नेपालले एसियाली विश्वकप छनोट दोस्रो चरणको आफ्नो पहिलो खेलमा बिहीबार यूएईको सामना गर्दैछ र त्यसमा नेपाली फुटबल समर्थकको एउटै चाहना हुनेछ, टिमको प्रदर्शन सम्माजनक हो । यस्तो किन भन्दा नेपालले यो खेल यस्तो पृष्ठभूमिमा खेल्दैछ, जसले नेपाली फुटबललाई सताउँदै आएको छ ।
विश्वकप छनोट दोस्रो चरण स् नेपालबाट सम्मानजक प्रदर्शनको आशा
नेपाल र यूएईबीच अहिलेसम्म जम्माजम्मी एकै खेल मात्र भएको छ र यो भएको थियो, सन् १९८४ मा । अवसर थियो, एसिया कप छनोट । साउदी अरेबियाको रियादमा भएको त्यस खेलमा नेपाल ११–० ले नमज्जासँग पराजित भएको थियो । त्यो समय थियो, कप्तान रूपकराज शर्मा र प्रशिक्षक जोन फिगी जमानाको ।
समय फेरियो, तर त्यो हारको पीडा धेरैले भुल्न सकेका छैनन् । नेपाली राष्ट्रिय फुटबल टिमले बेहोरेका चार ठूला हारमध्ये यो पनि एक रहेको छ । डर हो, यसपल्ट यस्तो नहोस । सम्भवतः इतिहाससँग नेपाली टिमका गोलरक्षक किरण लिम्बू पनि राम्रैसँग जानकार छन् । त्यसैले त उनले पोस्ट म्याच कन्फ्रेन्समा भनेका छन्, ‘हामी यूएईसँग डराएर खेल्ने छैनौं ।’
छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ रहेको छ र यसमा सम्मिलित अरू टिममा बहराइन र यमन हुन् । यी टिममध्ये सबैभन्दा मथिल्लो दर्जाको फुटबल खेल्ने भनेकै यूएई हो । यूएई फिफा वरीयतामा यो ६९औं स्थानमा छ । एसियाली देशमध्ये यो शीर्ष १० मा पर्छ । फेरि यूएई विश्वकप खेलिसकेको टिम पनि हो, सन् १९९० मा ।
यही पृष्ठभूमिमा प्रशिक्षक भिन्जेन्सो अल्बर्टो एनिसले भनेका छन्, ‘यूएई हाम्रो समूहको सबैभन्दा बलियो टिम हो । तर हामीले पनि राम्रै तयारी गरेका छौं । हाम्रो टिममा युवा खेलाडीको बाहुल्यमा छ । त्यसैले यो टिममा फरक प्रकारको जोश छ ।’ नेपाल फिफा वरीयताको १ सय ७३ औं स्थानमा छ र पूरा सम्भावना छ, नेपालले रक्षात्मक भएर नै खेल्नेछ ।
यसलाई फुटबल कुटनीति नै माने हुन्छ, यूएई आफै पनि नेपाललाई कमजोर मान्ने पक्षमा छैन् । यूएईका प्रशिक्षक हुन्, बेन्टो हुन् । यी प्रशिक्षकको नाम धेरैले सुनेको हुनु पर्छ, किनभने उनकै नेतृत्वमा त हो दक्षिण कोरियाले पछिल्लो विश्वकप खेलेको । उनी भन्छन्, ‘नेपाल वरीयतामा पछाडि छ, तर हामी यो टिमलाई सजिलो प्रतिद्वन्द्वी मान्दैनौं ।’
खेल दुबईको अल मौकत रंगशालमा हुनेछ र प्रतिस्पर्धा नेपाली समयअनुसार बिहीबार साँझ साढे नौ बजे सुरु हुनेछ ।
नेपाली टिम
गोलरक्षक किरण लिम्बू, दीप कार्की र अभिषक बराल
डिफेन्स सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङलामा र योगेश गुरुङ
मिडफिल्ड लाकेन लिम्बू, उत्सव राई, कृतिशरत्न छुन्जु, मनीष डाँगी, सेसेहाङ आङदम्बे र निशाल हमाल
फरवार्ड अञ्जन विष्ट, आयुष घलान, जिलेप्सीजंग कार्की, हिसब थपलिया, सञ्जीव विष्ट र राजेश परियार