बाँकेमा भयावह बन्दै कोरोना संक्रमण अस्पतालमा बेड अभाव – Nagarikabhiyan : National News

बाँकेमा भयावह बन्दै कोरोना संक्रमण अस्पतालमा बेड अभाव

काठमाडौं ।  बाँकेमा सक्रिय संक्रमितको संख्या बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल एक हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।  यीमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन रहेका छन्। अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ। तर, दुबै अस्पतालका बेड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको हो। भेरी अस्पतालमा उपचाररत ४६ र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २९ कोरोना संक्रमितको अवस्था जटिल रहेको बताइएको छ।

भेरीमा संक्रमितका लागि बनाइएको १४२ वेड पूर्ण रुपमा भरिएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डा प्रकाश थापाले बताए। हरेक दिन ३ सयभन्दा बढी संक्रमित पुष्टि भइरहेको भन्दै उनले नयाँ बिरामीको उपचारका लागि बेड नभएको बताए। ‘स्थिति नियन्त्रण बाहिर गइसक्यो। अस्पतालका सबै बेड भरिएका छन्,’ उनले भने, ‘जटिल प्रकारका बिरामी आउने क्रम जारी छ। त्यसैले हरेकले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी देखिन्छ।’

संक्रमणको स्थिति नियन्त्रण बाहिर गएकाले अस्पतालमा बिरामीले उपचार पाउने अवस्थाबाट बन्चित भएको बताउँदै उनले अस्पताल प्रशासनले मात्र केही गर्न नसक्ने दुखेको गरे। दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बाँकेका स्थानीय तहले जिम्मेवारपूर्ण भूमिका नखेलेको समेत टिप्पणी हुन थालेको छ।

यता, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा पनि बिरामी भरिएका छन्।  शिक्षण अस्पतालमा रहेको ३० बेडको कोभिड आइसियु पूर्ण रुपमा भरिएको छ। पछिल्लो समय कडा खालका लक्षण भएका बिरामी आउने क्रम जारी रहेकाले तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर थप गर्नुपर्ने अस्पतालका सहायक निर्देशक डा नितेश कनोडियाले बताए।

उनले संक्रमण नियन्त्रणका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र लकडाउन गर्नुको औचित्य नभएको टिप्पणी गरे। ‘स्थिति निकै भयाभह भइरहेको छ,’ उनले भने,‘बाँके मात्र होइन यो क्षेत्रमै कडा लकडाउन गरिहाल्नुपर्छ। उपमहानगरपालिका भित्रको लकडाउन पनि फितलो छ। यसरी संक्रमण रोक्न थप समस्या हुने देखिन्छ।’

तत्काल कडा लकडाउन गरी सिमानाकामा कडाइ, उपचारका लागि जनशक्ति, अक्सिजनसहितको बेड बढाउन उनले आग्रह गरे।