१२ बैशाख २०७८, आईतवार २०:२५ – Page 7 – Nagarikabhiyan : National News

प्रहरीद्वारा कोरोना भाइरसविरुद्ध घरदैलो अभियान

काठमाडौ । डोटी जिल्लाका प्रहरीले  कोरोना भाइरसविरुद्ध घरदैलो अभियान शुरु गरेको छ ।

अभियानमा “आफ्नो जीवन आफैँ सुरक्षित” भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

जिल्लामा पछिल्लो समय दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ ।

विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

यसकारण नेपालसहित चार जनाको पद जाने सम्भावना उच्च

काठमाडौं । गत हप्ता दर्ता गरिएको माधवकुमार नेपालसहित चार जनाको रिटलाई सर्वोच्च अदालतले आज ३१औं नम्बरमा पेशी चढाएको छ । त्यस्तै, प्रधानमन्त्री पक्षले आजै आफ्ना वरिष्ठ नेताहरुमाथि कार्वाहीको निम्ति आकस्मिक बैठक समेत बोलाएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा अन्तिम दोश्रो नम्बरमा राखिएको मुद्दाउपर आज पालो आउने सम्भावना छैन । अर्को पेशी चढ्दासम्म प्रतिनिधिसभाका केही सदस्यको पद खाइसक्ने तयारी भइरहेको छ ।

सामान्यतया विषयको गम्भीरता हेरी यस्ता रिटलाई एक,दुई नम्बरमै राखेर आदेश दिने परम्परालाई यसचोटि तोडिएको हो । कानूनविद्हरुका अनुसार ढिलो गर्नु न्याय नदिनु बराबर हो ।

माधवकुमार नेपालसहितका निवेदकले रिटमा ‘आफूहरुमाथि गर्न लागिएको निश्कासनको कारवाही उत्प्रेषण,प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ’ भनेका थिए ।

त्यस्तै आफूहरुले दलत्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको थियो ।

कस्तो थियो २०७२ को भूइंचालो ?

काठमाडौं । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत रु एक लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ ।

भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । बाह्र हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ ।

क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन शुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ ।

भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ । भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

भूकम्पले क्षतिग्रस्त कूल एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ । क्षति पुगेका कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लामा ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

महाधिवेशन आयोजक कमिटी बैठकअघि बालुवाटारमा स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा नवगठित स्थायी कमिटीको बैठक बसेको हो।

आइतबार बिहान १० बजेका लागि एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको थियो। ‘महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण अजेन्डालाई स्थायी कमिटीमा पारित गरेर लैजान खोजिएकाले बैठक बसेको हो,’ केपी शर्मा ओली निकट नेता कर्ण थापाले जानकारी दिए।

कोरोनाको दोश्रो लहर – पर्सा र बारामा ११ जनाको मृत्यु

वीरगन्ज। कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगञ्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ। उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो। शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ। शनिबारसहित मृतक संख्या ११ पुगेको छ।

शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो। त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ।

पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ। यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ।

नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन्। ‘मानिस किन यति हेलचेक्र्याईँ गर्छन् रु बुझ्नै सकिएन,’ डा. दासले भने, ‘दोस्रो फेजको कोरोना पहिलेजस्तो सामान्य होइन ।’

सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए। संक्रमित संख्या शनिबार थप भएका ९० जनासहित १ हजार नाघेको छ।

सक्रिय संक्रमित मात्रै अहिले ५ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले जानकारी दिए। १५ दिनभित्र यति संख्या भेटिनु र मृतक संख्या अनपेक्षित बढ्नुले सामान्य नभएको उनको तर्क छ। यो समाचारराजधानी दैनिकमा छ।

कोहलपुरका एक युवकले गर्यो आइसोलेसनमै आत्महत्या

बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

२०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

कोहलपुरमा भयो लकडाउन

काठमाडौं। कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ।

कोहलपुर नगरपालिका स्तरीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ। यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ।

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

राँझा। बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ। बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका सय गरी १८० जनाको मृत्यु भएको हो।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।

गुल्मीमा एक संक्रमितको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु गएको छ। गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो। शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ।

पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ। संक्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।नेपाल लाइभबाट आभार गरिएको छ ।

आजदेखि एक साता लकडाउन गर्ने निर्णय

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ।

कोहलपुर नगरपालिका स्तरीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ। यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ। नेपालन्युजमा

काठमाडौंका यी सात ठाउँमा लगाइँदैछ चिनियाँ खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिँदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आइतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइँदैछ।

तीन केन्द्रबाट दोस्रो मात्रा दिइँदै

यसैबीच आइतबारबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयले वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने घोषणा गरेको थियो। जिल्ला स्वास्थ्थ्य कार्यालय काठमाडौले यसअघि लगाइएका केन्द्रबाट खोप लगाउने कार्यलाई आईतबार पनि निरन्तरता दिइने बताएको छ।

दोस्रो मात्रा खोप गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई सात गते देखि ११ गतेसममलाइ तोकिएको थियो। काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको निस्कर्ष निकाल्दै स्वास्थ्य कार्यालयले तीनवटा खोप केन्द्रमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिने बताएको हो।

ती खोप केन्द्रहरुमा वीर अस्पताल महावौद्ध, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रहेका छन्।

कुशल मल्ल बने ट्वान्टी-२० र एकदिवशीय दुवैमा अर्धशतक हान्ने विश्वकै कान्छा ब्याट्सम्यान

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा ब्याट्सम्यान बनेका छन् । हिजो भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले विश्वकीर्तिमान बनाएका हुन् ।

बायाँ हाते ब्याट्सम्यानले २४ बलमा अर्धशतक बनाएको दिन उनको उमेर १७ वर्ष र ५० दिन थियो । यसअघि युगाण्डाका ब्याट्सम्यान फ्रान्क अकान्कवासाको नाममा यो रेकर्ड थियो । उनले १७ वर्ष ५२ दिनको हुँदा कतारविरुद्ध अर्धसतक प्रहार गरेका थिए । केवल २ दिनले कुशलले उनलाई पछि पारेका हुन् ।

कान्छा ब्याट्सम्यानको सूचीमा नेपालकै सन्दिप जोरा तेस्रो नम्बरमा छन् । सन्दिपले १७ वर्ष १०३ दिनको छँदा अर्धशतक हानेका थिए । उनले ३१ जनवरी २०१९ मा यूएइविरुद्ध अर्धशतक हानेर कान्छा ब्याट्सम्यानको कीर्तिमानलाई युगण्डाका ब्याट्सम्यानले गत वर्षको फेब्रुअरीमा तोडेका थिए ।

एकदिवशीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वका कान्छा व्याट्सम्यानको रेकर्ड पनि कुशलकै नाममा छ । उनले विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सो रेकर्ड राखेका थिए । नेपालकै रोहितकुमार पौडेलको रेकर्ड उनले तोडेका थिए । गत वर्षको फेब्रुअरीमा कुशलले सो अर्धशतक हान्दा उनको उमेर १५ वर्ष ३४० दिन थियो ।नेपाल प्रेस

आज २०७८ बैशाख १२ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्कः ४ र शुभरङ्गः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्याः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्कः ३ र शुभरङ्गः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्याः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्कः २ र शुभरङ्गः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् । आजका लागि शुभअङ्कः १ र शुभरङ्गः कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्याः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्कः ३ र शुभरङ्गः हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्याः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्कः २ र शुभरङ्गः गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्याः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्कः १ र शुभरङ्गः नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्याः ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । आजका लागि शुभअङ्कः ९ र शुभरङ्गः बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्याः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ । आजका लागि शुभअङ्कः ८ र शुभरङ्गः ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्याः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्कः ७ र शुभरङ्गः उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्याः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्कः ६ र शुभरङ्गः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्याः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ । आजका लागि शुभअङ्कः ५ र शुभरङ्गः सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्रः ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्याः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

जनकपुर, जन्ती लिएको हाइसमा अचानक आगलागी हुँदा दुई जना गम्भीर घाइते

जनकपुर । आज शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको नजिक यात्रुबाहक हाइसमा आगलागी हुँदा दुर्घटनामा दुई जना गम्भीर घाइते भएको छ ।

जनकपुरमा हाइस गुडिरहेको अवस्थामा अचानक आगलागी भएको र डिभाइडरमा ठोक्किएर भएको प्रहरीले जनाएको हो ।

महेन्द्रनगरबाट जन्ती लिएर तिव्रगतिमा फर्किरहेको हाइस अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । हाइस भित्र राखिएको खाना पाकाउने ग्यासको सिलिण्डर एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाइस ठोक्किएपछि दुर्घटनामा दुईजना घाइते समेत भएको धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए । गाडीमा एक दर्जन जन्ती सवार थिए । जस मधये २ जना घाइते भएको प्रहरी नायव उपरीक्षक मिश्रको भनाइ छ ।

गाडीको नम्बर खुल्न नसकेको छैन भने चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने जनतालाई आवश्यक सामग्री देशमै उत्पादक हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्। छ वर्षअघिको भूकम्पले भत्किएको धरहरानजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहमा उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौं र नेपालको परिचयका रूपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ,’ उनले भने।

‘म बनाउँछु, मेरो धरहरा’ अभियानअन्तर्गत २४ करोड जम्मा भएको पनि उनले कार्यक्रममा बताउनुभयो। धरहरा ढल्दा हामीलाई आफैँ ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताए। आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएको जानकारी कार्यक्रममा गराइएको थियो।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरे। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनको प्रतिबद्धता छ।

‘विसं २०७८ मा राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न लागिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभिभावकत्व लिन्छ’, प्रधानमन्त्री ओलीले भने। खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रूपमा अघि बढाउने योजनामा सरकार लागेको उनको भनाइ थियो। मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता जनतालाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताए। -रासस

त्रिकोणात्मक टी–ट्वान्टी क्रीकेटको फाइनलमा नेपालको सानदार जित

काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यानड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद सागमा भुटानललाई पराजित गरेको थियो ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो ।

नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए । बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।

 

उदघोषण सम्बन्धी तालिम सम्पन्न

सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरीमा रहेको विभिन्न विद्यालयमा अध्ययनरत र वडा तहका विद्यार्थीहरुको लागि दुई दिने उद्घोषण तथा माईनट लेखन तालिम सम्पन्न भएको छ ।
सनिबार सम्पन्न भएको तालिममा ४३ जना बालबालिकाको सहभागीता रहेको बाल समुहका सुकसना खातुनले बताउनुभयो । तालिमको सहजिकरण गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले गर्नुभएको थियो । शुक्रबारबाट शुरु भएको तालीम सनिबार सम्पन्न भएको थियो ।
औपचारीक तालिम समापन कार्यक्रमका प्रमुख अतिथी तथा रामधुनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हेमनारायण राजधामीले बालबालिकाहरु तथा विद्यार्थीहरुको क्षमता विकास सहित नेतृत्व र व्यक्तित्व विकाससगैं वडा र नगरलाई बालमैत्री घोषणा गर्नका लागि तालिम उपयोगी भएको बताउनुभयो । वहाँले वडाले आयोजना गरेको उद्घोषण तथा माईनट लेखन तालिम विधार्थीका लागि निकै उपयोगी भएको र त्यसलाई व्यवहार उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।
साथै सानै उमेरबाट यस प्रकारका सकारात्मक कार्य गने भाइबहिनीहरुको कार्यको प्रशंसा गर्नुभयो । समुदायमा गरेका भिभिन्न सकारात्मक कार्यले समाज परिर्वतन समाजको विकाशमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो ।
तालिम समापन कार्यक्रममा वडा नं. ६ का वडा सदस्य लक्ष्मि चौधरी, तालिम सहजकर्ता जयकृृष्ण यादव, सहभागी बालबालिकाहरु लगायतले मन्तव्य राखेका थिए ।