२ मंसिर २०८०, शनिबार १४:५५ – Page 4 – Nagarikabhiyan : National News

धनगढीमा भएको आगलागीबाट झण्डै १८ करोडको बराबरको क्षति

धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख  गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपैयाँ बराबरको मालसामान नष्ट भएको छ । यस्तै भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपैयाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपैयाँ बराबरको स्कुटर जलेर नष्ट भएको डीएसपी चन्दले जानकारी दिए ।

विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो । यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो ।

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को घरदैलो कार्यक्रम

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।

प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् ।
समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।

लप्सीफेदीका स्थानीयवासीद्वारा सुरक्षाकर्मीमाथि ढुङ्गामुढा केही प्रहरी घाइते चार जना पक्राउ

काठमाण्डौको शङ्खरापुर नगरपालिका(३ लप्सीफेदी क्षेत्रमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न गएका सुरक्षाकर्मीमाथि स्थानीयबासिन्दाले ढुङ्गामुढा गरेका छन् ।

शुक्रवार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका हुन् । स्थानीयको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाण्डौको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधीन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति, काठमाण्डौको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गर्नुभएको थियो । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ मा रहेको बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४०० – २२० -१३(११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीका करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी त्यही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ ।

प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको विरोध भइरहेको जानकारी दिनुभयो । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा यो विद्युत् प्रवाह गर्न नसकी काठमाण्डौ उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भइ सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ ।

प्राधिकरणले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये अहिले छनोट गरिएको ठाउँ नै सबैभन्दा उत्तम रहेकाले सबस्टसेन अन्यत्र सार्न नसकिने प्रष्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझेका थिए ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक एडीबी Bको ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

नयाँ खिम्ती–काठमाण्डौ ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ । लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ नयाँ ठेक्का लगाइएको थियो ।

गाजा पट्टीमा ब्ल्याकआउट इन्धन अभावका कारण इन्टरनेट र मोबाइल सेवा ठप्प

गाजा पट्टीमा इन्धन अभावका कारण इन्टरनेट र मोबाइल सेवाहरू बन्द छन्। इन्धन अभावका कारण जेनेरेटर चलेका छैनन् । यी जेनेरेटरले मोबाइल टावर चलाउँदै आएका थिए ।
दूरसञ्चार कम्पनी पल्टेल र जावालले आफ्नो नेटवर्क चलाउन आवश्यक इन्धन सकिन लागेको बताएका छन् । पाँच हप्ताअघि इजरायल र हमाससँगको युद्ध सुरु भएयता त्यहाँ एउटा मात्र इन्धनको डेलिभरी भएको छ।

संयुक्त राष्ट्रसंघले ब्ल्याकआउटका कारण मानवीय सहायता कार्य अवरुद्ध भएको जनाएको छ । यद्यपि, शनिबार, इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धन ट्रकहरू प्रवेश गर्न अनुमति दिने बताएको थियो।

रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या

रौतहटमा एक पुरुषको हत्या भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै एक पुरुषको हत्या भएको हो ।
गएको बिहीबार पूर्वपश्चिम राजमार्ग नजिकै लमाहा भन्ने ठाउँमा दुबै खुट्टा भाँचिएको, टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले सडक छेउमा घाइते अवस्थामा ती पुरुषलाई देखेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए ।

त्यसपछि पुगेको प्रहरीले कालो र सेतो मिसिएको हाफ पाइन्ट हरियो रंगको ज्याकेट लगाएको पहेलो गम्छा फिरेको टाउकोमा चोट लागेको दुबै खुट्टा भाचिएको अवस्थाका ती पुरुषलाई उपचारको लागि चन्द्रपुरस्थित सरकारी अस्पताल लगेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्कुटरको ठक्करबाट ४३ वर्षीया विकको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो ।

ठूलो दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

बाजुरा जिल्लाकै प्रसिद्ध ऐतिहासिक मानिने गाज्रा दशैंमेला आज लाग्ने – वडा अध्यक्ष बुढा

बाजुराको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ गाज्रामा दशैंमेला लाग्ने भएको छ। जिल्लाकै प्रसिद्ध ऐतिहासिक मानिने गाज्रा दशैंमेला कार्तिक शुक्ल पञ्चमी अर्थात आज मंसिर २ गते भव्यताका साथ लाग्ने भएको आयोजकले जनाएको हो।

खप्तड छेडेदह २ गाज्रामा हरेक बर्ष औंशीको पञ्चमीमा लाग्ने दशैंमेलामा बाजुरासहित छिमेकी अछाम र बझाङ डोटी जिल्लाबाट पनि भक्तजनहरु आउने गरेका छन् । बिजयादशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि गाज्रामा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गरेको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष भक्त बहादुर बुढाले बताए।

हरेक बर्ष लाग्ने दशैंमेलामा भक्तजनहरुको बाक्लो भिड नै रहने गरेको र दुर्गा देवीको पुजा र भाकल गर्दा मनोकामना पुरा हुने बिश्वास रहिआएको उनले बताए । भक्तजनहरुले पुजा गर्ने, हवन गर्ने बोका तथा राँगाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको उनको भनाई छ। जिल्लाबासीहरुबाट संकलित सहयोगबाट सँयुक्त पुजा तथा ब्यक्तीगत रुपमा पुजा गर्ने र मेला ब्यवस्थापन गर्न सहयोग रहेको जानकारी दिए।

मेलामा दिउँसो भक्तजनहरले पुजापठसंगै आफूले भाकल गरेका राँगा– बोकाको बलिसमेत चढाउने गरिन्छ। मेलामा ऐतिहासिक सांस्कृतिक देउडा, न्याउले लगायतका खेलमालका साथै स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ । बिजया दशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि याँहा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गर्दछ। यो दशै मेला २०३८ सालदेखि बनाउँदै आएको र दशै मेलालाई भव्य सभ्य बनाउन सम्पुर्णमा आव्हान समेत गरेका छन्।
व्यवस्थापनका लागि वडा र क्लबको नेतृत्वमा मेला व्यवस्थापन समित गठन गरेर मेलालाई व्यवस्थित बनाइने वडा अध्यक्ष बुढाले बताए।

तिहारमा नबिकेका फूल गुर्जो अभियानलाई आयुर्वेदिक औषधि बनाइने

तिहारमा नबिकेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।

कालीमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन  जोर्नीको समस्या चिन्ता शक्तिवर्द्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

आयुर्वेदिक औषधि बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने पनि उहाँले बताउनुभयो । आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइने औषधि निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहनुभएका अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठ खटिनुभएको जनाइएको छ ।

कैलालीको धनगढीमा आगलागी मेडिकलसहित ८ वटा पसलमा क्षति

कैलालीको धनगढीमा गएराति आगलागी भएको छ ।
आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय बासिन्दा आगो निभाउन खटिएका छन् ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विश्वकप क्रिकेट आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ । भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

जारी विश्वकपमा भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ । विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । भारतले २ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि प्राप्त गरेको थियो ।

यस्तो छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको ७ बुँदे पत्र

नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।
टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।

यही कात्तिक २७ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएको भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको थियो । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो ।

टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । यो प्लेटफर्मलाई नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका व्यक्तिले अँगालेको बताउँदै यो प्लेटफर्ममा उनीहरूले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका टिकटकको दाबी छ ।

नेपालमा टिकटक सञ्चालनका लागि गरेको केही प्रयासहरूबारे पनि प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय आफूसँग नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको कम्पनीले जनाएको छ । ‘प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टको समस्या पहिचान गर्न टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध छ’, पत्रमा भनिएको छ ।

छठ सुरु पहिलो दिन आज नहाए खाए

सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन्।
आजको दिनलाई अरवा अरवाईन वा नहाए खाए भनिन्छ। दोस्रो दिन शनिवार खरनाअन्तरर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ।

तेस्रो दिन आइतबार पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ।
यसलाई ‘संझियाघाट’ भनिन्छ। अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन हुन्छ।

छठ पर्वका व्रतालुका लागि छठको घाट सजाउन तराईका स्थानीय जोडतोडका साथ लागेका छन्।
विभिन्न खोलानाला, जलाशय र पोखरीको किनारमा गरिने छठको अनुष्ठानका लागि बाराका पोखरी र खोलानालाहरू सजाउने काम भइरहेको छ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न नदी, पोखरी तथा तलाहरूमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तीव्रता दिइएको आयोजकहरूले जनाएका छन्।
शुद्ध, सात्त्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुखशान्ति आउने जनविश्वास छ।

उर्लाबारी आगलागी घटनाका घाइतेलाई भेट्न स्वास्थ्यमन्त्री बस्नेत पुगे कीर्तिपुर अस्पताल

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राति भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

घाइतेहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन र उनीहरुलाई भेट्न मन्त्री बस्नेत बिहीबार कीर्तिपुर बर्न अस्पताल पुगेका थिए। उर्लाबारीमा भएको आगजनीमा गरेर घाइते भएकाहरुमध्ये २५ जनाको उपचार किर्तिपुर बर्न अस्पतालमा भइरहेको छ।

अस्पतालका अनुसार उनीहरु मध्ये ९ जनाको अवस्था गम्भिर भएकाले आईसीयू ९सघन उपचार कक्ष ० मा राखेर उपचार भइरहेको छ। बाँकीको प्लाटिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्री बस्नेतले उपचाररत घाइतेहरु, उनीहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकहरुलाई भेटेर उपचार अवस्थाको जानकारी लिनुका साथै उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिएका छन्।

मन्त्री बस्नेतले उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा कुनै कमि नहुने र सरकारले उपचारमा सक्दो सहयोग गर्ने बताए। मन्त्री बस्नेतले भने, ‘पैसा नभएको कारण कसैको पनि उपचार रोकिनु हुदैन। पैसा तिर्न नसक्नेहरुका लागि सरकार छ। सरकारले त्यो कर्तव्य पुरा गर्छ।’

मन्त्री बस्नेतले जलनका विरामीहरका लागि किर्तिपुर अस्पतालले उत्कृष्ठ काम गरिरहेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए। कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा शंकरमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलनका बिरामीको उपचार भइरहेको जानकारी गराउँदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए।

उनले एक महिनापछि अस्पतालमा विदेशबाटसमेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए। अस्पतालको जलन विभाग प्रमुख डा किरण नकर्मीले उर्लाबारी आगजनी घटनाका उपचाररत २५ जना घाइतेमध्ये ५ जनाको भोली शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी दिए।

उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका थिए। पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाइ छ।

जुवातास खेलिरहेका २१ जना पक्राउ

नुवाकोटको विदुर नगरपालिका–२, विदुरस्थित नर्थ भ्यू होटेलमा जुवातास ९कौडा० खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रवीन्द्र आचार्यसमेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

होटेलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ ।

पत्नीको हत्या आरोपमा पूर्वप्रहरी पक्राउ

अछाममा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। मङ्गलसेन नगरपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन्।

उर्मिलाका माइती पक्षले बुधवार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।

उनले भने मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन्।’

नायव उपरीक्षक पाठकका अनुसार श्रीमानले मदिरा सेवन गरेको पाइएको छ। उनले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौँ। शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ।

हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश पाएका थिए।

विश्वकप क्रिकेट सेमिफाइनल दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेको छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन ।

आजको खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजो राति भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेको छ । फाइनल खेल आउँदो आइतवार अहमदाबादमा हुनेछ ।