चीनको साङ्सी प्रान्तको एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो
३० कार्तिक २०८०, बिहीबार १४:०१
उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र घाइते ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।
‘एघार जनाको ज्यान गएको पुष्टि भएको छ हताहत हुनेको निश्चित सङ्ख्या गणना भइरहेको छ सिसिटिभीले भनेको छ, ‘अहिलेसम्म ६४ जनालाई बाहिर निकालि सकिएको छ तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ । उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ । भिडियोमा देखाइएको भवन कम्पनीको वेबसाइटमा पोस्ट गरिएको मुख्यालयको तस्बिरसँग मेल खान्छ ।
चीनमा लापरवाहीपूर्ण सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना भइरहन्छन् । जुलाईमा उत्तरपूर्वी एक स्कुल जिमको छत भत्किँदा ११ जनाको ज्यान गएको थियो । एक महिनाअघि उत्तरपश्चिमी चीनमा एउटा बारबेक्यु रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको ज्यान गएको थियो । अप्रिलमा बेइजिङमा एउटा अस्पतालमा आगलागी हुँदा २९ जनाको ज्यान गएको थियो।
यस्तै सबैभन्दा नराम्रो दुर्घटनामध्येको एक सन् २०१५ मा तियानजिनमा भएको थियो । तियानजिनमा एक रासायनिक गोदाममा विस्फोट हुँदा कम्तीमा एक सय ६५ जनाको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया