वडा कार्यालयद्धारा सेवाग्राहीलाई ठगी गरेको आरोप – Nagarikabhiyan : National News

वडा कार्यालयद्धारा सेवाग्राहीलाई ठगी गरेको आरोप

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नं. ६ मा सेवाग्रही र उपभोक्तालाई वडा कार्यालयले ठगी गरेको आरोप बाहिर आएको छ ।
वडाध्यक्ष कोषराज अधिकारीको निर्देशनमा उपभोक्ता तथा सेवाग्राहीसँग बिल भन्दा पाँच गुणा बढी रकम लिएर ठगी गरेको गुनासो बाहिर आएको हो ।
वडामा सेवा लिन गएका सेवाग्राहीलाई दुई सय पचास रुपियाँको रसिद दिएर एक हजार पाँच सय रुपियाँ र तीन सयको रसिद दिएर ३ हजार रुपियाँ लिएपछि ठगीको रहस्य बाहिर आएको हो । वडा कार्यालयले नागरिक वडापत्रको चाट देखाएर धेरे पैसा माग्ने र अलिकति कम दिएपछि विविध शिर्षकमा २ सय ५० रुपियाँको मात्रै रसिद काटेर १५ सय रुपियाँ लिने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
गत आर्थिक वर्ष २ सय ५० रुपियाँको रसिद दिएर इनरुवा ६ मधेशाका सदान्नद यादवसँग एक हजार पाँच सय रुपिया लिएको र त्यसपछि अन्य सेवाग्राीबाट समेत रसिद भन्दा कयौँ गुणा बढी रकम लिने कामलाई निरन्तरता दिएपछि सेवाग्राहीहरु आक्रोशित बनेका छन् ।
रकम बुझिलिनेको नाममा दुर्गा कार्की नाम रहेको रसिदमा साधारण विविध शिर्षकको आम्दानी संकेत नं. २ को १.३.३.१ मा २ सय पचास रुपियाँ बुझेको लेखिएपनि आफूसँग एक हजार पाँच सय रुपियाँ लिएको यादवको भनाई रहेको छ ।
त्यसैगरी बविता यादवले समेत आफूसँग ६ सय २५ रुपियाँको बिल दिएर ३ हजार रुपियाँ लिएको दाबी गर्नुभयो । वडाध्यक्ष कोषराज अधिकारीले रसिद भन्दा बढी रकम कोही कसैबाट नलिएको र आफूलाई बदनाम गर्न खाजेको दावी गर्नुभयो ।