छोटो अवधिमा धेरै वर्षा विपद्का घटना अझै बढ्ने जोखिम – Nagarikabhiyan : National News

छोटो अवधिमा धेरै वर्षा विपद्का घटना अझै बढ्ने जोखिम

काठमाण्डौ –यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्।
यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ ।

ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।
मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ ।

मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउँमा छोटो अवधिमा धेरै वर्षा भइरहेको मौसमविद् कडेलले बताउनुभयो ।
अझै पनि आरिघोप्टे वर्षाको सम्भावना रहेकाले विपद्का घटना बढ्न सक्ने उहाँले बताउनुभयो ।

आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभयो ।
तर, लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।