झा दम्पती हत्या प्रकरण : लास जलाएको बासकसहित एकै परिवारका तीन पक्राउ
१५ चैत्र २०७७, आईतवार १९:१३
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरि स्थानीय तारादेवी झासहित उनका २ छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।
पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
तारदेवीको घरमा घरबाट झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको बाकस (ट्रंक) र जलाएका दाउरा लगायतका सामग्री बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ।

स्थानीयका अनुसार तीनैजना झा दम्पतीका नातेदार हुन्। झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।
गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एकमहिनापश्चात गएको बिहीबार गाडेको अवस्थामा पीपरा गाउँपालिका २ अतरा जाने बाटोमा फेला परेको थियो। अहिलेसम्म घटनामा सातजना पक्राउ परिसकेका छन् । घटनामा अझै केहि व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया