८ श्रावण २०८०, सोमबार १०:१४ – Page 7 – Nagarikabhiyan : National News

आज इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा खेल्दै

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ ।
नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।

आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी र मोरक्कोबीच खेल हुनेछ ।
यस्तै, बेलुका पौने ५ बजे समूह ‘एफ’ को ब्राजिल र पानामा खेल्दैछन् ।

हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम दिएको छ । पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानबापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो,प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिनुभयो । गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु बस्तुको उपचार गरिएको छ ।

गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई १४ लाख ९८ हजार पाँच सय ८२ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ। गाउँपालिकाले प्रति लिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ।

सप्तरीमा ठूलो वर्षा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै –सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

झापाको बिरिङलगायतका खोलामा बाढी आउन सक्ने जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

पहिरोमा परेर बैतडीकाे पुर्चौडीमा आमा छोराको ज्यान गयो

८   साउन देवानगञ्ज । बैतडीको पुर्चौडी नगरपालिका(२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको हो ।

पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।उहाँकाे उपचार भइरहेकाे चाैधरीले बताउनु भयाे ।

प्रधानमन्त्रीका सल्लाहकार भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हौँ भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।

नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ परेका हुन्। उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी ठगी गरेको खुलेको छ। पीडितलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

यसरी रकम ठगी गरी उनीहरूले पीडितको ना४च ८६७० नम्बरको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएर जिल्ला प्रहरीको अनुरोधमा पक्राउ गरिएको उनले बताए। उनीहरुलाई कारबाहीका लागि आइतबार नै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ।

 

इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई भारत १ सय २८ रनले पराजित

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ए टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ए १ सय २८ रनले पराजित भयो ।
जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।

अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले । शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका बालकको अवस्था अझै थाहा हुन सकेन

काठमाण्डौ – काठमाण्डौको सामाखुसीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय साजन मगरको अवस्था अझै थाहा हुन सकेको छैन ।
हिजो खोलाले बगाएर बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

ठूलो पानी पर्ने अनुमान गरिएको कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । आज राति कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

सुन तस्करीमा अहिलेसम्म १६ जना पक्राउ

काठमाण्डाै –झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् ।

राजस्व अनुसन्धान विभागका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान गर्न आइतवार हिजो उच्च अदालत पाटनले छ दिनको म्याद दिएको छ । यसअघि सुन बरामद भएकै दिन गएको बुधवार पक्राउ परेका छ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका चार जनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । १० दिन म्याद लिएर अनुसन्धान भैरहेकाहरुमा सुन बरामद भएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्।

साउन ३ गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला राजश्व अनुसन्धान विभागले भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता

रुकुम पूर्व –रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजो आइतवार नदीमा बेपत्ता हुनुभएको हो ।

हिजो दिउँसो मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

बेपत्ता पुनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

आ–आफ्नो पसल थापेर बसेका कम्युनिस्टहरूलाई एकताबद्ध गर्नुपर्छ माधव नेपाल

काठमाण्डाै –नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा आइतवार कीर्तिपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यति धेरै नोक्सान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेका छन्, आ–आफ्नै पाराले चलिरहेका छन् । कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ । कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनका निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’
अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।

संघीय संसद्–प्रदेशसभा भेलाको १२ बुँदे निष्कर्ष, बजेटबारे सरकारको ध्यान

काठमाडौं :संघीय संसद् र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।
आइतबार संघीय संसद् र प्रदेशसभाको काठमाडौंमा जारी भेलाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले सो जानकारी दिएका हुन्।
कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद् र प्रदेशसभाहरुका लागि बजेटको व्यवस्था गर्नका लागि सरकारलाई ध्यानाकर्षण गराउने सो निष्कर्षमा उल्लेख गरिएको छ।

त्यसैगरी दुवै संसदका लागि भौतिक स्रोत र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्न, गराउन पनि पहल गर्ने निष्कर्ष निकालिएको प्रतिनिधिसभाका सचिव पाण्डेले बताए। उनले भने, व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउनु सरकारको दायित्व हो। व्यवस्थापिकालाई आर्थिक स्वयत्तताको प्रत्याभूति गर्न र कुनै पनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने। संसद र सचिवालयलाई भौतिक स्रोतका साथै पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापन गर्न, गराउन प्रयत्न गर्ने।’

भेलाले संसदको अधिवेशन आह्वान, अन्त्य, अधिवेशनमा पेश हुने विधेयकहरुलगायत सरकारी कार्यसूचीमा रहने विषयहरुको सम्बन्धमा सरकारले सभाध्यक्षसँग परामर्श गर्ने पद्धतिको अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै सोबारे पनि सरकारलाई सचेत गराउने जनाएको छ।

सार्वजनिक गाडी सफा हुनुपर्छ मन्त्री ज्वाला

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक गाडीका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।

यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोसाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक गाडीमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक गाडी आमनागरिकका साधन हुन् आमनागरिकले प्रयोग गर्ने गाडी सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती गाडीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।

मन्त्री ज्वालाले सार्वजनिक गाडीमा काम गर्ने चालक सहचालक तथा कर्मचारी अनुशासित हुनुपर्ने र उनीहरूको पहिचान खुल्ने गरी अनिवार्यरूपमा पोसाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।

यसैगरी मन्त्री ज्वालाले सरसफाइ आममानिसका लागि अति आवश्यक भएकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । आजदेखि मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली बजारमा भित्रिदै ओप्पोको नयाँ फोन, के के छन् विशेषता

काठमाडौं ।नेपाली बजारका लागि ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो एु सिरिजको नयाँ स्मार्टफोनओप्पो ए ७८ सार्वजनिक गर्ने घोषणा गरेको हो ।

यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । डाइमण्ड म्याट्रिक्स डिजाइन भएको यो फोनमा ६।५६ इन्चको डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।

फोनमा मिडियाटेक एमटी ६८३३ डाइभेन्सिटी ७०० चिपसेट प्रयोग गरिएको छ । ओप्पो ए७८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।
अन्तर्राष्ट्रिय बजारमा जनवरी ७ मा सार्वजनिक भएको फोन नेपाली बजारमा भने अहिले आउन लागेको हो । कम्पनीले उपलब्ध हुने मिति र मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २३ घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पञ्चदेवल नगरपालिका – ४ कालिकास्थान नजिकै भएको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका – ६ का अन्दाजी २३ बर्षीय बिर्ख विकको मृत्यु भएको हो ।

मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा भएको दुर्घटनामा अन्य २३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरबारे अदालतको फैसला स्वीकार्य

काठमाडौं :प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन्।

उनले अदालतमा विचाराधीन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरुले सो विषयमा छलफल गरे पनि अहिलेनै कुनै निष्कर्षमा पुग्न आवश्यक नदेखेको टिप्पणीसमेत गरे।

आइतबार काठमाडौंमा आयोजित ‘संघीय संसद र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुख घिमिरेले कोशी प्रदेशको सरकार निर्माणबारे आफूहरु सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको र उसले गर्ने फैसला स्वीकार गर्दै अघि बढ्नेसमेत स्पष्ट पारे।

सो घटनाको बारेमा पनि आफूहरुबीच धेरै नै छलफल भएको र त्यस घटनाबाट शिक्षा लिएर अघि बढने सहमति भएको पनि बताए। सभामुख घिमिरेले संघीय संसद र प्रदेशसभा परिवेश अनुसारको परिपाटीको विकास गर्दै अघि बढ्ने मान्यतामा अडिग रहेको समेत बताए।