१६ चैत्र २०७७, सोमबार १७:५५ – Page 5 – Nagarikabhiyan : National News

वडा कार्यालयद्धारा सेवाग्राहीलाई ठगी गरेको आरोप

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नं. ६ मा सेवाग्रही र उपभोक्तालाई वडा कार्यालयले ठगी गरेको आरोप बाहिर आएको छ ।
वडाध्यक्ष कोषराज अधिकारीको निर्देशनमा उपभोक्ता तथा सेवाग्राहीसँग बिल भन्दा पाँच गुणा बढी रकम लिएर ठगी गरेको गुनासो बाहिर आएको हो ।
वडामा सेवा लिन गएका सेवाग्राहीलाई दुई सय पचास रुपियाँको रसिद दिएर एक हजार पाँच सय रुपियाँ र तीन सयको रसिद दिएर ३ हजार रुपियाँ लिएपछि ठगीको रहस्य बाहिर आएको हो । वडा कार्यालयले नागरिक वडापत्रको चाट देखाएर धेरे पैसा माग्ने र अलिकति कम दिएपछि विविध शिर्षकमा २ सय ५० रुपियाँको मात्रै रसिद काटेर १५ सय रुपियाँ लिने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
गत आर्थिक वर्ष २ सय ५० रुपियाँको रसिद दिएर इनरुवा ६ मधेशाका सदान्नद यादवसँग एक हजार पाँच सय रुपिया लिएको र त्यसपछि अन्य सेवाग्राीबाट समेत रसिद भन्दा कयौँ गुणा बढी रकम लिने कामलाई निरन्तरता दिएपछि सेवाग्राहीहरु आक्रोशित बनेका छन् ।
रकम बुझिलिनेको नाममा दुर्गा कार्की नाम रहेको रसिदमा साधारण विविध शिर्षकको आम्दानी संकेत नं. २ को १.३.३.१ मा २ सय पचास रुपियाँ बुझेको लेखिएपनि आफूसँग एक हजार पाँच सय रुपियाँ लिएको यादवको भनाई रहेको छ ।
त्यसैगरी बविता यादवले समेत आफूसँग ६ सय २५ रुपियाँको बिल दिएर ३ हजार रुपियाँ लिएको दाबी गर्नुभयो । वडाध्यक्ष कोषराज अधिकारीले रसिद भन्दा बढी रकम कोही कसैबाट नलिएको र आफूलाई बदनाम गर्न खाजेको दावी गर्नुभयो ।

आज देशभरका नेपाली मुस्लिम “शब ए बारात” पर्व मनाइंदै

काठमाडौ ।  इस्लाम धर्मावलम्बीहरुको  महान पर्व  “शब ए बारात” आज देशभरका नेपाली मुस्लिम समुदायहरुले धुमधामका साथ मनाइंदै छन् ।

इस्लामिक क्यालेण्डर अनुसार पर्ने यो “शब ए बारात” (सुकरात) पर्व नेपाली मुस्लिम समुदायहरुको  विशेष  र एकदमै महत्वपूर्ण चाडपर्व छन् ।  इस्लामिक क्यालेण्डरको नवौँ महिना अर्थात् मुस्लिमको सबैभन्दा पवित्र महिना रमजानको पूर्वसन्ध्यामा लगभग पन्ध्र दिनअघि मनाइने यो पर्व अन्तिम सन्देष्ठा हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलामको जमानादेखि नै मनाउन थालिएको धार्मिक गुरूहरु बताउँछन् ।

यस  पर्वको दिनमा रोजा (ब्रत) राख्नु सुन्नत अनि र रातभर जाग्राम बसेर अल्लाहको इबादत गर्ने गरिन्छ । गाउँ बस्तीका सबै मानिस एकै ठाउँ मस्जिदलगायत धार्मिकस्थलहरुमा भेला भएर पवित्र धर्मग्रन्थ कुरान सरिफ पढ्ने, नफ्फिल (अतिरिक्त) नमाज पढ्ने, अल्लाहसँग आफूले वर्षभरि जान अञ्जानमा गरेका सबै गल्तीको क्षमा याचना गर्दै दुवा गर्ने, मिलाद सरिफ पढ्ने, मरेका आफन्तजनको चिरशान्तिका निम्ति दुवा गर्नेलगायतका धार्मिक क्रियाकलाप गरी यो पर्व मनाइन्छ ।

यस पर्वमा मिठो मसिनो खानेकुरा बनाई आफू र आफन्तलाई जमघट गराई खाने चलन रहिआएको छ ।

हर्सोल्लासका साथ मनाइयो होली , नेकपा एमालेद्धारा होलीको शुभकामना अदान प्रदान

जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १६ गते । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरी नै हर्सोल्लासका साथ होली पर्व मनाएका छन् । रङ्गहरुको पर्वको रुपमा परिचित होली (फागु) दोस्रो दिन सुनसरी जिल्लाभर हर्षाेल्लासका साथ मनाइएको हो । विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भीडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको भएपनि सुनसरीमा सूचनालाई बेवास्ता गर्दै भिडभाडमा नै होली खेलेर , रगं अविर दलेर मनाइएको पाइएको छ ।
फागु पर्वको मुख्य केन्द्र इनरुवामा अध्याधिक मात्रामा मधेसी युवाको सम्लग्नतामा रगंअविर सहित मिठो मसिनो र मासु खाएर एक आपसमा शुभकामना साटासाट गरी मनाइएको स्थानीय युवा अभिनन्दन यादवले बताउनुभयो । यहाँ बच्चादेखि युवायुवतीहरुले रङ्गहरुको होली पर्व उल्लासका साथ मनाएका छन् । गत वर्ष मनाउन नपाएकहरुले यसपाली भने खुलेर होली वर्ष मनाएका छन् ।
यसैबीच इनरुवा नगरपालिकामा सोमबार नेकपा एमाले इनरुवा नगर कमिटिको आयोजना होली विशेष शुभकामना आदानप्रसाद कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका इनरुवा नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको होली विशेष कार्यक्रमका प्रमुख अथिती ऐमालेका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले पार्टीमा गुट उपगुट नभई एकजुटको आवश्यकता रहेको बताउनुभयो ।
भण्डारीले देश र जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले भएकाले यस बीचमा भएको विवाद र असझदारीहरुलाई विर्सेर पार्टी एकताको लागि नेताहरु मिल्नुको विकप्ल नरहेको बताउनुभयो ।
उहाँले पार्टीको विद्यान विपरीत कोही कसैलाई काम गर्ने अधिकार नभएकाले पार्टीको समानान्तर कमिटी गठन गर्ने र समानान्तर गतिविधि गरे कारवाही समेत गर्ने चेतावनी दिनुभयो ।
भण्डारीले एमाले पार्टीको कुशल नेतृत्व गर्ने नेता नै केपी शर्मा ओली भएकाले एमाले भित्रको एकता र सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । अहिले नेकपा एमालेलाई जनताले विश्वास गरेकाले त्यसमा धोका दिने र विश्वास घात गर्ने कोही पनि नेतालाई छुट नहुने चेतावनी दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य सरोज पोखरेलले होली पर्वले गुटगत राजनीति गर्ने पात्रहरुलाई एकता, सद्धभाव र सहकार्यको भावना पलाऔस् भनेर शुभकामना दिनुभयो । उहाँले पार्टीमा विराएर अरु तिर लागेका नेता कार्यक्रर्ताहरुलाई आफ्नै पार्टीमा फर्किन अपील समेत गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य रमेश श्रेष्ठले एमाले पार्टी सुनसरीको चार ओटै निर्वाचन क्षेत्र संघिय प्रतिनिधिसभा सदस्य, आठ ओटा प्रदेश सभासदस्य र १२ वटै स्थानीय तह जित्ने दाबी गर्नुभयो ।
उहाँले संघ देखी स्थानीय तहसम्म अगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने एक नम्बरं. पार्टी समेत बन्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेता कानुन अधिकारी, मिरा दाहाल, इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग , रामधुनी ८ का वडाध्यक्ष रुद्रबाहादुर बस्नेत , इनरुवा १० का वडाध्यक्ष सुलतान मिँया , एमालेका जिल्ला सचिव परशुराम यादव , कार्यालय सचिव राम कोइराला लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।
त्यसैगरी शुभकामना आदान प्रदान र होली विशेष कार्यक्रममा पार्टीका हरिनारायण चौधरी, सकुन्तला भण्डारी, भागुलाल श्रेष्ठ , सागर तिम्लिसिना , माधव प्रसाद पोखरेल ,दात्ताराम पोखरेल , राम पोखरेल , डिसी चौधरी , राम कोइराला , दिल कुमारी बस्नेत , इन्दिरा पराजुली , सविना सिग्देल , मनु चापागाँई , सरिता कार्की घिमिरे , लात्ता भट्टराई , राधा सुवेदी पोखरेल , राजन निरौला ,अमर काफ्ले , जानुका पोखरेल लगायतका सय भन्दा बढी नेता कार्यकर्ताहरुले एक आपसमा अविर सटासाट गरेका थिए ।
त्यसैगरी बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, प्रदेश सभा सदस्य निलम बस्नेत, नेता अजय कुसियैत लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन पार्टीका इनरुवा नगर सचिव मेघराज न्यौपानेले गर्नुभएको थियो ।
१, सुनसरीको धरानमा होलीको रगं पिचकारीमा हालेर हान्ने तयारीमा बालक ।

२, इनरुवामा होलीको अवसरमा रगं र अविर लगाएर शुभकामाना साटासाट गर्दै ।


३, होलीको अवसरमा अविर साटासाट गर्दै

जयकृष्ण यादव । इनरुवा

शिक्षण संस्था ४ दिन बन्द हुने तर परीक्षा चल्ने

काठमाडौं ।  वायु प्रदूषण बढेपछि शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।

शिक्षण संस्था बन्द भए तापनि परीक्षा भने सञ्चाल हुने भएको छ । ‘पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू संचालन गर्न सक्नेछन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वायु प्रदुषणबाट यसरी बाच्न सकिन्छ, पुरा पढौं

काठमाडौं ।  काठमाडौँ लगायत देशका सबै ठाउँमा वायु प्रदुषण एकदमै बढी रहेको छ । वायु प्रदुषण बढेसँगै बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, आँखा पोल्ने जस्ता समस्याहरु आइरहेको छ । तसर्थ बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउने तथा बिना काम बाहिर ननिस्कन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवहन गरिहेको छ ।

यस्ता छन् वायु प्रदुषणका कारणहरु :

-सवारी साधनको अत्याधिक प्रयोग ।

-फोहोर मैला जथाभावी फाल्नु ।

-कलकारखाना मानव बस्ती नजीक हुनु ।

-पुराना सवारी साधन विस्तापित गर्न नसक्नु ।

-किटनाशक औंषधीको प्रयोग गर्नु ।

-धुवा धुलोलाई नियन्त्रण गर्न नसक्नु ।

-बढ्दो सहरीकरण ।

-आगोलागी हुनु ।

वायु प्रदुषणले स्वास्थ्यमा पार्ने असरहरू : 

-श्वास प्रस्वास सम्बन्धी संक्रमण

-फोक्सो, आँखा आदिमा असर

-रुघाखोकी

-एलर्जी, निमोनिया, घाँटीको क्यान्सर आदि

वायु प्रदुषणबाट बच्ने उपायहरु : 

-वनजंगल फडानी नगर्ने, वृक्षारोवण गर्ने कार्यमा प्रोत्सहान गर्ने ।

-कलकारखना तथा उद्योग धन्दालाई मानव बस्तीबाट टाढा राख्ने ।

-ढल निकासको उचित व्यवस्था गर्ने ।

-मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने ।

-व्यवस्थित सहरीकरणको विकास गर्ने ।

-विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष जोड दिने ।

-खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध गर्ने ।

७७ औं जिल्लामा स्वास्थ्य बीमा अभियान चल्ने

काठमाडौं ।  ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सरकारले यही आर्थिक वर्षमा लागू गर्न थालेको छ ।

यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू थालिएको हो ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले गराए रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् ।

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । “अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ”, उनले भने, “त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछौं ।”

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए । उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । “गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन”, उनले भने, “त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।”

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए । “बिरामी हुँदा मानिसहरु रु एक लाखभन्दा पनि बढी तिर्छन्”, उनले भने, “तर बीमा गर्नका लागि रु तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।”

उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छैनन् । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

बाजुरामा भाइरल रोगले विद्यार्थी बिरामी

बाजुरा । बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताए ।

उक्त विद्यालयमा अध्ययनरत करिब सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनले बताए । दैनिक रुपमा २० जना बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्ने पर्ने अवस्था आएको प्रअ थापाको भनाइ छ ।

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि प्रतिबन्ध लगाइएको सरकारले जनाएको छ ।

पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।

उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ । यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ ।
नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ । यस्तो प्रतिबन्ध घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन नपाइने जनाइएको छ ।

देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकोले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गर्नुभएको थियो । उहाँले देशमा कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकोले यसबाट बच्न सबै नागरिकले सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि आग्रह गर्नुभएको थियो ।

चमेरोबाट मानिसमा कोरोना भाइरस सर्यो : डब्लुएचओ

बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस (एपी)लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।

अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए ।

एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन । अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।

कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ । प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गम स्थल उहानको भ्रमणमा आधारित छ । उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिएका छन् । उनले भने, “मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने र यसलाई सार्वजनिक गरिने छ ।

भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताका कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी दिनुभयो ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताउनुभयो ।

बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको छ ।

२० बर्ष कैद भएका फरार अभियुक्तलाई २० बर्षपछि पक्राउ

राजविराज । कर्तब्य ज्यान मुद्दामा २० देखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरि आईतबार करार चलान गरेको छ ।

पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस –६) को ५४ बर्षिया लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरिएको थियो ।

सप्तरीको साविक मौवाहा गाबिस–६ ( हाल बलान बिहुल गाउँपालिका–३ ) बस्ने ५४ बर्षिया लक्ष्मण भन्ने धनीलाल साह तेली समेतले २०५७ साल साउन ३ गते राती करिब १२ बजेको समयमा दशरथ साहलाई हत्या गरेको थियो ।

पिसाब फेर्न भनि सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी लक्ष्मण साह तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठी फट्टा समेतले प्रहारबाट दशरथ साहलाई कर्तब्य गरी मारेको प्रहरीको भनाई छ ।

त्यसपछि कर्तब्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०६५ चैत्र ११ गते तथा तत्कालिन पुनरावेदन अदालत राजबिराजबाट २०६७ साल चैत्र २२ गते तथा सम्मानित सर्वोच्च अदालतबाट २०७२ साल मंसिर १ गते समेतको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनिलाल साह तेली लाई २० बर्ष कैद ठहर गरिएको थियो ।

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने

काठमाडौं  । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने  हुनेभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने एन्फा स्राेतले जनाएको छ ।

नेपाल, बंगलादेश र किर्गिजस्तान सहभागी प्रतियोगितामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नलागेका हुन्। लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।

नेपाल फाइनलमा पुगेसँगै बंगलादेशसँग १–० गोलले पराजय व्यहोरेको किर्गिजस्तानको यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको थियो।

सेनाको कु बाट बाच्न म्यानमारको ३ हजार भन्दा बढी नागरिक थाइल्याण्ड पुगे

एजेन्सी 

काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् ।

धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन हजार मानिसहरु अहिले शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् ।

अहिलेसम्म थाइल्याण्डले भने म्यानमारबाट आएका शरणार्थीको विषयमा केही बताएको छैन । म्यानमारमा अहिले सेनाविरुद्धको आन्दोलन निरन्तर चलिरहेको छ । उक्त आक्रमणको सेनाले बर्बर दमन गरिरहेको छ ।

आइतबार म्यानमारको सेनाले अन्त्येष्टिमा गएका मानिसहरुमाथि पनि गोली चलाएको थियो । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार म्यानमारमा सुरक्षाकर्मीबाट थप १३ प्रदर्शनकारी मारिएका छन् । एएपीपीका अनुसार म्यानमारमा अहिलेसम्म सेनाविरुद्धको आन्दोलनमा ४५९ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् ।

शनिबार म्यानमारमा एकैदिन आन्दोलनको क्रममा ११४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले गरेको घातक दमनपछि पश्चिमा मुलुकहरुले म्यानमारको सेनाको निन्दा गरेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाविरुद्ध चालेको कदमको प्रभाव भने निकै कमजोर देखिएको छ ।

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको यस्तो आदेश

काठमाडौं । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोगमा  सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन  नवलपरासीका जिल्ला अदालतले आदेश दिएको हो ।

राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को लगाइएको छ । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ ।

जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो ।

न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।

अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए ।

होली खेल्दा पानी भनेर एसिड छ्याप्दा तीन जना घाइते

काठमाडौं ।  शंखरापुर नगरपालिका १ चापाकोटमा होली खेल्ने क्रममा पानी भनेर एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । दुध डेरीमा राखिएको एसिड छ्याप्दा एक किशोरी र दुई बालक घाइते भएका हुन् ।

दिउँसो होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना बालक घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइते हुनेमा ९, ११ र १६  वर्षीय बालक छन्। उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए।

प्रहरीका अनुसार डेरीमा दूधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा राखेको थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी भन्दै ग्यालिनमा भएको एसिड छापेको बताइएको छ ।

 

चीनले नेपाललाई ८ लाख भ्याक्सिन उपलब्ध गराएको काठमाडौं आइपुग्याे

काठमाडौं  ।  चीन सरकारले सहयोग दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज बिहान साढे ८ बजे  काठमाडौं आइपुगेको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत कोरोना खोपसहितको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । चीनले स्वास्थ्य सामग्री सहायता अन्तर्गत दिएको कोरोना भ्याक्सिन ‘भेरासेल’ आज आएकाे हो ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको हो ।

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।