१४ असार २०७७, आईतवार १८:२६ – Page 2 – Nagarikabhiyan : National News

नवलपरासीमा कांग्रेस आन्दोलित, सरकारविरुद्ध नाराबाजी, भ्रष्टाचारीलाई कारबाहीको माग

परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीले सदरमुकाम परासीमा सरकार विरोधी गरेको छ ।

नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको हो ।

सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजीसँगै  कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।

भारतले आफुलाई हटाउन षड्यन्त्र गरेको प्रधानमन्त्रीको खुलासा, लैनचौर देखी दिल्ली सक्रिय रहेको भन्दै ओलीले दिए ‘दनक’, यस्तो छ प्रमको आक्रोश !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठुलो समुह आफूलाई हटाउन लागिरहेको बताएका हुन् ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन्।

कार्यक्रममा भारतीय मिडिया र बौद्धिक बहसहरुबारे उल्लेख गर्दै आफूलाई हटाउन भारत लागेको आरोप लगाएका हुन् । उनले भने, ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाए ।

‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।’

कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गाह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने बताए। ‘गाह्रो के हुन्छ जमिन गएको थियो। त्यो फिर्ता लिन खोज्दा गाह्रो भन्या के। एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं। ५८ वर्षदेखि खोसियो। हाम्रो जमिन हो। अरूको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन,’ उनले भने।

सुनसरीमा १० सहित प्रदेश एकमा थप १६ जना कोरोना संक्रमण पुष्टि

इनरुवा । शुक्रबार प्रदेश एकमा थप १६ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।

मन्त्रालय अनुसार बिभिन्न अस्पतालमा गरिएको परिक्षणमा शुक्रबार मोरङमा २ जना, झापामा ४ र सुनसरीमा ४ महिला, ६ पुरुषमा संक्रमण पुष्टि भएको हो । सुनसरीमा देखिएका मध्ये कोसी गाउँपालिकाको क्वारेनटाइनमा ८ जना र देवानगन्ज गाउँपालिकाको क्वारेनटाइनमा २ जना गरी १० जना रहेका छन् ।
हालसम्म सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ ।

यो सगैं प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ १९ रहेको छ । यस्तै प्रदेश १ मा कोरोनााभाइरसबाट निको हुनेको संख्या ३९२ पुगेको छ । शुक्रबार मात्रै २२ जनाले कोरोना जितेर घर फर्केका छन् ।

आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

भरूवा बन्दुकसहित बागलुङमा एक जना पक्राउ

बागलुङ । बडिगाड गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

बडिगाड गाउँपालिका-७ माजखर्कका दलबहादुर बुढालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार उनको साथबाट एकनाले भरुवा बन्दुक र अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुने १२ थान सीसासमेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि

धनगढी  । बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको त्रिवेणी नगरपालिकामा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६२ जनाको कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनले ११ जना महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको बताए । योसंगै बाजुरामा कोरोना संक्रिमितको संख्या १ सय ९१ पुगेको छ ।

भारत र चीनबीचको झडपमा चिनियाँ सैनिक पनि मारिएको चिनियाँ राजदुत द्वारा स्वीकार !

काठमाडौं । भारत र चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सैनिकको पनि मृत्यु भएको चीनले स्विकार गरेको छ ।

भारतका लागि चीनका राजदूत सन वीडोंगले भारत र चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सैनिकको पनि मृत्यु भएको स्विकार गरेको हो ।

सत्य लुकाउन चीनको पुरानो बानी ने हो। सरकारले त्यहाँ के गर्छ, त्यहाँका नागरिकहरूलाई पनि थाहा छैन। भारत र चीनबीचको हिंसात्मक झडपमा भारतका २० सैनिकहरू मारिएको सारा संसारलाई थाहा छ।

तर चीनले यस मृत्युको बारेमा अझै केही भनेन्। १० दिनको मौनपछिको पहिलोपटक, भारतका लागि चीनका राजदूत सन वीडोंगले स्वीकार गरेका छन् कि हिंसात्मक झडपमा चिनियाँ सैनिकको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा वेडोंगले ‘दुई पक्षबीच भयंकर शारीरिक झगडा भएको थियो र यसमा हाम्रा सैनिकहरू पनि मारिए।’ यसभन्दा पहिले चीनले वास्तविक नियन्त्रण रेखामा मृत्युको पक्ष भएको बताएको छैन।

नेपालमा भित्रियो ‘सलह’, बज्ने भयो खतराको घण्टी !

काठमाडौं । सलह कीरा नेपालमा प्रवेश गरेको देखिएको छ । तत्कालका लागि संकट टरेको भनिएको सलह कीरा नेपालमा प्रवेश गरेको देखिएको हो । तराइका सीमावर्ती ३ जिल्लामा उक्त कीरा प्रवेश गरेको किसानहरूले बताएका छन् ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार शनिबार आज बिहान भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो ।

‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने । यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा  बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको केन्द्रले जनाएको छ ।

राजु सदाहरूको दुस्मन : राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ?

काठमाडौं । यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका मेरा आँखा फर्किएकै थिएनन् । नवराज विकसहित ६ जना झरिला युवाहरूको हत्या गरेर फालिएको नीलो प्रवाह । तीन हप्तापछि पनि मान्छे यहाँ पौडिन डराइरहेका थिए । माछा मार्न जाने हिम्मत परेको थिएन कसैलाई । यतिवेला फेरि उधारिँदै छ यो लेख र राजु सदाको छटपटी आँखामा तारन्तार बगिरहेको छ । लेखक सिर्जना ढकालले भर्खरै ट्विट गरिन् : राजु सदाहरूले यो देशलाई देश किन भन्ने ? चिहान किन नभन्ने ? सोचनीय छ– राष्ट्रियताको भ्रम छरेर एकपछि अर्को मान्छे मार्ने देश साँच्चै देश हुन्छ कि चिहान ?

कलाकार रवि मिश्रले ‘मानवता निषेधित क्षेत्र’ शीर्षकको चित्र सार्वजनिक गर्दै लेखिसके : यो मेरो देशको वास्तविक नक्सा हो, जो बुच्चे वा चुच्चे कुनै पनि संस्करणमा अटाउँदैन । सिंहदरबारमा बेसारे प्रवचन दिएर बाँच्ने उपाय सिकाइरहँदा प्रवचकको सिस्टमले आइसोलेसनमा गरेको जघन्य हत्या हो यो । राजु सदा जीवनजलसमेत नपाएर मारिनुलाई यो सिस्टमले जायज ठह-याउला तर मानवताले ठह-याउँदैन । गम्भीर विषयको जवाफ टार्न सदनमा गरिने ठट्टाले बिर्सेला तर इतिहासले बिर्सने छैन । माफ गर्नेछैन ।

यहीँबाट उधारिएको लेख फेरि बुनिन्छ । इतिहासले माफ नगर्ला, तर त्यो इतिहास कसले लेख्छ ? राजु सदाका आँखाबाट बग्यो भने इतिहास कसरी बग्छ ? हो, त्यो इतिहास यसरी बग्नेछ कि नाजायज ‘सिस्टम’लाई पक्कै बगाउनेछ । झन् कसिलो मुट्ठी बाट्नु छ, संघर्ष झनै सघन बनाउनु छ । हो, यसपटक यो लेख बुनिसक्नुपर्नेछ र थाहा पाउनुपर्नेछ– राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? यसको अनुहार र विचार कस्तो देखिन्छ ?

दुस्मन विचार
मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु ।
–मनु मञ्जिल

अनि ऐँठन गर्छ मनुको दुस्मनले । त्यो दुस्मन कस्तो हुन्छ जसलाई फूलजत्तिकै मन पराउन सकिन्छ ? राजुको दुस्मनलाई मन पराउन मिल्छ कि मिल्दैन ? मलर सदा, सूर्यबहादुर तामाङ र जोद्धी गोडियालाई भोकभोकै तड्पाएर मार्ने दुस्मनलाई मन पराउन खोजेर म हैरान हुन्छु । अचानक संसद्को रोष्ट्रममा एउटा आकृति प्रकट हुन्छ । म उसको आँखामा समवेदना खोजेर पनि हैरान हुन्छु । ती बिरामी आँखाहरूमा गरिब, पददलित जनता भकाभक मारिएको यथार्थप्रति झिनो जिज्ञासासम्म पनि छैन । हत्यारा भोक थियो कि संसद् ? हत्यारा रोग थियो कि सरकार ?

मलर सदासँग एक खिल्ली बिँडी बाँडेर चिनजान गर्ने अवसर कहिल्यै मिलेन । तैपनि लकडाउन–निद्रा बिथोल्दै उनी सपनामा आइरहन्छन् । नवराज र उनका साथीहरूसँग भेरीकिनारको चउरमा एक गेम फुटबल खेल्ने सन्ध्या पनि आएन । शोकधुन मात्र भेरीमा सुसाउँदै नजिकनजिक आइरहन्छ ।

मलर सदासँग एक खिल्ली बिँडी बाँडेर चिनजान गर्ने अवसर कहिल्यै मिलेन । तैपनि लकडाउन निद्रा बिथोल्दै उनी सपनामा आइरहन्छन् । सूर्यबहादुर तामाङसँग आस्याङको साइनो लाउँदै छ्याङ खाने साइत पनि कहिल्यै जुरेन । तथापि उनी विपना झस्काउँदै झल्याकझुलुक आँखा अघिल्तिर झुल्किरहन्छन् । साँफेबगरबाट लकडाउनमा पैदल पाइला मिलाउँदै जोद्धी गोडियासँग बर्दिया फर्किने मौका पनि मैले पाइनँ । तर पनि उनका आँखाले पछ्याउन छाडेका छैनन् । अंगिरा पासीले गाएको बर्खा गीत सुन्ने मौसम कहिल्यै आएन । फगत उनको चिच्याहट रूखका हाँगाहरूमा प्रतिध्वनित हुँदै आइरहेछन् वरिपरि । नवराज र उनका साथीहरूसँग भेरीकिनारको चउरमा एक गेम फुटबल खेल्ने सन्ध्या पनि आएन । शोकधुन मात्र भेरीमा सुसाउँदै नजिकनजिक आइरह्यो ।

अनुहारहरू यिनै त हुन् जसको कोलाजबाट यो मुलुकको राष्ट्रियता बन्छ । लाखौँलाख श्रमिक उनै हुन्, शिल्पी सिपालु उनै । उनीहरूकै श्रम र पसिनाले सिर्जेको सहर–गाउँमा हाम्रो बसेरा छ । उनीहरूले नै देशको भार थामेर मेरो हातमा अक्षर थमाइदिएका हुन् । उनै कर्मीमौरीहरूले उबारेर दिएको पलपल समयले मलाई शब्दहरूसँग खेल्ने चौडा मैदान दिएको छ । घृणा, भोक, अपमान, हेला र अकाल मृत्युको उपहारजति उनैको पोल्टामा हालिदिने दुस्मनलाई फूलजत्तिकै मन पराउँ म कसरी ? उनीहरूको इतिहास लेख्ने कलमलाई नै हतकडी लगाउने यो व्यवस्थालाई म मन पराउँ कसरी ?

सिंहदरबारले लकडाउनको आदेश दियो । सिंहदरबारले नै क्वारेन्टाइन बनायो । सेना लगाएर औषधि सिंहदरबारले नै झिकायो । आफ्नो बखानमा किताबै छाप्यो । सिंहदरबारलाई जुन विचारले चलाउँछ, त्यो चैँ त्यहाँ छापिएको छैन । जुन विचारले प्रधानमन्त्रीलाई निर्लज्ज रोष्ट्रममा बोल्न हिम्मत दिन्छ, केही थाहै नभएझैँ विवेक पचाएर हिँड्न मन्त्रीहरूलाई मास्क र मौका दिन्छ, नक्कली टेस्ट उपकरण ल्याएर अर्बौं उडाउने तागत दिन्छ, त्यो विचार छापिएको छैन । जुन विचारले मृत्युशालाजस्ता क्वारेन्टाइन चलाउन र निर्ममतापूर्वक जनता मारेर सुकिलै फरार हुन अनुमति दिन्छ, त्यो विचार वास्तवमा छाप्नै पर्दैन ।

लोकतन्त्रका सिद्धान्त होस् कि माक्र्सवाद, ती सब मञ्चमा उक्लेर भट्याउनका लागि हुन् । किनभने ती भट्याउन मात्र काम लाग्छन् । जसरी पण्डितले पाण्डालमुन्तिर एकत्रित भक्तजनलाई काम, क्रोध, लोभ, मोह गर्न नहुने प्रवचन दिन्छ र ओठबाट प्रवचन खसिसक्न नपाउँदै लाख रुपैयाँ टकार्ने भ्रष्टाचारीलाई दोसल्ला ओढाउँछ, त्यसैगरी ग्रन्थ केवल भट्याउनका लागि हुन् । जीवन चलाउने दर्शन त छताछुल्लै छ, चिन्तन र अम्मल गर्न केको दरकार ? समाज चलाउन जात व्यवस्था छँदै छ, विकल्प सोचिरहनै परेन । नवराजहरू मारिने क्रम वेलावेला चलिरहन्छ । जात व्यवस्थाले रचेको सबैभन्दा पावन, पवित्र र शुद्ध हत्या ! यतातिर चिन्ता गरेर सिंहदरबारमा ‘जंगी निशान’को सान कसरी जोगिन्छ र ?

एकदिन विद्वान् नेता घनश्याम भुसाल भन्थे– इतिहास नभत्काउँ ! सूर्यबहादुर तामाङहरूले वर्तमानमा सम्मानपूर्वक बाँच्ने ठाउँ खोज्दा उनको इतिहास भत्किँदोरहेछ । राजु, मलर र जोद्धीको इतिहास त उहिल्यै भत्काइसकेको हो, यो भुसालहरूलाई मनपरेको सत्ताले । हुर्किनै बाँकी रहेकी अंगिरालाई के थाहा, भुसालकै प्रधानमन्त्रीले बडेबडे नाम भएका नारी नेताहरूलाई कसरी धम्क्याएका थिए । नारीको पनि कुनै इतिहास हुन्छ यो पृथ्वीनारायणले आर्जेको मुलुकमा ? आखिर कुन इतिहास जोगाउन खोजेका थिए भुसालहरूले ? अजित मिजारलाई प्रेम गरेबापत मारेर गाडिदिने मुलुकी ऐनको विरासत ? अंगिराहरूलाई बलात्कार गरेर रूखमा झुन्ड्याइदिने विचारको पुरुषत्वको इतिहास ?

दुस्मन विचारले पनि तेस्रो आँखा त दिन्छ, तर हेर्ने र चिन्ने होइन, नहेर्ने र नचिन्ने आँखा । नेपाली समाजमा सद्भाव छ, सहिष्णुता छ भन्ने शिक्षाले जुन आँखा दिन्छ, त्यसले यी तमाम हत्याहरू किन भए भनेर ठम्याउनै सक्दैन । त्यसो भनिरहँदा कुनै इतिहास भत्किँदैन, चेतनामा ज्वार पनि उठ्दैन । जब नेपाली समाजमा विभेद र असहिष्णुता छ भन्ने तथ्य देख्ने आँखा खुल्छ, तब इतिहासका भित्ताहरू भत्किन थाल्छन् । अनि दैनिक जीवनमा गति उत्पन्न हुनै नदिने अनेकन बाधाहरू देख्न थालिन्छ । राजु सदाको हत्या क्वारेन्टाइनले होइन, क्वारेन्टाइन कसका लागि कस्तो बनाउने भन्ने विचारले गरेको तथ्य देख्न थालिन्छ । राष्ट्रपतिको ऐयासी र भ्रष्टाचारका महानतम् रेकर्ड कायम गर्न कुनै कसर नछाड्ने सिंहदरबारले श्रमिक जनताका निम्ति बनाएको क्वारेन्टाइन किन यातनागृह जस्तो ? किनभने दुस्मन विचारले ठीक त्यही गर्न लगाउँछ ।

अविरल महामारी

लोककथाको कछुवाले झैँ काँधमा समाज, देश र संसार धान्ने श्रमिकहरू अविरल महामारी बेहोरिरहेका हुन्छन् । नेपालमा त झन् प्रस्ट के देखियो भने कोरोना विश्वव्याधीको बहानामा गरिएको लकडाउन केवल मुठ्ठीभर शासक र हुनेखानेहरूको सुरक्षाका लागि पो रहेछ । जसको जीवन सधैँ महामारीजस्तै छ, उसलाई लकडाउनको सुरुदेखि नै कुनै परवाह थिएन । आमजनताका निम्ति त यहाँको सत्ता सधैँ बेपत्तै थियो । गोर्खालीले हनुमानढोकामा स्थापना गरेदेखि नै यहाँको सत्ताको चरित्र त्यस्तै छ ।

विगत अढाई सय वर्षमा यो सत्ताले निरन्तर आफूलाई चाहिनेजति कुलीन उत्पादन गर्ने र फन्का मारिरहने चरित्र निर्वाह गरेको छ । मलेरिया उन्मूलन कार्यक्रमसँगै किसान उन्मूलन कार्यक्रम पनि सुरु गरेको यो सत्ताले पछिल्ला दिनमा एकतिहाई श्रमशक्ति निर्यात गरेर कुलीनतन्त्र टिकाइरहेको छ । कांग्रेस, कम्युनिस्ट, पञ्च जो-जो पछिल्ला सत्तरी वर्षमा यो सत्तामा प्रवेश गरे, ती सबैलाई किसान उन्मूलन कसरी गर्ने र श्रमनिर्यातको दलालीमा कसरी चैन काट्ने भन्ने राम्रोसँग थाहा भयो । किसान, शिल्पी र सीपालु मानिसहरूको ज्ञानमाथि विजय हासिल गरेर किताबी ज्ञानको झन्डा फहराएपछि यिनको जालझेलको कागजी खेल चल्ने भैहाल्यो ।

आजपर्यन्त गोर्खालीले हनुमानढोकामा स्थापना गरेको शासनको त्यही व्याकरणमा देश चलिरहेकै छ । कुन कांग्रेस, कुन कम्युनिस्ट, भट्याउने ग्रन्थ फरक छन्, कर्मको व्याकरण उही हो ।

यो कागजी खेललाई हिजो पनि मलर, सूर्यबहादुर र जोद्धीहरूले बुझेनन्, आज पनि बुझ्दैनन् । गोर्खाली सत्ताले किसान, शिल्पी, कालिगढ, कलाकारजस्ता उत्पादनका मसिहा निर्माण गर्ने सबै समुदायलाई उपनिवेश बनायो । सत्तामा जालझेल गर्नेको प्रतिष्ठा र उत्पादनका मसिहाको अपमान गर्ने शासन बनायो । कर्मीहरूको बुद्धि र श्रमको कमाइजति जम्मै लुटेर ऐसोआराममा खर्च ग-यो, बचेको विदेशतिर लगेर लुकायो । जालझेल, प्रपञ्च, लुट र शोषणको शासनमा उत्पादनका मसिहाहरू उन्मूलन गर्ने दीर्घकालीन परियोजना जारी रह्यो । आजपर्यन्त गोर्खालीले हनुमानढोकामा स्थापना गरेको शासनको त्यही व्याकरणमा देश चलिरहेकै छ । कुन कांग्रेस, कुन कम्युनिस्ट, भट्याउने ग्रन्थ फरक छन्, कर्मको व्याकरण उही हो ।

जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित आन्दोलन आदिमा राजु, मलर, सूर्यबहादुर र जोद्धीहरूले उत्साहका साथ भाग लिएका थिए । कुनै न कुनै कुनाबाट आफ्नो आत्मसम्मान फिर्ता आइरहेको ज्योति उनीहरूले देखेका थिए । परिवर्तनको बतास चल्नचल्न खोजेको पनि हो, तर फर्कियो सबथोक पुरानै धुनमा । किसान उन्मूलन कार्यक्रम पुनः अघि बढ्यो । शिल्पी, कलाकार, कालिगढहरूको सीप र सिर्जना उन्मूलन कार्यक्रम पनि पुरानै लयमा फर्कियो । त्यसैले नेताका निम्ति सय केजी फूलको माला सुझाउने दिमागले राजु सदाहरूका लागि मृत्युशालाजस्तो क्वारेन्टाइन बनायो ।

अगुवाको अभिशाप

कहिलेकाहीँ सोच्थेँ : ल मानियो, हिटलर त क्रूर तानाशाह थियो । सयौँ ग्यासच्याम्बरमा यहुदीहरूको कत्लेआम गर्ने तमाम अफिसरहरू एकैपटक उस्तैगरी हत्यारा किन भए होला ? यो सवालको जवाफ हिजोआज पुग्दो मिलेको छ । केपी ओली उट्पट्याङ कुरा गर्छन्, क्रूरतम ठट्टा गर्छन् । उनको पार्टीका नेता, कार्यकर्ता र सरकारका मन्त्रीले बरु ढाकछोप गर्दा हुन् भन्यो, उनीहरू पनि उस्तै बकबक गरिहिँड्छन् । अन्धवेग चल्यो भने अगुवा जति क्रूर र बेवकुफ भयो, बाँकी अनुयायीहरू पनि उस्तै हुन सक्दा रहेछन् । कसैले पनि अडिएर सोच्दोरैनछ, विवेक खल्तीमा राखेर रडाको गर्न चोकमा पुगिहाल्दोरहेछ ।

चार महिनादेखि जनता अभूतपूर्व संकटबाट गुज्रिरहेका छन् । भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको आर्थिक संकटले बिस्तारैबिस्तारै आमजनताको जीवन थप संकटग्रस्त हुने क्रम छ । कुनै एक दिन सरकारको कुनै सदस्य दुई मिनेट संवेदित भएको देख्न पाइएन । न त मलर सदाको मृत्युले छोयो, न नवराज विकको हत्याले । न अंगिरा पासीको चित्कारले ब्युँझियो न त राजु सदाकै हुँहुँकारले । छातीमा नाम्लो च्यापेर सूर्यबहादुर लम्पसार भेटिएका थिए । एउटा मजदुरको यो दर्दनाक मृत्युले सरकारलाई मात्र होइन, यो व्यवस्थालाई नै छोएन ।

व्यवस्थाको यो संरचना चलाउने दुस्मन विचार भाइरसजस्तो मनमनमा पसेको छ । यो त्यै दुस्मन विचार हो जसले परिवर्तनको बाटो छेकेर उल्टो पाइला हिँड्नेहरूलाई भोट हाल्न लगायो । फूल, चरा, पृथ्वीका छटा सबैलाई छाडेर यसले श्रमिक, किसान, शिल्पी, कालिगढ र कलाकारहरूलाई सम्झिरहन्छ । नक्कली सद्भाव र सक्कली भेदभावको व्यूहरचना गरिरहन्छ । चारैतिरबाट घेरेको छ यो दुस्मन विचारले । किसान मात्र होइन, उर्वराको हत्या गरिरहेछ । शिल्पीको मात्र होइन, सीपको चिहान खनिरहेछ । कालिगढ र कलाकारको मात्र होइन, कलाकै घाँटी थिचिरहेछ । अहँ, यो दुस्मन विचारलाई मन पराउन मिल्दै मिल्दैन ।नयाँ पत्रिका दैनिकबाट

गण्डकी प्रदेशमा थपिए ३२ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शनिवार बिहान थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षणमा ३ जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

बाग्लुङका ८, स्याङ्जाका २२ र पूर्वी नवलपरासीका २ जनामा संक्रमण देखिएको डा. विनोद विन्दु शर्माले बताए ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताए । यसमध्ये हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित भने आईसोलेसनमा बसिसकेका छन् ।

‘कोरोना भगाउने कार्ड’ भिरेर संसद र समिति बैठकमा सहभागी हुँदै सांसद !

काठमाडौँ । पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड भिडाउनेले सुनाएको दाबी सांसदहरू धाराप्रवाह सुनाउने गर्छन् ।

भाइरस रिमुभिङ कार्ड भिरेका नेकपा सांसदहरू झपट रावल र मोहन बानियाँ ।

कार्ड दिने व्यक्तिले कार्ड भिरेपछि मास्क पनि लगाउनु पर्दैन भनेको उनीहरू बताउँछन् । तर, सांसदहरूले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरसलाई एक मिटर परै छेक्नेमा विश्वास नगरेर होला मुखमा मास्क भने लगाइरहेका हुन्छन् ।

यसरी भाइरस रिमुभिङ कार्ड लगाउने सांसदहरूमा सत्तारुढ नेकपाका सांसदहरूको बाहुल्यता छ । प्रतिपक्षी दलका सांसदहरूले भने अक्कलझुक्कल मात्रै यस्तो कार्ड लगाएको देखिन्छ ।

नेकपा सांसद मोहन बानियाँले संसद भवन अगाडि उक्त कार्ड किनेको बताए । कार्डबारे आफूले सुनेको आधारमा व्याख्या गर्दै उनले भने, ‘चीनबाट आएको हो । संसद भवनको अगाडि बेच्न ल्याएको थियो । बेच्ने व्यक्तिले मच्छर धुपले १ मिटरको आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो ।’

चीनले विद्यालय र अफिसमा अनिवार्य गरेको छ भन्ने कुरा कार्ड बेच्नेले आफूहरूलाई भनेको सांसदहरूले बताएका छन् । ‘चीनमा स्कुल र कार्यालयहरूमा अनिवार्य गरेको छ रे यो कार्ड । एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,’ नेकपाकै सांसद गणेश पहाडीले भने ।

विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराले उक्त कार्ड सांसदहरूलाई बिक्री वितरण गरेको कार्ड भिर्ने सांसदहरूले बताएका छन् । केहीलाई सित्तैमा त केहीलाई प्रति कार्ड ७ सय रुपैयाँमा बिक्री गरेको सांसदहरूले बताएका छन् ।

सांसद झपट रावलले आफूले ४ वटा कार्ड किनेको बताए । ‘संसदमा सबै साथीहरूले त्यो लगाएको देखेँ । केहीले यो लगाउनुपर्‍यो माननीयजी भन्नुभयो । १ मिटरसम्म भाइरस आउन दिन्न पनि भन्नुभयो । कोरोनाभन्दा पनि कुनै पनि भाइरसलाई नआउन दिने भन्ने भएकाले लगाएको हो,’ उनले भने, ‘संसद सचिवालयका चिकित्सकलाई पनि सोधेको थिए । उनीहरूले राम्रै हुन्छ, लाउनुस् भन्नुभयो ।’

नेकपाकै सांसद लक्ष्मी चौधरीले पनि ‘भाइरस रिमुभिङ कार्डले एन्टिबाइटिकको जस्तै काम गर्छ’ भन्ने सुनेपछि आफूले पनि लगाएको बताइन् । चीनका विद्यालयमा उक्त कार्डलाई परिचयपत्र जस्तै अनिवार्य गरिएको आफूलाई बताइएको उनको भनाइ थियो ।

विकास समिति सदस्य रहेकी कांग्रेस सांसद रंगमति शाहीले भने आफन्तले जापानबाट ल्याएको कार्ड लगाएको बताइन् । ‘भदाले जापानबाट ल्याएर दिएको हो । एउटा मात्रै बाँकी रहेछ । सबैभन्दा बढी बाहिर हिँड्ने म नै भएकाले मलाई दिनुभएको हो । एक महिनासम्म यो कार्डले कोरोना भाग्छ भन्दैथिए,’ उनले भनिन्, ‘यो भर्खरै निस्किएको भन्ने छ । सबैले लगाएका छन् त्यसैले मैले पनि लगाए ।’

सांसद गणेश पहाडीले भने उक्त कार्डले कोरोना भाइरसलाई एक मिटर परै रोक्नेमा आफूलाई विश्वास नभएको बताए । ‘स्वास्थ्य मन्त्रालयले बिक्री वितरणका लागि अनुमति दिएको छैन, नेपालमा खुलम् खुला बिक्री वितरण भएको पनि छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय र चिकित्सकले प्रमाणीत नगरी त लगाए पनि सुरक्षित महसुस के नहुने रहेछ । यो लगाएपछि मास्क लगाउनु पर्दैन भन्छन् तर हामीले मास्क लगाएको लगायै छौं ।’

समिति सभापति खड्का र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि लगाएकाले आफूहरूले लगाएको सांसदहरूले बताएका छन् । खड्काका व्यवसायी छोराले चीनबाट उक्त कार्ड ल्याएर बेचिरहेको सांसदहरूको भनाइ थियो । केही सांसदलाई सित्तैमा दिएको र त्यसपछि अरु सांसदहरूले आफन्तका लागि पनि मगाएर लिएको बताइएको छ ।

खड्काले भने आफूले उक्त कार्ड लगाएर संसदीय समितिमा आएपछि अरु सांसदहरूले चासो व्यक्त गरेको बताइन् । ‘मेरो छोरा चीनबाट सामान सप्लाइ गर्छन् । यही क्रममा भाइरस रिमुभ कार्ड पनि ल्यायो । जुन कार्डले मैले लगाएपछि अरु माननीयले पनि सोध्नुभयो । मैले कसैलाई लगाउनुस् भनेको होइन,’ उनले भनिन्, ‘कार्डबारे जान्न खोज्ने माननीयहरूलाई छोराको नम्बर दिने गरेको छु ।’

खड्काका छोराले विगतमा पोखरामा होटल व्यवसाय गर्दै आएको र लकडाउन भएपछि चीनबाट यस्तै सामान ल्याएर बेचिरहेको एक सांसदले बताए । केही सांसदहरूलाई सित्तैमा कार्ड दिएको र केहीलाई बजारमा ९ सय रुपैयाँ पर्ने भएपनि सांसद भएकाले ७ सयमा दिएको बताउने गरिएको छ ।

उक्त कार्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि वितरण गरिरहेको बताइएको छ । केही सांसदहरू र नेताहरूलाई वितरण गरिरहेका छन् । व्यक्तिगत खर्चमा नै उनले त्यसरी वितरण गरिरहेको नेताहरूले बताएका छन् ।

सांसदसमेत रहेका नेकपा नेता मुकुन्द न्यौपाने शुक्रबार बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा यो कार्ड भिरेर सहभागी भएका थिए । कार्डबारे उनले भने, ‘केटाकेटी हुँदा धामीले एउटा जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए । माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लागएर हिँड्छन् रे । घाममा नदेखाउनु भन्ने नियम रहेछ । अरुले लगाएको देखेपछि मैले मागेँ, दिनुभयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा बेसार पानीले कोरोना रोग निको हुन्छ भनेका थिए । न्यौपानेले ओलीको उक्त भनाइलाई व्यंग गर्दै भने, ‘खै कोरोना भगाउने त हो कि होइन ? उही बेसारजस्तै हो कि !’

नेपालमा शुक्रबारसम्म कोरोनाबाट ११ हजार ७ सय ५५ जना संक्रमित भइसकेका छन् । जसमध्ये २७ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ९८ जना निको भएर घर फर्किइसकेका छन् । क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको, पीसीआर परीक्षणमा कमी ल्याइएको भनेर सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलका सांसदहरू भने भाइरस रिमुभिङ कार्ड भिरेर हिँडिरहेका छन् । कान्तिपुर दैनिकाबाट

जो मागेर खान्थिन् उनैलाई कोरोनाले लग्यो

दाङ । एक हप्ता जति भएको थियो उनले घोराहीको ट्राफिक चोक वरपर आवत जावत गर्न थालेको। राति चोकको पेटीमा सुत्ने र दिनभर वरपरका पसल र घरमा मागेर हिँड्नु र त्यही बसेर खानु उनको दैनिकी थियो।

एक सातासम्म उनीमाथि नजर परे पनि उद्धार र व्यवस्थापन गर्न तर्फ कसैको चासो देखिएन्। कोरोना संक्रमण बढ्दै गएको घोराहीमा उनी प्रति ध्यान पनि कसैको भएन। उनी को हुन ? कहाँकी हुन ? अहिलेसम्म पहिचान हुन सकेको छैन।

अन्दाजी ३०/३५ वर्षकी उनी एक साता राम्रै अवस्थामा थिइन्। बिहीबार अचेत अवस्थामा देखिएपछि घोराही उपमहानगरपालिकाको नगर प्रहरी र वडा प्रहरी कार्यालयले उनको उद्धार गर्दै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए।

घोराही उपमहानगरपालिका–१५ (ट्राफिक चोक) गुम्राह चोक प्रतिक्षालयको बेञ्चमा वेवहारिसे अवस्थामा भेटिएकी महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो।

उपचारकै क्रममा तीन दिन पहिले ती महिलाको मृत्यु भयो। मृत्युपछि संकलन भएको उनको स्वाब रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको बताएको छ। ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन।

वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्र पन्थीले सुरक्षित स्वास्थ्य सामग्रीको प्रयोग गरेर ती महिलालाई उपचारका लागि अस्पतालसम्म पुर्‍याएका थिए।

केही दिनदेखि चोक आसपासमै बस्ने र मागेर खाने गरेको स्थानीयले बताएका छन्। केही स्थानीयले उनलाई खानेकुरा दिएको बताए पनि उनको बारेमा केही थाहा नभएको बताएका छन्।

घोराही सडक मानव मुक्त नगर हो। केही समय अघि नगरलाई औपचारिक रुपमा नै घोषण गरिएको थियो। सडक मानव मुक्त नगरमै बेवारिसे महिना भेटिनुले पनि ठूलो अर्थ राखेको स्थानीयको भनाइ छ।

‘उद्धार गर्दा मुख बाट फिज आइरहेको थियो’ 
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले ती महिलाको कठिन अवस्थामा उद्धार गरिएको बताए। बेवारिसे अवस्थामा ट्राफिक चोकमा भेट्दा सास फैर्न असहज भएको अवस्था देखिएको र मुखबाट फिज आइरहेको थियो। ‘अवस्था जटिल र शंकास्पद देखिएपछि सुरक्षा सामग्री प्रयोग गरेर अस्पतालसम्म लिएर गएका हौँ’, उनले भने, ‘पछि उपचारको क्रममा उहाँको मृत्यु भएको सुनियो। शुक्रवार कोरोना पुष्टि भएको खवर पनि आयो। म अहिले होम क्वारेन्टाइनमा बसेको छु।’

उद्धारमा सामान्य सावधानी अपनाइए पनि उनीहरुसँग सबै आवश्यक सामग्री थिएन । उनको उद्धारमा संलग्नको अहिलेसम्म पीसीआर परीक्षण भने भएको छैन।  अन्नपूर्ण पोष्ट दैनिकबाट

आज १३ असार २०७७ शनिवारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

काठमाडौंमा आज पनि थपिए ३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

जापानले बनायो संसारकै फास्ट सुपर कम्प्युटर, कोरोनाविरुद्धको लडाइँमा खटाइने

चीन तथा अमेरिकालाई पछि पार्दै जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ ।

जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा प्रयोग गर्ने बताइएको छ ।

विश्वका सुपर कम्प्युटरहरूको सूची प्रकाशित हुने उत्कृष्ट ५०० को पछिल्लो सूचीमा जापानको उक्त कम्प्युटर पहिलो स्थानमा पर्न सफल भएको हो । फुगाकु नामको उक्त सुपर कम्प्युटर कोबे सहरस्थित रिकेन सेन्टर अफ कम्प्युटेसनल साइन्समा जडान गरिएको छ । यो कम्प्युटर एउटा कोठाको आकारको छ । करिब ६ वर्षको अथक प्रयासपछि यसको निर्माण सम्पन्न भएको बताइएको छ।

यसअघि अमेरिकाको आइबिएम कम्पनीको समिट नामक सुपर कम्प्युटर विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको रुपमा रहेको थियो । जापानको फुगाकु सो अमेरिकी कम्प्युटरभन्दा २।८ गुणा तेज छ । रिपोर्टअनुसार यस सुपर कम्प्युटरमा डेढ लाखभन्दा धेरै प्रोसेसर राखिएको छ । सुपर कम्प्युटरको गति मापन गर्ने इकाईअनुसार यसको क्षमता ४१५।५३ पेटाफ्लप्स छ ।

जापानको शानदार पुनरागमन

विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको सूचीमा जापानले ११ वर्षपछि पुनरागमन गरेको छ । यसअघि सन् २००९ मा फुजित्सुको के कम्प्युटर नामक सुपर कम्प्युटरले विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको रुपमा पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसपछि सुपर कम्प्युटरको दौडमा अमेरिका र चीनले जापानलाई पछाडि पारेका थिए । अन्ततः जापानले अमेरिका र चीनलाई फेरि पछिपार्दै पहिलो स्थानमा उक्लिएको छ ।

बीबीसीका अनुसार फुगाकुलाई कोरोना भाइरसविरुद्धको लडाइँमा परिचालन गरिसकिएको छ । यसले कार्यालय परिसरका कोठाहरूभित्र तथा रेलका डिब्बाहरूभित्र कसरी मानिसका थुकका छिटाहरू फैलिन्छन् भन्ने डाटा संकलन तथा विश्लेषण गर्दैछ ।

आगामी वर्ष सन् २०२१ मा यो कम्प्युटर पूर्ण रुपमा क्रियाशील हुनेछ । यसले कोरोना भाइरसको प्रभावकारी उपचारको खोजीका लागि समेत सहयोग गर्ने विश्वास गरिएको छ ।

जापानले बनाएको उक्त सुपर कम्प्युटर सफ्टबैङ्क ग्रुप कर्पोरेसन आर्म्स लिमिटेडको प्रविधिको प्रयोग गरी बनाइएको छ । आर्म्सका अनुसार यो कम्प्युटरले हाइ परफर्मेन्स कम्प्युटिङमा इन्टेल कम्पनीलाई टक्कर दिनेछ । स्मरण रहोस् आर्म कम्पनीका प्रोसेसर विश्वमा अहिले अधिकांश स्मार्टफोनहरूमा प्रयोग हुँदै आएको छ । एप्पलले पनि आफ्नो आगामी म्याक कम्प्युटरमा आर्म्स प्रोसेसर प्रयोग गर्दैछ ।

पछिल्लो तथ्यांकानुसार आइबिएमको समिट सुपर कम्प्युटर दोश्रो तेज सुपर कम्प्युटरको रुपमा रहँदा आइबिएमकै अर्को सुपर कम्प्युटर तेश्रो स्थानमा छ। चौथो र पाँचौं तेज सुपर कम्प्युटर भने चीनमा रहेका छन् ।

बीबीसीको सहयोगमा

आज थपिए ५ सय ९३ जनामा कोरोना संक्रमित

 काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।