मंगल ग्रहमा रहेकोे कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन सफल
१० बैशाख २०७८, शुक्रबार २१:०१
काठमाडौ । मंगल ग्रहमा रहेकोे कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिलाई
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रयोग गरेर सफलता हासिल गरेको छ ।
मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो।
नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ।
मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ। साथै नासाले बिहीवार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ।
गत सोमवार पृथ्वी बाहेकको ग्रहमा नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्यूटीले इतिहास बनाएको थियो।
हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन्। यी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रुअरीमा मङ्गल ग्रहमा पुगेका थिए।
हेलिकप्टर जस्तै मोक्सी यन्त्रको पनि थप परीक्षणहरू गरिने छन्।
मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड छ र अक्सिजन ०.१३ प्रतिशत मात्रै छ जुन पृथ्वीको हावामा भएको २१ प्रतिशत अक्सिजनभन्दा निकै कम हो।
मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो।
बाँकी एक अणु कार्बन र एक अणु अक्सिजन मिलेर बनेको कार्बन मोनोअक्साइड त्यसले त्यहाँको हावामा छोडिदिएको छ। बीबीसीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया