१२ असार २०७७, शुक्रबार १६:२१ – Page 3 – Nagarikabhiyan : National News

प्रदेश २ मा दुई असईसहित ३ जना प्रहरी निलम्बित

जनकपुरधाम । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई संजीबकुमार झा छन् ।

असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

यस्तै, असई झाले प्रहरी आचरणविरुद्व काम गर्दा पटक–पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेकाले निलम्बन गरिएको सिंहले बताए ।

असई झा हालै मात्र एक महिलासँग रातिको समयमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । आपत्तिजनक अवस्थामा उनलाई गाउँलेले फेला पारी प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

२४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ४ सय ३३ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक–एक जना रहेका छन । यस्तै काठमाडौंका व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका १२ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक–एक जना रहेका छन ।

शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ सय २० पुगेको महाशाखाले जनाएको छ ।

भारतको बिहारमा चट्याङ लागेर ९२ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको छ ।

गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो ।

शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो ।

भीषण वर्षा र हावाहुरी चल्ने सूचना त्यहाँको मौसम विभागले जारी गरेको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।

मृत्यु भएकाको परिवारप्रति समवेदना प्रकट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुः ख व्यक्त गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्अ-विरल वर्षा र यसपछिको चट्याङमा परेर धेरै नागरिकको ज्यान गएको समाचार सुनेर मलाई निकै दुः ख लागेको छ । भारतको बिहार र उत्तर प्रदेशका कैयौँ जिल्लाहरुका लागि यहाँका मौसमविद्हरुले बिहीबार आगामी ७२ घण्टाको लागि मौसमी चेतावनी जारी गरेका छन् ।

भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

कटुवा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट एक जना १७ वर्षीय किशोर कटुवा पेस्तोलसहित बिहीबार पक्राउ परेका छन् ।

जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका(१ घर भई जनकपुरधाम उपमहानगरपालिका(१ बस्दै आएका १७ वर्षीय श्याम सहनीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीमा १० कोरोना संक्रमित थपिए, कुल संख्या ८५ पुग्यो

इनरुवा । सुनसरीमा पनि कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । जिल्लामा शुक्रबार एकै दिन १० जना नयाँ कोरोना सङ्क्रमित थपिएको हो ।

सुनसरीको कोसी क्वारेनटाइनमा बस्दै आएका ८ जना र देवानगन्ज क्वारेनटाइनमा २ जना गरी १० जनामा कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

थपिएका १० जना सहित अव कुल संख्या ८५ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । नयाँ थपिएका संक्रमितमा ६ जना पुरुष र ४ जना महिला रहेका छन् ।

उनीहरू सबैको विराटनगर स्थित कोसी अस्पतालमा पिसिआर परीक्षण गरिएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ भने ४३ जना कोरोना जितेर फिर्ता भएका छन् ।

कोशी व्यारेजमा यो वर्षकै उच्च बहाव , खतरा भने छैन

इनरुवा ।  पूर्वी पहाडी क्षेत्रमा लगातार परेको अविरल वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विहीबारसम्म सामान्य बहाव रहेको र क्रमशः बढ्ने क्रममा शुक्रबार दिउसो ३ बजे वहान एकाएक बढेको हो । शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेकोमा दिउसो ३ बजे १ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव भएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीमा पानीको वहाव वृद्धि भएपनि तत्काल कुनै खतरा भने नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको वहाँले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रमा केही दिनयता निरन्तर पानीपर्ने क्रम जारी रहेकोले कोशी ब्यारेजमा पानीको बहाव बढ्दै गएको वहाँको भनाई रहेको छ । वहाँले ठूलो खतरा नभएपनि सावधानी र सतर्कता अपनाउन भने तटीय क्षेत्रका स्थानीयहरुलाई आग्रह गरिएको बताउनुभयो ।

‘भारत सीमा विवादबारे चासो दिएन’-परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा जारी छ ।

२ बजे खाजाको ब्रेकअघि १० जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् । धारणा राख्नेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पम्फा भुसाल, अमृत बोहरा, गिरराजमणि पोखरेल लगायत छन् ।

बैठक अहिले भारतसँगको सीमा विवादमा केन्द्रीत भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिएका हुन् ।

धारणा राख्ने अधिकांश सदस्यहरुले अतिक्रमित नेपाली भूभाग समेटिएको नेपालको नक्सा सार्वजनिक गरेकोमा सरकारलाई बधाई दिएका छन् । सीमा समाधान गर्न अझ बढी प्रभावकारी कदम चल्न सुझावसहित बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतलाई पटक-पटक सीमा समस्या समाधान गर्न छलफलका लागि ताकेता गरे पनि भारतले बेवास्ता गर्दै आएको जानकारी दिए ।

उनका अनुसार नेपालले सेप्टेम्बर, अक्टोबर र डिसेम्बर महिनामा लगातार सीमा विवाद समाधानका लागि वार्ता गर्न प्रस्ताव गरे पनि भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
धारणा राख्ने सदस्यहरुलाई १०-१० मिनेटको समय दिइएको थियो । स्थायी समिति बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले (कोभिड-१९) को बारेमा छुट्टै दस्तावेज प्रस्तुत गर्ने भएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ११:२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा बैठक प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् ।

ओली अनुपस्थित भएपछि बैठक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेर सञ्चालन भएको छ ।

बुधबारदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयले आ–आफ्ना धारणा राखेका थिए ।

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको एक नेताले बताए ।

बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक शुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।

बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।

सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको बिहीबार राति मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनको आइसोलेसनमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीले जानकारी दिए ।

यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ सिम्लेस्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा.राजभण्डारीको भनाइ छ ।

मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए ।

मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।

यसैगरी मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टरलगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको डाक्टर राजभण्डारीले बताए ।

कोरोना कोषबाट साढे ५५ करोड निकासा [कसलाई कति रकम ?]

काठमाडौँ । सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बिहीबार रकम निकासा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो । प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो ।

सरकारले कोरोना कोषबाट सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । सैनिक अस्पताललाई आईसीयू कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधिलगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम दिइएको हो । सातै प्रदेशका ८४ पालिकालाई क्वारेन्टाइनको मर्मतसम्भार, खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ ।

स्वाब संकलन गर्न प्रयोग भएका नेपाली सेना, नेपाल वायु सेवा निगम र निजी क्षेत्रका हेलिकप्टर र जहाजको भाडाका लागि कोषबाट ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र त्रिवि शिक्षण अस्पतालका १२ जना बिरामी र संक्रमित १० स्वास्थ्यकर्मीको उपचारका लागि २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । कोषले आफूले निकासा गरेको रकम कानुनबमोजिम खर्च गर्न र त्यसको लेखा परीक्षण गराई प्रतिवेदन पेस गर्नसमेत सबै निकायलाई सर्कुलर गरेको छ ।

सरकारले कोषबाट पहिलो पटक जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार र दोस्रो पटक कोरोना परीक्षण प्रयोगशाला, क्वारेन्टाइन र सीमा क्षेत्रका होल्डिङ सेन्टरलाई २४ करोड रुपैयाँ निकासा गरेको थियो । तेस्रो पटकको निर्णयसँगै कोषबाट निकासा भएको रकम साढे ८४ करोड रुपैयाँ पुगेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको कोषमा अब १ अर्ब ५१ करोड रुपैयाँ बाँकी रहेको छ ।

कसलाई कति रकम ?

प्रदेश १ – ४ करोड

प्रदेश २ – ७ करोड

वाग्मती प्रदेश – ४ करोड

गण्डकी प्रदेश – ४ करोड

प्रदेश ५ – ७ करोड

कर्णाली प्रदेश – ६ करोड

सुदूरपश्चिम प्रदेश – ६ करोड बराबर ३८ करोड

८४ पालिका – ७ करोड २२ लाख ६८ हजार

सैनिक अस्पताल – ९ करोड २६ लाख ८० हजार

विमान भाडा – ८८ लाख ५५ हजार

दुई अस्पतालका संक्रमित स्वास्थ्यकर्मी र उपचारलाई २५ लाख

कान्तिपुर दैनिकबाट ।

पाकिस्तानमा कोरोना मृत्युदर बढ्यो

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १ सय ४८ जनाको मृत्यु भएको छ । यो संख्या जुन २० पछिकै सबैभन्दा धेरै हो । उक्त दिन १ सय ५३ जनाको मृत्यु भएको थियो ।

यस्तै, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार ४ हजार संक्रमित भएका छन् ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख ९२ हजार संक्रमित भएका छन् भने ३ हजार ९ सय ३ जनाको मृत्यु भएको छ । ८१ हजार उपचारपछि निको भएका छन् ।

अमेरिकामा एकै दिन थपिए ३७ हजार बढी कोरोना संक्रमित

एजेन्सी । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार विहान यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसदमा नेपाली भाषा बोल्न विधायकहरूलाई किन नलगाएको भनी कारण मागेको हो ।

अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले संसदमा नेपाली भाषा मात्रै बोल्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

सोहि रिटमा सर्वोच्चले प्रतिनिधिसभा र राष्ट्रियसभासँग लिखित जवाफ मागेको हो । साथै रिटमा यसअघि सांसद सरिता गिरी र अमृता अग्रहरीले बोलेको हिन्दी भाषा संसदको अभिलेखबाट हटाउन पनि माग गरिएको छ ।

कोरोना संक्रमणको दैनिक वृद्धिमा भारतको नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसबाट बिहिबार एकैदिन १८ हजार १ सय बढी संक्रमित भएका छन् । वर्ल्डोमिटरका अनुसार यो संक्रमित हुनेको संख्या भारतमा एकैदिन अहिलेसम्मकै धेरै हो । यसअघि जुन २४ मा सर्वाधिक १६ हजार रहेको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय १ जनाको संक्रमणबाट मृत्यु भएको छ । भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

भारतमा कोरोनाबाट हालसम्म ४ लाख ९१ हजार संक्रमित भएका छन् भने १५ हजार ३ सय ८ जनाको मृत्यु भैसकेको छ । २ लाख ८५ हजार उपचारपछि निको भएका छन् । १ लाख ९० हजार उपचाररत छन् ।

आज–१२असार २०७७ शुक्रवारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

देउवाको घरमा विप्लवको पर्चा, जनकारबाहीको चेतावनी

धनगढी ।  पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनकारबाही गर्ने चेतावनी दिएको छ ।

धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित देउवा निवासको गेटमै विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने पत्र टाँसेका छन् । उनीहरुले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन् ।

घरमा परिवार सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटमै टाँसीएको नेकपा स्रोतले जनाएको छ । ‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ ।

यदी नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौ’ पत्रमा लेखिएको छ ।