१० कार्तिक २०८०, शुक्रबार २०:५६ – Page 6 – Nagarikabhiyan : National News

गाजामा इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा(सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजा विरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।
उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ ।

चिप्लिएर खोलामा खस्दा ज्यान गयो

दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो ।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

दैलेखमा कुटपिटबाट घाइतेको उपचारको क्रममा ज्यान गयो

दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा दैलेखमा एक युवाको ज्यान गएको छ । मंगलवार राति बडादशैँ मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिटको घटनाका घाइते युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार ज्यान गएको हो।

बडादशैँको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइते दुई नारायण नगरपालिका–७ किमुगाउँका रोहन र रोहनका भतिजा २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलवार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा रोहनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताउनुभयो ।

पीडित पक्षले कुटपिटमा संलग्न नारायण नगरपालिका–७ का ८ जना विरुद्ध किटानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूर्णबहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न ४ जना आरोपितहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरीले पक्राउ गरेका र फरार समेतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा शुक्रवार रोहनको ज्यान गएपछि पीडित पक्षले कर्तव्य ज्यान सम्बन्धी पूरक जाहेरी ल्याए अनुसार व्यक्ति हत्या कसूरमा अनुसन्धान शुरु भएको बताइएको छ ।

यसैबीच गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिइ कुटपिट गरिएको घटनाका घाइते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको उपचारको क्रममा शुक्रवार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सुर्खेत–दैलेख सडकको कपासेमा यातायात अवरोध गरेका थिए । तर, सुर्खेत प्रशासनले सम्झाइबुझाइ गरेपछि अवरोध हटेको तथा यातायात सञ्चालन भएको छ ।

दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला

दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खलंगाको शिवनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ९इन्सपेक्टर० एवम् सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनुभयो । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिला बस्ने जयराज टमटाको शव फेला परेको उहाँले बताउनु भयो । घटनाको बारेमा प्रहरीलाई बेलुकी ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको बताइएको छ।

मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडासमेत भेटिएको छ । उनी महाकाली नदीमा सरसफाइ गर्न गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी महाकाली नगरपालिका–४ बंगाबगर क्षेत्रमा बसोबास गर्ने गरेको समेत बुझिएको छ । घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय दार्चुलाका इन्सपेक्टर गोविन्द भण्डारीको टोली खटिएको छ ।

अखिल बलिपूर्ति आज नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै बलिपूर्ति गर्नुपर्ने जनाएको छ । औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ ।

दशैँमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीका लगाइदिने व्यावहारिक प्रचलन छ । मान्यजनबाट टीका थाप्न जाने प्राय, ज्वाइँ, छोरी, बहिनी, भाञ्जाभाञ्जीलगायत हुने भएकाले पूर्णिमाका दिन पनि टीका र प्रसाद लगाइदिने व्यावहारिक प्रचलन रहेको हो । वैदिक सनातन परम्परामा पूर्णिमालाई पर्वका रुपमा मानिन्छ ।

अन्य पूर्णिमामा पनि आफूले मान्नुपर्नेलाई टीका लगाएर दक्षिणा दिने परम्परा अनुसार आश्विन शुक्ल पूर्णिमामा शनिवार पनि टीका लगाउने क्रम भने जारी रहन्छ । यसरी टीका लगाउँदा कसैले जमरा भने लगाउँदैनन् । अखिल बलिपूर्ति भएपछि नै जमरा नदी, ताल, तलाउ, पोखरी वा पवित्र स्थानमा लगेर सेलाइन्छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । देशका अन्य भागमा भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद र जमरा लगाउने गरिन्छ ।

कोजाग्रत व्रत भने कात्तिक ११ गते बस्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस दिन बेलुकी धनधान्यकी देवी लक्ष्मीको विशेष पूूजा, आराधना गरिन्छ । यस वर्ष कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि समितिले जनाएको छ ।

मुसिकोटमा भएकोअटो दुर्घटना ५ जना घाईते

रुकुम पश्चिम रुकुम पश्चिमको मुसिकोट नगरपालिका (४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका (१ खलंगाबाट वडा नम्वर (४ सोलाबांगतर्फ जाँदै गरेको रा १ ह ७३०९ नम्वरको आज दिउँसो साढे चार बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् । उहाँका अनुसार अटोमा रहेका आठ जना यात्रु मध्य तीन जना भने सकुशल रहेका छन् ।

घाईतेहुनेहरुमा मुसिकोट नगरपालिका (११ भलाक्चाकी ३० बर्षिया मञ्जु ओली, सोहि वडाका २५ वर्षिय कृष्ण बिक, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासीको छोरा डिसिजन खड्का र मुसिकोट नगरपालिका ११ की २४ वर्षिय टिका ददेल र उहाँको १५ महिनाको छोरा नुवाक शेर्पाली रहेका छन् । घाईतेहरुलाई उपचारको लागि खलंगा बजारमा रहेको साझा मुराल अस्पतालमा ल्याईएको छ ।

प्रहरीका अनुसार घाईतेहरु नाबालक नुवाक शेर्पालीको अवस्था गम्भिर रहेको छ । उहाँको निधारमा चोट लागेको छ ।

अटोमा सवार घाईते मञ्जु ओलीका ४ बर्षिय छोरा लक्की ओली, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासी र उहाँको १७ महिनाको छोरी बेनिका खड्का भने सकुशल रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

अटो अनियन्त्रित भई सडकमा पल्टिएको बताईएको छ । अटो चालक मुसिकोट नगरपालिका ४ निवासी ३३ बर्षिय मनिराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

५० रुपैयाँको सिक्रीको लोभले दुई किशोरले गरे साथीको हत्या

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँ पर्ने सिक्रीका लागि बिहीवार दुईजना किशोरले आफ्नै साथीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको हत्या उनकै दुईजना साथीले छुरा हानेर गरेका छन्।

बुधवार राति गाउँमै लागेको दशैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँ मूल्यको एउटा सिक्री किनेका थिए। सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए।

तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ।

दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो।

बिहीवार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो।

हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ।

राष्ट्रियसभाको बैठक कात्तिक १४ माबस्ने

काठमाडौँ:राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको छ ।

चिप्लिएर खोलामा खस्दा ज्यान गयो

दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो ।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मुगुमा एकै परिवारका चारजनाको शव फेला, हत्याको आशंका

मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उहाँका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्मा चीन प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे।

भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै भ्रमणका क्रममा उहाँले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। उनी यही कात्तिक १६ गते स्वदेश फर्किनेछन्।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत छन्।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्‍ने निर्देशनालयले जनाएको छ।

 

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ।

दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ।

दमौलीबाट काठमाडौंसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ।
विष्टले भने, “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ।”

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ।

युएईले जित्यो त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स ९युएई०ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो।

नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो। यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामी ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए।

नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो। तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधिविमुख भएको हो।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो। नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

गालीगलौज गरेको विषयमा झडप हुँदा दैलेखमा १ जनाको ज्यान गयो

युवाहरूबीच झडप हुँदा दैलेखमा एक जनाको ज्यान गएको छ । बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका क्षेत्रीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक इन्स्पेक्टर कमल आचार्यले जानकारी दिनुभयो ।

सैनचौरमा रहेको ससुराली गएका मृतक क्षेत्री र उहाँका जेठान सुमन शाहीले सिलङ्गी बजारमा मोटरसाइकल गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरूसँग विवाद भएको र पछि झडप भएको स्थानीयले बताएका छन् । गालीगलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडप भएको स्थानीय शान्ति रिजालले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । झडपमा संलग्नहरूको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चितवनमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । गए राति खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का २३ वर्षीय आनन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।