४ मंसिर २०८०, सोमबार १३:५६ – Page 2 – Nagarikabhiyan : National News

एमाले VS दुर्गा प्रसाईं मैदानमा उत्रिने भएपछि उपत्यकाको सेक्युरिटी हाई अलर्ट

नेकपा एमाले भर्सेस मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएपछि काठमाडौं उपत्यकामा सुरक्षा उच्च सतर्कता सेक्युरेटी हाई अलर्ट अपनाइएको छ।

यी दुवै पक्षले मंसिर ७ गते काठमाडौं उपत्यकाको माइतीघरमा शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि सुरक्षा उच्च सर्तकता अपनाइएको हो। उच्च सतर्कता अपनाउँदै यी दुवै पक्षलाई माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने प्रशासनले तयारी गरेको छ। गृह प्रशासन तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई मंसिर ७ गते माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने तयारी गरेको छ।

प्रहरी प्रशासनले समेत काठमाडौंका छुट्टा–छुट्टै स्थान तोकेर कार्यक्रम गर्न दिनुपर्ने सुझाव दिएको छ। सोही अनुसार दुवै पक्षलाई दुई फरक ठाउँमा शक्ति प्रदर्शन गर्न दिने तयारी गरिएको छ। काठमाडौंको तीनकुने, नारायणचौर, माछापोखरी, कलंकी, कीर्तिपुर लगायतका ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्न दिनेबारे तयारी भइरहेको गृह प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।

फरक फरक ठाउँमा कार्यक्रम गर्न दिए पनि आक्रोशित भीडले झडपको स्थिति लिन सक्ने भएकाले थप उच्च सतर्कता समेत अपनाइएको प्रहरीले जनाएको छ।  अहिलेसम्म माथिल्लो निकायबाट ठ्याक्कै यही तयारी गर्नु भन्ने किसिमको कुनै आदेश आएको छैन। तर हामीले आन्तरिक रुपमा भने सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर तयारी अगाडि बढाइसकेका छौं,’ काठमाडौं उपत्यका एक उच्च प्रहरी अधिकारीले भने।

प्रहरीले आन्तरिक रुपमा एमाले निकट युवा संघका कार्यकर्ताको गतिविधि तथा तयारी र दुर्गा प्रसाईंका समर्थकको समेत गतिविधिबारे सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ। सादा पोशाकका प्रहरीले काठमाडौं उपत्यकाका सुरक्षा अवस्था र हुन सक्ने जोखिमबारेको सूचना संकलन गरेर रिपोर्ट समेत गरिसकेका छन्। सोही अनुसार रणनीति बनाएर सुरक्षा दिइने प्रहरीले जनाएको छ।

उपत्यकाको तीन जिल्लाको कमाण्ड गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि आफू मातहतका प्रहरी कार्यालयहरुलाई सुरक्षा तयारीबारे निर्देशन दिइसकेको छ। सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले कार्यक्रमका लागि कुनै पक्ष पनि अनुमति माग्न नआएको बताएका छन्। उनले भने, ‘हामी कहाँ अनुमति माग्न आएमा दुवैलाई उपयुक्त ठाउँमा प्रदर्शनका लागि सुझाउँछौं। उचित सुरक्षा प्रबन्ध गर्छौं।

दुवै पक्षले प्रदर्शनस्थल माइतिघर मण्डलालाई तय गरेपछि झडप हुने स्थिति आएको थियो। एमालेले सरकार र अराजकता विरुद्ध युवा विद्यार्थी प्रदर्शन गर्ने जनाएको छ। महेश बस्नेतको नेतृत्वमा हुने उक्त प्रदर्शनलाई नेकपा एमालेले अपनत्व लिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ।

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ११ . ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४,५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्। बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।

जीप दुर्घटनामा हुँदा २२ जना घाइते

रुकुम पश्चिम –रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बिहान चौरजहारी नगरपालिका(८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन्।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो।
नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन्।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ। नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो। महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ।

सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन्। नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ। धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ। बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ।

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् ।

सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ ।सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले यस वर्षको छठ पर्वलाई बिदा गरेका छन् । व्रतालुहरू झिसमिसेदेखि नै जलाशयमा उभिएर सूर्योदयको प्रतीक्षामा थिए ।

बिहनीयाघाट भनिने यस दिन व्रतालुले सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीसहित अर्घ्य दिए । व्रत समापनपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रलाई टीका लगाइदिएका थिए ।

छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी उनीहरूले आज उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएका हुन् ।

आज विश्व टेलिभिजन दिवस

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ।
१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सन्जालको ब्यापक प्रयोगले टेलिभिजन हेर्नेको संख्या घटेको विश्लेषण गरिएको छ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो।

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो। नेपालमा अहिले प्रेस काउन्सीलमा २ सय ४३ वटा टेलिभिजन च्यानल दर्ता भएका छन्।

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो ।
चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् ।

गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।

शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ । गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौथो शक्तिको रुपमा उदाएको थियो ।

नागरिक उन्मुक्ति, जनमुक्ति र राप्रपाले पनि संसदमा बलियो उपस्थित जनाएका छन् । चुनाव भएको वर्ष दिन नपुग्दै केही दलहरु २०८४ सालमा हुने चुनाव लक्षित अभियानमा जुटिसकेका छन् ।

दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गयो, दुई जना घाइते

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

दाङको ग्वारखोलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएको छ ।

उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएको हो ।

यस्तै, अर्को मोटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

विपिन जोशीलाई हमास समूहले लगेको पुष्टि अझै सम्पर्कविहीन

गएको असोज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ ।
इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उहाँका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए । परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताउनुभएको छ ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

विराट कोहली बने सर्वोत्कृष्ट खेलाडी

विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।
भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए।

उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए। कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए। उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए।

कोहलीले लिगमा बंगलादेशविरुद्द १ सय ३ रन बनाएका थिए। उनले फाइनलमा ५४ रन बनाएपनी जितको लागि पर्याप्त भएन। जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

कार्तिक शुक्ल सप्तमी। मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन्।
पूजाका लागि नदी तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुखसमृद्धि हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

 

धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना ३२ घाइते एक निधन

 

धनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम लिएर आएको बस मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको छ । बसमा ३७ जना सवार रहेको बताइएपनि हालसम्म ३२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३२ घाइते, एक निधन
ना६ख ८४२४ नम्बरको बस दुर्घट्ना हुादा एकजनाको निधन भएको पनि प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको सनाखत भने भइसकेको छैन ।

धनुषाको धारापानीबाट इलाम घुम्न आएको विद्यार्थी टोली दुर्घटनामा परेको इलामका प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडाले बताए । बसमा ३७ जना रहेको भनिए पनि हालसम्म ३२ जना मात्रै भेटिएको प्रहरीले जनाएको छ ।

ग्राहक बनेर पुगेका सशस्त्र प्रहरीले बरामद गरे रौतहटबाट चार हतियार

सशस्त्र प्रहरीले रौतहटबाट चार वटा अत्याधुनिक हतियार बरामद गरेको छ।
आइतबार दिउँसो यमुनामाइ नगरपालिका वडा नम्बर ३ स्थित एक घरबाट प्रहरीले पेस्तोल र बन्दुक बरामद गरेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त घरबाट ९ एमएम पेस्तोल ३ नाल त्यसमा लाग्ने १३ गोली ६ वटा म्याग्जिन र एउटा एयर गन बरामद भएको हो।
हतियार बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी उक्त घरमा पुगेको थियो।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता बरामद भएको उनले बताए।
यसमा संलग्न व्यक्ति पक्राउ भने परिसकेका छैनन्। केही व्यक्तिहरू घरभित्र पसेर चुकुल लगाएर बसेको डिएसपी थापाले बताए।

हतियार बेच्न लागेका थिए। हतियार बरामद गरियो तर पक्राउ गर्न खोज्दा भित्र चुकुल लगाएर बसेका रहेछन्उ नले भने हाम्रो थप टोली पनि जाँदैछ।’
घरभित्र कति जना छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। हतियार बेच्न लागेको भन्ने सूचना पाएपछि प्रहरी ग्राहक बनेर उक्त स्थानमा पुगेको हो।

छठ पूजाको तयारी गर्दा सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

जिल्लाको ईश्वरपुरमा छठ पूजाको तयारी गर्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर ६ का अन्दाजी २२(२३ वर्षका युवक सन्तोष साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासले जानकारी दिएको हो।

आज बिहान नगरपालिकाको पोखरीटोलमा छठ पूजाको लागि घाट बनाएर पोखरीमा नुहाउन पसेका उनको ११ बजे डुबेर मृत्यु भएको हो।

मृतक साह अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए। उनको मृत्युले अहिले छठ पूजास्थल शोकमग्न भएको छ। शवलाई पोस्टमार्टमका लागि मलंगवा लगिएको प्रहरीले जनाएको छ।

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

देवानगञ्ज । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।