१८ चैत्र २०७७, बुधबार १२:३५ – Page 2 – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत

पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताए । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए ।

प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए ।

“कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ”, बस्नेतले दावी गर्दै भने, “मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।” उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

“जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न”, बस्नेतले भन्नुभयो, “कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।” पत्रकार भेटघाटमा राष्ट्रिय युवा सङ्घका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताए ।

चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गा । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

१७ वर्षदेखि ३९ वर्ष उमेर समूहलाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिला पक्राउ

काठमाडौ ।  झापाको दमक नगरपालिकामा १७ वर्षदेखि ३९ वर्ष उमेर समूहलाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिलालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका– ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका– ४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू छन् ।

उनीहरूलाई दमक नगरपालिका– ६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

तत्काल मौसम सुधार नहुने

विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ। मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ।

‘अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन’, मौसमविद् श्रेष्ठले भने।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहने छ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पदको शपथ गराएका छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए ।

समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेशप्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेका थिए । डडेलधुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए । यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।

नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना पत्रकार प्रतिस्पर्धामा

काठमाडौँ ।  नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुने गएकोमा  १ सय ६५ जना पत्रकार विभिन पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् । भने निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ३८ पदका लागि १ सय ६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

 

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।

 

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।

 

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६÷६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७÷७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

 

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एशोसिएट)मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी)मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस–आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९ जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

 

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३÷३ जनाले उम्मेदवारी दिएका छन् ।

चिकित्सकको लापरबाहीले एक विरामीको ज्यान गयो

काठमाडौ । चिकित्सकको लापरबाहीले एक विरामीको ज्यान गएको छ । बुधबार विहानैदेखि अस्पताल परिषरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

 

रुपन्देही जिल्लाको तिनाउ इन्टरनेशनल अस्पतालमा गएराति चिकित्सकको लापरबाहीका कारण एक विरामीको मृत्यु भएको हो ।

 

मृतकका आफन्तका अनुसार रुपन्देहीको सैनामैना सालझण्डीकी ४४ वर्षीय पार्वती घिमिरे बराललाई लगातार वान्ता र स्वासप्रस्वासमा समस्या भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार मध्यरातमा असहज भएका बेला अस्पतालमा चिकित्सक थिएनन् । मध्यरातमा चिकित्सक नभएको र आउन ढिला हुँदा निधन भएको आरोप लगाएका छन् ।

 

मृतकका श्रीमान सूर्य बरालले भने ‘राती १ बजेर ५० मिनेटमा डाक्टरलाई कल गर्दा २ बजेर ४० मिनेटमा आइपुगे, ‘इमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको हो । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

कोभिड-१९ स्वास्थ्य सामग्री ठेक्काकाण्डमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको खुलासा

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको  भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ ।

 

कोभिड– १९ को माहामारी रोकथाम तथा नियन्त्रणका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा  उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस गरेको हो ।

 

गतवर्षको चैतमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई १ अर्ब २४ करोडको ठेक्का दिएको थियो ।

 

खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्पणी गर्नुका साथै खरिद प्रक्रियामा घोटाला भएको भन्दै विरोध जनाएका थिए। त्यस्तै सो कम्पनीले खरिद गरी ल्याएको सामग्री पनि गुणस्तरहीन देखिएको भन्दै विवाद आएसँगै ओम्नीलाई कारबाही गरी भुक्तानी रोकेको र कालोसूचीमा राखिएको भनिएको थियो ।

 

सोही विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको थियो । पुस ३ गते बसेको समितिले औषधि खरिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो।

 

यसैक्रममा समितिकोे सोमबार बसेको बैठकले ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलाई पत्रलेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

 

समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैठकले गरेको निर्णयको कार्यान्वयनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ।

 

गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।

 

तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दुरुपयोग गरेको अभियोग समितिले लगाएको छ।

बेपत्ता ७ किशोरीहरु नगर मेयरको सक्रियताले भेटिए

काठमाडौं ।  महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका  ७ जना बालिका/किशोरीहरु  एकैसाथ बेपत्ता भएकी थिए ।

 

मंगलबार दिउँसो करिब २ बजेतिर घाँस काट्न भनेर घरबाट निस्किएका उनीहरु रातिसम्म घर नफर्किएपछि उनीहरुका परिवार/आफन्तले नगर मेयरलाई समेत खवर गरेका थिए । भंगहा नगरपालिका वडा नम्वर ८ धर्मपुरमा बस्दै आएका उनीहरु नागेदार भित्रकै हुन्। पासवान परिवारका सात बालिका तथा किशोरीहरु बेपत्ता भएका थिए  ।

भंगहा नगरपालिका का मेयर सन्जिब साहले जानकारी दिनुभयो र उहाँले सशस्त्र प्रहरी र सेना समेत परिचालन गरि खोजीविन गरिदिन समेत आग्रह गर्नु भएको थियो । आज बिहान हराएका सबै चेलीहरु मेयरको सक्रियताले भेटिएकी छिन् ।  उनीहरुलाई भारतको सीतामढीबाट नेपाल ल्याइदैंछ ।

बेपत्ता हुनेहरुमा भंगहा नगरपालिका–८ धर्मपुर टोलका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् ।

 

आज २०७७ चैत्र १८ गते बुधवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मिहिनेत अनुसारको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुन सक्छ। अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिने बानीले व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ भने काममा पनि केही उल्झन आउन सक्छ। प्रयत्न गर्दा अध्ययनमा प्रगति गर्न सकिनेछ। बोलीको प्रभावले चिताएको काम सम्पादन हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

तपाईको दिन शुभ रहोस् ।

शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन्। नेकपाको एकता कायमै रहेका बेला प्रचण्ड नेपाल समूहका सांसदहरुले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यसअघि नै दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको माधव पक्षका प्रदेश सांसदहरूले बताएका छन्।

प्रदेश सभा सदस्य भीमप्रसाद आचार्यसहित १६ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्।

बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ

काठमाडौँ । बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो ।

उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ । उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।रासस

सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

एजेन्सी । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समुहले सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । सो समूहले प्रदर्शनकारीमाथिको दमन नरोके सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै दमन जारी राखे प्रदर्शनकारीसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए ।

प्रदर्शनकारीमाथि सेनाले निर्मम तरिकाले गोली चलाउन थालेसँगै आन्दोलनमा सहभागी प्रमुख समूह जनरल स्ट्राइक कमिटि अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समूहलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो ।

यता, थाइल्याण्डले पनि म्यानमारको सेनालाई मुलुकमा भइरहेको हिंसा कम गर्न आग्रह गरेको छ । मंगलबार स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री डोङ प्रमुद्विनइले म्यानमारको सेनालाई यस्तो आग्रह गरेका हुन् । साथै थाइल्याण्डले म्यानमारबाट भागेर आफ्नो मुलुकमा आएका शरणार्थीलाई पनि फिर्ता पठाउन अस्वीकार गरेको बताइएको छ ।

बर्जुमा प्रतिभाको खोजी कार्यक्रम (तस्बिर सहित)

देवानगंज । सुनसरीको वर्जु गाउँपालिकामा बर्जु मिडीयाद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रमको नृत्यको उपाधी देवानगञ्ज गाउँपालिका–२ की प्रिया मेहताले चुम्नुभएको छ । बर्जु मिडीया प्रा. लिले आयोजना गरेको प्रतिभाको खोजीको कार्यक्रममा उपाधी पाएको मेहतालाई पुरूस्कार तथा प्रमाण पत्र प्रदान गरेको छ ।


बर्जु गाउँपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको प्राङगनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति बर्जु गाउँपालिकाका अध्यक्ष रघुन्नदन चौधरीले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा बिशिष्ट अथितिमा बर्जु गाउँपालिका वडा न –५ का वडा अध्यक्ष किशोर कुमार चौधरी रहनुभएको थियो भने अथितिहरूमा बर्जु गाउँपालिका वडाअध्यक्ष श्याम गुरूङ, प्रदिप चौधरी, आन्नद यादव लगायतका रहेका थिए । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड –१९ का कारण घरमा बसेरै आफ्नो कलालाई प्रदर्शन गरेर र आफुमा रहेका कलालाई अनलाइनका माध्यमले हरेक ब्यक्तिले घरमै बसेर आन्नद लिन्न सकियोस भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरेको बर्जु मिडिया प्रा.लि का अध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिभा खोजी कार्यक्रम ३ राउन्डमा खेलाईएको थियो । प्रतिभाको खोजी कार्यक्रमको फाईन्ल राउन्डको नृत्य तर्फ प्रिया मेहता प्रथम हुनभएको थियो भन्ने गायन तर्फमा राकेश चौधरी भएका थिए । दोस्रो स्थानमा काजल मेहता र तेस्रो स्थानमा अमिसा भएका थिए । कार्यक्रमको मूख्य प्रायोजकमा बर्जु गाउँपालिका रहेका थिए भन्ने सह प्रायोजकमा बर्जु गापाका वडा अध्यक्ष, व्यापारी रहेका थिए । कार्यक्रममा प्रथम हुने मेहतालाई नगद १० हजार रुपियाँ प्रदान गरेको थियो भने दोस्रो हुनेलाई नगद रू ७०००।- तेस्रो हुनेलाई नगद रू ५०००।-नगद र प्रमाण पत्र वितरण गरेको थियो ।

 

 

तस्बिर: जुगेश दास

 

नहरमा दशदिनका लागि पानी दिने निर्णय

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न स्थानमा सुनसरी मोरगं सिचाई आयोजनाको शाखा तथा उपशाखा नहरमा पानी विना सूचना बन्द गरेको भन्दै स्थानीय किसानको आन्दोलन पछि नहरमा १० दिनका लागि पानी दिने भएको छ । किसानको आन्दोलन र नहरमा पानी नदिएको विषयमा गोरखापत्र दैनिकमा समाचार प्रकाशन भएपछि आयोजना र जल उपभोक्ता समितिलाई प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बोलाएर छलफल गर्दा सबै नहरमा १० दिनका लागि पानी दिने भएको हो । एकसाता अघि किसानहरुले नहरमा पानी दिन बन्द गरेको र कुनै सूचना समेत नदिएको भन्दै आन्दोलनमा उत्रेको र त्यस विषयमा समाचार प्रकाशन भएपनि होलीको भोली पल्ट मंगलबार प्रजिअ ढकालले जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला जलस्रोत समितिका पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले नहरमा १० दिनका लागि पानी दिने, नहर अधिक्रमण गरी बनाएको घर टहरा हटाउने, चैत २८ गतेदेखी जेठ २५ गतेसम्म चतरा नहर बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा सुनसरी मोरगं सिचाई आयोजनाका भिलानन्द यादव, यादव बराल, प्रमेचन्द्र झा, प्रहरी उपरीक्षक कमल थापा, राष्ट्रिय अनुशंधानका नरेन्द्र बहादुर दाहाल, सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल, केन्द्रिय जल उपभोक्ता महासंघका अध्यक्ष रामप्रसाद मेहता सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

कार्कीका हत्या आरोपमा रेग्मी पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका २ का ४६ वर्षिय केशब कार्कीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसिईबी साध्न कार्कीको हत्या गरि भाग्दै गरेको आरोपमा छिमेकी ४० वर्षिय जीवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । कार्की माथि सुतेकै ठाउँमा आईतबार राती सुँगुर मार्ने झिरले रोपेर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताउनुभयो । छिमेकीको हत्या गरि भाग्दै गर्दा रेग्मीलाई एक घण्टा भित्रै पक्राउ गरेको डिएसपी केसीले बताउनुभयो । पुरानो रिसिईवी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।