सर्लाही युवतीको शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइयो – Nagarikabhiyan : National News

सर्लाही युवतीको शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइयो

सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले सात दिनपछि चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।
युवतीको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाको रोहबरमा आज आइतवार बिहान खाल्डोबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक डीएसपी दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

खातुनको कात्तिक २६ गते राति रहस्यमय मृत्यु भएको थियो । खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले मृतककी सौतेनी आमा सकिना खातुन, मृतककी मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।

यसैबीच चिहानबाट निकालिएको खातुनको शव परीक्षणपछि पुनः मुस्लिम परम्पराअनुसार नै अन्त्येष्टि गरिने सहमति भएको छ ।