जसपामा आन्तिरक कलह,पार्टी फुटको संघारमा ! – Nagarikabhiyan : National News

जसपामा आन्तिरक कलह,पार्टी फुटको संघारमा !

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) आन्तरिक कलहका कारण फुटको संघारमा पुगेको छ । सत्तारुढ दल नेकपा एमाले जसतै जसपा प्रष्ट रुपमा दुई भागमा विभाजित भएको छ ।

सोमबार लुम्बिनी प्रदेशमा नाटकीय रुपमा सरकारमा सहभगी भएपछि जसपाभित्रको आन्तरिक कलह छरपष्ट भएको हो । सोमबार बिहान काँग्रेस र माओवादी केन्द्रसँग सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केहि घण्टामा जसपाका चार सांसद सरकारमा सहभागी हुदै मन्त्री बनेका थिए ।

जसपा सांसद सन्तोष पाण्ड भौतिक पूर्वाधारमन्त्री, विजयकुमार यादव भूमि व्यवस्था तथा कृषि मन्त्री बनेका छन् भने कल्पना पाण्डे शिक्षा तथा समाजिक विकास मन्त्री बनेकी छन् । त्यस्तै सुमन शर्मा रायमाझीले राज्यमन्त्रीको शपथ लिएकी छन् ।

लुम्बिनी प्रदेश प्रकरण अघि पनि जसपामा दुई कित्ता प्रष्ट रुपमा देखिदै आएको छ । गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा राजनीतिक दल बिभाजन समबन्धि अध्यादेश ल्याएपछि रातारात तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी बनेको थियो ।

त्यसपछि नै जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउमा देखिएका छन् ।

ठाकुर पक्षले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा रहेर सरकारमा जान आफ्ना माग पुरा गराउने कसरतमा लागि रहेका छन् । यस बीच सरकार र जसपाको ठाकुर पक्षले कार्यदल नै बनाएर माग पुरा गर्ने गृहकार्य अहिले पनि भइरहेको छ ।

लुम्बिनी प्रकरणपछि पनि ठाकुर र महतोले मंगलबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर थप छलफल गरेका छन् । सो भेटमा प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षले अगाडी सारेका मागहरु एक दुई दिन भित्र पुरा गर्ने बचन दिएको नेताहरुले बताएका छन् । जसपा नेता ठाकुरले ओलीसँग औपचारिक सहमति नगरेर नै आफ्ना माग पुरा गर्ने र ओलीको विरोध नगर्ने रणनिति अपनाएका छन् । उनले सार्बजनिक कार्यक्रमहरुमै आफुले ओलीको विरोध नगर्ने बताएका छन् । उनले अहिले सरकारमा ओली रहेकाले आफ्ना माग पुरा गराउन उनीसँग वार्ता गरिरहेको बताएका छन् । यसरी जसपाको ठाकुर पक्षले ओलीलाई सरकारमा नगएर बाहिरबाट नै समर्थन गर्ने वातावारण बन्दै गएको नेताहरुले खरीबोटसँगको कुराकानीमा बताएका छन् । अहिले पार्टीले सरकारमा जाने निर्णय गर्ने अवस्था नरहेकोले सरकारलाई समर्थन गर्ने रणनितिमा ठाकुर पक्ष रहेको देखिएको छ ।

जसपाकै अर्को पक्ष यादव र भट्टराई भने ओली सरकारलाई जसरी पनि हटाउन अहिलेपनि सक्रिय रुपमा लागि रहेको बेला जसपाको भविष्य नै अन्योलमा परेको छ । शिर्ष नेताहरु नै विपरित दिशामा लागिरहेकाले अब जसपा विभाजन उन्मुख देखिएको छ । सत्तारुढ दल एमाले भित्रको राजनीतिक लडाई जारी रहेका बेला जसपामा पनि विभाजनको आगो सल्किएको छ । लुम्बिनी घटनाले यसको औपचारिक शुरुवात भएको छ ।

सरकार बनाउने र समर्थन गर्ने विषयमा पार्टीको केन्द्र अनिर्णित भएपछि अब नेताहरु, सांसदहरु आफूखुशी निर्णय गर्दै सरकारमा जाने र विरोध गर्ने गरिरहेका छन् ।

एउटा राजनीतिक दल वैचारिक रुपमा यति धेरै विचलित र विपरित ध्रुवमा जान सक्छ भन्ने उदाहरण अहिले जसपाले देखाएको छ ।

राजनीतिक दल भित्र वैचारिक रुपमा फरक मत भएपनि महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेर पार्टी एक दिशामा हिड्नुपर्ने अभ्यास विपरित खुलेआम दुई पक्षमा लागेर जसपाले आफ्नो राजनीतिक विचलन देखाएको छ ।

यसरी राजनीतिक रुपमा यसरी विचलित हुनुभन्दा पार्टी अलग अलग भएर प्रष्ट राजनीतिक कार्यदिशाका साथ अगाडी बढेर सकारात्मक राजनीतिक संदेश दिनु नै सहि हुने देखिन्छ । हरेक दिन गुटको बैठक, फरक फरक कार्यदिशा, एकै समितिका नेताहरुको फरक फरक लाइन देखाएर राजनीति प्रति नै वितिष्णा जगाउने खेल कहिले बन्द हुन्छ । यो रोग एमालेमा पनि देखिएको छ । काँग्रेसमा पनि दुई पक्ष स्पष्ट रुपमा भए पनि संस्थागत रुपमा काँग्रेस आफुले निर्णय गरेर अगाडी बढ्ने प्रणालीलाई अहिलेसम्म कायम राखेको छ ।