१३ कार्तिक २०८०, सोमबार १५:३७ – Page 3 – Nagarikabhiyan : National News

ट्राफिक चेकिङमा नागरिक एपमा देखाएको लाइसेन्सलाई मान्यता दिइने

ट्राफिक प्रहरीले चेकिङका क्रममा नागरिक एपमा देखाउने सवारी चालक अनुमति पत्र लाइसेन्स लाई मान्यता दिने भएको छ।

नागरिक एपको फेसबुक पेजमार्फत् सूचना जारी गर्दै सरकारले अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुपति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाएको हो ।

‘आदरणीय सेवाग्राहीहरु, नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। सूचनामा भनिएको छ, ‘यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’

यो व्यवस्थासँगै ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मोबाइलबाटै देखाइने लाइसेन्सले मान्यता पाउने भएको छ। ट्राफिक नियम मिचेको अवस्थामा भने चिट काट्नका लागि ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक राख्ने गरेको छ।

बाँकेमा बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल शुरु हुँदै

बाँकेको कोहलपुरमा आउँदो बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल शुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८० शुरु हुने आयोजकले जनाएको छ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

अध्यक्ष क्षेत्रीले गोल्ड कप विजेता टोलीले ८ लाख रुपैयाँ र तथा उपविजेताले ४ लाख रुपैयाँ नगद प्राप्त गर्ने बताए। ‘नकआउट’ बमोजिम खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी ८ टोली सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘गोल्डकप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ।’ खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ।

आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने आयोजकले जनाएको छ।
अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेका छन्।

गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ। गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराइने छ।

प्रतियोगिता सञ्चालन गर्न स्थानीय स्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ। ‘गतवर्षको कमी कमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,’ अध्यक्ष क्षेत्रीले भने।

पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिशर्ट’समेत सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए।

गत वर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो। ब्वाइज युनियन क्लब काठमाडौँलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो।

गोली प्रहारबाट प्रिन्सिपल सर्राफको निधन

गोली प्रहारबाट घाइते भएका बाराको कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफको निधन भएको छ ।
गोली प्रहारबाट घाइते सर्राफको उपचारको क्रममा निधन भएको हो ।

उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।

बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो ।

३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा हुन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

बोलेरो दुर्घटना हुँदा एमालेका नेताहरु घाइते

काभ्रेको खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बा१४च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमालेका नेताहरु घाइते भएका छन्। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन गरी फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो।

बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरि सुवेदीले बताए।

गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा, सुवेदी लगायतका नेताहरु थिए। बोलेरोमा १७ जना थिए। ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ। स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाइतेहरुलाई अस्पताल पठाएका हुन्। घाइतेहरुलाई बनेपा र धुलिखेल ल्याउने क्रम जारी छ।

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गयो २५ जना घाइते

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ ।

घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।
यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुगु घटना पाँच दिन बित्यो कुकुरसहित अनुसन्धान टोली परिचालन गरे पनि घटनाको कारण अझै खुल्न मुस्किल

मुगुको छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँको एकाघरका चार सदस्यको हत्या भएको घटनामा पाँच दिन बितिसक्दासमेत अनुसन्धान टोलीले अझै ‘क्लु’ भेट्टाउन सकेको छैन । कुकुरसहित अनुसन्धान टोली परिचालन गरे पनि घटनाको कारण अझै नखुलेको हो ।

मुगु घटना : पाँच दिन बित्यो, हत्याको ‘क्लु’ भेटिएन
हत्या घटना अनुसन्धान गर्न मुगुको मन्दु गाउँ पुगेका प्रदेश प्रहरी प्रमुख डीआइजी भीम ढकाल गाउँलेसँग सोधपुछ गर्दै । तस्बिर : कान्तिपुर
मन्दु गाउँको एक घरका आमा र तीन सन्तान गत बुधबार शंकास्पद अवस्थामा मृत भेटिएका थिए । दसैंको टीका थाप्न मंगलबार बालबच्चासहित माइतीमा गएकी २८ वर्षीया श्रीदेवी बोहरा भोलिपल्ट घर फर्केकी थिइन् ।

घरमा ताला लगाइरहेका अवस्थामा उनीसहित ७ महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोज बोहरा मृत अवस्थामा मृत फेला परेका थिए । घरमा चहलपहल नदेखेपछि छिमेकीले उनीहरुको खोजी गरेका थिए । ताला फोरेर भित्र हेर्दा उनीहरुलाई रगताम्य अवस्थामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले शुक्रबार सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो । प्रहरी टोलीमा कुकुरलाई समेत लगिएको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी भीमप्रसाद ढकाल थप अनुसन्धान टोली लिएर आफैं पनि घटनास्थल पुगेका छन् ।

कुकुरले समेत ‘क्लु’ पाउन नसकेको डीआइजी ढकालले बताए । ‘८ गतेको घटना प्रहरीलाई १० गते थाहा भयो । कुकुरसहितको टोली ११ गते आइपुग्यो,’ उनले भने, ‘त्यसले गर्दा कुकुरलाई अपराधी पत्ता लगाउन समय लागेको हो ।’ प्रहरीले गाउँलेसँग सोधपुछ गर्नुका साथै घटनास्थलमा प्रमाणका रुपमा भेटिनसक्ने सबै सामान नियन्त्रणमा लिएको छ । ‘अनुसन्धानका सबै विधि अपनाइएको छ । गाउँलेसँग सोधपुछ गरिरहेका छौं, केही पत्ता लागेको छैन,’ उनले भने ।

श्रीदेवीका श्रीमान दीपक बोहरा कतारबाट फर्केपछि शव पोष्टमार्टमका लागि शनिबार जिल्ला अस्पताल लगिएको थियो । दीपक वैदेशिक रोजगारीका लागि गत वर्ष कतार पुगेका थिए । दसैंका दिन श्रीदेवी र दीपकबीच भिडियो पनि कुराकानी भएको थियो । घटनास्थल मुन्दु गाउँ मुगु सदरमुकाम गमगढीदेखि एक घण्टाको पैदल दुरीमा पर्छ ।

 

राष्ट्रसंघका महासचिवले गरे पाटन दरबार क्षेत्रको अवलोकन

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।
महासचिव गुतेरसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिएका थिए।

महासचिव गुतेरस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।
महासचिव गुतेरस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्तिका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी छन्। महासचिव गुतेरस चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका हुन्।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।
यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्।

जाजरकोटमा १३ कार्यालयका १३१ जना कर्मचारी छड्केमा

जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
प्रशासनले आइतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्लीबहादुर केसीमात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यालय प्रमुख हाजिरी रजिष्टरमा बिदा नै नजनाई अनुपस्थित रहेका थिए।

स्वास्थ्य सेवा कार्यालय, वन डिभिजन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, वृहत जलाधार कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो।

तीमध्ये सबैभन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका थिए।

दशैं बिदा मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सर्वसाधारण मर्कामा परेका छन्। दशैँ बिदापछि गत शुक्रवार नै कार्यालय खुले पनि हालसम्म आधाभन्दा बढी कर्मचारी अझै कार्यालयमा उपस्थित भएका छैनन्।

सरकारी कर्मचारीलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गरेका छन्। उनले दशैँ मनाउन घर गएका कर्मचारीलाई बिदा वा काजको बहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भइ काम गर्न निर्देशन दिएका छन्।
छड्केमा गएको प्रशासनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिह्न लगाएको छ।

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाण्डौ जिल्ला प्रहरी परिसर टेकु पठाइएको उहाँले बताउनुभयो ।

हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये थप ३ जना नेपालीको शव पहिचान

इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ ।
ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ ।

आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना डिस्चार्जु भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

भारतीले पुनः सुरु गरिन माइतीघरमा अनसन

श्रीमान चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले पुनस् अनसन थालेकी छन् ।

नेपालगञ्जकी मानन्धरले आइतबारबाट काठमाडौंको माइतीघरमा पुनस् रिले अनसन सुरु गरेकी हुन् । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

करेन्ट लागेर एकजनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दल बहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

आफ्नै बुवाको हत्या गरेको अभियोगमा २४ वर्षीय गणेश पक्राउ

आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं र पाल्पाबाट १६ जुवाडे पक्राउ

काठमाडौं र पाल्पाबाट १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। मैतिदेवीस्थित गजित विष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्टसमेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
त्यसैगरी पाल्पाको तानसेन नगरपालिका–२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपैयाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो।

नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्न तयार रहेको बताए।

संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार गुटेरेसको भनाइ थियो।

 

बानेश्वरबाट डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ

फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्।​ संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेका थिए।