१४ बैशाख २०७८, मंगलवार २३:१६ – Page 5 – Nagarikabhiyan : National News

कोरोनाभाइरसको न्युज लेख्दा सञ्चारकर्मीलाई ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा सुरु भइसकेको छ। सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बुधबारदेखि दुई साता लामो लकडाउन गर्ने भएको छ।

कोभिड–१९ को संक्रमण बढेर निषेधाज्ञा जारी गरिएको अवस्थामा आम नागरिक घरभित्रै हुने भएकाले अनेकौं विषयमा सोच्ने फुर्सद हुन सक्छ। एकातिर महामारीको त्रास र अर्कोतिर आर्थिक संकटका कारण मानिसहरुको मनोबल कमजोर हुन सक्छ। घरमा बसेको अवस्थामा अधिकांश मानिसहरु इन्टरनेटमा व्यस्त हुने भएकाले सञ्चारमाध्यमले सम्प्रेषण गर्ने सूचना र समाचारले उनीहरुको मनोबल र दृष्टिकोण निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछ।

कोभिड–१९ का विषयमा सूचना वा समाचार प्रकाशित गर्दा सञ्चारमाध्यमहरुले विशेष ध्यान दिनुपर्दछ, जसका कारण नागरिकमा सत्य तर मनोबलयुक्त भावना सम्प्रेषित हुन सकोस्। तसर्थ, सञ्चारमाध्यमले कोभिड–१९ को संकटको बेलामा दोषारोपण र भेदभाव घटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ।

नोभल कोरोनाभाइरस (कोभिड–१९) को प्रकोपले हाम्रो समुदायमा दोषारोपण र भेदभाव बढाएको छ। कोभिड–१९ सँग सम्वन्धित दोषारोपणको मात्रा यी तीन कुरामा आधारित छन्ः १. यो नयाँ रोग हो र यसको बारेमा धेरै कुराहरू अझै पनि थाहा छैन। २. थाहा नभएका कुराको बारेमा हामी प्राय डराउँछौं र ३. त्यो डर ‘अरू’सँग जोड्न सजिलो छ। सर्वसाधारणमा दुविधा, तनाव र त्रास रहेको बुझ्न सकिन्छ।

यी कारणहरूले हानीकारक रुढीवादी मान्यताहरूलाई बढावा दिइरहेका छन्। दोषारोपण र भेदभावका लागि सबैभन्दा जोखिममा यिनीहरू रहन्छन्ः भाइरसको परीक्षणमा पोजेटिभ देखिएका मानिस र उनीहरूका परिवारहरू विदेशबाट फर्किएका मानिस र उनीहरूका परिवारहरू र यो संकटको बेला अत्यावश्यक सेवा दिनका लागि कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका सेवा प्रवाहकर्ता र उनीहरूका परिवारका सदस्यहरू। मानिसहरू यी व्यक्तिहरूले उनीहरूको समुदायमा रोग फैलाउँछन् भनेर प्रायः डराउने गर्दछन्। हरेक दिन हामीले यी व्यक्तिहरूलाई बहिस्कार गरेको र कहिलेकाहिँ शारीरिक हमला पनि गरेको समाचारहरू सुनिरहेका छौं।

यो पिडामा पर्नेका लागि मात्र नभई सबैका लागि हानीकारक छ। दोषारोपण गर्नाले मानिसहरू एक्लिन सक्छन्। विभेदबाट जोगिनका लागि मानिसहरूले उनीहरूको रोग लुकाउन सक्छन् र यसले उनीहरूलाई अत्यावश्यक मेडिकल हेरचाहबाट टाढा राख्न सक्छ। यसले मानिसहरूलाई स्वस्थ दैनिकी र व्यवहारहरूको पालना गर्न पनि निरुत्साहित गर्न सक्छ।

यसमा पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ।

कोरोनाभाइरस र संक्रमण हुनबाट जोगिने उपायको बारेमा सर्वसाधारणलाई सही सूचना तथा जानकारी दिनुका साथसाथै, प्रवाह गरिएको सूचना तथा जानकारीले यो संकटबाट प्रभावित मानिसका विरुद्धमा दोषारोपण र भेदभाव बढाउँदैन भन्ने कुरा सुनिश्चित गर्न पनि पत्रकार र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ। रोग र यसको प्रभाव खुला रूपमा, इमान्दारितापूर्वक र प्रभावकारी रूपमा छलफल र सम्बोधन गर्न सकिने वातावरणको सिर्जना गर्नु जरूरी छ।

आशाका कथाहरू बाँडौं,

चिन्ता बढिरहेको समयमा, सञ्चारमाध्यमले सही सूचना प्रदान गर्ने र मिथक र हल्ला चिरेर सही सूचना दिने मात्र नभई मानवताको सकारात्मक पक्ष प्रस्तुत गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छन्। यो लकडाउनको सामना गर्दै अन्य मानिसहरूसँग प्रविधीको माध्यमबाट जोडिएका व्यक्तिहरू वा कठीन समयमा जीवन व्यवस्थित गरिरहेका व्यक्तिहरूको कथा र समाचार प्रोफाइल गर्ने समय पनि हो र यसले अरूलाई विभिन्न उपायहरूसँगै राम्रा अभ्यासहरूको बारेमा सुसूचित गराउँछ।

कोभिड–१९ को संकटको क्रममा दोषारोपण वा भेदभाव भोगेका व्यक्तिको दृष्टिकोणको बारेमा पनि कथा वा समाचार प्रवाह गर्न सकिन्छ। उनीहरूका कथाहरू र तपाईंका शब्दहरूले मानिसहरूलाई दोषारोपण र भेदभावले उनीहरूमा मात्र नभई समग्रमा समुदायमा पर्न सक्ने वा परेको नकारात्मक असरका बारेमा बुझाउँछ। सहानुभूतिका कथन वा कथाहरू बाँड्नुहोस्, जसले नयाँ कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित मानिस वा समुदायको संघर्ष र अनुभवलाई मानवीय बनाउँछ। यो महामारीको अग्रपंक्तिमा रहेर काम गरिरहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, समुदायका नेतृत्व, सुरक्षाकर्मी, सञ्चारकर्मी इत्यादि) लाई सहयोग र प्रोत्साहन हुने गरी सञ्चार गर्नुहोस्।

यो हामीलाई एकताबद्ध बनाउने, सहयोगका ससाना गतिविधि र मानिसहरूले एक अर्कालाई कसरी सहयोग गरिरहेका छन् भन्ने कथा र समाचार बाँड्ने समय पनि हो।

गोपनीयताको सम्मान गरौं,

कोभिड–१९ को परीक्षण गर्दा पोजेटिभ देखिएका व्यक्तिहरू र उनीहरूको परिवार, सहकर्मी र साथीहरूको गोपनीयताको सम्मान गर्नुपर्छ। अनुमतिविना उनीहरूको नाम, ठेगाना, पारिवारिक पृष्ठभूमि, व्यक्तिगत र मेडिकल रेकर्डको सूचना खुलासा गर्ने वा संकेत दिने पनि गर्नु हुँदैन।

कहिलेकाहिँ सानो समुदायमा बस्ने मानिसहरूको स्थान, समुदाय वा गाउँको नाम उल्लेख गर्दा मात्र पनि उनीहरूको परिचय खुलासा हुन सक्छ। विरामीको फोटो वा भिडियो पनि अनुमतिविना प्रकाशन वा प्रसारण गर्नु हुँदैन।

भेदभाव नगरौं,

कसैको उमेर, लिंग, जातीय पृष्ठभूमि, धर्म, कानूनी अवस्था, अपांगता, वैवाहिक अवस्था, रोगलगायतका कुरा समाचारसँग प्रत्यक्ष रूपमा सम्वन्धित भएमा मात्र उल्लेख गर्नुपर्छ। असान्दर्भिक रूपमा उल्लेख गर्नाले दोषारोपण र विभेद सिर्जना गर्न सक्छ। कोभिड–१९ लाई कुनै पनि स्थान, देश र क्षेत्र, राष्ट्रियता र जातसँग नजोड्नुहोस्। भाइरसले जुनसुकै सामाजिक र आर्थिक अवस्था, राष्ट्रियता, वर्ण, जात, धर्म वा लिंग भएको मानिसलाई असर गर्न सक्छ।

सनसनी नफैलाऔं,

हानीकारक हुने गरी कुनै पनि विषयलाई सनसनी बनाउने प्रलोभनबाट टाढा रहनुहोस्। सनसनीपूर्ण भाषा र तस्वीरहरूले अनावश्यक तनाव सिर्जना गर्नुका साथै थप डर फैलाउन सक्छ। कोभिड–१९ को बारेमा सञ्चार गर्दा र समाचार बनाउँदा भेदभावपूर्ण, अपमानजनक, धम्कीपूर्ण र सनसनीपूर्ण भाषा र स्वर प्रयोग नगर्नुहोस्। साथै, समाचार वा लेखमा पाठकलाई तान्नका लागि सनसनीपूर्ण हेडलाइन प्रयोग नगर्नुहोस्।

रोल मोडल प्रस्तुत गरौं,

लक्षण हुन सक्ने व्यक्तिहरू परीक्षणमा नआएको वा यस्तै खालका नकारात्मक समाचारहरूको सट्टामा सञ्चारमाध्यमले विदेशबाट फर्केर सेल्फ क्वारेन्टिनमा बसिरहेका व्यक्तिहरू (उनीहरूको अनुमतिसहित) वा स्वास्थ्यकर्मीहरूलाई सकारात्मक रोल मोडलको रूपमा चित्रण गरी समाचारहरू प्रस्तुत गर्न सक्छन्। यी व्यक्तिहरूको समाचार, सवाल र चुनौतीहरूलाई चित्रण गर्नाले सञ्चारमाध्यमले मानिसहरू दोषारोपण वा भेदभावको डरविना नै सहज रूपमा उनीहरूको लक्षणहरू बताउन सक्ने वातावरण सिर्जना गर्न सक्छन्।

संक्रमितलाई दोष नलगाऔं,

मानिसहरूले ‘कोभिड–१९ सार्ने’, ‘अरूलाई सार्ने वा ‘भाइरस फैलाउने’जस्ता शब्दहरू प्रयोग नगर्नुहोस्, किनभने यसले नियतवश संक्रमण फैलाएको भन्ने अर्थ लाग्दछ र दोष देखाउँछ। यसको सट्टामा मानिसहरूमा कोभिड–१९ ‘भएको’ वा ‘संक्रमण भएको’ भन्नुहोस्। साथै, यो रोग भएका मानिसलाई ‘कोभिड–१९ केसहरु’ वा ‘पीडितहरु’ नभन्नुहोस्। साथै, ‘कोभिड–१९ का शंकास्पद’ वा ‘शंकास्पद केसहरु’को प्रयोग नगर्नुहोस्। यसको सट्टामा ‘कोभिड–१९ भएका वा हुन सक्ने व्यक्ति’, ‘कोभिड–१९ को उपचार गराइरहेका व्यक्ति’, ‘कोभिड–१९ बाट निको भइरहेका व्यक्ति’ वा ‘कोभिड–१९ को संक्रमणपछि मृत्यु भएका व्यक्ति’ भन्नुहोस्।

सत्यको सही विश्लेषण गरौं,

कोभिड–१९ सँग सम्बन्धित आधिकारिक तथा विश्वासनीय जानकारीका लागि नेपाल सरकार, विश्व स्वास्थ्य संगठनजस्ता निकायहरूका वेबसाइट हेर्नुहोस्। यी वेबसाइटहरूमा तपाईंको जिज्ञासाको जवाफ दिन सक्ने अद्यावधिक जानकारीसहित प्रवक्ताको बारेमा पनि जानकारी राखिएको हुन्छ।

कोभिड–१९ प्रकोप हरेका लागि एक चुनौतीपूर्ण समय हो। हामी सबै जना एक वा अर्को गरी कुनै न कुनै हिसावले प्रभावित छौं। यो अनुभवबाट सकारात्मक हिसावले हामी सबैजना ठीक भएको सुनिश्चित गर्न सञ्चारमाध्यमसहित हामी सबैजनाको महत्वपूर्ण भूमिका छ।

(एजेन्सीको सहयोगमा।)

स्वास्थ्यकर्मीलाई अब लामो बिदा पाइदैन किन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ।

अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आई.सि.यू. को अभाव हुन नदिन संसदीय समितिको निर्देशन

काठमाडौं । अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आई.सि.यू. को अभाव हुन नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोभिड–१९को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भएको हो ।

पीसीआर परीक्षण सहज बनाउनुका साथै एसएमएस वा टेलिफोन मार्फत चाँडै नतिजा जानकारी गराउने व्यवस्था मिलाउन, विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७८ बैशाख ६ गते जारी गरेको आदेशको कडाईका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिएको छ ।

आइसोलेसन, क्वारेन्टिन, अस्पताल र स्वास्थ्य–चौकीहरुमा अत्यावश्यक औषधी र स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, अस्पतालहरुमा माक्स, स्यानिटाइजरको अति अभाव भएको कारणले सोको तुरुन्त व्यवस्था गर्नुपर्ने, सरकारी र निजी अस्पतालहरुमा कोभिड–१९ को उपचारमा लाग्ने दररेटसम्बन्धी नीति बनाई यथाशीघ्र लागू गर्ने र कारागारहरुमा मानवीय वातावरण सहितको बस्ने स्थिति निर्माण गरी कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

छलफल पछि समितिले अस्पतालहरुमा अक्सिजन र आई.सि.यू.को अभावमा विरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आई.सि.यू.को व्यवस्था तुरुन्त गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

वित्तीय संस्था र विवाहका सवारीमा पास आवश्यक नपर्ने

काठमाडौं । बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारी कर्मचारीले संस्थाको परिचय पत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जारी आदेशमा आज संशोधन गरी सो व्यबस्था गरेको हो । साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलही सहित १५ जनाका लागि दुईवाटा सवारी साधान प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

गोरखापत्र अनलाइन

प्रदेश सरकारको भ्रष्टाचार पर्दाफास गर्नुपर्छ  –  नेता महतो

महोत्तरी ।  वाइसिएल नेपाल का केन्द्रिय सचिब तथा प्रदेश नम्बर २ का इन्चार्ज शंकर महतोको प्रमुख अतिथिमा आज महोतरी को भङ्गहा नगरपालिकामा नगरस्तरिय भेला तथा ४१ सदस्यीय समिती गठन गरियो।

भेलामा नगरपालिका बासी, बुद्धिजीवी,भरभलादमी,शिक्षकबर्ग,पत्रकार लगाएतको उपस्तिथिमा सम्पन्न भयो।

भेलाका प्रमुख अतिथी शंकर महतोले सम्बोधन गर्दै भने “अबको राजनिती युवा पुस्ताले कब्जा गरि देशमा समृद्धि ल्याउनु पर्छ”। युवाले नेतृत्व लिएन भने देश धेरै पछाडि पर्नेमा महतोले चिन्ता व्यक्त गरे। देशमा बढदै गइरहेको भ्रष्टाचार न्यूनीकरण गर्ने जिम्मा वाइसिएल को काधमा गएको बताउनु भयो। अब वाइसिएल का युवाहरुले बालबिबाह, महिलाहिंशा, बालश्रम, दाइजोप्रथा लगाएतका समाजिक बिकृती विरुद्ध लडनुपर्छ।

महतोले थप्दै भने अहिलेका प्रदेश दुईका सरकार पुर्ण रुपमा भ्रष्टाचारमा लिप्त भएका छन । कुनैपनी योजना बिना कमिशन पास हुदैन। त्यसैले यि सम्पुर्ण समस्या हरु न्यूनीकरण गर्न वाइसिएल का युवा हरुले काध थाप्नै पर्छ।

कोरोना भाइरस कसरी शरीरमा आक्रमण गर्छ ? किन मानिसको ज्यान जान्छ ?

काठमाडौं। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान जान्छ ?

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई ’इन्क्युबेशन पीरीअड’ अथवा सङ्क्रमणकाल भनिन्छ। त्यो बेला भाइरसहरूले तपाईको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईले सास फेर्दा कोरोनाभाइरस शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाई बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ।

कोभिड–१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ। शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो। यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ। यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ।

कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्। केही मानिसलाई खकार पनि आउन थाल्छ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन। एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ।

तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ। प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ। बिबिसी नेपाली न्यूजबाट।

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संशोधित नयाँ विधान अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने छ। त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने छ । २० प्रतिशत युवाको अनिवार्य उपस्थि गराइने छ।

प्रधानमन्त्री ओली कोरोना संक्रमितको ट्रेसिङमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमितको ट्रेसिङमा परेका छन् । उर्जा, जनस्रोत तथा सिचाईंमन्त्री टोपबहादुर रायमाझी र नेता विष्णु रिजाललाई कोरोना पुष्टिभएसँगै प्रधानमन्त्री ओली ट्रेसिङमा परेका हुन् ।

मन्त्री रायमाझीलाई कोरोना भएपछि अहिले उनी उपचार गराइरहेका छन् । नेता रिजालले पनि आफुलाई कोरोना पुष्टि भएको बताएका छन् ।

रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर समेत खिचाएका थिए ।

प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

नेपालन्युजबाट

पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।

उपप्रमुख पोखरेलको जन्मदिनमा मास्क

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले आफ्नो जन्मदिनको अवसरमा विभिन्नलाई मास्क र सरसफाई सामग्री वितरण गर्नुभएको छ । जन्म दिनको पावन अवसरमा इनरुवा वडा नम्बर ३ को खत्वे टोलमा माक्स, सावुन तथा विस्कुट वितरण गर्नुभयो ।

पोखरेलले समय अनुसर सामाजिक र उदाहणीय कार्य गरेर जन्मदिनमा खुसि बाड्नुभएको छ । वहाँको उदाहरणीय कार्यले दलित बस्तीका नागरिक समेत खुसि भएका छन् ।

महिलाले बनाए थाकलबाट सुन्दर ब्याग र हृयाट

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाहरुले जंगलमा त्यतिकै खेर गइरहेको थाकलबाट सुन्दर ब्याग र हृयाट बनाउन थालेका छन ।
इटहरी उपमहानगर उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समूदायका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट बनाएका हुन ।
उहाँहरुलाई दाङ्गबाट आएर चन्द्रावती चौधरीले थाकलबाट ब्याग र हयाट वनाउन सिकाउनुभएको हो । तालिम समापन कार्यक्रममा सहभागिहरुले थाकलबाट यति राम्रा समाग्री वन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिएका छन् । सहभागिहरु ओम कुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक वन्ने आत्मविश्वास वढेको वताउनुभयो । इटहरी १८ का महिला मेहनति रहेको भन्दै सहजकर्ता चौधरीले प्रशंसा गर्नुभयो ।
उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका समाग्री निर्माण गरि वडा नम्वर १८ को पहिचान वनाउन आग्रह गर्नुभयो । उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । वडाध्यक्ष राम कुमार चौधरीले वजार र पूँजीको अभाव हुन नदिने वताउनुभयो । स्थानीय नेत्री अम्विका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक वन्न सल्लाह दिनुभयो । कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकल वाट विभिन्न समाग्री वनाएर वेच्न उत्साहित रहेको वताउनुभयो ।
१, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाहरुले जंगलमा त्यतिकै खेर गइरहेको थाकलबाट सुन्दर ब्याग र हृयाट बनाएर पर्दशनीमा राख्दै गरेको ।
त्स्विर ः जयकृष्ण यादव । इनरुवा

 

 

भोक्राहा नरसिंह गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद सम्पन्न

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विधार्थी बालबाकिलाहरुको शारिरिक तथा मानसिक विकासका लागि भन्दै गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका भित्रका सरकारी विद्यालय स्तरीय प्रतियोगितामा जनता मावि सहित राष्ट्रिय आधारभुत विद्यालय, बि पि आदर्श विद्यालय, दलित आधारभुत विद्यालय लगायत १९ वटा विद्यालयका विधार्थी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १–३ सम्म विद्यार्थीहरु चकलेट दौड, ४–५ सम्मको हिसाब दौड, ६–८ सम्मको ३०० सय मिटर दौड, ९–१० को विद्यार्थीहरु २००×४ रिले दौड लगायतमा प्रतिस्प्रधा गराएको थियो । फाईनल खेलमा विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको प्रधानाध्यापक मनोजकुमार मेहताले बताउनुभयो ।
मेहताका अनुसार सम्पन्न भएको प्रतियोगितामा चकलेट दौडमा छात्रा तर्फ नविता कुमारी मण्डल प्रथम, संगिता कुमारी उराँव दितिय, आषिका कुमारी उराँव, छात्र तर्फ नविन कुमार उराँव प्रथम, ववलु साह दितिय, विकास मण्डल तृतिय भएका छन् । त्यसैगरी कक्षा ४ देखी ५ सम्मका हिसाब दौडमा चान्दनीकुमारी मण्डल प्रथम, विनिताकुमारी मेहता दितिय र अन्जनीकुमारी उराँव तृतिय भएका छन् । त्यसैगरी छात्र हिसाब दौडमा शिवेस मेहता प्रथम, कृष्णदेव साह दितिय, अवदुल सलिम मंसुरी तृतिय भएका छन् । त्यसैगरी २०० मिटर दौडमा छात्रा तर्फ अन्जली कुमारी मण्डल प्रथम, शोभा उराँव दितिय र पुजाकुमारी उराँव तृतिय भएका छन् ।
त्यसैगरी छात्र तर्फ आफिज मंसुरी प्रथम, सहवाज मंसुरी दितिय र अरविन्द उराँव तृयि भएका छन् । त्यसैगरी कक्षा ९–१० सम्मका चार सय मिटर रिले दौडमा प्रियकां उराँव , अन्जली मण्डल, नितु उराँव र निलम उराँव सहित प्रथम, सविता कुमारी उराँव, अमृता कुमारी उराँव, पुष्पाकुमारी राम, रेनुका मण्डल दोस्रो भएका छन् । त्यसैगरी छात्र तर्फको रिलेमा बुद्धु उराँव, राहुल यादव, सुनिल कुमार मण्डल र शंकर यादव प्रथम भएका छन् । त्यसैगरी सुनिल मण्डल, सुरज मण्डल, ओमप्रकाश साह, शिवकुमार मण्डल दोस्रो भएका छन् । उनीहरुलाई खेलकुद समितिका संयोजक जदुलाल शाह, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता र प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहता तथा प्रधानाध्यापकहरुले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनुभयो । खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने भएकाले खेलकुदको आयोजना गरेको बताउनुभयो । गाउँपालिकाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउदै गाउँपालिकालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहताले विधार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन सहित खेलकुदमा प्रोत्सहन गर्न प्रतियोगिताले राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । त्यसैगरी भोक्रहा नरसिंह ७ का वडा अध्यक्ष रामचन्द्र यादवले गाउँपापिकामा भौतिक विकाससंगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने अध्यक्ष यादवको भनाई थियो । प्रतियोगितामा अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई धन्यवाद समेत दिनुभयो । समापन कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष राजेश्वर प्रसाद साह, जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जदुलाल साह सहितले खेलको औचित्यका बारेमा बोल्नुभयो ।

 
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको ँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता पुरस्कार वितरण गर्दै ।
तस्बिर ः

आन्तरिक हवाई उडान बन्द नहुने, ५०० बढी सक्रिय संक्रमित भए मात्र नगर-नगरमा निषेधाज्ञा

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठकले
अन्तरिक हवाई उडान बन्द नहुने जनाएको छ ।

बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भएका छन् । तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भएपछि मात्र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको हो ।

सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तरिक/अन्तराष्ट्रिय हवाई उडान बन्द नहुने र बाहिरबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

 

अनेरास्ववियु नगराईनले गर्यो नि:शुल्क मास्क वितरण – कोरोना भाइरसबारे सचेत गराउँदै विद्यार्थीहरु

जनकपुर । सोमबार अनेरास्ववियु नगराईन विद्यार्थीहरुले नि:शुल्क मास्क वितरण गरेको छ ।

कोरोनाभाइरसबाट सचेत रहन सर्वसाधारणलाई नगराईनले नि:शुल्क मास्क वितरण गरेको हो ।

विद्यार्थीहरु कोरोना भाइरसबारे सचेत गराउँदै नगराइन बजार चोकमा मास्क वितरण गरेको थियो । भने जटही नाकाका सई मनिषश्रेष्ठ र ई.आर. राम भगत मण्डलले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरिएको बताएका छन् ।

विश्वभर फैलिएको महामारी कोरोना भाइरस दोस्रो लहर छिमेकी मुलुक भारतमा दिनानुदिन लाखौं संख्यामा संक्रमीत फेला पर्दै आइरहेका छन् ।

 

आज २०७८ बैशाख १४ गते मंगलवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हडबडीले समस्या निम्त्याए पनि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

तपाईको दिन शुभ रहोस् ।

आज थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।