१० बैशाख २०७७, बुधबार ११:२८ – Page 8 – Nagarikabhiyan : National News

निको भएर फर्किए थप दुई जना कोरोना संक्रमित

काठमाडौं । थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुने भने अर्का कञ्चनपुरका पुरुष भारतबाट आएका हुन् ।

देवानगंज गाउँपालिकामा राहत वितरणमा विवाद

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिकामा राहतको विषयमा विभिन्न वडामा विवाद भएको छ । देवानगंज गाउँपालिका वडा नं १ को दास टोलमा वडा अध्यक्ष सूर्यनारायाण पालले आफूखुशी राहत वितरण गर्न खोजिएको भन्दै विवाद भएको हो ।वडा अध्यक्ष पालले आफ्नो पार्टी कार्यकर्तालाई र आफन्तलाई मात्रै राहत दिने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

नामावली संकलन गर्दा समेटिएको नामको अधारमा गाउँपालिकाले नामावाली सार्वजनिक गरेको भएपनि अहिले आएर धेरैजसोको नाम नै नभएको स्थानीय खुशिलाल दासले गुनासो गर्नुभयो । पालिकाले राहत गरिव, विपन्न, असाहय वर्गलाई दिनुपर्नेमा पहुचका आधारमाा दिएको पालको आरोप छ ।

पालले आफ्नो मनोपाली गरेको र पाउनु पर्नेलाई नदिई आफ्नै हालीमुहालि चलाएको अर्का स्थानीय दशरथ दासले गुनासो गर्नुभयो ।

यता देवानगञ्ज ३ का वडा अध्यक्ष अनिल कुमार भगतले समेत देवानगंज गाउँपालिकाले पक्षपात गरेको आरोप लगाउनुभएको छ ।

वडामा रहेका पीडितहरुको विवरण दिदाँ समेत उपेक्षा गरी आफूखुसी पालिकाले राहत वितरण गरेको गुनासो गर्नुभयो । राहतको विषयमा पालिकाले वडाको कुरालाई उपेक्षा गरेको पत्रकार सम्मेलन गरी भगतले गुनासो गर्नुभयो । वहाँले विभिन्न वडामा यो समस्या रहेको सुनाउनुभयो ।

नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

बालुवाटारमा ओलीले अध्यादेशको बचाउ गर्दा प्रचण्ड मौन

काठमाडौं । सरकारले ल्याएको अध्यादेशपछि नेकपाको शीर्ष नेतृत्वमा किचलो देखिएपछि पार्टी फुट्ने हो कि भन्ने चिन्ता माथिदेखि तलसम्म फैलिएको छ । कार्यकर्तामा देखापरेको चिन्ता हटाउने भन्दै बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए ।

र, बालुवाटारमा प्रचण्डलाई समेत साक्षी राखेर प्रधानमन्त्री ओलीले नेकपाका सांसदहरुसँग प्रदेशगत रुपमा सामुहिक छलफल प्रारम्भ गरे ।

हरेक प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई बालुवाटारमा बोलाएर अध्यक्षद्वयले समूहगत छलफल गरेका हुन् । छलफलको सुरुवात सुदुरपश्चिमका सांसदहरुबाट भएको छ । काठमाडौंमा उपलब्ध भएसम्म सांसदहरुलाई बालुवाटार आउन भनिएको थियो ।

सरकारले ल्याएका दुई अध्यादेशका कारण नेकपाभित्र असमझदारी उत्कर्षमा पुगेपछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले बुधवार बालुवाटारमा सांसदहरुसँगको सामुहिक छलफल गरेका हुन् । यो छलफल प्रधानमन्त्रीको आग्रहमा आयोजना गरिएको नेकपा स्रोतको भनाइ छ ।

पहिलो बरियताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेका थिए
नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सांसदहरुसँग छलफलको आयोजना गरिएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

‘प्रधानमन्त्रीले दुबै अध्यक्ष सँगै बसेर सांसदहरुसँग छलफल गरौं भन्नुभयो, एकजना पूर्वमाओवादी समूहका नेकपा नेताले अनलाइनखबरसँग भने, ‘यस्तोबेलामा पार्टी एक छ भन्ने सन्देश जाओस् भनेर प्रचण्डले पनि हुन्छ भन्नुभयो र बालुवाटार जानुभयो ।’

अध्यादेशको बचाउ गर्ने प्रधानमन्त्रीको प्रयास

प्रधानमन्त्री निवासमा आयोजित छलफलमा सांसदहरुको जिज्ञासा कोरोना कसरी भगाउने भन्दा पनि पार्टी एकता जोगाउने र विवादित अध्यादेशतिरै केन्द्रित थियो ।

यद्यपि केही सांसदहरुले सीमा पारि रोकिएका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले पहल गर्नुपर्ने माग राखेका थिए । सांसद दीपकप्रकाश भट्ट, गणेश सिंह ठगुन्ना लगाउयतका सांसदहरुले सीमापारि रहेका नेपालीका समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । सुदुरपश्चिममा अर्का नेता भीम रावलले भने अध्यादेशको औचित्यमाथि प्रश्न उठाएका थिए ।

पहिलो बरियताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेका थिए ।

प्रधानमन्त्रीले केही मिटरको दूरीमा बसेका प्रचण्डलाई पनि सांसदहरु समक्ष केही कुरा राख्न आग्रह गरे । तर, प्रचण्डले ‘प्रधानमन्त्रीज्यूले भनिसकेपछि मैले बोल्नुपरेन’ भन्दै मौनता तोडेनन् ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकरण विभाजनका लागि नभई अझ बलियो एकताका लागि भएकाले कुनै हालतमा पार्टी फुट्न नदिइने वचन दिए । दुई अध्यक्षबीच कतिपय असमझदारी भए छलफल गरेर सहमतिमै पार्टी र सरकार सञ्चालन हुने ओलीले बताएको कञ्चनपुर २ का सांसद नरवहादुर धामीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै धामीले भने, ‘यो पार्टी कुनै कानुन बनाएर एकता भएको पनि होइन र कुनै कानुन बनाएर विभाजन पनि हुँदैन । इतिहासमै नभएको काम हामी दुईजना अध्यक्ष मिलेर गरेका छौं । एउटामात्रै अध्यक्ष हुने ठाउँमा दुईजना छौं । हाम्रा कतिपय व्यक्तिगत स्वभाव र शैलीहरु नमिलेका होलान्, आपसमा बसेरै मिलाउँछौं ।’

राजनीतिक दल विभाजन खुकुलो पार्ने गरी अध्यादेश ल्याउनुको अर्थ नेकपासँग सम्बन्धित नभए पनि व्यक्तिका लोकतान्त्रिक अधिकार सुरक्षित गर्न ल्याइएको प्रधानमन्त्रीको तर्क थियो ।

धामीका अनुसार छलफलमा प्रधानमन्त्रीले भने, ‘हामी नफुटौंला । तर, कुनै पार्टीका सांसदहरु वा सदस्यहरु अलग हुन चाहन्छन् भने किन प्रतिबन्ध लगाउने रु कानुन बनाएर पार्टी बन्ने पनि होइन, कानुनले पार्टी बिभाजन रोक्ने पनि होइन । यसमा नमिलेका असंगत कुराहरु मिलाइएको हो, नयाँ कुरा केही पनि छैन ।’

दुई अध्यक्षबीचको लय मिलेको देखियो भन्दै पार्टी एकता नै भंग हुने हो कि भन्ने आशंका अन्त्य भएको केन्द्रीय सदस्यसमेत रहेका डोटीका सांसद प्रेम आलेले बताए ।

प्रधानमन्त्रीले दुईजना अध्यक्षले सोच बिचार गरेर लामो छलफल गरेर पार्टी एकता गरेकाले विभाजन हुन नदिइने पटक–पटक दोहो¥याएको सांसद आलेले बताए ।

सांसदहरुसँग परामर्श गरेर नेतृत्वले लोकतान्त्रिक र जनउत्तरदायी चरित्र देखाएको बैतडीका सांसद दामोदर भण्डारीले बताए ।

सरकारका कार्यशैलीसँग विमति राख्दै आएका नेता भीम रावलले नीतिगत विषयमा आफ्ना केही कुरा रहेको भन्दै अध्यादेशप्रति असहमित राखेका थिए ।

प्रधानमन्त्री ओलीले कतिपय नेता र सांसदहरुले आफू स्मार्ट देखिनका लागि सरकारका नकारात्मक कुरा मात्र गर्ने प्रवृत्ति रहेको भन्दै भाइरल बन्न खोज्ने प्रवृत्तिले कसैलाई फाइदा नगर्ने बताएका थिए ।

ओलीको भनाइ उधृत गर्दै आलेले भने– सरकारका राम्रा काम नदेख्ने खाली बिरोधमात्र गर्ने, स्मार्ट बनेर बोल्ने प्रवृत्ति पनि हामीबीचमा छ । तर, सरकारको बिरोध गर्नेले के बुझ्नुपर्छ भने जनताले भोलि व्यक्तिको अनुहार हेरेर भोट हाल्ने होइन, आफू स्मार्ट बन्न खोज्दा पार्टी र सरकारको बिरोध नगरौं ।

प्रधानमन्त्रीले कोभिड १९ महामारी विरुद्ध लड्न सरकारले सबै विकल्प प्रयोग गरेको र सकेसम्म एकजनालाई पनि यो महामारीबाट मर्न नदिइने दाबी गरे ।

महामारीविरुद्ध लडिरहँदा पनि सरकारले नियमित काम गर्ने भन्दै प्रधानमन्त्रीले प्रतिप्रश्न गरे,‘अध्यादेश जारी गरेर महामारीविरुद्धको लडाई कहाँ रोकियो रु

अर्को अध्यादेशको पनि बचाउ

सुदुरपश्चिमका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशको पनि बचाऊ गरे । परिषदको बैठक बस्न नसकेका कारण दुई वर्षदेखि महत्वपूर्ण संवैधानिक निकाय र आयोगहरुमा नियुक्ति हुन नसकेको र राज्यका काम नै ठप्प रहेका कारण अध्यादेश अत्यावश्यक रहेको प्रधानमन्त्रीको तर्क थियो ।

प्रधानमन्त्रीको भनाइ थियो, सवा दुई वर्षदेखि बैठक बस्न सकेन । ६ जना सदस्यमध्ये उपसभामुख नभएपछि ५ जना छौं । एकजना नआएपछि बैठक नै नहुने, एकजनाले असहमति राखेपछि निर्णय नै नहुने कुराले लोकतान्त्रिक प्रणाली नै अवरुद्ध हुने भयो, त्यसैले अत्यावश्यक भएरै ल्याइएको हो ।’अनलाइनखबरबाट

 

 

भावविभोर बनाउने भारतीय प्रहरी अधिकारीको त्यो अन्त्येष्टि

वैशाख, मध्यप्रदेश । यो फोटो कथा हो । यस्तो कथा निकै भावुक छ । यति भावुक बनिन्छ कि यसलाई शव्दमा व्यक्त गर्न सकिँदैन ।

१९ अप्रिल आइतबारको दिन । स्थान भारतको मध्यप्रदेशस्थित इन्दौरको एक अन्त्येष्टि स्थल । प्रहरी अधिकारी देवेन्द्र चन्द्रवंशीको अन्तिम संस्कार हुँदै थियो । ट्राफिक प्रहरी इन्सपेक्टर चन्द्रवंशीको कोरोनाविरुद्ध लड्दालड्दै देहान्त भयो ।

दैनिक भास्करका फोटो पत्रकार सन्दीप पनि त्यहाँ थिए । उनले हिम्मतका साथ केही फोटो खिचे र आफूले देखेका कुरा यसरी जानकारी दिए‘।

आइतबार बिहान देवेन्द्र चन्द्रवंशीको शव अरविन्दो अस्पतालबाट रामबागस्थित मुक्तिधाम ल्याएर आउन लागेको जानकारी मलाई अफिसको एक जना रिपोर्टरले खबर दिए । म त्यहाँ पुग्दा शव ल्याइसकिएको थियो ।

देवेन्द्र चन्द्रवंशीकी पत्नी, दुई छोरी र परिवारका सदस्यहरुलाई गेटमै पीपीई लगाउन दिइयो । त्यसपछि उनीहरुलाई मुक्तिधाममा लग्यो । भित्र सलामी दिन खटिएका प्रहरीहरुले पनि पीपीई लगाएका थिए ।

 

बाहिर पत्रकार साथीहरु थिए । मैले ती साथीहरुलाई भित्र किन नगएको भनेर सोधें । उनीहरुले तँ आफैं जा न भने । मेरो बोली बन्द भयो । फेरि सोचें मैले हिम्मत हार्नु हुँदैन । मैले पीपीई किट लगाएको थिएँ ।

भित्रबाट पुलिसले बिगुल बजाएको आवाज आयो । म दौडिँदै भित्र गएँ । त्यतिबेला मेरो एउटा खुट्टामा मात्रै प्लास्टिकवाला मोजा थियो । म दौडिदै त्यहाँ पुग्दा मेरो ठीक पछाडि नै देवेन्द्र चन्द्रवंशीको शव राखिएको रहेछ । केबल तीन फिट टाढा थियो होला । म तुरुन्तै त्यहाँबाट अलि टाढा गएँ ।

पछाडि शिव भगवानको फोटो थियो भने अगाडि देवेन्द्र चन्द्रवंशीको पार्थिव शरीर । त्यही बेला गार्ड अफ अनर दिइयो । सलामी अर्पण गर्दै फायरिङ गरियो । शोक धुन बज्यो ।

प्रहरीका उच्च अधिकारीहरु चक्र लिएर अगाडि बढे । उनीहरु सबैले पीपीई लगाएका थिए । इन्दौरमा प्रहरीले पीपीई किट लगाएर आफ्नो साथीलाई सलामी दिएको पहिलो पटक हो ।

परिवारका सदस्यहरु कुर्सीमा बसेका थिए । देवेन्द्र चन्द्रवंशीकी श्रीमती उभिएर रोइरहेकी थिइन् । त्यहाँ उनका दुई छोरीहरु पनि थिए । परिवारका अरु दुई जना सदस्यहरुले देवेन्द्रकी पत्नीलाई समातेर तस्वीरसम्म लगेर गए । देवेन्द्रको तस्वीर शवभन्दा टाढै राखिएको थियो । उनले केहीबेर शवतिर हेरिरहिन् र तस्वीरलाई मुसार्दै बेस्सरी रुन थालिन् ।

शव नजिकै एक जना प्रहरी पहिल्यैदेखि नै उभिरहेका थिए । सायद यो अवस्थामा उनकी पत्नी र छोरीलाई शव नजिक आउन नदिनका लागि होला ।

पत्नीपछि तस्वीर नजिक दुई छोरीहरु आए । एक छोरीले आफ्नो बुवाको शवलाई धेरैबेरसम्म हेरिरहिन् । र, स्यालुट गरिन् ।

एक जना पाका व्यक्ति त्यहीबेला बेहास भएर भुइँमा लडे । सायद उनी देवेन्द्रका बुवा होलान् । पीपीई किटले पूरै शरीर ढाकेकाले सबैलाई चिन्न गाह्रो थियो । सोध्ने हिम्मत पनि मसँग थिएन । म उनीहरुभन्दा एक सय फिट टाढा उँभिएर हेरिरहेको थिएँ र अरुहरु रोइरहेको सुनिरहेको थिएँ । दुई तारे र तीन तारे फुली लगाएका प्रहरी अधिकारीहरु पनि रोइरहेका थिए । एकछिनपछि तिनै प्रहरीहरुले देवेन्द्रका शवलाई शवदाह गृहभित्र लगेर गए ।

शवदाह गृहभित्र जाने हिम्मत भने मलाई आएन । सायद उनीहरुले मलाई त्यहाँसम्म जान पनि दिँदैनथे होला । अन्तत मैले त्यही तस्वीरलाई नै स्यालुट गरेर बाहिर निस्किएँ । म पसिनाले भिजेको थिएँ । किटलाई च्यातेर डस्टबिनमा फ्याँकें ।

त्यहीबेला एक अधिकारीले देवेन्द्र चन्द्रवंशीको तस्वीर लिएर बाहिर आए । परिवारका सदस्यहरु पनि बाहिर आए । सबैले पीपीई च्यातेर फाले र त्यसमा आगो बालेर जलाइयो ।

जुनी थानका इन्सपेक्टर ४५ वर्षीय देवेन्द्र चन्द्रवंशी कोरोना भाइरस संक्रमित थिए । अरविन्दो अस्पतालमा १९ दिनदेखि उनको उपचार चलिरहेको थियो । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी थियो । तर अकस्मात उनको निधन भयो ।

अस्पतालका डा। विनोद भण्डारीले चन्द्रवंशीको मृत्युको मुख्य कारण पल्मोनरी एम्बोलिज्म हो । यद्यपि कोरोनाको संक्रमण पुष्टि भएकाले कोरोनाबाट मृत्यु भएकाहरुको सूचीमा उनको पनि नाम राखिएको छ ।

मध्यप्रदेशको सबैभन्दा बढी प्रभावित क्षेत्र इन्दौर हो । इन्दौरमा कोरोनाका कारण ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

उदयपुर जिल्ला ‘सिल’ गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । उदयपुरमा एकैदिन ९ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर जिल्लामा आवतजावत बन्द गर्ने सिल गर्ने निर्णय भएको जानकारी दिए।

‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भयो,’ उनले भने।आज जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै उदयपुरमा मात्र २२ जना कोरोना संक्रमित भेटिएका छन्। विराट सन्देशबाट

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।
अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

सुनसरीमा विहान ७ देखि १० बजेसम्म मात्रै पसल खोल्न पाइने

इनरुवा  । सुनसरीमा भोलिबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो ।

सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोबस्ती मिलाउन लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजेसम्म बजार पसल खुल्न सक्ने छ । जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् ।

कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।

उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण

काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हावाहुरी र वर्षाले मकैं र गहुँबालीमा क्षती , किसान चिन्तित

इनरुवा ।  सुनसरीमा सोमबार राती र मंगलबार दिनभर आएको हावाहुरी र वर्षाले मकैं र गहुँबालीमा क्षती पुगेको छ । बालीमा क्षती भएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

राती ११ बजेको समयबाट हावाहुरी र असिना पानी सहितको वर्षाले पुर्याएको क्षतीले किसान मर्कामा परेका छन । जिल्लाको विभिन्न स्थानीय तहमा लगाइएको मकै उत्पादन हुनै लागेको बेला रातीको हाबाहुरी र असिना पानीले किसानको सयौ बिगाहाको मकै लगायत अन्न र तरकारी बाली नष्ट भएको छ ।

क्षतीको यकिन तथ्याङ्गक नभएपनि करोडौको क्षती भएको अनुमान गरिएको छ । सदरमुकाम इनरुवाको बबिया, मधेशा, बलाहा, हरिनगर गाउँपालिका, देवानगञ्ज, वर्जु , कोशी, भोक्राहा नरसिंह, गढी सहितको गाउँपालिकामा लगाएको मकैं र गहुँ बालीमा बढी क्षती भएको किसान रामदेव मेहताले बताउनुभयो ।

किसानहरुको सयौ बिगाहाको मकै, गहु लगायतको अन्न र तरकारी बालीमा हाबाहरी र असिनाले नष्ट गरपछि आफूहरु मर्कामा परेका किसान दिपेन्द्र यादवको भनाई रहेको छ । किसानको आँपलाई समेत क्षती पुरयाएको भने जिल्लाका अधिकास स्थानको दलित बस्तिको घरको छाना हावाहुरीले उडाईदिएको छ ।

यदुवशीं बहुउदेश्य कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार उत्पादन हुन लागेको आफ्नो दुई विघा २ कटठाको मकै सहित समूहका साथीहरुको गरी सयौं विघाको मकैं सखाप भएको छ ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको २९ औ दिन पुगिसक्दा समेत अति बिपन्नको घर परिबारमा राहत पुग्न नसकेको अबस्थामा आएको हावाहुरी र वर्षले पुन स्थानीयलाई नराम्री प्रभाव पारेको यादवको कथन छ ।
खेती किसानी गरेर जीबिकोपार्जन गर्दै आएका किसानहरु उत्पादन हुने बेलामा प्रकृतिले समेत धोका दिएको गुनासो गरेका छन् ।

मधुमेहको जोखिमबाट बच्ने प्राकृतिक काइदा

धेरैले बुझ्ने भाषामा, चिनी रोग । कतिपयले यसलाई ‘खानदानी’ रोग पनि भन्छन् । खासगरी ऐशआरमको जिन्दगी बिताउने, मीठो मसिनो खानेहरु मधुमेहको शिकार बन्छन् । शारीरिक रुपमा सक्रिय वा श्रम गर्नेहरुलाई तुलनात्मक रुपमा मधुमेहको समस्या हुँदैन ।

अहिले शहरी क्षेत्रमा मधुमेहको समस्या बढ्दो छ । हरेकजसो घरमा मधुमेहको रोगी भेटिन्छन् । कुनैबेला बुढ्यौलीमा मात्र यो समस्याले च्याप्ने गथ्र्यो । अहिले अवस्था फरक छ । युवा मात्र होइन, बालबच्चा समेत मधुमेह रोगी बनेका छन् । यसरी सबै उमेर समूहमा यो रोग बढ्नुको कारण हो जीवनशैली । अर्थात अस्तव्यस्त एवं खराब जीवनशैली । यसमा सुत्ने, उठ्ने तालिकादेखि खानपानसम्म पर्छ ।

मधुमेह रोग लागेपछि उपचार खोज्नुभन्दा मधुमेह लाग्न नदिनु नै उत्तम हो । मधुमेह भइसकेको अवस्था पनि औषधि उपचारको मात्र भर परेर हुँदैन । खासमा परिवर्तन गर्नुपर्ने जीवनशैली हो ।

खानामा जौ

जौ सजिलै उपलब्ध हुने अन्न हो । यदि हामीले खानाको रुपमा जौको प्रयोग गर्ने हो भने, यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । किनभने जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

टहल्ने

विशेषज्ञका अनुसार बिहान र साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ । मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो । यसका लागि पार्क नै पुग्नुपर्छ भन्ने छैन । छतमा, घरको कोठामै पनि हिँडडुल गर्न सकिन्छ ।

मेथी

ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दुधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

फल खाने

ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

सब्जी खाने

पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

प्रशस्त पानी पिउने

मधुमेह रोगीले दैनिक अढाई लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

भिटामिन डी

शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।

कागती

मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।

काँक्रो

मधुमेहका बिरामीहरुलाई भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ ।

गाँजर पालुङ्गो

मधुमेहको रोगीहरुले गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी समेत टाढा हुन्छ ।

व्यायाम

व्यायाम नगर्दा इन्सुलिनमा पुरा प्रभाव पर्छै । त्यसैले व्यायाम गर्नु आवश्यक छ । धेरैले के सोच्छन् भने, बिहान खाली पेट व्यायाम गर्नु राम्रो हो । तर मधुमेह रोगीले यसमा केहि ध्यान दिनुपर्छ । व्यायाम दिनमा कुनैपनि समय गर्न सकिनेछ, तर एक नियम अनिवार्य लागु गर्नुपर्छ ।

मधुमेह रोगीले खाली पेट व्यायाम गर्दा शुगर कम हुने आशंका बढ्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि फल वा बदाम वा ओखर सेवन गर्नु लाभदायक हुन्छ । मधुमेहमा एरोबिक्स व्यायाम, पौडी, जगिङ लाभदायक हुन्छ । यसका साथै योग, मेडिटेशनले मानसिक तनाव कम गर्छ । जीवनशैलीमा यस किसिमको सकारात्मक परिवर्तनले मधुमेह नियन्त्रण सहजै हुन्छ ।

नियमित रुपले शुगर जाँच

मधुमेह नियन्त्रणका लागि अनिवार्य रुपमा शुगरको जाँच गराइरहनुपर्छ । किनभने, शुगर बढेर पनि त्यसको संकेत नदेखिन सक्छ । त्यसैले शुगर बढेको अवस्थामा गरिने असावधानीले जटिल समस्या ल्याउन सक्छ ।

साथसाथै शुगर कम हुँदा पनि जाँच गर्नुपर्छ । यसका साथै एचबी ए १ सी टेस्ट, शुगर तीन महिनामा एक पटक जाँच गर्नुपर्छ ।

फेसबुकले ल्यायो नयाँ गेमिङ एप, लञ्च हुनेबित्तिकै सुपरहिट

सोसल मिडिया कम्पनी फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि सोमबार नयाँ गेमिङ एप लञ्च गरेको छ ।

फेसबुक गेमिङ (Facebook Gaming)  नामको उक्त गेमिङ एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । यसअघि आगामी जुन महिनामा गेमिङ एप ल्याउने योजना रहेकोमा फेसबुकले दुई महिनाअगाडि नै एप लञ्च गरेको हो । कोरोना भाइरसको लकडाउनका कारण विश्वका करोडौँ मानिसहरु मोबाइलमा लिप्त भैरहेको मौका छोपी फेसबुकले गेमिङ एप लञ्च गरेको हो ।

फेसबुकले ल्याटिन अमेरिका तथा दक्षिण पूर्वी एसियामा कतिपय देशहरुमा विगत डेढ वर्षदेखि यो एपको परीक्षण गरिरहेको थियो ।

फेसबुकको उक्त एप औपचारिक रुपमा गुगलको प्लेस्टोरमा उपलब्ध हुने बित्तिकै सुपरहिट बनेको छ । प्ले स्टोरमा उपलब्ध भएकै दिन सोमबार बेलुकीसम्म फेसबुक गेमिङ एप ५० लाख पटक डाउनलोड भैसकेको छ ।

फेसबुकको एपमा रहेको गेमिङ ट्याबकै परिस्कृत तथा अलग्गै संस्करणको रुपमा फेसबुकले नयाँ गेमिङ एप ल्याएको हो । फेसबुकमा अहिले अढाई अर्ब प्रयोगकर्ता रहेकोमा दैनिक ७० करोड प्रयोगकर्ताहरु फेसबुकको गेमिङ ट्याबमार्फत् दैनिक गेम खेल्ने गरेका छन् ।

फेसबुकको यो गेमिङ एप प्लेटोरबाट डाउनलोड गरेसँगै यसमा लगइन गर्नका लागि प्रयोगकर्ताले आफ्नो फेसबुकको विवरणहरु हाल्नुपर्ने हुन्छ । त्यसपछि यो एपमा मज्जाले आफै गेम खेल्न सकिनुका साथै विभिन्न अनलाइन गेमहरु हेर्न सकिन्छ ।

हालका लागि एन्ड्रोइड प्लाटफर्ममा उपलब्ध गराइएको यो गेमिङ एपले एप्पलबाट स्विकृति पाउने बित्तिकै एप स्टोरमा पनि उपलब्ध हुने बताइएको छ ।

फेसबुकको एप्लिकेसन विभागका प्रमुख फिडजी सिमोले गेमिङ एप प्रयोगकर्तालाई सक्रिय तथा अन्तक्रियात्मक बनाउनुका साथै तथा एक आपसमा जोड्ने मनोरञ्जनको साधन भएको भन्दै क्वारेन्टाइनको समयमा फेसबुक गेमिङ एपका प्रयोगकर्ताको संख्या उच्च रुपमा बढ्ने विश्वास गरेका छन् ।
एजेन्सी

पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइयो : समाजवादी पार्टी

काठमाडौं ।  समाजवादी पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको आरोप लगाएको छ ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटना पार्ने देखिन्छ,’ यादवले विज्ञप्तिमा भनेका छन् ।

अध्यादेशले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने समाजवादी पार्टीले बताएको छ । ‘अध्यादेश लोकतन्त्र र संविधानको मर्म, भावनाका प्रतिकुल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारी कदमको विरोध गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजन गर्न पार्टीको केन्द्रीय समितिको ४० प्रतिशत वा संसदीय दलको ४० प्रतिशतमध्ये एउटा पुग्ने व्यवस्था गरेको छ । अनलाइनखबरबाट

लकडाउनको मौका छोपेर सल्लाघारी फडानी

काठमाडौं । कोभिड–१९ महामारी लक्षित लकडाउन काठ तस्करहरूका लागि भने राम्रो अवसर बनेको छ । लकडाउनका बेला देशका विभिन्न स्थानमा वन फडानी भइरहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

पछिल्लो पटक दोलखाको सैलुङ–८, सैबुमा सल्लाघारी फडानी भएको त्यहाँका स्थानीयवासीले अनलाइनखबरलाई जानकारी दिएका छन् । शारदा उच्च माध्यमिक विद्यालयको खेल मैदान फराकिलो बनाउने नाममा सयौं सल्लाका रुख काटिएको स्थानीयले बताएका छन् ।

फलम सामुदायिक वन समूहका पदाधिकारीसमेत रुख काट्न संलग्न भएको पाइएको सामुदायिक वन उपभोक्ता महासंघका एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । नाम उल्लेख गर्न नचाहने ती पदाधिकारी भन्छन्, ‘वृक्षारोपण गरेर हुर्काइएको रुखसमेत धमाधम काटेको जानकारी आएको छ ।’

वडाध्यक्ष रामेश्वर उप्रेती सामुदायिक वनकै सहमतिमा मैदान फराकिलो बनाउने काम भइरहेको बताउँछन् । विद्यालयले भोगाधिकार पाएको २० रोपनी क्षेत्रभित्र चउर फराकिलो बनाउने काम भएको उनले जानकारी दिए ।

जिल्ला वन अधिकृत बच्चु पुडासैनी त्यहाँ रुख काट्न कसैले पनि अनुमति नलिएको बताउँछन् । पुडासैनी भन्छन्, ‘लकडाउनले गर्दा कार्यक्षेत्र बाहिर छु, कोरोनापछि छानविन गरेर आवश्यकता अनुसार कारवाही गर्छौ ।’

विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद थापलिया राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउँदा मैदान सानो भएकाले लकडाउनका बेला फराकिलो बनाइएको बताउँछन् । डोजर लगाएर मैदान बनाइएको उनको भनाइ छ ।

शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल भने प्रदेश सरकारले दिएको १० लाख रुपैयाँ अनुदानबाट मैदान बनाउने काम भइरहेको बताउँछन् । ८–१० मात्रै सल्लाको रुख काटिएको उनको भनाइ छ ।

अध्यक्ष दुलाल भन्छन्, ‘स्थानीयले दाबी गरेजस्तो दुई सय सल्ला काटिएको छैन, लकडाउनका बेला बेकामे भएर बसेकाहरूले विरोध गरेका हुन् ।’

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लकडाउनका बेला रुख काटेको जानकारी आएको बताउँछन् । उनी भन्छन्, ‘त्यस विषयमा बुझ्न दुई जनालाई पास दिएर पठाएको छु । अनलाइनखबरबाट

 

तानाशाही शासन लाद्न अध्यादेश– सरिता गिरी

काठमाडौं । समाजवादी पार्टीकी नेतृ सरिता गिरीले राजनीतक दल विभाजित गरी जनतामाथि तानाशाही शासन लाद्ने मनसायका साथ सरकारले राजनीतक दलसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गरेकी छन् ।

नेतृ गिरीले मंगलबार विज्ञप्ति निकालेर राजनीतिक स्थिरताको नाममा जनतासंग मत मागेका प्रधानमन्त्रीबाट अस्थिरता ल्याउने कार्य हुनु आश्चर्यको विषय भएको उल्लेख गरेकी छन् । ‘विशेषगरी मधेश केन्द्रित दलहरुलाई विभाजित गर्ने मनशायका साथ ल्याइएको अध्यादेशबाट संघीय शासन व्यवस्थामाथि नै खतरा उत्पन्न भएको छ’ विज्ञप्तीमा भनेकी छन् ।

संविधानलाई निष्प्रभावी बनाउने उद्देश्यका साथ विधेयक ल्याइएको गिरीले आरोप लगाएकी छन् । ‘यो संविधान, जनता र राजनीतिक दलसंग विश्वासघात हो । राजनीतक दलको दमन गर्दै संविधानलाई निष्प्रभावी बनाउने उदेश्यका साथ ल्याइएको छ । दुबै अध्यादेशबाट संविधान, जनताको स्वतन्त्रता र मर्यादा तथा बहुदलीय लोकतन्त्र संकटमा पर्ने संकेतहरु देखा परिसकेका छन्’ गिरीले उल्लेख गरेकी छन् ।

यसैगरी, संवैधानिक परिषदमा संशोधन गरी संवैधानिक संस्थाहरुलाई आफनो मानिसहरुको भर्ना केन्द्र बनाउने र विपक्षीलाई समाप्त पार्ने मनशायका साथ सरकारले अध्यादेश ल्याएको गिरीले बताएकी छन् । उनले दुबै अध्यादेश तुरन्त फिर्ता लिन माग गरेकी छन् ।अनलाइनखबरबाट