम REvil l  हो । उक्त ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरुसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ ।

एप्पलले मंगलबार आयोजना गरेको वसन्तकालीन समारोह अगाडि नै उक्त घटना भएको थियो र सो ग्रुपलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटाहरु प्राप्त भएका थिए ।

ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए । तर क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न सुरु गरे । डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरुले यस विषयमा खुलासा गरेका छन् ।

एप्पलमाथि दबाब बढाउनका लागि REvil l  ह्याक गरेका एप्पल प्रडक्टसँग सम्बन्धित डाटाहरुको तस्वीर पोष्ट गर्न सुरु गरेको थियो । त्यसमा कूल २१ वटा स्क्रिनशट थिए, जसमा हालै रिलिज भएको नयाँ आइम्याकका बारेमा पनि विभिन्न जानकारीहरु थिए ।

आइम्याकका अलावा ह्याकरलेM1 MacBook Air को डिजाइन पनि लिक गरेका छन् । साथै एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरुले लिक गरेका छन् । स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । जसमा लेखिएको छ( यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ ।

आगामी मे १ अगाडि सम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौति नपाएसम्म दिनहुँ एप्पलका नयाँ नयाँ डाटा सार्वजनिक गर्दै जाने Revil ले चेतावनी दिएको छ । एजेन्सी

 

लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौँ । मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र भीडभाड हुने कार्यक्रम जारी राखेको छ । जसका कारण कोरोना संक्रमण तीव्र रुपमा फ़ैलिने हुनाले चिकित्सकले लकडाउन गर्न सुझाव दिएको छ ।

उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजन डा. विमल पाण्डेका अनुसार अब कम्तिमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिदैन । सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौति हुने स्थिति रहेको वीर अस्पतालका चिकित्सक डा. अच्युत कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए ।

जसपामा आन्तिरक कलह,पार्टी फुटको संघारमा !

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) आन्तरिक कलहका कारण फुटको संघारमा पुगेको छ । सत्तारुढ दल नेकपा एमाले जसतै जसपा प्रष्ट रुपमा दुई भागमा विभाजित भएको छ ।

सोमबार लुम्बिनी प्रदेशमा नाटकीय रुपमा सरकारमा सहभगी भएपछि जसपाभित्रको आन्तरिक कलह छरपष्ट भएको हो । सोमबार बिहान काँग्रेस र माओवादी केन्द्रसँग सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केहि घण्टामा जसपाका चार सांसद सरकारमा सहभागी हुदै मन्त्री बनेका थिए ।

जसपा सांसद सन्तोष पाण्ड भौतिक पूर्वाधारमन्त्री, विजयकुमार यादव भूमि व्यवस्था तथा कृषि मन्त्री बनेका छन् भने कल्पना पाण्डे शिक्षा तथा समाजिक विकास मन्त्री बनेकी छन् । त्यस्तै सुमन शर्मा रायमाझीले राज्यमन्त्रीको शपथ लिएकी छन् ।

लुम्बिनी प्रदेश प्रकरण अघि पनि जसपामा दुई कित्ता प्रष्ट रुपमा देखिदै आएको छ । गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा राजनीतिक दल बिभाजन समबन्धि अध्यादेश ल्याएपछि रातारात तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी बनेको थियो ।

त्यसपछि नै जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउमा देखिएका छन् ।

ठाकुर पक्षले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा रहेर सरकारमा जान आफ्ना माग पुरा गराउने कसरतमा लागि रहेका छन् । यस बीच सरकार र जसपाको ठाकुर पक्षले कार्यदल नै बनाएर माग पुरा गर्ने गृहकार्य अहिले पनि भइरहेको छ ।

लुम्बिनी प्रकरणपछि पनि ठाकुर र महतोले मंगलबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर थप छलफल गरेका छन् । सो भेटमा प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षले अगाडी सारेका मागहरु एक दुई दिन भित्र पुरा गर्ने बचन दिएको नेताहरुले बताएका छन् । जसपा नेता ठाकुरले ओलीसँग औपचारिक सहमति नगरेर नै आफ्ना माग पुरा गर्ने र ओलीको विरोध नगर्ने रणनिति अपनाएका छन् । उनले सार्बजनिक कार्यक्रमहरुमै आफुले ओलीको विरोध नगर्ने बताएका छन् । उनले अहिले सरकारमा ओली रहेकाले आफ्ना माग पुरा गराउन उनीसँग वार्ता गरिरहेको बताएका छन् । यसरी जसपाको ठाकुर पक्षले ओलीलाई सरकारमा नगएर बाहिरबाट नै समर्थन गर्ने वातावारण बन्दै गएको नेताहरुले खरीबोटसँगको कुराकानीमा बताएका छन् । अहिले पार्टीले सरकारमा जाने निर्णय गर्ने अवस्था नरहेकोले सरकारलाई समर्थन गर्ने रणनितिमा ठाकुर पक्ष रहेको देखिएको छ ।

जसपाकै अर्को पक्ष यादव र भट्टराई भने ओली सरकारलाई जसरी पनि हटाउन अहिलेपनि सक्रिय रुपमा लागि रहेको बेला जसपाको भविष्य नै अन्योलमा परेको छ । शिर्ष नेताहरु नै विपरित दिशामा लागिरहेकाले अब जसपा विभाजन उन्मुख देखिएको छ । सत्तारुढ दल एमाले भित्रको राजनीतिक लडाई जारी रहेका बेला जसपामा पनि विभाजनको आगो सल्किएको छ । लुम्बिनी घटनाले यसको औपचारिक शुरुवात भएको छ ।

सरकार बनाउने र समर्थन गर्ने विषयमा पार्टीको केन्द्र अनिर्णित भएपछि अब नेताहरु, सांसदहरु आफूखुशी निर्णय गर्दै सरकारमा जाने र विरोध गर्ने गरिरहेका छन् ।

एउटा राजनीतिक दल वैचारिक रुपमा यति धेरै विचलित र विपरित ध्रुवमा जान सक्छ भन्ने उदाहरण अहिले जसपाले देखाएको छ ।

राजनीतिक दल भित्र वैचारिक रुपमा फरक मत भएपनि महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेर पार्टी एक दिशामा हिड्नुपर्ने अभ्यास विपरित खुलेआम दुई पक्षमा लागेर जसपाले आफ्नो राजनीतिक विचलन देखाएको छ ।

यसरी राजनीतिक रुपमा यसरी विचलित हुनुभन्दा पार्टी अलग अलग भएर प्रष्ट राजनीतिक कार्यदिशाका साथ अगाडी बढेर सकारात्मक राजनीतिक संदेश दिनु नै सहि हुने देखिन्छ । हरेक दिन गुटको बैठक, फरक फरक कार्यदिशा, एकै समितिका नेताहरुको फरक फरक लाइन देखाएर राजनीति प्रति नै वितिष्णा जगाउने खेल कहिले बन्द हुन्छ । यो रोग एमालेमा पनि देखिएको छ । काँग्रेसमा पनि दुई पक्ष स्पष्ट रुपमा भए पनि संस्थागत रुपमा काँग्रेस आफुले निर्णय गरेर अगाडी बढ्ने प्रणालीलाई अहिलेसम्म कायम राखेको छ ।

बाँकेमा भयावह बन्दै कोरोना संक्रमण अस्पतालमा बेड अभाव

काठमाडौं ।  बाँकेमा सक्रिय संक्रमितको संख्या बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल एक हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।  यीमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन रहेका छन्। अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ। तर, दुबै अस्पतालका बेड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको हो। भेरी अस्पतालमा उपचाररत ४६ र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २९ कोरोना संक्रमितको अवस्था जटिल रहेको बताइएको छ।

भेरीमा संक्रमितका लागि बनाइएको १४२ वेड पूर्ण रुपमा भरिएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डा प्रकाश थापाले बताए। हरेक दिन ३ सयभन्दा बढी संक्रमित पुष्टि भइरहेको भन्दै उनले नयाँ बिरामीको उपचारका लागि बेड नभएको बताए। ‘स्थिति नियन्त्रण बाहिर गइसक्यो। अस्पतालका सबै बेड भरिएका छन्,’ उनले भने, ‘जटिल प्रकारका बिरामी आउने क्रम जारी छ। त्यसैले हरेकले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी देखिन्छ।’

संक्रमणको स्थिति नियन्त्रण बाहिर गएकाले अस्पतालमा बिरामीले उपचार पाउने अवस्थाबाट बन्चित भएको बताउँदै उनले अस्पताल प्रशासनले मात्र केही गर्न नसक्ने दुखेको गरे। दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बाँकेका स्थानीय तहले जिम्मेवारपूर्ण भूमिका नखेलेको समेत टिप्पणी हुन थालेको छ।

यता, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा पनि बिरामी भरिएका छन्।  शिक्षण अस्पतालमा रहेको ३० बेडको कोभिड आइसियु पूर्ण रुपमा भरिएको छ। पछिल्लो समय कडा खालका लक्षण भएका बिरामी आउने क्रम जारी रहेकाले तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर थप गर्नुपर्ने अस्पतालका सहायक निर्देशक डा नितेश कनोडियाले बताए।

उनले संक्रमण नियन्त्रणका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र लकडाउन गर्नुको औचित्य नभएको टिप्पणी गरे। ‘स्थिति निकै भयाभह भइरहेको छ,’ उनले भने,‘बाँके मात्र होइन यो क्षेत्रमै कडा लकडाउन गरिहाल्नुपर्छ। उपमहानगरपालिका भित्रको लकडाउन पनि फितलो छ। यसरी संक्रमण रोक्न थप समस्या हुने देखिन्छ।’

तत्काल कडा लकडाउन गरी सिमानाकामा कडाइ, उपचारका लागि जनशक्ति, अक्सिजनसहितको बेड बढाउन उनले आग्रह गरे।

 

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव समुहमाथि कार्वाहीसहित यस्ता छन चार एजेण्डा

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन र राजनीतिक प्रतिवेदन, समसायिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

आन्तरिक विवादले पार्टी विभाजन उन्मुख बनिरहेको समयमा सत्तारुढ नेकपा एमालेको बैठकलाई महत्वपर्ण रुपले हेरिँदै आएको छ। कर्णालीमा ‘फ्लोर क्रस’को आत्मघाती रोग एमालेमा देशव्यापी फैलिने सन्त्रास छ। नेता नेपालको नेतृत्वमा देशैभरी समानान्तर संरचना बनिरहेका छन्। नेपाल समुह समानान्तर कमिटीको नाममा पार्टी बिभाजनतिर लागेपछि अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ३२ सांसदलाई ‘किन नहटाउने ?’ भन्ने स्पष्टीकरण सोध्नुभएको छ । सवै सांसदबाट स्पष्टीकरण जवाफ आइसकेकाले सो विषयमा पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ।

गत सोमबारको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही दिनको बैठकले माधव समूहलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय निर्णय गरेको थियो। नेपाल पक्षका नेताले बुधबार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको १४ बुँदे मागसहितको रिटमा आफूहरूलाई गर्न लागिएको निष्कासनको कारवाही बदर गर्न भनिएको छ। आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल नेपाल समूहले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको हो। सो निवेदनमाथि आइतबार पेशी तोकिएको छ।

यसबीचमा अध्यक्ष ओली रनिलम्बित नेता नेपालबीच दुई पटक भेटबार्ता भएपनि फलदायी बन्न सकेको छैन । बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले अर्का नेता बामदेव गौतमसँग पनि छलफल गर्नुभएको छ । बिहीबार साँझै प्रधानमन्त्री ओली र वामदेव गौतमबीच पनि भेटवार्ता भएको हो । दुवै नेतासँगको भेटमा अध्यक्ष ओलीले आफू पार्टीलाईउकतावद्ध रुपमा अघि बढाउन चाहेको तर गुटबन्दी स्वीकार्य नहुने बताइ सक्नुभएको छ । प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत हुनुहुन्छ ।

यस्तै मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरूलाई स्पष्टीकरण सोधिएको छ। कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ। जनता टाइम्सबाट

आ-आफ्नै बाटो लागे ओली र माधव नेपाल

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने पारा नल्याएपछि दुवैले आ–आफ्नै सुर गर्ने भएका छन् । राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका हुन् ।

भेटघाटपछि कान्तिपुरसँग नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए । ‘हामीले पार्टी बचाउन जोड गरेका हौं तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो । अबको भेटघाट र छलफलको कुनै टुंगो छैन ।’

यी दुई नेताहरूबीच बुधबार भएको संवादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए । नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए ।

नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए ।

त्यही बिन्दुबाट बिहीबार संवाद थालनी गरेका नेताहरूबीच छलफल हुँदै जाँदा थुप्रै पटक नोकझोक भयो । नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए । लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

रोयल च्यालेन्जर्स बैंगलोरले निकाल्यो सानदार जित  

काठमाडौ ।  ईन्डियन प्रिमियर लिग (आईपीएल) को गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले  सानदार जित निकालेको छ ।

बेंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्न सफल भयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ रोजेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । बेंगलोरको जितमा ओपनर देवदत्त पाडिक्कलले शतक प्रहार गरे । उनी ५२ बलमा ११ चौका र ६ छक्का सहित १ सय १ रनमा अविजित रहे । यस्तै, कप्तान विराट कोहली ७२ रनमा अविजित रहे ।

राजस्थानका लागि शिवम दुबेले. सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै, राहुल टेवाटियाले ४० रन, रियान परागले २५ रन तथा कप्तान सन्जु सामसनले २१ रन जोडे । बलिङमा बेंगलोरका मोहम्मद शिराज र हर्षल पटेलले समान ३÷३ विकेट लिए । यस्तै,काइल जामिसन, केन रिचर्ड्सन र वासिन्टन सुन्दरको नाममा १–१ विकेट रह्यो ।

योसँगै लगातार चौथो जित निकालेको बैंगलोर अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । बैंगलोरले ८ अंक जोडेको छ । पराजित राजस्थान पुछारमा छ ।

शुक्रबार बिहानै भारतको विरारस्थित कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु

भारत।  मुम्बईमा एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन ।

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । एजेन्सीको सहयोगमा

गम्भीर प्रकृतिका संक्रमित बढे, आईसीयू र भेन्टिलेटर अभाव

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् ।

– एकैदिन २ हजार ४ सय २८ मा संक्रमण
– १ सय ७० आईसीयू र ५९ भेन्टिलेटरमा
– संक्रिय सक्रमित १२ हजार ६ सय ९०

गण्डकी प्रदेशमा २ सय ४३ आईसीयू शय्या र ६७ वटा भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र ९० भेन्टिलेटर छन् । कर्णाली प्रदेशमा ३४ आईसीयू शय्या र १२ भेन्टिलेटर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३७ आईसीयू शय्या र २७ भेन्टिलेटर छन् ।

त्यस्तै, देशभर हाल २ सय २९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना आईसीयू, बाग्मती प्रदेशमा ६७ आईसीयू र ४१ भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ आईसीयू र १४ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आईसीयूमा उपचाररत छन् ।

सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना उपचार हुने काठमाडौं उपत्यकाको १२ अस्पतालमा गरी ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा तथा ३ सय ९६ जना आइसोलेसनमा छन् ।

हाल ११ हजार ६ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, बिहीबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर २ लाख ९२ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित निको भइसकेका छन् । देशभर सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० जना पुगेको छ । ८१ क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै व्यक्ति स्वयं सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइमा ध्यान दिन अनुरोध गरिँदै आएको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।