होली मेलामा युवाहरुबिच झडप, २ जनालाई मारेर भीरबाट खसालियो
१६ चैत्र २०७७, सोमबार १०:०५
काठमाडौँ । होली मेलामा युवाहरुबिच झडप हुँदा दुई जनालाई मारेर भीरबाट खसालियो ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाहरुबिच आइतबार झडप हुँदा दुईजनाको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरले बताए । मृत्यु हुनेमा ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका प्रहरीले जनाएकाे छ।
उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए।
झडपपछि केही युवाहरु हराइरहेको खबर आएको थियो। तर उनीहरु सबै सम्पर्कमा आइसकेका वडाध्यक्ष मगरले जानकारी दिए।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर सिसले दुई युवालाई मारेर भीरबाट फालिएको बताए।
‘होली खेल्ने क्रममा झडप भएपछि दुईजनालाई मारेर भीरबाट फालिएको जानकारी आएको छ’, उनले भने, ‘हराइरहेका केही युवाहरु सम्पर्कमा आइसकेका छन्।’
आइतबार दिउँसो होली खेल्न बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएकाे छैन।
घटनाका विषयमा अनुसन्धानका लागि बागलुङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ गएकाे छ। स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया