सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको पहिचान झल्काउने इनारको प्रतिक बनाएर उद्घाटन गरिएको छ । इनरुवा नगरपालिका वार्ड नं. १ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने किक्रिम इनारको प्रतिक निर्माण गरी मंगलबार उद्घाटन गरिएको हो ।
पाँच दशक अघिसम्म खानेपानीका लागि स्थानीयहरुले निर्माण गरिएको इनार र कुवाले भरिएको अनि इनारै इनार भएको क्षेत्रको रुपमा इनरुवाको नामाकरण समेत भएको ठकर गर्दै इनरुवाको पहिचान बोकेको इनार निर्माण गरिएको हो । इनार पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण र पहिचान समेत स्थापित हुनेगरी इनरुवाको प्रतिक इनार निर्माण गरी इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख मेहताले इनारको उद्घाटन गर्दै विकास र समृद्धीका लागि आफूले काम गर्दै आएको र त्यसमध्येको एउटा काम इनरुवाको पहिचान इनारको प्रतिक समेत भएको बताउनुभयो ।
नगर प्रमुख मेहताले आफू जनताको विकासको लागि जहिले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र गरिरह्ने प्रतिवद्धता जनाउनुभयो । मेहताले पाँच दशकदेखी हुन नसकेको विकासको काम आफ्नो चार वर्षै कार्यकालमा भएको दावी गर्नुभयो ।
मेहताले इनरुवाको प्रतिक इनार मात्र नभई घण्टाघर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्विरहरु समेत निर्माणको चरणमा रहेको बताउनुभयो ।

उहाँले विकासको लागि आफु जहिलेपनि जनताकै पक्षमा लागि परेपनि केही पात्रहरुले आफ्नौ विरोध गर्न लागि परेको बताउँदै गाली गलौज र सस्तो लोकप्रियता भन्दा चुनावमा लडेर जित्न चुनौती दिनुभयो ।

उद्धघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता, नागरिक समाजका पुरुषोतम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष रामचन्द्र पौद्धार , इनरुवा नापा ५ का वडाध्यक्ष अन्जनी पोखरेल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह लगायतका उपस्थिती रहेको थियो ।
उद्धघाटन समारोह इनरुवाको प्रतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त इनारको प्रतिक निर्माण गर्न १५ लाख रुपियाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष यादवको भनाई छ ।

१, सुनसरीको इनरुवामा इनारको प्रतिक निर्माण गरि उद्घाटन गर्दै नगर प्रमुख राजन मेहता ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा



