संविधान दिवस: कतै भव्य कार्यक्रम, कतै विरोध प्रदर्शन
३ आश्विन २०७७, शनिबार १०:५३
काठमाडौं । नेपालको संविधान २०७२ जारी भएको आज (शनिबार) पाँच वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्लेहरु राखिएका छन् । सबै नागरिकलाई घरघरमा नेपालको झण्डा फहराउन सरकारले अनुरोध गरेको छ । मुलुकभर जनताले आफ्नै शैलीमा झण्डा फहराएर मनाइरहेका छन् ।
कोभिड–१९ महामारीबीच संविधान दिवस ‘हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मूल नारा तय गरिएको छ ।
संविधान जारी भएपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू अझै धेरै बाँकी छन् । कानून र आवश्यक संरचना निर्माणका काम पनि पूरा भएका छैनन् । बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको छ । संविधानले परिकल्पना गरेका कतिपय आयोगहरू अझै पदाधिकारीविहीन छन् ।
नागरिकले आधारभूत रूपमा राज्यबाट पाउने सकारात्मक विभेदका नीति कतिपय संरचना नबन्दा पाउन सकेका छैनन् । संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा विभाजित छ ।
मधेश केन्द्रित राजनीतिक दलले बेलाबेलामा संविधान संशोधनको विषय उठाइरहे पनि स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन परामर्श हुन सकेको छैन ।
यसै अवसरमा जनता समाजवादी पार्टीले आज देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेशवादी दलले शनिबार कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
संविधान कागजी रूपमा मात्रै बनाइएको नभई मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रगति, सुशासन र तथा परिवर्तनको आभास दिन बनाइएकाले सरकार र राजनीतिक दलले सोहीअनुसार आफूलाई केन्द्रित गर्नुपर्ने माग नागरिक स्तरबाट उठिरहेको छ ।
यसैबीच दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।
सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया