११ कार्तिक २०८०, शनिबार १५:१६ – Page 5 – Nagarikabhiyan : National News

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा चलिरहेको कार्यक्रममा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायत सहभागी हुनुभएको छ । त्यस अवसरमा देशमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथा समयमा यथोचित ढङ्गले दिइनेछ ।’

कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शुरु गरेको हो ।

मुगु सामूहिक हत्या प्रकरण तालिमप्राप्त कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली

काठमाडौं–शुक्रबार मुगुमा भएको एकै परिवारका चार जनाको हत्या प्रकरणको लागि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको छ।
प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको हो।

नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली मुगु पुगेपछि आजदेखि अनुसन्धान गर्ने र हत्या गरिएका एकै परिवारका चार जनाको शव उठाउने तयारी गरिएको छ।
मुगु घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

घटनामा संलग्न भएको आशंकामा शुक्रबारदेखि घटनास्थललाई सुरक्षित राखेर केही व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
मुगुको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीनजना छोराछोरीको हत्या भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो।

धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या आमा र तीन छोराछोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ।

२०८४ मा सबै राजनीतिक दललाई गूड बाइ गर्नुपर्छः रवि लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए।
उनले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौं गर भन्ने चुनौती दिएको उल्लेख गरे।
आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने उनको भनाइ छ।

 

महिलालाई दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी भट्टराई निलम्बन कारण मदिरा सेवन

मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्।

हुम्लाका प्रमुखसमेत रहेका उनले मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि गृहमन्त्रालयले निलम्बन गरेको हो।उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी हेडक्वार्टरले कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ।

मुगुमा ४ जनाको मृत्यु घटना अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा

मुगुको छायॉनाथ रारा नगरपालिका वडा नम्बर(६ मन्दु गाउँमा आमा श्रीदेवी बोहरासहित एकै परिवारका चार जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको छ । शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिनाका छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव भेटिएको थियो । ।

मुगुमा ४ जनाको मृत्यु घटना स् अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा
सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् । जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली दिउँसोसम्म पुग्ने छ ।

उनका अनुसार सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली खटिएका छन् । एउटा टोली शुक्रबार राति कालिकोट बसेर शनिबार बिहानै मुगु पुगेको छ । टोलीले घटनाबारे विशेष अनुसन्धान थाल्ने डीआईजी ढकालले बताए ।

शुक्रबार बिहान ९ बजे घटनाको खबर पाउनासाथ घटनास्थलमा विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।

बेलैमा गठबन्धन नछाडे कांग्रेस आफैँ सकिन्छ महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धबाट यसैगरी अगाडि बढेमा सत्ता गठबन्धनसँगै नेपाली कांग्रेसको भविष्य समाप्त हुने बताएका छन्।
शनिबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गठबन्धनभित्र गठबन्धन बनाएर प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा लागेको समेत आरोप लगाए।

उनले समाजवादी मोर्चा सत्तामा रहेकाहरूको गठबन्धन भित्रको गठबन्धन भएको भन्दै त्यो कांग्रेससँग बार्गेनिङ गर्नको लागि र त्यसको नेपालको राजनीतिमा कुनै अर्थ नभएको समेत दाबी गरे।

उनले भने, ‘ त्यो कांग्रेससँग बार्गेनिङको लागि बनाएको मोर्चा भएको र कांग्रेसले त्यसलाई बुझ्न जति ढिला गर्छ, कांग्रेस नेपालको राजनीतिमा भूमिका खेल्नबाट चुक्छ।’

यस्तै, उनले विगतका माओवादी पार्टीलाई बोक्दा एमाले र कांग्रेसले गल्ती गरेको भन्दै आज देशले जे दुस्ख पाएको छ। त्यो हुनुमा दुईवटा ठूला पार्टीले साना पार्टीहरूलाई बोक्दाको परिणाम भएको समेत बताए।

उनले भने, ‘ त्यो कुराको महसुस गरेर अब त्यो गर्नु हुँदैन, भन्ने एमालेको मान्यता रहेको छ। तर, कांग्रेसले अझै पनि पुरानै मान्यतामा रहेको छ। त्यो मान्यताबाट कांग्रेस बाहिर आएन, भने देश पनि डुब्ने कांग्रेस पनि डुब्ने स्थिति आउन सक्छ।’

यस्तै उनले जनताले स्पष्ट जनता देश नदिँदा अहिले पनि सत्तामा गठबन्धन रहेको भन्दै जति दिन सत्तामा गठबन्धन रहेनछ, त्यति दिन नै मुलुक सङ्कटमा पर्दै जाने पनि उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्ड छिमेकी दुई मुलुकको विदेश भ्रमण जाँदा नेपालको राष्ट्रियहितको लागि केही काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘भारतमा जाँदा नेपालको नयाँ नक्साको बारेमा, भारतीय तटबन्धनका कारण नेपाली भूमि डुबानको बारेमा पहल गर्नुहोला, भन्ने हामीहरूले भन्दा प्रधानमन्त्रीले सम्बन्ध बिग्रिन्छ, भनेर कुरा गर्नुभएन।

भारतले मागेका जलविद्युत् आयोजना दिनेमा हस्तान्तरण गर्नुभयो र मुर्रा भैँसी ल्याउने चर्चा भयो। चिन भ्रमणमा जाँदा पनि देशको हितको लागि कुनै काम भएन।’

यस्तै, उनले अहिले एमालेलाई सरकार प्राथामिकता नभएको समेत बताए। एमालेको ध्यान मिसन २०८४ मा रहेको भन्दै कोसी प्रदेशमा स्थायित्वको लागि गरेका प्रयासहरू असफल भएपछि एमालेले सहयोग गरेको बताए।

दसैँका बेला उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।
विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ।

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उहाँले जानकारी दिए।

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन। सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो। यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो। अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ।”

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने देखिए। यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन्। ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। सवारी साधनहरु आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो। उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन्। चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट रु पाँच लाख नगद बरामद गरिएको छ।

खेतीमा बढ्दै यान्त्रीकरण हराउँदै गोरु फैलिंदै ट्याक्टर

कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो ।

तर, बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला नेपालको कृषि व्यवहारमै परिवर्तन ल्याइदिएको छ । जसका कारण गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ ।
सरकारी तथ्याङकअनुसार २०६८ सालमा ८ लाख ४५ हजार मानिसले कृषि गर्नका लागि ट्याक्टरको प्रयोग गरेका थिए । जसअनुसार देशभर ३७ हजारको संख्यामा ट्यांक्टरहरु थिए ।

तर, २०७८ सालमा ट्याक्टर प्रयोग गर्ने कृषकको संख्या १६ लाख ३९ हजार पुग्यो भने देशभर प्रयोगमा रहेको ट्यांक्टरको संख्या पनि ५८ हजार नाघेको सातौं कृषि गणनामा उल्लेख छ । जसरी कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको छ ।

क्गशगपष् म्बकजबष्ल इााभच

कृषि गणनाको तथ्याङ्कअनुसार कृषि प्रविधिको विस्तारका कारण परम्परागतसंगै आधुनिक फलामे हलोसमेत कृषकबाट विस्थापनको चरणमा देखिन्छ ।

२०६८ सालमा नेपालका १० लाख ७३ हजार कृषक परिवारले फलामे हलोको प्रयोग गरेको थिए । सो बेलाजम्मा जम्मी किसानहरुसँग ८ लाख ५६ हजार फलामे हलो थिए । तर, २०७८ मा आइपुग्दा फलामे हलो प्रयोग गर्ने किसान परिवार संख्या ७ लाख ३ हजारमा झरेको छ । जुन परिवार संख्याका हिसाबले १२ प्रतिशतको गिरावट हो । यस्तै आधुनिक फलामे हलोको कुल संख्या पनि ५ लाख १० हजारमा झरेको छ जुन झण्डै ३ लाख थानले कम हो ।

१० वर्ष अघि नेपालका २२ लाख ८१ हजार कृषकहरुले गाईरगोरु पालेका थिए । त्यो बेला नेपालमा कुल ६४ लाख ३० हजार गोटा गाई र गोरु रहेको सरकारी तथ्याङ्क छ । तर, २०७८ मा आईपुग्दा गाईरगोरु पाल्ने किसान र गाईरगोरुको संख्यामा भारी गिरावट आएको छ ।

अहिले नेपालमा गाई र गोरु पाल्ने किसानको संख्या ५ लाख ७२ हजारले घटेर १७ लाख ७ हजारमा झरेको छ । यस्तै, नेपालमा कुल गाईरगोरुको संख्यामा पनि १८ लाख ४९ हजारले घटेर ४५ लाख ५९ हजारमा आइपुगेको छ ।

नेपालमा पछिल्लो समय कृषि मेशनरीको प्रयोग बढेको नेपालमा ट्याक्टरको कारोबार गर्ने व्यवसायी उमेश नारायण मानन्धर बताउँछन् । उत्पादन बृद्धिका लागि यान्त्रीकरणको महत्व बुझेपछि किसानहरु आकर्षित भएको उनको भनाइ छ ।

‘सहजै उपलब्धता, उत्पादकत्व बृद्धि र छिटो काम सम्पन्न हुने भएकाले किसानहरु यान्त्रीकरणमा प्रोतसाहित भएको छ,’ कृषि मेशनरी व्यवसायी संघका निवर्तमान उपाध्यक्षसमेत रहेको मानन्धन भन्छन्,’ पहिलो तराई र समथर भूभागमा बढी प्रचलनमा रहेको यान्त्रीकरण अहिले बिस्तारै पहाडी क्षेत्रमा पनि बढीरहेको छ ।’

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश तिमल्सिना कृषिमा यान्त्रीकरणको प्रयोगले व्यवसायीक खेती बढेको र यसमा श्रमको संख्यामा कमी हुनै गएको बताउँछन् । विश्वमा उन्नत कृषिमा जहिल्यै पनि यान्त्रीकरण पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा ढिलै भए पनि सुखद सुरुआत भएको उनको बुझाइ छ ।

‘राष्ट्रिय कृषि गणनाको तथ्याङ्कअनुसार पनि कृषिमा यान्त्रीकरण वृद्धि भएको र कृषिमा सक्रिय जनसंख्या घटेको देखिएको छ,’ अध्यक्ष तिमल्सिना भन्छन्, ‘७१ प्रतिशतले खेती गरेर खान नपुग्ने अवस्थाबाट अब सुधारन हुँदै जाने देखिन्छ ।’

नेपालको पहाडी क्षेत्रमा कृषिमा अझै यान्त्रीकरण चुनौतीपूर्ण रहेको भन्दै उनले सरकारको नीति त्यसतर्फ हुनु पर्ने बताए ।

 

सन्दीपलाई समेट्दै टी२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

आइसीसी टी(२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले टि(२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

अन्तिम १५ मा लेग स्पिनर सन्दीप लामिछानेलाई समेटिएको छ भने स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका छन् । यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी(२० आई सिरिज खेलेका थिएनन्।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

रोहित पौडेल कप्तान कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

धनगढीबाट आर आइ टि र वडा प्रहरीले राती १२ बजे समात्यो एक दर्जन जुवाडे

प्रदेश प्रहरी कार्यालय धनगढी बाट खटिएको आर आइ टि र वर्डा प्रहरी कार्यालय धनगढीको टोलिले धनगढी बाट एक दर्जन जुवाडे समातेको छ । सुक्रबार राती करिब १२ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ राजपुराबाट एक लाख एक हजार ३६५ रुपैयाँ सहित १२ जना जुवाडे पक्राउ परेका हुन् । उपमहानगरपालिका १३ राजपुर स्थित खाली टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको अधारमा सयुक्त प्रहरी टोलिले सो रकम सहित जुवाडे समातेको हो ।

जुवा तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा धनगढी उप(महानगरपालीका १३ बस्ने कमल बडायक, सोही ठाउका, सुवा राना, राधेश्याम राना, भरत राना, भरत राना, राम नन्द राना, रुपेन्द्र ओझा, शिब कुमार राना, सुरेश राना, को पिरागी राना, नबोध झा र योगेन्द्र महरा लाई प्रहरिले पक्राउ गरेको हो । बरामद रकम र जुवाडे हरुलाइ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बझाङमा स्वास्थ्यचौकीको झ्याल फुटाएर कण्डम चोरी

धनगढी :बझाङमा एक स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका हुन् । बुधबार राती स्वास्थ्यचौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

काठमाण्डौ –परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।
गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

अख्तियारको कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

‍बाँके –जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालिका घर भइ अहिले नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवम् खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो।

प्रवक्ता डाँगीले कोइरालालाई अहिले हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताउनुभयो।

एनपी साउद भोलि अमेरिका जाँदै

परराष्ट्रमन्त्री एनपी साउद भोलि अमेरिका जाँदैछन्।
रराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो।

मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ। परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन्।

मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन्। परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका दौरान अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, नेपाली–अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ।

यूएनमा नेपालले गर्‍यो युद्ध अन्त्यको पक्षमा मतदान

नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ।

संयुक्त राष्ट्रसंघ यूएन को महासभामा भएको मतदानमा नेपालले युद्ध रोक्ने पक्षमा मतदान गरेको हो। युद्ध रोक्ने पक्षमा १२० मत परेपछि महासभाले प्रस्ताव पारित भएको घोषणा गरेको छ। प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन्। नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन्।

गएराति महासभाबाट प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ। यद्यपी इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ। इजरायल हमासबीचको युद्धको आज २२ औं दिन हो।

अक्टोबर ७ मा हमासको हमलापछि संयुक्त राष्ट्र संघको पहिलो औपचारिक प्रतिक्रिया आएको हो।

गापा अध्यक्षमाथि गोली प्रहार गर्नेलाई पक्राउ गर्न माग

सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव ९बब्लु० माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं। २ का क्षेत्रीय सभापति एवं मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर रायको नेतृत्वमा शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाई गाउँपालिका अध्यक्ष तथा पार्टीका युवा नेता यादवमाथि गोली प्रहार गर्ने गराउनेलाई सार्वजनिक गरी कडा कारवाही गर्न माग गरिएको हो ।
यादवलाई लक्षित गरी गएको मङ्गलबार राति कौडेना गाउँपालिका–२, इनर्वास्थित उहाँकै निवासमा गोली प्रहार भएको थियो । राति खाना खाएर हात धुने क्रममा एक राउण्ड गोली प्रहार भएको र आफू संयोगले ज्यान बचाउन सफल भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । गोलीको छर्राले घरको भित्तामा प्वाल परेको छ ।

घटना भएको चार दिन बितिसक्दा समेत दोषी पहिचान हुन नसकेपछि कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र बुझाइ घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाउन दबाब दिएको हो । क्षेत्रीय सभापति रायले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ ।

सर्लाही प्रहरीले यस घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाएको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक एसपी प्रवीण धितालले प्रहरी नायब उपरीक्षक डीएसपी दीपेन्द्र पञ्जियार थारुको नेतृत्वमा गठित छानबिन समितिले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।