‘भारत सीमा विवादबारे चासो दिएन’-परराष्ट्रमन्त्री ज्ञवाली
१२ असार २०७७, शुक्रबार १५:४८
काठमाडौं । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा जारी छ ।
२ बजे खाजाको ब्रेकअघि १० जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् । धारणा राख्नेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पम्फा भुसाल, अमृत बोहरा, गिरराजमणि पोखरेल लगायत छन् ।
बैठक अहिले भारतसँगको सीमा विवादमा केन्द्रीत भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिएका हुन् ।
धारणा राख्ने अधिकांश सदस्यहरुले अतिक्रमित नेपाली भूभाग समेटिएको नेपालको नक्सा सार्वजनिक गरेकोमा सरकारलाई बधाई दिएका छन् । सीमा समाधान गर्न अझ बढी प्रभावकारी कदम चल्न सुझावसहित बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतलाई पटक-पटक सीमा समस्या समाधान गर्न छलफलका लागि ताकेता गरे पनि भारतले बेवास्ता गर्दै आएको जानकारी दिए ।
उनका अनुसार नेपालले सेप्टेम्बर, अक्टोबर र डिसेम्बर महिनामा लगातार सीमा विवाद समाधानका लागि वार्ता गर्न प्रस्ताव गरे पनि भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
धारणा राख्ने सदस्यहरुलाई १०-१० मिनेटको समय दिइएको थियो । स्थायी समिति बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले (कोभिड-१९) को बारेमा छुट्टै दस्तावेज प्रस्तुत गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया