एमाले VS दुर्गा प्रसाईं मैदानमा उत्रिने भएपछि उपत्यकाको सेक्युरिटी हाई अलर्ट
४ मंसिर २०८०, सोमबार १३:५६

नेकपा एमाले भर्सेस मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएपछि काठमाडौं उपत्यकामा सुरक्षा उच्च सतर्कता सेक्युरेटी हाई अलर्ट अपनाइएको छ।
यी दुवै पक्षले मंसिर ७ गते काठमाडौं उपत्यकाको माइतीघरमा शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि सुरक्षा उच्च सर्तकता अपनाइएको हो। उच्च सतर्कता अपनाउँदै यी दुवै पक्षलाई माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने प्रशासनले तयारी गरेको छ। गृह प्रशासन तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई मंसिर ७ गते माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने तयारी गरेको छ।
प्रहरी प्रशासनले समेत काठमाडौंका छुट्टा–छुट्टै स्थान तोकेर कार्यक्रम गर्न दिनुपर्ने सुझाव दिएको छ। सोही अनुसार दुवै पक्षलाई दुई फरक ठाउँमा शक्ति प्रदर्शन गर्न दिने तयारी गरिएको छ। काठमाडौंको तीनकुने, नारायणचौर, माछापोखरी, कलंकी, कीर्तिपुर लगायतका ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्न दिनेबारे तयारी भइरहेको गृह प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।
फरक फरक ठाउँमा कार्यक्रम गर्न दिए पनि आक्रोशित भीडले झडपको स्थिति लिन सक्ने भएकाले थप उच्च सतर्कता समेत अपनाइएको प्रहरीले जनाएको छ। अहिलेसम्म माथिल्लो निकायबाट ठ्याक्कै यही तयारी गर्नु भन्ने किसिमको कुनै आदेश आएको छैन। तर हामीले आन्तरिक रुपमा भने सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर तयारी अगाडि बढाइसकेका छौं,’ काठमाडौं उपत्यका एक उच्च प्रहरी अधिकारीले भने।
प्रहरीले आन्तरिक रुपमा एमाले निकट युवा संघका कार्यकर्ताको गतिविधि तथा तयारी र दुर्गा प्रसाईंका समर्थकको समेत गतिविधिबारे सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ। सादा पोशाकका प्रहरीले काठमाडौं उपत्यकाका सुरक्षा अवस्था र हुन सक्ने जोखिमबारेको सूचना संकलन गरेर रिपोर्ट समेत गरिसकेका छन्। सोही अनुसार रणनीति बनाएर सुरक्षा दिइने प्रहरीले जनाएको छ।
उपत्यकाको तीन जिल्लाको कमाण्ड गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि आफू मातहतका प्रहरी कार्यालयहरुलाई सुरक्षा तयारीबारे निर्देशन दिइसकेको छ। सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले कार्यक्रमका लागि कुनै पक्ष पनि अनुमति माग्न नआएको बताएका छन्। उनले भने, ‘हामी कहाँ अनुमति माग्न आएमा दुवैलाई उपयुक्त ठाउँमा प्रदर्शनका लागि सुझाउँछौं। उचित सुरक्षा प्रबन्ध गर्छौं।
दुवै पक्षले प्रदर्शनस्थल माइतिघर मण्डलालाई तय गरेपछि झडप हुने स्थिति आएको थियो। एमालेले सरकार र अराजकता विरुद्ध युवा विद्यार्थी प्रदर्शन गर्ने जनाएको छ। महेश बस्नेतको नेतृत्वमा हुने उक्त प्रदर्शनलाई नेकपा एमालेले अपनत्व लिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया