महाकाली नदीले कटान गर्न थालेपछि
१० श्रावण २०८०, बुधबार ०८:११
देवानगंज ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।
जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनुभयो । ‘बस्तीबाट ४०र५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भन्नुभयो, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’
उहाँले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताउनुभयो । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ स्थानीय प्रेम सार्कीले भन्नुभयो, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उहाँले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया