१० श्रावण २०८०, बुधबार १४:१३ – Page 5 – Nagarikabhiyan : National News

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

काठमाडौं :नेकपा माओवादी केन्द्र यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ। कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ।

बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

“यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले भने। छलफललाई व्यवस्थित गर्ने, सामूहिक छलफल गर्ने कि छुट्टाछुट्टै धारणा राख्ने भन्नेबारे बैठकमा कुराकानी भएको उनको भनाइ थियो।

आजको बैठकमा केन्द्रीय समितिको बैठकको ‘एजेन्डा’ बारेमा कुनै छलफल नभएको सचिव उपाध्यायले जानकारी दिए। उनले इटाली भ्रमणमा रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि बस्ने बैठकले एजेण्डा तय गर्ने बताए।

“प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष स्वदेश फर्किएपछि यही साउन १३ गते बस्ने पदाधिकारी बैठकले एजेन्डा तय गर्छ”, सचिव उपाध्यायले भने। माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँमा बस्दै छ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ। केन्द्रीय समिति बैठकको तयारीस्वरुप आजै अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए।

काठमाडौं र दाङमा बालिका बलात्कृत,

काठमाडौं : देशका दुई जिल्लामा बालिका बलात्कृत भएका छन्।

काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका(२ पाँचधारा घर भई सोही नगरपालिका(६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महर्जनले ती बालिकालाई सोही नगरपालिका(४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

दाङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका(१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

एमाले संसदीय दलको बैठक, १०० किलो सुनबारे के भन्ला

काठमाडौं  :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनमा बसेको संसदीय बैठकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउने एमालेले बताएको छ।

एमालेका प्रमुख सचेतक पदम गिरीले आज बस्ने संसदीय दलको बैठकले सुन तस्करीको बारेमा धारणा तय गर्ने बताएका छन्। उनले भने, ‘पछिल्लो एक वर्षदेखि सुन तस्करी मौलाएको छ, सरकारका मन्त्रीको संलग्नाबिना यो कार्य हुनै सक्दैन यसमा हामीले संसदबाट चित्तबुझ्दो जवाफ माग्छौं।’

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले करिब एक क्यिन्टल सुन बरामद गरेको थियो। यस प्रकरणमा संलग्न भएको आरोपमा एक चिनिया र एक भारतीय सहित हालसम्म १६ जना प्रकाउ परिसकेका छन्।

 

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको ज्यान गयो

काठमाण्डौ –सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ ।

फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा बाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँ राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत हुनुहुन्थ्यो । हिजो कार्यालयको काम सकेर घर फर्किँदै गर्दा उहाँ दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

२२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाण्डौ – बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो ।

गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।
निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

 

रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ

भैरहवा –रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिनुभयो ।

महाकाली नदीले कटान गर्न थालेपछि

देवानगंज ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनुभयो । ‘बस्तीबाट ४०र५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भन्नुभयो, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’

उहाँले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताउनुभयो । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ स्थानीय प्रेम सार्कीले भन्नुभयो, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उहाँले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

काठमाडौं : पाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।

गत साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो। ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

विश्वकर्माका अनुसार आज पाँच बजे बैठकका निर्णय सार्वजनिक हुनेछ। त्यसअघि बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठक बस्नेछ।

बैठक बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो। हिजो बोलाइएको बैठक बिना निष्कर्ष सकिएपछि बैठक आज फेरि बोलाइएको हो।

एक हप्तादेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए। जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखे।

केन्द्रीय समितिमा पेस भएको समय तालिकासहितको कार्यतालिकासँगै १० वटा प्रस्तावलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा आज संशोधनसहित पारित गर्ने तयारी गरिएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन्।

कार्ययोजना पारित गर्न सबैको सहमति रहेको र सुझावलाई पनि समेट्ने विषयमा छलफल भएको उनको भनाइ छ।

स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।​

मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो।

स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका गुप्तालाई रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ।

डीएसपी ठगबहादुर केसी सेवाबाट बर्खास्त

काठमाण्डौ – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक एसपी ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

छोटो अवधिमा धेरै वर्षा विपद्का घटना अझै बढ्ने जोखिम

काठमाण्डौ –यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्।
यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ ।

ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।
मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ ।

मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउँमा छोटो अवधिमा धेरै वर्षा भइरहेको मौसमविद् कडेलले बताउनुभयो ।
अझै पनि आरिघोप्टे वर्षाको सम्भावना रहेकाले विपद्का घटना बढ्न सक्ने उहाँले बताउनुभयो ।

आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभयो ।
तर, लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

करेन्ट लागेर गोरखामा एक जनाको ज्यान गयो

गाेरखा –करेन्ट लागेर गोरखामा एक जनाको ज्यान गएको छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको ज्यान गएको हो ।

शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते हुनुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा थापालाई करेन्ट लागेको उहाँले जानकारी दिनुभयो ।

जिप दुर्घटना, चालक हाम फालेर जोगिए

बझाङमा जलविद्युत आयोजना हाइड्रोपावर को केमिकल बोकेको जिप दुर्घटना भएको छ।

जिल्लाको तल्कोट गाउँपालिका–१ सुनिकोट मोडमा चैनपुर सेती हाइड्रोपावरको केमिकल लगेर गएको जिप दुर्घटना भएको हो।
मोडमा अनियन्त्रित भएर खसेको बा १० च ७२४३ नम्बर जिपमा यात्रु सवार नरहेको र चालकले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। चालक शान्तीनगर–६ दाङका ३६ वर्षीय उमाशंकर बोगटी रहेको उनले बताए। दुर्घटनामा परेको जिप टुक्रा–टुक्रा भएको छ।

दाङमा बस र टिप्पर ठोक्कियो‚ १७ जना घाइते

दाङमा यात्रुवाहक बस अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा १७ जना घाइते भएका छन्।
घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं। ६ स्थित बेलदमारमा लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २०१७ नं। को बालुवा बोकेको टिप्परमा घोराहीबाट लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नं को बस ठोक्किँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक गौतमका अनुसार बसमा सवार २५र२६ जनामध्ये १७ जना यात्रुहरु घाइते भएका छन्। घाइतेहरुको लमहीस्थित लमही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी नायव उपरीक्षक गौतमले भने, ‘घोराहीबाट लमहीतर्फ जाँदै गरेको यात्रुबाहक बस बेलदमारस्थीत टिप्परसँग ठोक्किँदा १७ जना यात्रु घाइते हुनुभएको छ। उहाँहरुको उपचार भइरहेको छ।’

बसचालक स्मित डिसीलाई प्रहरी नियन्त्रणमा लिएर घट्नाबारेमा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए।

गौतमका अनुसार दुर्घटनामा दुर्घटनामा राजपुर गाउँपालिका–७ लैबरूवा निवासी ५० वर्षीया रिता बिक, भारतको मध्य प्रदेश शिवाजीनगर भुषाल निवासी २७ वर्षीय सनी बिष्ट, तुलसीपुर उपमहानगरपालिका–१६ निवासी ४२ वर्षीय हेमबहादुर बस्नेत, गढवा गाउँपालिका–४ निवासी ३१ वर्षीय भम्भु चौधरी, रोल्पा रुन्टिगढी गाउँपालिका–६ निवासी ५२ वर्षीय इन्द्रसिंह घर्तीमगर घाइते भएका छन्।

राप्ती गाउँपालिका–५ निवासी २६ वर्षीया प्रमिला चौधरी, घोराही उपमहानगरपालिका–१४ निवासी एसिका परियार, सोही ठाउँ निवासी १७ वर्षीय खुसी परियार, ४६ वर्षीया रामकली बिक, घोराही–४ निवासी १९ वर्षीय हिरा बुढामगर, तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ७७ वर्षीय बिजुलीबहादुर घर्तीमगर, लमही नगरपालिका–९ निवासी ३० वर्षीय ओवीराम कुमाल, घोरारी उपमहानगरपालिका–७ निवासी ४६ वर्षीय कल्पना थापा, राजपुर गाँउँपालिका–७ निवासी ६७ वर्षीय भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका १ निवासी ३८ वर्षीय सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका–४ निवासी ३३ वर्षीय हिरालाल अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए।

 

दाउरा खोज्न गएको बेला नदीमा फसेका ५ जनाको उद्धार

काठमाण्डाै – रुपन्देहीका विभिन्न नदीको बीचमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवको उद्धार गरेको हो ।

यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाको तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारेको छ । नदीले घर कटान गरी केही भाग बगाएपछि प्रहरीले घरको सामान सुरक्षित ठाउँमा सारेको हो ।

अत्तरियाको आदर्श गल्लीमा यौनधन्दा गराउने २ जना पक्राउ

कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका हुन्।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। मालाखेती प्रहरीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ।

वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।