१६ चैत्र २०७७, सोमबार १०:०५ – Page 6 – Nagarikabhiyan : National News

होली मेलामा युवाहरुबिच झडप, २ जनालाई मारेर भीरबाट खसालियो

काठमाडौँ । होली मेलामा युवाहरुबिच झडप हुँदा दुई जनालाई मारेर भीरबाट खसालियो ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाहरुबिच आइतबार झडप हुँदा दुईजनाको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरले बताए । मृत्यु हुनेमा ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका प्रहरीले जनाएकाे छ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए।

झडपपछि केही युवाहरु हराइरहेको खबर आएको थियो। तर उनीहरु सबै सम्पर्कमा आइसकेका वडाध्यक्ष मगरले जानकारी दिए।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर सिसले दुई युवालाई मारेर भीरबाट फालिएको बताए।

‘होली खेल्ने क्रममा झडप भएपछि दुईजनालाई मारेर भीरबाट फालिएको जानकारी आएको छ’, उनले भने, ‘हराइरहेका केही युवाहरु सम्पर्कमा आइसकेका छन्।’

आइतबार दिउँसो होली खेल्न बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएकाे छैन।

घटनाका विषयमा अनुसन्धानका लागि बागलुङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ गएकाे छ। स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो।

तराईमा होली पर्व मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाण्डाै ।  तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली पर्व मनाइँदैछ ।

हिजो आइतबार देशका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाइएको छ भने आज तराई मधेशका जिल्लाहरूमा  रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय भएकाे उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ ।

भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह  गरेको छ । आज तराईका जिल्लामा सार्वजनिक बिदा छ ।

तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ हाेली मनाइँदै

देवानगंज । तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । आइतबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो ।

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा बिदा दिएको छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

आज २०७७ चैत्र १६ गते साेमवारकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

महामूर्खको उपाधि मह जोडीलाई

जनकपुरधाम ।  हरेक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यो वर्ष महजोडीले पाएका छन् । मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलनअन्तर्गतको उक्त उपाधि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंशले अचार्यले पाएका हुन् ।

प्रदेश नम्बर–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले महजोडीलाई उपाधि हस्तान्तरण गरे।

यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विद्यामा पटमूर्खको उपाधि दिएको थियो । त्यसअन्तर्गतको मूर्ख शेरोमनीको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहले वैशाखान्नद, जसपाका नेता राजीव झाले वंश कुरहारी, सञ्चारउद्यमी शंकर साहले मुसरीलाल र शीतल साहले ढोरवाको उपाधि पाएका छन् ।

पर्यावरण अभियन्ता सुरेश शर्माले हाराशेख, सुजित झाले सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्तले बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साहले लोढाशंकर, वीरेन्द्र कर्णले बज्रकिट र मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पटमूर्खको उपाधि पाएका छन् ।

प्रदेशसभा अधिवेशन आह्वान

प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका थिए।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए।

गोलीसहित युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो ।

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले  बताए।  उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।

हात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने सम्पूर्ण तयारी पूरा

विराटनगर । प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो । उहाँले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३०० जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको चक्की खुवाउनु नपर्ने भत्रुभयो ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार यस जिल्लामा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । यस्तै झापामा छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ ।

औषधि नखानेकै कारण छवौँ पटकमा सिद्धिने अभियान नवौँ पटकमा पुगेको जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले भत्रुभयो, “यसपटक कोही पनि छुट्नु हुँदैन, यसका लागि जिल्ला सबै सयन्त्र परिचालन गरिने छ ।”  स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले लामुखट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिका मसिनो धागो जस्तै परजीवीको आयु २० वर्ष रहने र यसैको कारणले मानिसलाई हात्तीपाइले रोग लाग्ने जानकारी दिनुभयो ।

शरीरका हात, खुट्टा एवं जनेन्द्रीयमा देखिने यो रोग तराईका जिल्लामा १३ प्रतिशत देखिएको अनुसन्धानले देखाएको छ । ई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छदेखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने लक्षण देखिने प्रमुख मेहताले जानकारी दिनुभयो ।

देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानबाट देखाइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ ।

झा दम्पती हत्या प्रकरण : लास जलाएको बासकसहित एकै परिवारका तीन पक्राउ

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरि स्थानीय तारादेवी झासहित उनका २ छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।

पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

तारदेवीको घरमा घरबाट झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको बाकस (ट्रंक) र जलाएका दाउरा लगायतका सामग्री बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ।

स्थानीयका अनुसार तीनैजना झा दम्पतीका नातेदार हुन्। झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एकमहिनापश्चात गएको बिहीबार गाडेको अवस्थामा पीपरा गाउँपालिका २ अतरा जाने बाटोमा फेला परेको थियो। अहिलेसम्म घटनामा सातजना पक्राउ परिसकेका छन् । घटनामा अझै केहि व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंमा होली – प्रहरीले चेकजाँचमा कडाइ गर्दा ११७३ वटा सवारीसाधन कारबाहीमा

काठमाडौं ।  काठमाडौंको हरेक ठाउँमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै प्रहरीले चेकजाँचमा कडाइ गर्दा  आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको छ । ‘उनीहरुलाई पनि भरेसम्ममा स्क्रिनिङ गरेर कारबाही गर्छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले भने, ‘मादक पदार्थ सेवन गरेर कुदाउने ३१ जनाविरुद्ध कारबाही भइसकेको छ ।

होली पर्व मर्यादित होस् भनेर चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनका अनुसार आइतबार हालसम्म उपत्यकामा ठूलो दुर्घटना पनि भएको छैन । ट्राफिक प्रहरीले उपत्यकाभर ९० वटा चेक पोइन्ट राखेर चेकजाँच गरिरहेको छ भने ७ सय बढी ट्राफिक प्रहरी परिचालित छन् ।

गृह मन्त्रालयले होलीमा सार्वजनिक कार्यक्रम गर्न पनि रोक लगाएको छ । सार्वजनिक कार्यक्रम गरेमा आयोजकलाई नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल भन्छन्, ‘केही सार्वजनिक कार्यक्रम रद्द भएको खबर पाएका छौं, हालसम्म कसैलाई नियन्त्रणमा लिनु परेको छैन ।’

अज्ञात समूहले नगरप्रमुखको दुई डोजर जलाएपछि

डोल्पा ।  जाजरकोटको ठुलिभेरी नगरपालिका – ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजर अज्ञात समूहले जलाएको छ ।

शनिबार राति अज्ञात समूहले ती डोजर जलाएको ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए।

उनका अनुसार बिहानै प्रहरी घटनास्थलतर्फ गएर अनुसन्धान जारी राखेको छ। जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्ने क्रमका ती डोजर जलाइका थिए।

 

मुलुकभर होलीको रौनक कम : उपत्यकामा कडा सुरक्षा

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ ।

गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।

काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताउनुभयो । “केही साना समूह देखिएका छन्, ठूलो भिडभाड हुन नदिन प्रहरीले निरुत्साहित गरिरहेको छ”, कँुवरले राससलाई भन्नुभयो, “विगतका वर्षमा भन्दा निक्कै कम देखिएको छ ।”

विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देशसमेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।

पश्चिम नेपाल घर भई काठमाडौँ बस्दै आउनुभएका पदमराज जोशीले आफ्नै घरपरिवारका साथ होली मनाएको बताउनुभयो । “कोभिड–१९ को जोखिम बढेको छ, समूहमा होली नखेल्न सरकारले अनुरोध गरेको छ, त्यसैले घर परिवारमै गीतसङ्गीतका साथ होली मनाएका हौँ”, जोशीले भन्नुभयो ।

यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । दिन भड्किँदै जाँदा अझै जमात बढ्ने अनुमान गरिएको छ ।

सरकारले घर–घरमै बसेर स्वास्थ्यमापदण्ड अपनाइ होली खेल्न यसअघि नै अनुरोध गरिसकेको छ । लापरवाही गरे वा स्वास्थ्य मापदण्डको पालना नगरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनीबीच युवाले सडकमा निस्किएर होली मनाएका छन् ।

सडकमा निस्किएका उनीहरुमध्ये धेरैले मास्क प्रयोग गरेका थिएनन् भने सामाजिक दूरीसमेत कायम गरेको पाइएन । नाम नबताउने शर्तमा होली खेल्दै गरेका एक युवाले आफ्नै साथीसङ्गीबीच होली खेलिएकाले मास्क नलगाएको बताउनुभयो ।

आज मुलुकको पहाडी जिल्लामा होली मनाइँदै छ । सोमबार तराईका जिल्लामा होली मनाइन्छ । चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ । यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाइने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ ।

अर्काे परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।

उपत्यकामा कडा सुरक्षा   

होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।

ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । “आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ”, भट्टराईले भन्नुभयो, “सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।”

महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ः०० बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने कूल १५२ सवारीका चालकलाई कारवाही गरिएको छ ।

मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी, सवारी चलाउने, दुर्घटना गराउनेसक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारीसाधन कारवाहीमा परेका छन् । महाशाखाका प्रमुख भट्टराईका अनुसार आज उपत्यकाका ७६ ठाउँमा ९०० ट्राफिक प्रहरी परिचालन गरी सवारी जाँच भइरहेको छ ।रासस

भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू

एजेन्सी । कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी लगाइएको छ।सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहनेछ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी गर्ने घोषणा गरेका हुन्।

महाराष्ट्र सरकारले बगैंचा, समुद्री किनारालगायत सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला नहुन पनि भनेको छ। त्यसको उल्लंघन गरे एक हजार भारूसम्म जरिवाना तिराइने छ। सिनेमा हल, मल, अडिटोरियम र रेष्टुरेन्टहरू पनि बन्द रहनेछन्। कर्फ्यूको समयमा होम डेलिभरी र टेक अवे भने सुचारू रहनेछन्।

भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोनाभाइरसको संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार  गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ।  शनिबारमात्रै त्यहाँ ६२ हजार  ५०० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पछिल्ला १६३ दिनमा सबैभन्दा धेरै हो। अहिले भारतभरि सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार छ। आइतबारपछि यो संख्याले ५ लाखको सीमा पार गर्नेछ।

भारतका महाराष्ट्र, छत्तीसगढ, गुजरात, हरियाणा, कर्नाटका, दिल्लीलगायत १५ राज्यमा कोरोना संक्रमित बढिरहेका छन्।

पछिल्लो समय भारतमा कोरोनाविरूद्धको भ्याक्सिन लगाउने क्रम तीव्र रूपले चलिरहेको भए पनि विभिन्न भेरियन्टको कोरोना भाइरस  फैलिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने  १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो, आज भेटवार्ता भएको छ’, थापाले भने, ‘संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको छ ।’
संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

काठमाडौंको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडाैं । शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ ।

स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायुप्रदूषण बढेको हो ।  प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।

यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

पत्रकार महासंघको अध्यक्षमा ५ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति, २०७७ का अनुसार अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलको उम्मेदवारी परेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालको उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलातर्फ दाना सुवेदी र बाला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै समावेशीतर्फको उपाध्यक्ष पदका लागि अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुवोध गौतमको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावलीउपर दावी विरोधको समय चैत १७ गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ ।