४ आश्विन २०७७, आईतवार २०:३१ – Page 4 – Nagarikabhiyan : National News

प्याजको कालोबजारी गर्ने विराटनगरका दुई व्यापारी पक्राउ

विराटनगर । भारतले निर्यात बन्द गरेको बहानामा मूल्य अत्याधिक बढाएर प्याजको कालोबजारी गरेको आरोपमा दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

खरिद मूल्य भन्दा दोब्बरमा प्याजको विक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनी छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका व्यापारीले ४१ रुपैयाँमा खरिद गरेको प्याज ९५ देखि एक सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेका थिए । ‘भारतबाट प्याजको आयात रोकिएको मौकामा खरिद गरेको मूल्यभन्दा दोब्बर बढीमा विक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं’ एसपी खड्काले भन्नुभयो । पक्राउ परेका व्यापारीले कति परिमाणमा कालोबजारी गरि प्याज बिक्री गरेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्ताले विजयकुमार योगेस पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट प्याजको कालोबजारी गर्ने गरेको प्रहरीले जनाएको छ । ‘गुद्रीको पसलबाट प्याजको कालोबजारी भइरहेको गोप्य सूचना आएपछि प्रहरीले स्ट्रिङ अप्रेसनमा कालोबजारी गर्ने व्यापारी पक्राउ गरेको हो,’ एसपी खड्काले भन्नुभयो ।

देवानगंजको मारिया खोलामा शव फेला

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.३ मा पर्ने मारिया खोलामा आइतवार एक युवकको शव फेला परेको छ ।
असोज २ गते विश्वकर्मा पूजा को मुर्ती सेलाउने क्रममा २५ वर्षीय सन्तोष मण्डल पानीमा डुबेर बेपता भएका थिए ।
केही दिनपछि मण्डलको शव मरिया खोलामा फेला परेको हो। स्थानीयले खोजतलास गर्दा उनको मृत अवस्थामा शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीको दुहवी सोनापुर घर भएका मृतक मण्डल आफनो मामाको घर आएका थिए ।
कोरोना कारण मामाको घरमै बसेको र विश्कर्मा पुजाको मूर्ती सेलाउने क्रममा मरिया खोलामा नुहाउने क्रममा बेपता भएपछि हिजो मृत अवस्थामा उनको शव फेला परेपछि इलाका प्रहरी कार्यालय देवानगंजलाई खबर गरिएको थियो ।

खोलामा डुबेर युवकको मृत्यु

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ४ का एक यवकको खोलामा नुहाउने क्रममा आइतवार मृत्यु भएको छ ।
हालको हरिनगर गाउँपालिका ४ र साविकको हरिनगरा गाविस वडा नम्बर ६ को २१ वर्षिय सुशिल मेहता मरिया खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

अनसनरत डा. केसीलाई जबरजस्ती उठाएर अस्पताल पुर्‍याइयो, केसीको स्वास्थ्य अवस्था बिग्रदै

सुर्खेत । अनसनरत डा. गोविन्द केसीलाई जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

शनिबार राती करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती उठाएर अस्पताल लगेको हो। डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले ‘राती म घर गएको थिएँ । प्रहरी आएर जबरजस्ती लगेछन् ।’ भनेका छन् ।

डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए।  तर उनले अस्पताल जान मानेका थिएनन् । डा. केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा विगत ७ दिनदेखि अनसनरत थिए ।

प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र पेसर चेकजाँच गर्न पनि मानेका छैनन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

डा. केसीको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. केसीको माग पूरा गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सत्याग्रही डा. केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्न माग गरिएको छ ।

स्वास्थ्यमा नागरिकको सहज पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सुलभ रुपमा चिकित्सा शिक्षा हासिल गर्न पाउनुपर्ने केसीको माग जायज भएको भन्दै सत्याग्रहप्रति ऐक्यबद्धता पनि जनाएको छ ।

प्रमुख सचेतक खाणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदीय दलले सत्याग्रही केसीको जीवन रक्षाका लागि पनि सरकारसँग माग गरेको छ । अनसनका कारण केसीको स्वास्थ्य बिग्रँदै जाँदा पनि सरकारले माग बेवास्ता गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको ठहर छ ।

सार्वजनिक यातायातः ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा मानिस-मानिसबीचको दूरी कायम नगरिँदा जोखिम बढेको छ ।

तर कोरोना महामारीको समयमा बसभित्रै भौतिक दूरी कायम गर्न आधा सिटमा मात्र मानिस राख्न पाइने नियम लगाइएको छ र ५० प्रतिशत बढी भाडा उठाउन दिइएको छ । यातायात व्यवसायीले भाडा बढी लिनेबाहेक अरु नियम मानेका छैनन् ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले बताए ।

‘सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्उनले भने ।

विभागले चार किमीको भाडा १४ रुपैयाँ तोकेको थियो । कोरोना महामारीको समयभर भाडा बढाएर न्युनतम भाडा २१ रुपैयाँ पु¥याइएको छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा २५ रुपैयाँ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम भाडा २५ रुपैयाँ नै बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भएरनभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको भएको बताउँछन् । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काँठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । काँठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् । तर भाडा भने बढी नै तिरिरहेका छन् ।

काँठ क्षेत्रका नगरपालिकाले पनि यसको अनुगमन गरेका छैनन् । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिको व्यवस्था भए पनि त्यससम्बन्धी कानून नभएकाले जनदबाबमा कहिलेकाहीँ अनुगमन गरेपनि के कति कारबाही वा जरिवाना गर्ने भन्ने निश्चित छैन ।

नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको स्थानीय सरकार चुँक्कसम्म नबोलेको शङ्खरापुरका स्थानीयवासी रामप्रसाद दङ्गालले गुनासो गरे ।

भदौ ३ गते अघि तोकिएभन्दा बढी यात्रु राखेर मनपरी भाडा लिने सवारी नं महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा टिपाउँदा केही पनि कारबाही नभएपछि यातायातका चालक, परिचालकमा जे गरे पनि हुन्छ भन्ने भावना बढेको उनको गुनासो छ । सवारीले नियम उल्लङ्घन गर्ने बस नम्बर नै टिपाउँदा पनि कारबाही नगरेको उनको दुखेसो छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव गत भदौसम्म मापदण्ड उल्लङ्घन गर्ने सवारीलाई दिनभर कारबाहीस्वरुप राख्ने गरेकामा यही असोज १ गतेपछि भने रु ५०० देखि १० हजारसम्म जरिवाना गर्न थालिएको बताउँछन् । यसरी दैनिक सार्वजनिक र निजी गरी ७०० सम्म सवारी कारबाहीमा पर्ने गरेका छन् ।

‘ट्राफिक प्रहरीलाई रु एक हजार ५०० सम्मको चिट काट्ने अधिकार छ, यातायात व्यवस्था ऐन र नियमावलीअनुसार १० हजार रुपैयाँसम्मको चिट काट्नुपर्ने गरी गल्ती गर्नेलाई विभागको जिम्मा लगाउन थालेका छौं’ उनले भने । रासस

मुख्यमन्त्री र सभामुखद्वारा गाउँपालिका उपाध्यक्ष राईप्रति श्रद्धाञ्जली व्यक्त

सुनसरी । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा आज धरानमा मुख्यमन्त्री र सभामुखद्वारा राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको झन्डा ओढाएका थिए भने सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बिहान निधन भएकी ४५ बर्षीया उपाध्यक्ष राईको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ ।

राई उनी तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

५ विषयमा संविधान संशोधन गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान ट्विटरमा उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन् ।

महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।

भ्रष्टाचार रोक्न जनलोकपाल र अदालतको पुनर्संरचना गर्नुपर्ने डा भट्टराईको ट्विटमा उल्लेछ छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि चालेको कदम उराठलाग्दो छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टूँडिखेलमा आयोजिक विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार भएको बताएका छन् ।

पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने र पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने प्रयोगशाला स्थापना गरिएको उनले बताए ।

शुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा परीक्षण हुने बताउँदै उनले कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको बताए ।

संविधान दिवस: कतै भव्य कार्यक्रम, कतै विरोध प्रदर्शन

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएको आज (शनिबार) पाँच वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्लेहरु राखिएका छन् । सबै नागरिकलाई घरघरमा नेपालको झण्डा फहराउन सरकारले अनुरोध गरेको छ । मुलुकभर जनताले आफ्नै शैलीमा झण्डा फहराएर मनाइरहेका छन् ।

कोभिड–१९ महामारीबीच संविधान दिवस ‘हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मूल नारा तय गरिएको छ ।

संविधान जारी भएपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू अझै धेरै बाँकी छन् । कानून र आवश्यक संरचना निर्माणका काम पनि पूरा भएका छैनन् । बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको छ । संविधानले परिकल्पना गरेका कतिपय आयोगहरू अझै पदाधिकारीविहीन छन् ।

नागरिकले आधारभूत रूपमा राज्यबाट पाउने सकारात्मक विभेदका नीति कतिपय संरचना नबन्दा पाउन सकेका छैनन् । संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा विभाजित छ ।

मधेश केन्द्रित राजनीतिक दलले बेलाबेलामा संविधान संशोधनको विषय उठाइरहे पनि स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन परामर्श हुन सकेको छैन ।

यसै अवसरमा जनता समाजवादी पार्टीले आज देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेशवादी दलले शनिबार कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

संविधान कागजी रूपमा मात्रै बनाइएको नभई मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रगति, सुशासन र तथा परिवर्तनको आभास दिन बनाइएकाले सरकार र राजनीतिक दलले सोहीअनुसार आफूलाई केन्द्रित गर्नुपर्ने माग नागरिक स्तरबाट उठिरहेको छ ।

यसैबीच दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस ‘मनाउने ’ समय नआइपुगेको बताएका छन् ।

आज (शनिबार) काठमाडौं उपत्यकासहित देशभर संविधान दिवस मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बसेको छ ।

सरकारले सबै नागरिकलाई घरघरमा नेपालको झण्डा फहराउन र दीपावली मनाउन अनुरोध गरेपनि प्रदेश २ मौन भएको छ । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलका अनुसार यसपटक मन्त्रिपरिषदको निर्णयले कुनै पनि कार्यक्रम निर्धारण गरेको छैन । उनले केन्द्रबाट घोषित कार्यक्रम अनुसार राष्ट्रिय झण्डा फहराइने र साँझ दीपावली गरिने छ ।

यता सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधान ‘सेलिब्रेसन गर्ने समय आइनपुगका कारण प्रदेश सरकारले कुनै कार्यक्रम तय नगरेको बताए ।

यसैबीच जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना धानजोन इकाई बिरुद्ध अख्तियारमा उजुरी

इनरुवा । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना धानजोन इकाई सुनसरी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी परेको छ ।

परियोजनाको धानजोन इकाईले सञ्चालक समिति मार्फत सेवा प्रवाह गरेको र कमिशनमा कार्यक्रम दिएर अनियमितता गरेको भन्दै युवा किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी परेको हो ।

सुचना, प्रकाशन र इन्धन खर्च सहित अनुदान र कृषि औजार खरिद शिर्षकमा अनियमितता गरेको आरोप सहित युवाहरुले छानबिन गरी कार्वाहीको लागि उजुरी गरेको हो । जिल्लाको गढी गाउँपालिका, रामधुनी नगरपालिका र दुहबी नगरपालिकाका युवाहरुले परियोजनाको पारदर्शिताका लागि दोषीलाई छानविन गरि कार्वाही गर्नुपर्ने माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी दिएको एक युवाले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत सुनसरीमा सञ्चालित कार्यक्रममा ब्यापक अनियमितता भएको स्थानीय कृषकहरुले गुनासो गरेको समाचार यसअघि बाहिरी सकेको छ । परियोजनाले १ करोड रुपियाँको आर्थिक अनियमितता गरेको आरोप सहित उजुरी परेको हो ।

अख्तियारले उजुरी आएको र यस बिषयमा थप कानुनी प्रक्रिया अगाडी बढेको प्रतिक्रिया दिएको छ । अनियमितता भएको बिषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुने समेत अख्तियारले जनाएको छ । किसानहरुले भने केही कृषि सहकारी संस्था र कृृषक समूहलाई सिन्डिकेटको अधारमा अनुदान दिएकाले पारर्दिशताको माग गरेका छन् । किसानले परियोजनाको प्रतिफलमा अधारित प्रोत्साहन अनुदान कार्यक्रममा रानी पोखरी ढिक कृषक समुह रामधुनी ७, हातिमारा कृषक समूह, पञ्चान कृषि तथा पशुपालन कृषक समूह, ग्रामिण बहुउदेश्य कृषक समूह रामधुनी ७, जयकिसान कृषक समूह गढी ३, नेशनल बहुउद्धेश्य कृषक समूह र चन्द्रोदय कृषि सहकारी संस्था गढी ३ लाई बितरण गरेकोमा अनियमितता भएको आरोप समेत लगाएको छ । परियोजनाले ७ वटा समुहलाई २ सय हेक्टर धानखेतीका लागि १९ लाख ७० हजार रुपियाँ अनुदान दिएको बताइएको छ ।

तनमुना र छिटाहाका कृषकहरुले परियोजना कार्यान्वयन इकाई प्रमुख दिपेन्द्र पोखरेलले कृषि विकास कार्यालय हुदैं हालसम्म कमिशन र पिसीमा कार्यक्रम दिने गरेको आरोप लगाएका छन् । आरोप र गुनासोको विषयमा इकाई प्रमुख पोखरेलले प्रतिक्रिया दिदैं दुई खाले कार्यक्रम गरेको र कुनै अनियमितता नभएको बताउनुभयो । पोखरेलका अनुसार कार्यक्रमहरु प्रचलित कानुन अनुसार दुहबी र रामधुनी नगरपालिका तथा गढी गाउँपालिकामा कार्यक्रमहरु सम्पन्न गरिएको हो ।

धानजोन इकाईले आर्थिक वर्ष २०७६÷०७७ मा कष्टम हाइरिङ्ग सेन्टर स्थापनाका लागि चार समूहलाई उपकरण र प्रतिफलमा अधारित प्रोत्साहन अनुदान कार्यक्रममा सात समुहलाई समायोजन गरेको पोखरेलले जानकारी दिनुभयो । कष्टम हाइरिङ्ग सेन्टरका लागि कम्वाइन हार्बेष्टर , टयाक्टर ,कल्टीभेटर, डिक्स हेरो, केचविल, थ्रेसर, रोटाभेटर, जिरोभेटर सहित ७४ लाख १५ हजार ५ सय र अनुदान तर्फ १९ लाख ७० हजार रुपियाँ खर्च गरेको बताइएको छ ।

लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारलाई देउवाको आग्रह

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार बिहान सभापति देउवाले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारलाई आग्रह गरेका छन् ।

‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ,’ सभापति देउवाले शुभकामना सन्देशमा लेखेका छन् ।

साथै उनले संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप लगाएका छन् ।

यसलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

जनकपुर । सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीताकुमारी मण्डललाई गत भदौ २९ गते चार जनाले बलात्कार गरे । सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा ५५ हजार रुपैयाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे । पीडित किशोरीले पीडा सहन नसकेर सोही दिन राति झुन्डिएर आत्महत्या गरिन् । पञ्चहरूको निर्णयका कारण ती किशोरीले ज्यान गुमाइन् ।

सप्तरीकै राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा तीन महिनाअघि वडाध्यक्ष हेमनारायण साहसमेतको उपस्थितिमा बसेको पञ्चायतीले चोरी गरेको आरोप लागेका चार जना मुसहर किशोरलाई ११ सिर्कनु हिर्काउने र जनही २५ सय रुपैयाँका दरले जरिवाना तोक्ने निर्णय सुनाइयो । ती किशोरले भनेअनुसारकै सजाय भोगे । तिनका अभिभावकले घरको सामान बेचेर जरिवाना पनि बुझाए । उनीहरूले चोरी गरेको पुष्टि भए पनि पञ्चहरूले कानुनी प्रक्रियाको साटो ११ सिर्कनु हिर्काउने निर्णय सुनाएका हुन् ।

सप्तरीमा पछिल्लो समय गम्भीर प्रकृतिका आपराधिक घटनामा पनि सामाजिक पञ्चायतीका नाममा मेलमिलाप गराउने क्रम बढेको छ । कानुनी कारबाही हुनुपर्ने विषयमा जनप्रतिनिधिसमेतको संलग्नतामा पञ्चायती बस्ने र आफूखुसी दण्ड जरिवाना तोक्ने गरिएको छ । कोरोना महामारीअघि पनि जिल्ला प्रहरी कार्यालयसहित प्रहरी इकाइहरूमा दैनिक बिहान १० देखि साँझ ६ बजेसम्म समूह–समूहमा विभिन्न गाउँबाट आएका समूहहरूबीच छलफल चलिरहेको हुन्थ्यो । छिमेकीबीचको झगडा, जग्गा विवाद, अंश झगडा, साँधसिमाना, कुटपिट, महिला र घरेलु हिंसालगायत विवादको छलफलबाट समाधान गर्ने भन्दै पञ्चायतीले आफूखुसी निर्णय गर्थे ।

सर्वसाधारणले समस्यामा पर्दा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले प्रहरीमा उजुरी पठाउने गरेको छ । जिल्ला प्रहरीले पनि मातहतका इकाइलाई पत्राचार गरी दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिने गरेको छ । तर, ती छलफल टुंगिएको प्रक्रिया, दण्ड र जरिवानालगायतबारे स्पष्ट अभिलेख भेटिँदैन ।

प्रहरी इकाइहरूको छलफलसम्बन्धी रजिस्टरमा दुई पक्षबीच सहमतिको हस्ताक्षर गराइनुका साथै पञ्चहरूलाई रोहवरमा राखिँदै आएको छ । पञ्चायतीमा जान पञ्चहरूले मोटरसाइकलमा पेट्रोल, खाजाका लागि पैसासमेत लिने गरेका घटना बेलाबेला चर्चामा आइरहन्छन् । प्रहरीले भने सामान्य घटनाबाहेकमा छलफल नगराउने दाबी गरेको छ । ‘सामान्य प्रकृतिका घटनाहरूमा मात्र हामी छलफल गराउँछौं,’ सप्तरी प्रहरीका डीएसपी तिलक भारतीले भने, ‘गम्भीर प्रकृतिका अपराधमा मुद्दा चलाउँछौं, त्यसमा कुनै छलफल गराउँदैनौं ।’

डीएसपी भारतीको दाबीविपरीत जिल्ला प्रहरीकै महिला तथा बालबालिका सेवा केन्द्रमा कतिपय पीडित महिलाहरू छलफलका नाममा मिल्न बाध्य हुन्छन् । प्रहरी कार्यालयमा होस् वा गाउँ, अधिकांश पञ्चायतीको निर्णय पीडितको विपक्षमा हुने गरेको छ ।

आर्थिक रूपले विपन्न, परिवारमा धेरै जना नरहेका, एकल महिला, समाजमा टाठाबाठा नरहेकाहरू पीडित हुने गरेका छन् । धेरैजसो घटनामा राजनीतिक रूपमा नाम चलेका, पहुँच भएका, आर्थिक रूपमा सबलहरू नै पीडक हुन्छन् । पीडकको राजनीतिक र प्रशासनिक पहुँचका कारण पञ्चायतीका निर्णयहरू पीडितको विपक्षमा बढी हुँदै आएका छन् ।

गम्भीर अपराधमा पनि पञ्चायती

रौतहटमा पनि आपराधिक घटनामा संलग्नलाई पक्राउ गरेपछि दुवै पक्षबीच प्रहरी चौकीमै छलफल (पञ्चायती) गर्ने क्रम बढेको छ । प्रहरीले नै दुवै पक्षलाई मिलेर आउनुस् भनेर कार्यालय परिसरमा पञ्चायती बसाउने गरेको पाइएको छ । घरेलु हिंसा, कुटपिट, चोरी, सामान्य झगडा, मदिरा सेवनका घटनामा यस्तो प्रवृत्ति बढी छ । सामान्यखालका घटनामा आरोपी पक्राउ परेपछि राजनीतिक दबाब थेग्न नसकेर प्रहरीले नै दुवै पक्षलाई मिलेर आउन भन्ने गरेको पाइएको छ । ग्रामीण क्षेत्रका प्रहरी इकाइमा आउने उजुरीमा बढीजसो पञ्चायती शैलीबाट मिलापत्र हुने गरेको पाइएको छ ।

गत भदौ १६ को राति गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएर घर फर्केको खुसियालीमा गाउँमा मोटरसाइकल र्‍याली निकाल्दा झडप भयो । २० वटा मोटरसाइकलमा ४०/५० जना मिलेर र्‍याली गरेका वडाध्यक्ष अन्सारीको समूह र स्थानीयबीच झडप हुँदा दुवै पक्षका केही घाइते भए । घटनामा संलग्न दुवै पक्षका ३ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाउन खोजे पनि राजनीतिक दबाबका कारण सकेन । त्यसपछि दुवै पक्ष प्रहरी कार्यालय परिसरमा पञ्चायती बस्यो । दुवै पक्षबीच आरोप–प्रत्यारोप चल्यो । अन्तमा मेलमिलापको वातावरण बनाइयो । यस्ता खालका अधिकांश घटना पञ्चायती शैलीबाट मिलापत्रमा टुंगिने गरेका छन् ।

०७५ भदौ अन्तिम साता गम्हरियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको घटना ढाकछोप गर्न प्रदेशसभा सदस्य अब्दुलकलाम आजादले आफ्नै घरमा छलफल (पञ्चायती) राखेपछि उनी विवादमा परेका थिए । पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको थियो । बलात्कार आरोपमा प्रहरीले स्थानीय ५० वर्षीय सहमद अन्सारीलाई पक्राउ गरेपछि घटनाको रहस्य खुल्यो । उक्त घटनामा पञ्चायती बसेर प्रहरीकोमा पुगेपछि पीडितलाई ‘आर्थिक प्रलोभनमा पारिएको होइन’ भन्न लगाइएको थियो ।

रौतहट प्रहरीका प्रवक्ता डीएसपी भरत श्रेष्ठ ठूला अपराधका घटनामा पञ्चायती राख्न खोज्ने प्रवृत्तिका कारण पीडकको मनोबल उच्च हुने र दोहोर्‍याएर घटना गराउन सक्ने बताउँछन् । ‘सामान्य घटनाहरूमा आरोपी सुध्रिन्छन् भन्ने नागरिक अगुवाहरूको अनुरोधमा तथा पीडित आफैं मिल्न खोजेको अवस्थामा छलफलबाट मिलाउन सकिन्छ,’ उनले भने, ‘यहाँ जघन्य अपराध पनि मिलाउन खोज्ने, तुरुन्तै पञ्चायती शैलीमा मानिस जम्मा गरेर छलफल गर्ने र पीडितलाई दबाब दिने काम गर्न थाल्छन्, यो राम्रो संकेत होइन ।’

घरेलु हिंसाका घटनामा मेलमिलाप बढी

महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको तथ्यांकअनुसार बढीजसो घरेलु हिंसाका घटनामा पञ्चायती बसेर मिलापत्र हुने गरेको पाइएको छ । केन्द्रका अनुसार गत वर्ष ४ सय १३ वटा हिंसाका घटनाको निवेदन दर्ता भएकामा १ सय १० वटामा पञ्चायती बसेर मिलाएको छ ।

यस्ता पञ्चायतीमा प्रहरीको सहभागिता भने नहुने डीएसपी श्रेष्ठको दाबी छ । ‘पीडित र पीडक बसेर हामी मिल्छौं भन्छन् भने हामीले के गर्न सक्छौं र ?,’ उनले भने, ‘बलात्कार, कर्तव्यज्यान जस्ता जघन्य अपराधका घटना जबर्जस्ती मिलाउन खोज्ने र पञ्चायती राखेर मिलाउने गरेको पाइए दुवै पक्षलाई फत्रेर कारबाही गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पञ्चायती शैलीले घटना मिलाउँदा आपराधिक गतिविधिमा संलग्नको मनोबल बढिरहेको बताए । ‘जुनसुकै घटनामा पनि पञ्चायती बसेर मिलाउने र पीडितलाई दबाब दिने कामले समाजमा अपराध गर्नेको मनोबल झनै बढ्छ,’ उनले भने, ‘अपराध गर्नेलाई कानुनको कठघरामा ल्याउन दिनुपर्छ । पञ्चायती बसेर मिलाउने काम गर्नु हुन्न ।’

नागरिक समाज रौतहटका अगुवा बाबुराम दाहालले मुद्दामामिलामा जाँदा दीर्घकालसम्म दुश्मनी रहने हुँदा सकेसम्म छलफलबाट मिलाउने काम हुन थालेको तर्क गरे । ‘जघन्य अपराधका घटनामा मिलापत्र र पञ्चायती गर्न हुन्न,’ उनले भने, ‘पछिल्लो समय जुनसुकै मुद्दा पनि छलफलबाट र पीडितलाई दबाब दिएर मिलाउने गर्न थालिएको छ, यो राम्रो पक्ष होइन ।’

‘माइनजन’ को निर्णय नै अन्तिम

मधेसका हरेक जातीय समुदायमा मुख्य व्यक्ति ‘माइनजन’ हुन्छन् । टोल, बस्तीका ती व्यक्तिले जातीय समुदायको जन्म, विवाह, मृत्यु संस्कारदेखि भोजभतेरका बारेमा निर्णय सुनाउँछन् । उसले सुनाएको निर्णय ती समुदायमा सबैले पालना गर्नु अनिवार्य हुन्छ । यस्ता निर्णय उक्त समुदायमा कानुनसरह लागू हुन्छ ।

मधेसका दलित मुसहर, चमार, डोम, पासवानदेखि यादव, महतो, हलुवाई, सुडी, कुर्मीलगायत तराईका अधिकांश जातिमा माइनजन प्रथा कायम छ । जातीय समाजलाई सही बाटोमा डोर्‍याउन माइनजनको महत्त्वपूर्ण भूमिका मानिन्छ । समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहने सिरहाका जातीय अगुवा तथा माइनजनहरूमा परम्परागत रुढिवादी संस्कार कायमै रहेको हुँदा कतिपय माइनजनले लिने निर्णयले समाजमा आत्महत्यादेखि हत्याका घटनासमेत निम्तिएका छन् ।

लहान नगरपालिका–२२ जहदीका थारू समुदायका माइनजन दुर्गाप्रसाद चौधरीले जहदी क्षेत्रको थारू समुदायको जन्म, विवाददेखि मृत्यु संस्कारसम्मको निर्णय आफूले गर्दै आएको सुनाए । ‘परम्परागत रीतिरिवाजलाई माइनजनले पछ्याउनुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘परम्परागत जातीय संस्कार, कर्म माइनजनले नै चलाउनुपर्छ, अन्तिम निर्णय लिनुपर्ने हुन्छ ।’ आफ्नो समुदायका विवाद, झैझगडा मिलाउनसमेत माइनजनको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

‘कतिपय अन्तरजातीय विवाहको समस्यादेखि घर झगडाका घटनामा पनि जातीय पञ्चायती बसाएर माइनजनले निर्णय लिनुपर्छ,’ भूमिहार समुदायका माइनजन रामदेव गडेरीले भने, ‘कतिपय जातीय समाजको पञ्चायतीले पनि हत्या, आत्महत्याका घटना सिर्जना भएका छन् ।’

पक्का गरेको बिहेअगावै दुलही भागेपछि जातीय भेलाले दुलही पक्षलाई तत्कालै ६० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेपछि लहान नगरपालिका–२४ का श्यामलाल रामले ०७६ माघ २ मा आत्महत्या गरे । श्यामलालकी छोरी र सप्तरी सुरुंगा नगरपालिका–४ महुलियाका बन्दी रामका छोरा महेशबीच बिहे हुने तय गरिएको थियो । तर बिहेअघि नै प्रेमसम्बन्ध रहेको युवकसँग ‘दुलही’ भागेपछि छलफल गर्न जातीय भेला बस्यो । जातीय माइनजन योगेन्द्र रामसहित अगुवाहरूको भेलाले ६० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो । तोकिएको रकम तिर्न नसकेपछि श्यामलालले आत्महत्या गरेका थिए ।

जातीय माइनजनले परम्परा पछ्याउँदा बालविवाह, दाइजोजस्ता कुप्रथाहरू समाजमा विद्यमान रहेको थारू जातिका माइनजन दुर्गाप्रसाद चौधरी बताउँछन् । उनी भन्छन्, ‘अब सामाजिक कामलाई केही परिष्कृत गर्न जरुरी छ र जातीय परम्परा, मूल्यमान्यता कायम राख्दै कुप्रथाहरू हटाउन माइनजनहरू पनि लागिपर्नुपर्छ ।’

राणाकालदेखिको चलन

राणाकालदेखि नै गाउँका ‘ठूलाबडा’ को रोहबरमा घटनाहरू मिलाउने गरिन्थ्यो । पञ्चायतकालमा गाउँका मुखियाले अधिकांश मुद्दाहरू दुवै पक्षलाई राखेर मिलाउने गर्थे । त्यसैलाई पञ्चायती भनिन थालिएको हो । त्यही पञ्चायती प्रवृत्ति तराई मधेसमा अहिलेसम्म कायम छ ।

पञ्चायतकालमा बढीजसो सामान्य खालका मुद्दामा छलफल गराएर टुंग्याउने चलन थियो । गाउँमा यसरी छलफल गर्दा अधिकांश मुद्दामा पीडितले न्याय पाउने गरेको रौतहट नागरिक समाजका अगुवा बाबुराम दाहाल बताउँछन् । तर, पछिल्लो समय भने राजनीतिक, आर्थिक, जातीयलगायत पहुँचका आधारमा जघन्य अपराधका घटनामा पनि पञ्चायती बस्न थालेको छ । त्यसमाथि पीडककै पक्षमा पञ्चायतीको फैसला हुने गरेको पाइएको छ । ‘प्रायःजसो घटनामा पहुँच नभएका र विपन्न समुदायका व्यक्ति पीडित हुन्छन्,’ दाहालले भने, ‘पीडितको पहुँच नपुग्दा पञ्चायतीबाट उनीहरूकै विरुद्ध निर्णय हुन थालेकाले पीडितमाथि झन् पीडा हुन थालेको पाइन्छ ।’

जघन्य अपराधमा प्रहरीले पञ्चायती हुन नदिए पनि सामान्य मुद्दामा भने तराईमा यो परम्परा जस्तै रहेको प्रदेश २ प्रहरीका डीआईजी धीरजप्रताप सिंह बताउँछन् । ‘कुलो, पानी, साँध सिमानाजस्ता सामान्य विवाद पनि प्रहरीमै आउँछन् । स्थानीय तहका न्यायिक समितिमा पठाए पनि पीडित जान मान्दैनन् । दुवै पक्ष विश्वास गरेर प्रहरीमै आउँछन्,’ उनले भने, ‘सबै मुद्दा अदालत लैजान सम्भव हुँदैन । कतिपय समुदायमै मेलमिलाप गराउन पञ्चायती गर्ने चलन छ । जघन्य अपराधमा भने कतै पनि पञ्चायती भएको छैन ।’

सामान्य विवाद मिलाउन पञ्चायतीले सजिलो पनि भएको उनले बताए । उनका अनुसार महिला हिंसा, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगजस्ता जघन्य अपराधबाहेकका सामान्य घटना ७० प्रतिशत जति मिलेमतोमा टुंगिँदै आएको छ । कान्तिपुर दैनिकबाट

आज २०७७ असोज ३ गते शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । मनमा दुविधापनि उत्पन्न हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

न्युयोर्क । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे ।

ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडेनले कोरोना भाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् ।सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले भन, “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।”उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गर्नुभयो ।