७ श्रावण २०८०, आईतवार १४:४८ – Page 8 – Nagarikabhiyan : National News

लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको स्मार्ट लाइसेन्स समस्या चाँडै समाधान गर्ने बताएका छन्।

आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए।

उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको जानकारी दिए।

उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए। उनले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उल्लेख गरे। उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताए। उनले चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुशी हुने स्पष्ट पारे। उनले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए।

नेताहरूलाई खुइल्याउने काम नगर्न डा। प्रकाशशरण महतको आग्रह

काठमाडौं :नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन्।
आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए। उनले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए।

आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन। हाम्रो पार्टीको दृष्टिकोण छैन। हाम्रो पार्टीको मिशन छैन। हाम्रो पार्टीको भिजन छैन त्यो होइन। हाम्रो पार्टीको मिसन छ। हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। उच्च मनोबलका साथ जनतामा जान्छौँ। हामी त खत्तम भइसक्यौँ। हाम्रो अब भविष्य छैन। फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो। ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ। त्यो पूरा हुन सक्दैन’, उनले भने,

त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट बिरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन। त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली कांग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ। त्यसमा दुईमत छैन। त्यसैले मुलभुत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ। र अनुशासनको लागि हाम्रो पार्टी हो।‘

उनले पार्टीमा मतभिन्नताहरू हुन सक्ने, एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला। तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई आफूहरूले सघाउनुपर्ने बताए।

कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन माधव नेपाल

७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना(आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए
कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए ।

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै बागलुङका किसान

काठमाण्डौ –जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८र०७९ को तुलनामा आव २०७९र०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।

गत वर्षभन्दा आव २०७९र८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।

जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८र०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो । ‘किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ,’ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले भन्नुभयो, ‘फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ ।’

उहाँका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन् । एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उहाँले बताउनुभयो । व्यावसायिकरूपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बङ्गुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन् ।

त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् ।

जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्याङ्क केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताउनुभयो । ‘जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ ।’ बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

नेपाल–भारत सीमा क्षेत्र धनुषामा एक महिलाको गोली हानी हत्या पहिचान खुल्न बाँकी

काठमाण्डौ – नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।
गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका छन् ।
गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताउनुभयो ।
घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन् ।

हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग

जनकपुरधाम :सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले जनकपुरधाममा शनिबार आयोजना गरेको ‘मधेशको राजनीतिमा हिन्दी भाषाको अन्तरसम्बन्ध’ विषयक परिचर्चा कार्यक्रममा सरोकारवालाले मधेशमा हिन्दीलाई कामकाजको भाषाको मान्यता दिन सरकारसँग माग गरे।

कार्यक्रममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले हिन्दी भाषाले विगतदेखि नै नेपाल र भारतको सम्बन्ध जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएकाले यसलाई सम्पर्क भाषाको मान्यता दिनु अपरिहार्य रहेको बताइन्। मधेशभित्र नागरिक तह र राजनीतिकरूपमा दुई देशबीच महत्त्वपूर्ण सन्देश आदान–प्रदानका लागि हिन्दीले महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।

सांसद रेखा यादव र किरणकुमार साहले मधेसमा हिन्दी भाषा सूचना, भावना र आफ्नो विचार तथा अभिव्यक्तिको सहज माध्यमका रूपमा रहेकाले उचित मान्यता दिलाउन सरकारलाई दबाब दिने धारणा राखे।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले पनि दुई देशबीच नागरिकस्तरमा रहेको सम्बन्ध थप मजबुत गर्न र मधेसभित्रै धेरै नागरिकको सम्पर्क भाषाका रूपमा हिन्दी नै रहेकाले यसलाई उचित सम्मान दिन सरकारलाई आग्रह गरे।

त्रिवि हिन्दी केन्द्रीय विभाग कीर्तिपुरका विभागीय प्रमुख डा। सङ्गीता बर्माले नेपालमा भाषा तथा शिक्षाको प्रचार–प्रसार र राजनीतिक पुनर्जागरणका लागि हिन्दी भाषाको अतुलनीय योगदान रहेकाले सरकारले यसलाई उचित महत्त्व दिन आवश्यक रहेको बताइन्। उनले भाषा, साहित्य र शिक्षाको विकास, विस्तारका साथै खुला सिमानाका कारण मधेस तथा अन्य क्षेत्रमा सामाजिक, संस्कृतिक सम्बन्ध सदृढ गर्न पनि हिन्दी भाषाको योगदान नकार्न नसकिने बताइन्।

कार्यक्रममा हिन्दी भाषाका अभियानी सुदर्शनलाल कर्ण, साहित्यकार पुनम झा, प्राध्यापक चन्द्रेश्वरप्रसाद यादव, आभा सिन्हालगायतले हिन्दी भाषालाई भारतीय भाषाका रूपमा नभई ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको सम्पर्क भाषाका रूपमा बुझ्न आग्रह गरे।

त्रिवि केन्द्रीय विभागले हिन्दी भाषालाई औपचारिकरूपमा मान्यता दिएर पठनपाठन गरिरहे पनि नागरिक र राजनीतिक तहमा यो भाषाप्रतिको बुझाइलाई थप मजबुत बनाउन विभागले सातै प्रदेशमा परिचर्चा गर्न लागेको हिन्दी विभागमा प्राध्यापनरत विनोदकुमार विश्वकर्माले जानकारी दिए।

छैन साल्ट ट्रेडिङ जुम्लामा नुनको अभाव

जुम्ला :साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड खलंगा कार्यालयले आफूसँग पर्याप्त मात्रामा नुन रहेको दाबी गरेको छ। आफूहरूसँग अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख खगेन्द्र मल्लले सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल रहेको दाबी गरे। ‘जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ’, उनले भने, ‘वडाको मागबमोजिम वितरण गर्न कार्यालय लागिपरेको छ।’

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट नुन वितरण भइरहेको समयमा केही व्यक्ति आक्रोशित भई तोडफोडमा उत्रिएका थिए। गत आर्थिक वर्षकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा भीड हुने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९र०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगञ्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले नौवटै वडामा नुन ल्याउन कार्यपालिकामा छलफल गरेर वडाबाटै वितरण गर्ने बताए। वडामै नुन ल्याउन साल्ट ट्रेडिङसँग समन्वय गरिरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा कम वर्षा

काठमाडौं –मनसुनको मध्य समयमै न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा वर्षा कम भइरहेको छ ।
न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहँदा नेपालभन्दा केही टाढा पर्ने भएकोले यहाँ वर्षा कम भइरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
अहिले नेपालमा मनसुनको आंशिक प्रभाव मात्र परेको उहाँले बताउनुभयो ।
मनसुनको आंशिक प्रभाव मात्र रहेकाले विशेष गरी नेपालको तराई क्षेत्रमा उल्लेख्य वर्षा नभएको उहाँको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ सरेकोले भारत र बंगलादेशमा भने वर्षा बढी भइरहेको छ ।
अहिलेको अवस्थालाई मनसुन ब्रेकको अवस्था नै भन्न नमिले पनि पानी कम पर्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

आउँदो तीन दिन सम्म नै न्यूनचापीय रेखा उत्तरतिर सर्ने सम्भावना कम रहेकोले यो अवस्था लम्बिन सक्ने उहाँले बताउनुभयो ।
मौसमविद्हरुले मनसुनको शुरुमै साउनको पहिलो हप्ता पानी कम पर्न सक्ने पूर्वानुमान् गरेका थिए ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली भएर कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

६४ जना नेपाल प्रहरीका बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

७ साउन, काठमाडौं । नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।
हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण–

काठमाण्डौको सडकमा थुप्रिएको फोहोर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका स्थानीयले फोहोर ल्याण्डफिल्ड साइट लैजाने अबरोध गरेका थिए ।

अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई माटोले पुर्ने र औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीवेशी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको वैधानिकताबारे आजदेखि सर्वोच्चमा बहस

काठमाडौं : कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आइतबारदेखि बहस हुँदैछ।
गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आइतबार बहस शुरु हुन लागेको हो।

निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ मागेकी थिइन्।

त्यसैअनुरूप प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेशगरेसँगै सरकारको वैधानिकतामा बहस हुन लागेको हो।
नेपाली कांग्रेसका उद्धव थापाले सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर पेश गरेर आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि एमाले सर्वोच्च अदालत पुगेको थियो। एमालेले दायर गरेको रिटमा निष्पक्ष रहनु पर्ने सभामुख गौतमले समेत हस्ताक्षर गरी बनेको सरकार असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ।

समय यात्राको कथा ‘ट्रान्जिट’

काठमाडौं :शिल्पी कला समूहको गोठालो नाटकघरमा साउन ५ गतेदेखि कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।
टाइम ट्राभल’को काल्पनिक कथामा बनेको ट्रान्जिट शिल्पीमा मञ्चन भएको नगरकोटीको चौथो नाटक हो।

टाइम ट्राभलको काल्पनिक कथामा आधारित नाटकमा भूत र भविष्यकालको समय यात्रा गर्ने यात्रुबीच घटेका घटना देखाइएको छ ।
काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन्। स्टुडियो रहस्यमय स्थितिमा छ। उनको भ्रमणले मानवको विगतमाथी धेरै प्रश्न उब्जिन्छ।

मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् तरु यो ट्रान्जिटमा उनले कति समय बिताउनेछन्रु के उनी भूतकालमा खुशी छिन्रु उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कस्ले स्वतन्त्र गर्नेछरु
ट्रान्जिटले दर्शकलाई करिब डेढ घण्टा कल्पनाको यही संसारमा घुमाउँछ।

दर्शनलाई टाइम ट्राभल गराउन मञ्चमा दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमिल्सिना, मिल्सन राई आदि उत्रिएका छन्। नाटकमा देव न्यौपाने, अनुप तिमिल्सिना र सामरिक पौडेलको संगीत संयोजन छ भने प्रवीन खतिवडा र झकेन्द्र बिसीले प्रकाश संयोजन गरेका छन्।

घिमिरे युवराजले निर्देशन गरेको ट्रान्जिट आगामी भदौ २ सम्म हरेक साँझ ५स्३० बजे नियमित मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुने शिल्पीले जनाएको छ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान ‘ए’ खेल्दै

काठमाण्डौ –एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् ।
फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

अस्ति भएको पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।
आठ टोली सहभागी प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै बाहिरीएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई हराएको थियो ।

आज पुष्पलालको ४५औँ स्मृति दिवस

काठमाडौं :नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस, नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दैछन्।
१९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।
नेकपा स्थापना गर्नुअघि उनले १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे। अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो। उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नुका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन्।

शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए। पुष्पलाल राजनीतिमा लागेकै कारण पिता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि उनले भूमिगत निर्वासित जीवन बिताए। व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन्।त्यसैले नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन्।

सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ।

काम गरेर देखाउन नसके ८४ को चुनाव कांग्रेसको पक्षमा हुँदैन गगन थापा

कास्की : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन्।
आज ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्ने बताए।

नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने, “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे।

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उउनले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे। “नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा पूर्वाधार निर्माण गरी उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा हामी छौँ”, उनले भने।

जल, जमिन, जङ्गल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत उनले आग्रह गरे।

भोलिदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

६ साउन, पोखरा । आइतबारदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल ९चाइनापुल० सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी गराएको छ ।

महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए । ‘सबै एकदमै हतारमा भयो । तर पनि महानगरले त्यसको व्यवस्थापन गर्दैछ’, उनले भने ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई भोलिबाटै सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने ।

पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो ।

तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।

कुनैकुनै सवारी साधनले लामो समयसम्म सडकमै पार्किङ गरिराख्दासमस्या पारेको थियो । अब त्यसरी लामो समयसम्म सडकमै पार्किङ गर्न पाइनेछैन’, तिमिल्सिनाले भने, ‘बसपार्कमा पार्किङका लागि आज ९शनिबार० खाल्डाखुल्डी सम्याउने, पुर्ने काम भएको छ ।’

तिमिल्सिनाका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ । ‘बसपार्क क्षेत्रबाहिर निषेध गरेर भित्रमात्रै पार्किङ गर्न पनि हामीलाई पर्याप्त पुग्छ’ तिमिल्सिनाले भने ।