नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित – Nagarikabhiyan : National News

नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ११:२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा बैठक प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् ।

ओली अनुपस्थित भएपछि बैठक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेर सञ्चालन भएको छ ।

बुधबारदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयले आ–आफ्ना धारणा राखेका थिए ।

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको एक नेताले बताए ।

बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक शुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।

बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।