२ आश्विन २०७७, शुक्रबार १६:०० – Page 5 – Nagarikabhiyan : National News

२ सय ८९ कैदीको सजाय मिनाहा गर्न सिफारिस

काठमाडौँ । सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

शनिबार संविधान दिवस मनाइँदै छ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ ।

गृह स्रोतले दिएको जानकारी अनुसार व्यक्ति हत्या र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको सजाय माफी दिन जनता समाजवादी पार्टी ९जसपा०ले गरेको लिखित आग्रहलाई सरकारले अस्वीकार गरेको छ ।

‘जनता समाजवादी पार्टीका तर्फबाट सांसद रेशम चौधरीको सजाय मिनाहा गर्न लिखित प्रस्ताव आएको थियो तर उहाँको हकमा अहिले सजाय माफी मिनाहा गर्न सकिँदैन, कानुनले मिल्दैन,’ स्रोतले भन्यो, ‘अरु २ सय ८९ जनाको मात्रै सजाय मिनाहाको सूचीमा राखिएको छ । कान्तिपुरबाट

‘संविधानप्रति असन्तुष्टिका स्वर सम्बोधन गर्नुपर्छ’

जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्ने अभूतपूर्व अवसर जुर्यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मेका उनी पेशाले चिकित्सक हुन् । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उनी राजनीतिमा पनि त्यत्तिकै सक्रिय रहे । डा. यादव २०६२/६३ को जनआन्दोलनको बलमा २४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढलेसँगै राष्ट्रपतिमा निर्वाचित भए ।

मुलुकमा एक राजनीतिक प्रणाली अन्त्य भएको र अर्को स्थापित भई नसकेको अत्यन्त तरल राजनीतिक अवस्थामा भिन्न भिन्न राजनीतिक आन्दोलन र पृष्ठभूमिका दललाई काखापाखा नगरी अभिभावकत्व प्रदान गर्दै दुई पटक संविधानसभाको निर्वाचन गराएर सहजरुपमा राजनीतिक अवतरण गराउन उनले खेलेका भूमिकाको सर्वत्र प्रशंसा हुँदैआएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा गरेको अवसरमा पूर्वराष्ट्रपति यादव संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा लोकतन्त्रको मर्म र संविधानको भावना बुझेर काम गर्न विधायिका, सरकार र राजनीतिक दललाई सुझाव दिन्छन् । उनी भन्छन्–“असन्तुष्टिका स्वरलाई विधायिकाले सहिष्णु भएर संविधान सम्मतरुपमा कानुन बनाई सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ ।” संविधान दिवस र समसामयिक विषयमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ः

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भइरहँदा यो दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ ?

– संविधान जारी भएको दिन सम्पूर्ण नेपाली जनताका लागि ऐतिहासिक दिन हो । यस दिनमा सबैभन्दा पहिला म नेपाली जनतालाई सम्झन चाहन्छु । जनताको ठूलो सङ्घर्ष र बलिदानकै कारण संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्न सफल भएको हो । यस दिन म खासगरी देश र समाजका लागि त्याग र बलिदान गर्ने शहीदहरु, नेपाली जनता तथा यस सङ्घर्षमा संलग्न राजनीतिक दल र तिनका नेताहरुलाई स्मरण गर्न चाहन्छु ।

नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी गर्ने त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्दा यहाँले विशेष गरी कसलाई स्मरण गर्नुहुन्छ ?

– यो संविधान नेपाली जनताको सङ्घर्षको उपज हो । संविधान करिब सात दशक लामो प्रजातान्त्रिक आन्दोलनपछि हासिल भएको उपलब्धि हो । नेपाली जनताका प्रतिनिधिले जनताका लागि पहिलो पटक लेखेको संविधान जारी गर्ने अवसर मैले पाएको थिएँ । विस २००७ देखि २०६२/०६३ सालसम्म भएका प्रजातान्त्रिक आन्दोलन र राजनीतिक सङ्घर्षको फलस्वरुप हामीले यो संविधान पाएका हौं । तसर्थ म यो दिनमा सबै आन्दोलन र सङ्घर्षमा बलिदान र योगदान गर्ने सबैलाई विशेष स्मरण गर्न चाहन्छु । निश्चय नै २०६२/६३ सालको आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइराला तथा तत्कालीन सात दल र पछि थपिएको अर्को एउटा दलका नेताहरुको सङ्घर्ष, योगदान र त्यागबाट नै यो उपलब्धि हासिल भएकाले यसमा सबैलाई सामूहिक रुपमा स्मरण गर्न चाहन्छु ।

संविधान कार्यान्वयनको अवस्था अहिले कस्तो पाउनुभएको छ रु जनताले अपेक्षाअनुसार लाभ प्राप्त गर्न सकेका छन् त ?
– यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । समानुपातिक समावेशीता, सङ्घीयता, धर्मनिरपेक्षतालगायत धेरै विषय समेटिएको यो संविधान लचिलो संविधान हो । कार्यान्वयनको चरणमा निश्चय नै यो संविधान आफ्नो ‘लिक’मा छ भन्ने मलाई लाग्छ । संविधान जारीपछि तीन तहका निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकारमा निर्वाचित जनप्रतिनिधि छन् । सबैले आ–आफ्ना स्थानबाट काम गरिरहेका छन् । यो संविधानका प्रावधान कार्यान्वयन गर्दै जाने जिम्मेवारी राजनीतिक दल र जनप्रनिधिहरुको हो । लोकतन्त्रका अवयवहरु विधिविधानअनुसार चलेमा अवश्य पनि जनताको आकाँक्षा पूरा हुनेछन् । तर लोकतन्त्रको बाटो अभ्यास गर्दै जाँदा लामो समय लाग्दो रहेछ । जनप्रतिनिधिले इमान्दारीपूर्वक जनताको सेवक भएर आफूलाई समर्पण गरे लोकतान्त्रिक पद्धति अगाडि बढ्छ । मेरो आग्रह छ, संविधान र कानूनअनुसार शासन सञ्चालन होस् । यो विषयलाई जनप्रतिनिधिले मनन गरेन भने लोकतन्त्र मात्र लोकतन्त्रको नाममा सीमित रहन पुग्छ । त्यसैले हामी सबै आजको दिनमा आशा गरौ कि संविधान कार्यान्वयन हुँदै जाओस्, देश र समाज उन्नति पथमा लम्कोस्, लोकतन्त्र बलियो होस् । यही शुभकामना छ ।

नेपालको संविधानमा जनताको अपार समर्थन हुँदाहुँदै पनि कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वरहरु बेलाबखत सुनिने गरेका छन् । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन कसरी गर्न मुनासिब होला ?
– सङ्घीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्छ । विधायिकामा लगेर छलफल गरी सर्वस्वीकार्य समाधान खोज्न लोकतन्त्रले बाटो देखाउँछ नै । असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको छ । त्यसलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्छ । सहिष्णु भएर सबै समस्यालाई सुन्ने, व्यवस्थापिकामा लगेर खुला रुपमा छलफल गर्ने र त्यसको समाधान खोज्ने हो । लोकतन्त्रको विधिमार्फत सबै विवाद मिल्दै जाने अपेक्षा गरेको छु ।

संविधान जारी भएपछि जनअपेक्षित स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा सरकार र दलहरुको भूमिका कस्तो पाउनुभएको छ ?
– संविधान र कानून अनुसार देश अघि बढिरहेको छ । राजनीतिक दलहरु तथा जनप्रतिनिधिहरु सहिष्णु भएर लोकतान्त्रिक संस्थाहरुमार्फत नै जनताका समस्या र आवश्यकता समाधान गर्दै गए भने विकास र समृद्धि हासिल गर्न सकिन्छ । मैले त सिद्धान्तको कुरा भन्ने हो । अरु कुरा त तपाईहरु जस्ता सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवी वर्गले औँल्याइदिने हो ।

संविधानअनुसार तीनै तहका सरकारको भूमिका र सेवा प्रवाहलाई कसरी मूल्याङ्कन गर्नुभएको छ रु तीन तहका सरकारबीचको आपसी सहयोग र सहकार्यमा तादाम्यता रहेको कतिको पाउनुभएको छ ?
– राज्यको पुनःसंरचनापछि संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । साथै, संविधानमा तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वयकारी भूमिकासहित अधिकारहरु उल्लेख छन् । संविधानले एकल र साझा अधिकार प्रदान गर्नुका साथै आवश्यक कानून बनाएर अघि बढ्ने व्यवस्था गरेको छ जुन अभ्यासको क्रममा छ । सङ्घीयताको मर्म र भावनालाई आत्मसात गरेर संविधान अनुसार लोकतान्त्रिक बाटोबाट सबै तहका सरकार अघि बढेमा तादाम्यता कायम हुन्छ भन्ने लाग्छ । यसो भइदिए कसैले पनि चित्त दुखाउनु पर्दैन, विवाद पनि हुँदैन ।

सङ्घीयता कार्यान्वयनमा तालमेल नपुगेको भन्ने प्रश्न बेलाबखत बाहिर आउने गरेको छ । प्रदेश सरकारले संविधानअनुसारको अधिकार प्रयोग पूर्णरुपमा गर्न नपाएको भन्ने गुनासो पनि छ । यसमा यहाँको केही टिप्पणी छ ?
– जहाँ असन्तुष्टिका स्वर हुन्छन्, त्यहाँ विधायिकाले छलफल गरेर संविधान सम्मतरुपमा कानून बनाएर व्यवहारमा ल्याउने काम गर्नुपर्छ । सरकार र विधायिकालाई आवश्यक कानून बनाउने प्रशस्त ठाउँ संविधानले दिएको छ । लोकतन्त्रको मर्म र संविधानमा अन्तर्निहीत भावनालाई बुझेर अघि बढेको खण्डमा सबै समस्या समाधान हुँदै जाने छन् भन्ने मेरो विश्वास छ ।

काँग्रेस नेता गान्धीद्वारा सरकारको आलोचना

नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको उनले बताएका हुन् ।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहेका छन् । पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरका हुन् ।

उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् रु किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ?

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेका हुन् ।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए ।

गौतमको मनोनयन लोकतन्त्रको घातक विडम्बना- साझा पार्टी

काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी आपत्ति जनाएको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दै आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको बताएका हुन् ।

‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो’– विज्ञप्तीमा भनिएको छ ।

यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास भएको पनि उललेख गरिएको छ । लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको उनको भनाई छ ।

विज्ञप्तीमा भनिएको छ– ‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन’ भन्ने हठी सन्देश दिएको छ।’

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ ।

कैलालीमा एक पत्रकार मृत फेला

कैलाली । कैलालीमा एक पत्रकार मृत फेला परेकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् ।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएका छन् ।

उनका अनुसार घोडाघोडी नगरपालिका वडा नं.४ की उनी जिल्लाको कैलाली एफएममा कार्यरत थिईन् । उनी २१ गतेबाट सम्पर्क विहीन भएकी थिईन् ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए ।

उनका अनुसार वडा नं.५ मा उनी मृत फेला परेकी थिईन् । ३ दिनअघि घरबाट सुखड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन रहेको बताइएको छ ।

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु भएको छ।

नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए ।  उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा।लम्सालले बताए । सेतोपाटीबाट

 

मंसिरबाट नेपालमै अलैँचीको प्रशोधन हुने, प्रशोधन क्षमता कुल उत्पादनको १५ प्रतिशत

इलाम ।  नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ।अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मंसिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।

झापाको अर्जुनधारामा तीन करोड रूपैयाँको लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ। उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ ।  उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन्।

गुणस्तरीय अलैँचीलाई १००(१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ।  अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ ।  यस्तै अलैँचीलाई ‘माउथ फ्रेस्नर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ, सञ्चालक भट्टराईले भने, यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ। स्वदेशमा बढी निर्यात हुने सम्भावना छ।  अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ।

यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ ।   नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ।   एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैनु, सञ्चालक भट्टराईले भने, एउटा नमूना सुरूवात गरेको हो।

भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ।  उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।

मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो।  हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ। बाहिरी देशको मापदण्डअनुसारकै भइसक्योु, उनले भने।

उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ।  समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ ।

यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ।  स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ । सेतोपाटीबाट

कोरोना संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु

काठमाडौं ।  ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी गत ३० भदौदेखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को आज शुक्रबार बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बताए ।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो।

सुनसरीमा बिहीबार ४८ जनामा कोरोना संक्रमण पुष्टि

इनरुवा ।  सुनसरीमा बिहीबार थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा धरानमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी दुहबीमा १३ जना, इटहरीमा ५ जना र गढी गाउँपालिकामा २ जनामा कोरोना देखिएको छध । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३६७ पुगेको छ ।

संक्रमितमध्ये ७६० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

माछापुच्छ्रे बैंककोे शेयरधनीलाई १०.४ प्रतिशत लाभांश

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने भएको छ ।

बैंकको संचालक समितिको बैठकले २०७६-७७ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभामा पेश गर्ने बैंकले निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्ष १ अर्व २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चुक्ता पुँजी ८ अर्व ४५ करोड ८४ लाख रहेको बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ रहेको छ । १५९ शाखा, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ विस्तारित काउण्टर, १९९ एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बैंकले सेवा दिएको छ ।

जोगवनीमा बसेर नेपालमा ‘सिद्रा माछा’ तस्करी

विराटनगर । सिमावर्ति भारतीय बजार जोगवनीबाट गिरोह मार्फत पूर्वी नेपालका विभिन्न स्थानमा माछाजन्य वस्तु तस्करीको धन्दा सञ्चालन हुने गरेको पाइएको छ । जोगवनीको टिकुली वस्तीबाट नेपाल तर्फ ठूलो परिमाणमा माछाको सिद्रा र माछा तस्करी हुने गरेको तथ्य प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।

कोरोनाको कारणले सरकारले भारतदेखि माछा, कुखुरालगायत पशुपन्छी आयातमा पूर्ण रूपमा रोक लगाएपछि तस्करीको माध्यमबाट सुरक्षा निकायको आँखा छलेर सिद्रा र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढिरहेको छ । लामो समयदेखि माछाको कारोवार गर्ने निलम सहनीले अहिले माछा तस्करीको सम्पूर्ण प्रवन्ध मिलाइरहेको बताइएको छ ।

बिहीबार बिहान भारतबाट अवैध रुपमा नेपाल भित्रयाएको ठूलो परिमाणमा तस्करीको सिद्रा माछा सशस्त्र प्रहरीले बरामद गरपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरी रानी बिओबीले तस्करीको १८ बोरो सिद्रा माछा विराटनगर १६ दरैयाबाट बरामद गरेको हो ।

प्रहरीले ६ सय ३० केजी सिद्रा बरामद गरेको थियो । जसको बजार मूल्य १ लाख ८९ हजार रहेको प्रहरीले जनाएको छ । बरामद गरेको सामान बिहीबार नै भन्सार कार्यालयमा बुझाइएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो । ‘तस्करी गरि ल्याएको माछा ‘गस्तीमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भन्नुभयो, ‘प्रहरीलाई देख्नसाथ माछा छोडेर फरार भए । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ ।’

कोरोनाको कारणले सरकारले भारतदेखि माछा, कुखुरालगायत पशुपन्छी आयातमा पूर्ण रुपमा रोक लगाएको छ । भारतको आन्ध्र प्रदेशबाट आयात हुने माछा यतिबेला तस्करी गरेर नेपाल ल्याइने गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा विराटनगर र सुनसरीको इनरुवाका माछा व्यापारीले निलम मार्फत मगाएको अनुसंन्धानबाट खुलेको छ ।

सहनीले यसअघि पठाएको माछा पटक पटक प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मोरङका तत्कालिन डिएसपी घनश्याम श्रेष्ठले विराटनगरको रोडशेष चौकबाट माछा बरामद गर्दा सहनीले प्रहरीले ५० हजार रुपैयाँ घुस मागेको आरोप लगाएकी थिइन् । तयतिबेला प्रहरीले माछा बरामद गर्दा व्यवसायीले सडकमा फालेर विरोध गरेका थिए भने प्रहरीले दुव्र्यवहार गर्ने चार जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसबेला प्रहरीले सहनीलाई पनि विपक्षी बनाएर मुद्दा चलाएको थियो तर उनी पक्राउ भने परिनन् ।

पक्राउ परेका अन्य चार जना जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको धरौटि रकम तिरेर रिहा भएका थिए । हाम्रोमतबाट

 

सुनसरीको गढीमा आगलागी हुँदा पाँच लाख बाराबरको क्षति

इनरुवा ।  सुनसरीको गढी गाउँपालिका वडा नं. ६ सत्तेरझोरा हात्तीमुडा टोलको एक घरमा आगलागी हुँदा पाँचलाख बराबरको क्षतिभएको छ ।

दुखालाल साह तेली तेलीको भन्सा घरमा खाना पकाई अराम गरी रहेको वेला अचानक भन्सा घरवाटै आगो सल्की पुरै घर र घरमा रहेको लत्ता कडा, खाद्य्यान र १ वटा गोरु, १ वटा बाछो समेत जलेर मृत्यु भएको छ ।

सो आगलागीवाट पाट, खाद्य्यान, घर लगायात करीब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घरमा लागेको आगालाई इनरुवा र दुहवीबाट आएको दमकलले नियन्त्रणमा लिएका थिए ।

प्रदेश १ मा गएको २४ घण्टामा मा अहिलेसम्मकै धेरै १७१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा१ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कन्काईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ । बिहीबार १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ ।

 

भोलि २ वटा रेल जनकपुरधाम आइपुग्ने

जनकपुरधाम । जनकपुर-जयनगर रुटमा चल्ने २ वटा रेल भोलि १२ बजेसम्म जनकपुरधाम स्टेसनमा आइपुग्ने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।

रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाम जान लागेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको बताइएकोे छ ।

रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि भोली आइपुग्ने भएको हो । रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा विभागले बुझ्ने जनाएको छ ।

भोलि आइपुग्ने पक्का भएपनि सञ्चालन मिति निश्चित छैन । रेल आएपछि छिट्टै संचालन गर्ने तयारी छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्न दरखास्त माग गरेको थियो । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने छ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म संचालनका लागि ल्याउन लागिएको रेल सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याएको हो । जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर मार्गको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जनाइएको छ । कुर्था-विजलपुरा ५२ किलोमिटर रेल चलाउन तयारी गरिएको छ ।

कोरोना अपडेटः थप १,२३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको सँख्या ६० नजिक

काठमाडौं । देशमा थप १ हजार २ सय ३९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा जनामा १२ सय ३९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९  पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।