१३ बैशाख २०७८, सोमबार १७:०६ – Page 6 – Nagarikabhiyan : National News

माधव समूहको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता, भीम रावल, घनश्या भुसाल र सृुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदनमा सवोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सर्वोच्च अदालतले निर्वाचन आयोग, केपी ओली, सभामुख, संघीय संसद सचिवालय र ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन सोमबार आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा पार्टीले कारबाही गरिनसकेकाले अन्तरिम आदेश दिन आवश्यक नभएको उल्लेख गरिएको छ ।

अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज देखि सुरु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ । गाउँपालिका भित्रका सरकारी विद्यालय स्तरीय दुई दिने प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले बाइनर बाचन गरि उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेहताले विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनु भयो । खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने बताउनु भयो । गाउँपालिकाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउदै गाउँपालिकालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि तथा वडा अध्यक्ष रामचन्द्र यादवले गाउँपापिकामा भौतिक विकास संगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको बताउनु भयो । गाउँपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने अध्यक्ष यादवको भनाई थियो । प्रतियोगितामा अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो । उद्घाटन कार्यक्रममा वडा नं. ७ स्थित जनता माध्यमिक बिद्यालयको खेल मैदानमा सुरु भएको खेलकुदमा जनता मावी, श्री राष्ट्रिय आधारभुत विद्यालय, बि पि आदर्श विद्यालय, दलित आधारभुत विद्यालय लगायत १९ वटा बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कक्षा १-३ सम्म विद्यार्थीहरु चकलेट दाैड, ४-५ सम्मको हिसाब दौड , ६-८ सम्मको ३०० सय मिटर दाैड, ९-१० को विद्यार्थीहरु २००×४ रिले दाैड लगायतमा प्रतिस्प्रधा हुने खेलकुद समितिका संयोजक जद्दुलाल शाहले बताउनु भयो ।

 

भोक्राहा नरसिंह गाउँपालिका वडा न–७, नरसिंह स्थित जनता मावी विद्यालयको खेलमैदानमा गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता लगायतका उपस्थित सरोकारवालाहरु ।

भेरी अस्पतालमा काेराेना नियन्त्रण बाहिर, अवस्था भयावह

काठमाडाैं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गतवर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।

दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतिको उपचारका लागि उनको दौडधुप बढेको हो । अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन् । दाङ्मा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । यस्तो पिडाकाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उहाँको गुनासो छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरु प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिएपनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ । कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ । भर्ना भएका बिरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताउनुभयो ।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका बिरामीहरु थपिदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

मुख्यमन्त्री गुरूङविरूद्ध गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव टेबुल

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभा बैठकमा आज अविश्वास प्रस्ताव टेबुल भएको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन्।

गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको थियो। अहिले सांसदहरूलाई छलफलका लागि सभामुखले समय दिएका छन्। सेताेपाटीबाट

ओलीलाई रावलको प्रश्न : तपाईंको गुटलाई कानून नलाग्ने गोप्य अध्यादेश जारी भइसक्यो ?

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री ओली र उनका गुटका मान्छेलाई सरकारी निर्णय लाग्दैन भन्दै प्रश्न गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उनी निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?’
देशमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम ल्याएको भए पनि प्रधानमन्त्री ओली आफैँले धरहरा उद्घाटन, बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा सैयौंको संख्यामा उपस्थिति रहेको थियो। लाेकपाटीबाट

कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव – के छ सरकारको तयारी ?

काठमाडौ । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव भएको छ।

वैशाखयता कर्णाली प्रदेशमा ३५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य सेवा निर्देनालयका अनुसार पिसिआर परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

गएको शनिबार १५६ जनाको पिसिआर परीक्षण गरिएकोमा १२६ जनामा कोरोना पुष्टि भएको थियो । कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ।

अक्सिजन दिनुपर्ने कोभिडका बिरामी भने २८ जना छन्। तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन केएन पौडेलले बताए।

बिरामीका लागि चाहिने अक्सिजनको भने अभाव हुन थालेको उनले बताए।

आफ्नै अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले सञ्चालनमा छैन।

जिल्ला अस्पताल दैलेखमा २५ वटा अक्जिसनका सिलिण्डर छन्। तर, यसले कति धान्छ भन्ने यकिन गर्न नसकिने अस्पताल प्रमुख थिरप्रसाद रेग्मी बताउँछन्।
केही दिनअघि अस्पतालमा भर्ना भएका अक्सिजन चाहिने बिरामी डिस्चार्ज भइसकेकोले अहिले अक्सिजन प्रयोग गर्नु नपरेको उनले बताए।

‘हामीसँग भरेकै २५ वटा सिलिण्डरहरू छन्, तर यसले कति धान्छ भन्ने यकिन गर्न सकिँदैन,’ प्रमुख रेग्मीले भने, ‘संक्रमणदर बढ्दो देखिएकाले ह्वात्तै बिरामी आइदिए भने त एकै दिन पनि यो सकिन सक्छ।’

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले सञ्चालनमा छैन।

कोरोना संक्रमितका लागि आइसियू बेड १०० पु¥याउने तयारी गरिएकोले आफ्नो प्लान्टबाट उत्पादन भएको अक्सिजनले पनि नपुग्ने उनले बताए।

सल्यानमा पाँच जना कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार गराउने गरिएको छ। प्लान्ट नभएकाले उनीहरूलाई मेसिन (अक्सिजन कन्सनट्रेटर)बाट दिने गरिएको छ।

एकातिर दैनिक रुपमा कोराना संक्रमित बढ्दै जाने, अर्कोतिर आफ्नै प्लान्ट नभएकोले अस्पतालमा अक्सिजनको अभाव सुरू भएको उनले बताए।

उनका अनुसार केही दिनअघि अस्पतालमा आएका अक्सिजन चाहिने दुई जना बिरामीलाई ‘हाई फ्लो’ मा अक्सिजन दिन नसक्दा रिफर गरिएको थियो। उनीहरूमध्ये एक जनालाई नेपालगञ्ज सैनिक अस्पताल र एक जनालाई काठमाडौं लगिएको थियो।

कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय ९४ पुगेको छ।

३४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये वैशाखयता मात्र तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरूको संख्या पनि धेरै नै रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चैत १३ गते यता कर्णालीका तीन वटा नाकाबाट ६ हजार २७ जना भित्रिएका छन्।

कर्णालीमा भित्रिएका यिनीहरूमध्ये अधिकांश भारतबाट आएका प्रहरीले जनाएको छ। कर्णाली प्रदेश भित्रिन सल्यानको कपुरकोट, सुर्खेतको बबई र कुहिने नाका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा गर्न लागेको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको सिफारिसमा भोलिदेखि एक सातासम्म सुरक्षा समितिले निषेधाज्ञा गर्न लागेको हो।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनका अनुसार निषेधाज्ञा जिल्लाभर हुनेछ।

काठमाडौं उपत्यकामा बैशाख १६ देखि लकडाउन घाेषणा

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेध गरिने छ। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बताइएकाे छ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितिको सक्रिय संख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषधाज्ञा गर्न सिफारिस गरेको थियो। शहरहरूमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।

लकडाउनबारे निर्णय लिन प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ छ । उनका अनुसार लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ । देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्ने अवस्था देखिएको छ भने अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चिकित्सकहरुले बताएका छन् ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको छ भने पूर्वनिर्धारित परीक्षा पनि स्थगित गरिसकिएको छ।

हामी भारतलाई मद्दत गर्न दृढ छौँ – वाइडन / भारतलाई सहयोग गर्न पाकिस्तान तयार – इमरान खान

काठमाडौ । कोरोना भाइरसको दोस्रो लहर पीडित भारतलाई अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीले भारतको भयावह अवस्थालाई सुध्रिन आवस्यक सहयोग गर्ने बताएका छन ।

अमेरिकी राष्ट्रपति वाइडनले भने, “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्‍यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,” उनले बताउनुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको छ । उनले भारतलाई सहयोग गर्न पाकिस्तान तयार रहेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन । उनले भारतका सबै स्वास्थ्यकर्मीलाई प्रविधिको प्रयोगमा छिटो जनतालाई बचाउन अपिल गर्नुभएको छ ।

न बेड पाइन्छ, न एम्बुलेन्स : आफन्त पुकारिरहेछन् भगवान

काठमाडाैं । भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए ।

‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।

अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए ।

सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका थिए । अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर खाली थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कोरोना दोस्रो लहर पीडित भारतलाई विश्वका धेरै देशले गर्‍यो मेडिकल सहयोग

काठमाडौ । कोरोना भाइरसको दोस्रो लहर पीडित भारतलाई विश्वका धेरै देशले मेडिकल लगायतका सामग्री सहयोग गरेको छ ।

भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन्। त्यहाँ लकडाउन लम्ब्याइएको छ।

भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्। भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ।

यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ। यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ। साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन्। भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ।भारतमा हालसालै ठूल्ठूला राजनीतिक र्‍याली एवं धार्मिक कुम्भ भेला भएका थिए।भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ।भारतमा हालसालै ठूल्ठूला राजनीतिक र्‍याली एवं धार्मिक कुम्भ भेला भएका थिए।

खोप लिएकाहरूले अरुलाई कोरोना सार्ने सम्भावना उच्च

काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ । खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ । याे खबर आजको नागरिक दैनिकमा छ ।

बर्दिया जिल्लामा आजदेखि लकडाउन

काठमाडौं । बर्दिया जिल्लामा आजदेखि लकडाउन गरिएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो ।

स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार यो आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुनेछ ।

त्यस्तै, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि यो निर्णय लागू हुनेछ ।

 

आज २०७८ बैशाख १३ गते साेमवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

तपाईको दिन शुभ रहोस् ।

साउदीमा जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउनेलाई ५ वर्ष जेल र ५ लाख जरिवाना

साउदी । कोरोना भाइरसको सङ्क्रमण जानजान फैलाउनेलाई साउदी सरकारले कडा कारबाहीका साथ ५ लाख जरिवाना र ५ वर्ष जेल गरिने घोषणा गरेको छ ।

साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको हो ।

यस्तै कोरोना सङ्क्रमण फैलाउने आप्रवासीलाई पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने पनि जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलाउने कार्यलाई साउदीले अपराध भनेको छ । साउदीले गएको डिसेम्बर १७ देखि त्यहाँका नागरिक र आप्रवासीहरुलाई निःशुल्क रुपमा कोरोनाको खोप प्रदान गर्दै आएको छ ।

साउदीका अधिकारीहरुले जनाएअनुसार साउदीभर विभिन्न ५ सय ८७ खोप केन्द्रमार्फत अहिलेसम्म ८० लाख मानिसलाई खोप लगाइसकेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ४ लाख १० हजार १९१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६ हजार ८ सय ७८ कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

 

प्रविधिको प्रयोग गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई मोदीको यस्तो छ आग्रह

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् ।

“मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए ।

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई थियो ।

“स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडेका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उनले भनेका छन् ।

स्वास्थ्यकर्मीहरुका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए ।

विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उनीहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए ।

कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन् ।