९ श्रावण २०८०, मंगलवार १४:५८ – Page 6 – Nagarikabhiyan : National News

७ वटा भाषामा तयार भयो बन्दीपुर १७ पर्यटकीय गन्तव्यको सूचना

तनहुँ –बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित सात वटा भाषामा तयार भएको छ ।

गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा पर्यटकीय गन्तव्यको सूचना नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायतका भाषामा तयार पारिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न ठाउँमा क्यूआर स्क्यान गरी पढ्न तथा सुन्न सकिने भएको छ ।

बन्दीपुर घुम्न आउने पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताउनुभयो ।

मङ्गलवार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्यूआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको हो ।

पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १३ जना घाइते

पाँचथर –पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

काठमाण्डौ- पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम राप्तीका सहायक नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, अहिले आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो देशभर बदली भएर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु‚ राप्तीमा बगेका एक जनाको शव फेला

दाङ :दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना नदीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

सल्यान बागचौर नगरपालिका(४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका(७ मामाघरमा आएका १६ वर्षका मनोज वलीको मृत्यु भएको हो। सोमबार राति १ बजेतिर उनलाई सर्पले टोकेको थियो।

सर्पको टोकाइले सिकिस्त भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो।

राप्ती नदीमा बगेर बेपत्ता भएका लमही नगरपालिका(९ कोल्तरानिवासी ५२ वर्षका रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन्। लमही नगरपालिका(९ अमिलियाको राप्ती घाटमा भैंसी चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिकाका वडाध्यक्ष भेषबहादुर केसीले जानकारी दिए। साउन ३ गते बुधबार राजपुर गाउँपालिका(७ सिक्टाबाट काम सकेर अपराह्न घर फर्किने समयमा उनी राप्ती नदीमा बगेर बेपत्ता भएका थिए।

बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीले खोजी गरे पनि फेला पर्न सकेका थिएनन्।

 

इनरुवा नगरपालिकाको उपमेयरका श्रीमान योगेन्द्र मेहताको दादागिरी, अनुगमन टोली माथि अभद्र व्यवहार !

देवानगंज । इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।

जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको इनरुवा(१ को नुरी मेडिकल, विराट डाईग्नोेष्टिकसहितको अनुगमन गरेर नेशनल मेडिकलमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई मेडिकल व्यवसायीहरूले अनुगमनमा रोक लगाएका छन् ।

अनुगमनका क्रममा कर तिरेको नतिरेको, दर्ताको कागजपत्र चेकजाँच गर्नेक्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न आएको टोलीलाई केहीबेर मेडिकल हलभित्रै घेरेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुन्ने प्रयास पनि गरेका छन् ।

अनुगमन टोलीमा रहेका सदस्यहरूले योगेन्द्र मेहतालाई औषधि पसलको कर इनरुवा नगरपालिकालाई तिरेको छ, छैन भनेर प्रश्न गर्दा विवाद भएको स्थानीयको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका पती योगेन्द्र मेहतासँग विवाद भएको र सोहीक्रममा चर्काचर्की भएको बताउनुभयो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएकाबेला उपमेयरका पती योगेन्द्र महेताको नेतृत्वमा मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले वताए ।

यता इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका श्रीमान योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकलको पनि व्यवसाय दर्ता प्रमाण पत्र नरहेको भेटीएको छ । तर अनुगमनमा आएको टोलीलाई मेहताले दादागिरी शैलिमा अबरोध गरेका थिए । मेहताले अबरोध गर्न खोज्दा केही समय चरर्काचरकी समेत भएको थियो । मेहताले विना कारण अनुगमन टोलीलाई अभद्र व्यवहार गरेको भन्दै कार्वहीको लागि माग गरिएको छ ।

ललितानिवास प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं : ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना नक्कली मोहीहरु पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई नियन्त्रणमा लिइएको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको सिआइबीले जनाएको छ। यसै प्रकरणमा हिजो नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए।

यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत हालसम्म २२ जना पक्राउ परिसकेका छन्।

बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

देवानगञ्ज ।मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ।

ट्याक्टरसहित ड्राइभर समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ११ बजे तिकोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बो ट्याक्टर बगाएको प्रहरीले जनाएको छ। चालक डुवनारायण चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताए।

खोलाले बगाएको ट्याक्टर फेला परे पनि चालकको अवस्था अज्ञात रहेको बोहराले बताए।

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र श्रेष्ठको संयुक्त इजलासमा

काठमाडौं :कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ।
कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजोका लागि तोकिएको पेशी हेर्न नमिल्ने भन्दै आजका लागि सारिएको थियो। हिजो पेशी सरेपछि आज न्यायाधीशद्वय सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजालमा पेशी तोकिएको हो। माथेमा र श्रेष्ठको इजलासमा पेशी दुई नम्बरमा रहेको छ।

एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई ढालेर गठवन्धनले कोशी प्रदेशमा कंग्रेस नेतृत्वमा सरकार गठनको विषयलाई लिएर सर्वोच्चमा रिट दायर भएको थियो। सभामुखको मतलाई समेत जोडेर बहुमत पेश गरिएको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता गराएका हुन्।

थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।

९३ सदस्यीय प्रदेश सभामा सभामुख सहित गठबन्धन दलले ४७ जना सांसदको समर्थन आफूहरुलाई रहेको दाबी गर्दै सरकार गठन गरेको थियो। यहि विषयमा एमालेले सर्वोच्चमा दायर गरेको रिटमाथि आजबाट सुनुवाई हुन लागेको हो। सभामुख तटस्थ रहनुपर्ने कानुनी व्यवस्था विपरीत माओवादीबाट सभामुख भएका बाबुराम गौतमले सरकार निर्माणमा आफूलाई समेल गराएको भन्दै आलोचना भइरहेको छ।

लाइसेन्स बनाइदिने भन्दै सुन ठग २ जना पक्राउ

काठमाडौं :काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
निवेदक मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, बिशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर समेतका दर्जनभन्दा बढीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको छ।

आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदुषण जाँचपास गराई दिने लगायतका काम गरिदिने भन्दै ठगी गरेको आरोपमा ललितपुरका राजु परियार र काठमाडौंका ब्रह्मा रिसाललाई पक्राउ गरेको हो।

परियारले पीडितहरूबाट नगद तथा सुनको गहना औठी समेत जबरजस्ती लिई चार लाख तीस हजार बराबरको रकम ठगी गरेका सम्राट, समिर, रागब भन्ने राजु परियार र उनले लिएको सुन किन्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक ब्रम्हा रिसाललाई समातेको कार्यालयले जनाएको छ।

रिसालले ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११।६८० ग्राम सहित पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता

देवानगञ्ज ।बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् ।

से२त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर(६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका छन् ।
घटना गएराति ११ बजेतिरको हो । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यसपछि चौधरी बेपत्ता भएका हुन् ।

लेकम गाउँपालिकाको व्याक डोजर पल्टियो

गोकुलेश्वर।दार्चुलाको लेकम गाउँपालिकाको व्याक लोडर डोजर पल्टिएको छ ।
लेकम गाउँपालिकाको सू।प।प्र।०१००१ ग १८९ नम्बरको जेसिबी कम्पनीको व्याक लोडर लेकम गाउँपालिका—६ श्रीपुर नजिक सडकमा पल्टिएको हो ।

आइतबार लेकम गाउँपालिका—५ चौपाताबाट गोकुलेश्वर लाली सडक खण्ड अन्र्तगत सिरोडा, श्रीपुर,तेलीगाउँ,तिउनेगाउँ सम्म सडक सरससफाई गर्न आउँदै गरेको बेला श्रीपुर नजिक पल्टिएको हो ।
व्याक लोडर चालक भानदेव जोशीले चलाएका थिए । गोकुलेश्वरबाट अर्को व्याक लोडर मगाएर सडकबाट निकालिएको थियो । व्याक लोडरमा सामान्य क्षती पुगेको छभने चालक जोशीलाई चोटपटक लागेको छैन् ।

चालकलाई जोशीलाई व्याक लोडर डोजर चलाउन सम्बन्धी पुर्ण ज्ञान नभएकोले राम्रै सडकमा पल्टिएको स्थानियले बताएका छन् ।

चालक जोशीले सडक सरसफाई गर्दा पनि राम्रोसंग काम नगरि छोड्ने,ओकालो आराले ठाउँमा गाडीहरु गुडाउन उप्ठेरो हुने भएपनि त्यस्तो ठाउँमा कम गरे जस्तो गरि कामै नगरि सिधै व्याक लोडर लेकम गाउँपालिकाको कार्यालय रातामाटा लगेर खडा गर्ने गरेको स्थानीको गुनासो छ ।

विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो एक जना पक्राउ

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।

भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

कारागारमा कैदीबन्दीको उपचारको क्रममा मृत्यु

देवानगञ्ज ।  कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ/

चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन :गत आर्थिक वर्ष २०७९र०८० मा जिल्लामा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना र हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते ३१ र सामान्य घाइते २७ जना छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरूप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार १२८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिए।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जंगली बँदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

यस्तै जङ्गली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहतस्वरुप ३१ लाख ३८ हजार ४०० रुपैयाँ प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार रुपैयाँ भुक्तानी गरिएको छ। यही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको छ। यसको क्षतिबापत दुई लाख ३४ हजार ९०० रुपैयाँ भुक्तानी गरेको तिबारीले जानकारी दिए।

यस्तै अन्नबालीमा क्षति ५१७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार ६२५ भुक्तानी गरेको छ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।

खेती जोगाउन निकै कठिन बाँदरबाट खेती जोगाउन रुखमै घर

गुल्मी :सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा। तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्।
आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी घर निर्माण गरेका हुन्। अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको उनको भनाइ छ।

आफू घरमा एक्लै भएको, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै अस्थायी टहरा बनाएर बाँदर हेर्नु र धपाउनु बाहेकको विकल्प नभएको न्यौपानेले बताए। उमेरले नेटो काट्दै गएको समयमा जेनतेन लगाएको बाली पनि घरमा ल्याउन नपाइने चिन्ताले रुखमा बास बस्नुपरेको उनको गुनासो छ।

अझै करिब एक महिना मकै बाली जोगाउन रुखमै बास बस्नुपर्ने अवस्था रहेको भन्दै उनले यो अवधिसम्म बाँदर धपाउनका लागि व्यवस्था गरिदिए मात्र आफूहरूलाई सरकार भएको अनुभूति हुने बताए।

यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले कृषक सधैँ मारमा पर्ने गरेको बताए। यस्तै समस्याका कारण खेती योग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइँ गर्नु बाहेकको बिकल्प नभएको न्यौपानेको भनाइ छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषकले लगाएको अन्नबाली जंगली जनावरबाट जोगाउन समस्या भएको बताए। तत्कालका लागि गाउँटोलका स्थानीय मिलेर बाँदर धपाउनु बाहेकको विकल्प नभएको पनि उनको भनाइ छ।

 

धान सप्रियोस् भनेर थारु समुदायका अगुवा पूजा गर्नमा व्यस्त

टीकापुर –थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्।
रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्। हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ।

विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।
धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्दछौँ’, उनले भने, ‘सिँचाइ, मलखाद व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागतदेखि आधुनिक प्रविधि गर्ने गरिन्छ तर थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्वपूर्ण मानिन्छ। हामी हरेक वर्ष पूजा गर्छौं।’

धानमा लाग्ने गुभिया, गाँधी, फट्याङ्ग्रालगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ। प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेका किसान बताउँछन्।

हरेरी पूजामा सात मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ’, किसान राधा चौधरीले भने, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ।’

कुनैकुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन्। यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए। ‘हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकाले यो दिन केही कार्य नगर्ने चलन छ।’