१० भाद्र २०८०, आईतवार २३:४७ – Page 5 – Nagarikabhiyan : National News

नराम्रो समाचार लेख्नेविरुद्ध समीक्षाले दिइन् जाहेरी

काठमाडौं ।गायिका समीक्षा अधिकारीले आफूविरुद्ध नराम्रो समाचार लेखेर सम्प्रेषण गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरेकी छन् । उनले आफूबारे नकारात्मक समाचार बनाएर मानसिक यातना दिएको आरोप लगाएकी छन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।

‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, निवेदनमा भनिएको छ ।

उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

भारतीय ज्वाइँलाई छोरा बनाएर नेपाली नागरिकता दिलाएपछि

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको खुलेको छ ।

महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ जेठी छोरीका पति भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको खुलेको हो । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन तथा अनुसन्धान शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले बताउनुभयो ।

नागरिकता पाउने धरमविर भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईका छोरा हुन् । उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम गर्दै आएका छन् ।

राधेश्याम बरईले महाराजगञ्ज–३ बा धरमविरको जन्मदर्ता बनाएका थिए । त्यही जन्मदर्ताको आधारमा राधेश्यामले झुटो विवरण पेस गरी आफ्ना ज्वाईँलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको आरोप लागेको छ ।

पहिरोले चैनपुर प्रसूतिगृहमा २० लाखको क्षति

संखुवासभा-पहिरोले संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको प्रसूतिगृह भवनमा क्षति पुर्‍याएको छ।
लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसूतिगृह भवनमा क्षति पुगेको हो। आइतबार बिहान माथिबाट खसेको पहिरोले प्रसूतिगृहमा क्षति पुगेको चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।

पहिरोले प्रसूतिगृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताएकी छन्।
माथिबाट खसेको पहिरोले प्रसूतिगृहको भवन, शय्या लगायत अन्य सामग्रीमा समेत क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताइन्। पहिरोले प्रसूतिगृह भवनको भौतिक संरचना क्षति पुगेको उनले बताइन्।

पहिरोले प्रसूतिगृहको भवन समेत चिरा परेको छ। पहिरोले भवन र सामग्रीमा क्षति पुगेपछि प्रसूति सेवा समेत रोकिएको छ। उक्त भवन २०६७ सालमा १ करोड ३९ लाख रुपैयाँमा निर्माण गरिएको हो। पहिरो आजैबाट हटाउन थालिएको उपप्रमुख श्रेष्ठको भनाइ छ।

आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना पक्राउ

मकवानपुर –आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना मकवानपुरमा पक्राउ परेका छन् । आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारको समेत सम्पर्कमा नआएका राक्सिराङ–५ का ४६ वर्षीय कुमार प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । प्रजालाई मनहरी गाउँपालिका–४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका कुमार र सानुबाबु रुम्बाको बीचमा आर्थिक लेनदेन रहेको थियो । प्रहरीले गोप्यरूपमा अनुसन्धान गर्दै जाने क्रममा कुमार श्रीमती तथा अन्य व्यक्तिसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको खुल्न आएको थियो ।

सरकारको राम्रो काम देखेर एकथरी मान्छे अत्तालिएका छन् प्रधानमन्त्री

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे।

नेकपा माओवादी केन्द्रनिकट नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरे।
प्रधानमन्त्रीले भने, “पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन्। उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्। त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ।”

प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका काम कारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे।

साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र विक नेकपा माओवादी केन्द्रमा समाहित भएका छन्। उनलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा समाहित गराएका हुन्।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा लगायतले विकलाई खादा र अबिर लगाएर स्वागत गरेका थिए।

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए। विगतमा सँगै रहेका केही कमरेडहरु अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर अघि बढ्नुपर्ने उनले बताए।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही विसं २०६२ देखि राजनीतिमा लागेका विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहेका छन्। गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा विक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए।

गाईलाई बारीमा लगि काट्ने तीन जना पक्राउ

तनहुँ :शुक्लागण्डकी नगरपालिका(६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

निषेधाज्ञा हटेसँगै धरानमा खुशीको चहलपहल,

काठमाडौं। सामाजिक र धार्मिक एकता विथोलिने सम्भावनाका कारण धरानमा लगाइएको निधेषाज्ञा सकिएको छ ।

गएराति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । बिहानैदेखि धरान बजार खुलेको छ । धरानका सडक र चोकमा पहिलेजस्तो चहलपहल नभएपनि अवस्था भने शान्त नै रहेको छ ।

हिजो शनिबार दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।

दोलखामा पहिरोले चार घर बगायो

दोलखा- दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।
शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ।

पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ।
पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्।

छिमेकीको निर्घात कुटपिटबाट ९ वर्षीय बालकको मृत्यु

रुकुम-रुकुमपश्चिममा कुखुरा चोरेको भन्दै छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका( ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको शनिबार मृत्यु भएको हो ।

कुखुरा चोरेको आरोपमा स्थानीय रामबहादुर बुढाथोकीले शुक्रबार बालकलाई निर्घात कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी भएका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो । अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

बुढाथोकीलाई ‍पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

धनगढीमा फरविडको १२औँ शाख सञ्चालन

धनगढीःधनगढीमा फरविड एजुकेसनको १२औ शाखा सञ्चालनमा आएको छ। काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फरविडको शाखा धनगढीको टिसीएन चोकमा सञ्चालनमा आएको हो।

साइनो एजुकेसनको मल्लो तलामा खुलेको फरविडमा विदेश जाने विद्यार्थीहरु भाषा र अध्ययनका विषयमा जानकारी दिइने छ। विदेशमा विद्यार्थी ठगिने क्रम बढेको र फरविड धनगढीले विद्यार्थीलाई सहज तरिकाले अध्ययनका लागि पठाउने प्रतिनिधि पदमराज जोशीले बताए।

साइनो एजुकेसन तथा फरविड धनगढीका सञ्चालक रोहित चन्दले फरविडले विशुद्ध पढाइको लागि मात्र काम गर्ने बताएका छन्।

देउवापत्नी राणासहित चारजना उम्मेदवार

काठमाण्डाै -सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाइको छ । संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी संसदीय समितिमा जीवन परियारलाई उम्मेदवार बनाउँदा अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको हो ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाण्डाै -मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, “लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।”

आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए । गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

आज संसदीय समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गरिँदै

काठमाण्डाै -प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुको सभापति छान्न आज उम्मेदवारी प्रस्ताव दर्ता गरिँदैछ । आज सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका छ ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोलि दिउँसो ३ बजे सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था छ। यसपटक प्रतिनिधि सभाको चुनाव भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । अहिले समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइन्छ ।

सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाका आज सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको रहेको छ। लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ। मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन्। उनी आज राति पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

गत भदौ २१ गते १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।​ सन्दीपलाई असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको थियो।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो।

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।

बारा सङ्खुवासभा मकवानपुर र कास्कीका विभिन्न ठाउँमा वर्षा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै -पछिल्लो तीन घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण बकैया नदीसहित त्यस क्षेत्रमा बहने साना ठूला नदीहरुमा जोखिम बढेको छ ।

यस्तै, सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटा लगायतका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा पनि ठूलो वर्षा भएकाले आसपासका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ ।

अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको क्लिन स्वीपु

काठमाण्डाै –अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

पाकिस्तानका शादब खानले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान बाबर आजमले ६० रन जोडे । अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिए ।
पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।