गौतमको मनोनयन लोकतन्त्रको घातक विडम्बना- साझा पार्टी
२ आश्विन २०७७, शुक्रबार १५:५०
काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी आपत्ति जनाएको छ ।
पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दै आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको बताएका हुन् ।
‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो’– विज्ञप्तीमा भनिएको छ ।
यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास भएको पनि उललेख गरिएको छ । लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको उनको भनाई छ ।
विज्ञप्तीमा भनिएको छ– ‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन’ भन्ने हठी सन्देश दिएको छ।’
संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया