१२ कार्तिक २०८०, आईतवार १५:२४ – Page 4 – Nagarikabhiyan : National News

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको र नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए।

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए। उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराइ व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गरे।

उनले भने, ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ। किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ। नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ। देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराई व्यवस्थित गर्नुपर्छ। सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई बिदा कटौती गर्नुपर्छ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए।

पोखरा नगरबस दुर्घटना हुँदा ११ जना घाइते

पर्वत :कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए।

घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

आईसीसी विश्वकप आज भारत र इङ्ल्याण्ड भिड्ने

आइईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। आयोजक भारत र साविक विजेता इङ्ल्याण्डबीचको खेल दिउँसो सवा २ बजे लखनऊ रंगशालामा शुरु हुनेछ।

जारी प्रतियोगितामा भारत एकमात्र अपराजित टोली हो। उसले ५ खेलबाट १० अंक जोडेको छ। तर साविक विजेता इङ्ल्याण्डको प्रदर्शन भने खस्किएको छ। पाँचमध्ये एक खेल जितेको इङ्ल्याण्ड २ अंकसहित तालिकाको पुछारमा छ। भारत र इङ्ल्याण्डबीच भएका पछिल्ला पाँच एक दिवसीय प्रतियोगितामा भारतले तीन र इङ्ल्याण्डले दुई खेल जितेको छ।

यसअघि गएराति भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशविरुद्ध ८७ रनको सहज जित निकाल्दा अस्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध ५ रनको सकसपूर्ण जित दर्ता गर्‍यो।

इजिप्टमा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा ३५ जनाको ज्यान गयो ५३ जना घाइते

इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ।

बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ।

घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आदेश दिइएको छ । तीव्र गति, सडकको कमजोर मर्मतसम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।
विगत केही वर्षयता इजिप्टले सडकमा हुने दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । उहाँको उपचारका क्रममा काठमाण्डौको न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घाइते भएका २२ वर्षीय प्रदीप लोप्चन उपचारपछि घर फर्किएका भण्डारीले बताउनु भयो ।

 

मुगुमा स्लीपिङ ट्याब्लेट खुवाएर आमासहित तीन छोराछोरीको हत्या

काठमाडौँ । प्रहरीले मुगुमा भएको सामूहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ । मुगुको छायानाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले विशेषज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए । सदरमुकाम पुग्न चार घण्टा भन्दा बढी लाग्ने भएकाले पोस्टमार्टम आज हुनेछ ।

वैदेशिक रोजगारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ ।

घटनामा कति जनाको संलग्नता छ भन्ने बारे अझै खुल्न नसकेको उनले बताए । घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ । अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

दुई सातापछि आज प्रतिनिधिसभा बैठक

दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
यसअघि असोज २६ गते बैठक बसेको थियो।

यो बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघ महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदले बिमस्टेक बडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।

 

बारामा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको ज्यान गयो

बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको ज्यान गएको छ । हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो ।

निजगढ नगरपालिका(८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो ।
टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।

 

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

पाल्पामा शनिवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाकाे वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

स्याङ्जाबाट बुटवल जाँदै गरेकाे लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथागढी गाउँपालिका–१ बिरौटामा सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा पुगेको छ । जम्मा २ अङ्क रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन ।

यस्तै, विश्व कप क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो ।

जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । न्युजिल्यान्ड चार नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

आज पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै

अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाण्डौ उपत्यकासहित बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पश्चिमी पहाडका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा बादल लाग्ने सम्भावना रहेको छ ।

पहाडी क्षेत्रको केही ठाउँमा सामान्य वर्षा समेत हुने महाशाखाले जनाएको छ । अझै केही दिन डम्म बादल लाग्ने तथा पानी पर्ने सम्भावना कम रहेको छ । यसैबीच उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको छ । अघिल्लो हप्तादेखि नै हिउँ पर्ने क्रम शुरु भएकोमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको हो ।

आज पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिउँ पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा

इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ ।
स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।

सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । तर यो युद्ध निकै कठिन रहेको उहाँको भनाइ छ । मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिएका छन् ।

सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् । अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन् ।

यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । एक सय २० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।

अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गर्यो । चीनले पक्षमा मतदान गरेको छ । बेलायत सहभागी भएन । भारत तटस्थ रहेको छ । महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी नभए पनि नैतिक हिसाबले अर्थपूर्ण मानिन्छ ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ ।
राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । पर्सि मङ्गलवार दिउँसो ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्त्वकासाथ हेरिएको छ ।

बंगलादेशमा प्रदर्शन हुँदा एक प्रहरीको मृत्यु, सयौँ घाइते

बंगलादेशको ढाकामा विपक्षी समूहद्वारा शनिबार गरेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ।
केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ। विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।​

बंगलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरे।

प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्को गरी साउण्ड ग्रिनेड पड्किएको र सडकबाट धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौं मानिस सुरक्षाका लागि दौडिरहेको देखिन्छ।

प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुङ्गा र इँटा प्रहार गरेका थिए।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले भने, ‘विपक्षी प्रदर्शनकारीले हवल्दारको टाउकोमा छुरा प्रहार गरेका थिए।’​
बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीको प्रदर्शन यो वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो भएको त्यहाँका पत्रकारले बताएका छन्।​

शेख हसिना १५ वर्षदेखि सत्तामा छिन्। हाल बंगलादेशले प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा छिमेकी भारतलाई उछिनेर तीव्र आर्थिक वृद्धि गरेको छ। यद्यपि मुद्रास्फीति बढेको छ र उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ।

प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका २० जनालाई ढाका मेडिकल कलेज अस्पतालमा लगिएको जानकारी दिए।

शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप सुरु भएको थियो।​
बीएनपीले हिंसाको विरोधमा आइतबार देशव्यापी हड्ताल आह्वान गरेको छ।

पार्टीका प्रवक्ता जहीर उद्दिन स्वपनले भने, ‘प्रहरी र सशस्त्र सत्तारूढ दलका कार्यकर्ताले हाम्रो शान्तिपूर्ण र्‍यालीमा आक्रमण गरेपछि दुई पक्षबीच तनाव बढेको थियो।’
प्रदर्शनमा अवाञ्छित गतिविधि रोक्न र शान्ति कायम गर्न कम्तीमा १० हजार प्रहरी तैनाथ गरिएको थियो भने हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

जाँड–रक्सी खाएर झगडा गर्दा सोलुखुम्बुमा १ जनाको ज्यान गयो

सोलुखुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाको टाउको तथा हातमा रगत लागेको देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो ।

समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

एक व्यक्तिले भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की दिएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई इमेलमार्फत् यस्तो धम्की आएको हो ।
ती व्यक्तिले इमेलमार्फत् अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरे मार्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ । यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ ई अन्तर्गत मुद्दा दर्ता गरेको छ।
यसअघि गत वर्ष पनि मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।