३ मंसिर २०८०, आईतवार १५:२८ – Page 3 – Nagarikabhiyan : National News

बाघको आक्रमणबाट बर्दियाको राजापुरमा एक जनाको ज्यान गयो

पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज शर्माले जानकारी दिनुभयो ।

आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैकाे वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघकाे आक्रमणका घटना बढ्दै गएकाे छ । यी क्षेत्रमा बाघकाे आक्रमणबाट १८ जनाकाे ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाकाे ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

सर्लाही युवतीको शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइयो

सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले सात दिनपछि चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।
युवतीको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाको रोहबरमा आज आइतवार बिहान खाल्डोबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक डीएसपी दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

खातुनको कात्तिक २६ गते राति रहस्यमय मृत्यु भएको थियो । खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले मृतककी सौतेनी आमा सकिना खातुन, मृतककी मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।

यसैबीच चिहानबाट निकालिएको खातुनको शव परीक्षणपछि पुनः मुस्लिम परम्पराअनुसार नै अन्त्येष्टि गरिने सहमति भएको छ ।

आज सुनचाँदीको भाउ स्थिर

आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आज सुनको भाउ अस्ति शुक्रवारको जस्तै तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज स्थिर छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चिसोले थप तीन भूकम्पपीडितको मृत्यु ज्यान जानेको संख्या १० पुग्यो

चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो । योसँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ ।

यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भएका थिए ।

पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप ६ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो।

बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यक्तिहरूलाई कारबाही गरेको थियो।

आक्रमणका क्रममा बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ। मारिएका डाँकाहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

क्रोएसिया पठाइदिने भन्दै झापाका एक सय जनाभन्दा धेरै युवालाई ठग्ने सञ्जय सरदार पक्राउ

झापाका एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ ।सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिनादेखि बेपत्ता बनेका थिए । उनले पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।

छठ राष्ट्रिय एकता र आपसी विश्वास बढाउने पर्व हो प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने बताउनु भएको छ ।

छठ पर्वका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको उहाँले बताउनु भयो ।

यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छु, सन्देशमा भनिएको छ ।

पर्सामा राष्ट्रिय झण्डा च्यात्न ११ जना पक्राउ

पर्सामा नेपालको राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–९ मा रहेको सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीवार राति जाँडरक्सी खाएर सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक हप्ताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि त्यस क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर दीपु ओझैया सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो ।

यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ ।

प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेरनगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

टिकटकलाई बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा कानुन व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । यस रिटमा भोलि प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकको प्रयोगमा रोक लगाएको हो ।

विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।
फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।

आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।
विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ ।

अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख सहयोग

जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ।

नेपालका लागि चीनका राजदूत छन सोङ शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए।

तिहारको टीका लगाउन हिँडेका व्यक्ति मृत फेला

अर्घाखाँचीको भूमिकास्थानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तिहारको भाइटीका लगाउन भनी हिँडेका गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती भूमिकास्थान नगरपालिका–३ सिख्रको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयो ।

कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान–३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तबसुन खातुनको हत्या आरोपमा सौतेनी आमासहित तीन जना पक्राउ गाडेको शव निकालेर पोष्टमार्टम गरिने

सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा सकिना खातुन मृतकको मामा शेख जिलानी र उनका छोरा शेख असजद रहेका छन् ।

गएको कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगाको चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थालेको थियो । खातुनको हत्या भएपछि हतार हतार गरेर मुस्लिम परम्परा अनुसार खाल्डोमा गाडिएको थियो ।

तर प्रहरीले उनको शव निकालेर परीक्षण गरिने जनाएको छ । खातुनको मृत्यु रहस्यमय भएको प्रहरीमा जानकारी आएकाले शव निकालेर पोष्टमार्टम गर्न लागिएको प्रहरीले जनाएको छ । मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।

देवानगञ्ज यूथ फेस्टिवल भव्यताका साथ सम्पन्न

सुनसरीको देवानगञ्जमा पहिलो पटक युथ फेस्टिवलको आयोजना गरेको छ । सम्पन्न भएको युथ फेस्टिवलको मुख्या आकर्षण मिस एण्ड मिस्टर देवनागञ्जको मिस्टर उपाधी रामचन्द्र मेहता र मिस देवानगञ्ञकाे मुन्नी मेहताले उपाधि जितेका हुन । रुपियाँ पाउनुभयो त्यसै गरी दोस्रो  अन्जली मेहता र ओमप्रकाश मेहताले समेत नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रथम हुने रामचन्द्र मेहता र मुन्नी मेहताले २१ हजार नगद पुरूषकार जितेका छन ।

पुरस्कार वितरण कार्यक्रममा देवानगञ्ज गाँउपालिकका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिकाको पहिचानका लागि युवादेखी अग्रजहरुको अनुभव र युवाहरूको प्रतिभा एवं उत्साह मार्फत यस क्षेत्रको बहुपक्षीय समृद्धिमा युथ फेस्टिवलले योगदान गर्ने बताउनुभयो । उहाँले कार्यक्रमहरु अर्थपूर्ण र सर्हानिय रहेको उल्लेख गर्नुभयो ।

 

आयोजक नागरिक अभियानका अध्यक्ष विवेक मेहताले गाउँपालिका परिवार, वातावरण तयार गरि दिनुहुने गापा अध्यक्ष बेचन प्रसाद मेहता लगायत गाउँपालिका परिवार, आयोजकमा सहयोगी फैमली ईभेन्ट मैनेजमेन्ट टिम, प्रा।डा।रामशरण मेहता, तेजनारायण यादव एवं शिक्षकवर्ग, सम्पूर्ण राष्ट्रसेवक, कलाकारहरु प्रति आभार व्यक्त गर्नुभयो ।

 

मेहताले भाविदिनमा पनि यस्ता गैरराजनीतिक, उत्पादनशील तथा सृजनशील कार्यक्रमहरु मार्फत युवाहरूलाई समाज, राष्ट्रको जिवनमा जोडने प्रयत्न हुने प्रतिवद्धता जनाउनुभयो ।
समाजसेवी राम खेलौन मेहताले आयोजकले ग्रामिण क्षेत्रमा पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रमको आयोजना गरेर युवाहरुको प्रतिभा पहिचान र प्रस्फुटन गर्न कार्यक्रम सफल रहेको बताउनुभयो ।

 

 

कार्तिक १७ गते देखि उद्घाटन सहित सुरु भएको कार्यक्रम अन्तर्गत मिस्टर एण्ड मिसेज देवानगञ्ज, गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट, प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिएको जनाएको छ । प्रतियोगितामा मिस्टर एण्ड मिसेज देवानगन्जमा ६० भन्दा बढी सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए ।

देवानगञ्जको इतिहासमा पहिलोपटक फुड फेस्टिवल गर्न सफल भएको आयोजक अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालीका संचालक विवेक मेहताले जानकारी दिनुभएको छ । मेहताका अनुसार कार्यक्रममा स्थानीय जातजाति, भाषाभाषी ,धर्म सांस्कृतिक, रहनसहन ,सामाजिक गतिविधिहरुको संरक्षण, प्रवर्द्धन, युवाहरुको नेतृत्व विकास अधोगिक विकास र युवाहरुको अवाजका कुराहरुको प्रस्फुटनका लागि फेस्टिवल फलदायी भएको छ ।

बैतडीमा जिप दुर्घटना एकजनाको मृत्यु पाँच घाइते

बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको हो।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताए।

जिप उकालोमा नचड्दा पछाडि टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्यु भएको हो।
यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट,७ वर्षीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन्।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

जिप दुर्घटनापछि चालक सुरेन्द्र विष्ट फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

झारखण्डमा कार रूखमा ठोक्किँदा पाँच जनाको मृत्यु पाँच गम्भीर

भारत झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ।
प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो।

तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो।

यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँचजना घाइते भएका छन्। शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।