१० भाद्र २०८०, आईतवार ०७:२८ – Page 6 – Nagarikabhiyan : National News

ललिता निवास प्रकरण ३ सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदै

काठमाण्डाै –बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदैछ । जसमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन् । हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आज सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  सीआईबी  ले दुई सय ३८ कसुरदार, ४८ जना जग्गाधनी र २१ जना मृतकलाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ ।

२ सय ३८ जनालाई बिगो, कैद र जरिबाना, ४८ जनालाई जग्गा जफत प्रयोजन र २१ जनालाई बिगो मात्रै असुल हुने गरी प्रतिवादी बनाउन राय दिएको छ । ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा कीर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा व्यक्तिको नाममा लगिएको सीआईबीको निष्कर्ष छ ।

जग्गा हिनामिना भएको प्रकरणमा निर्णय प्रक्रियामा सामेल भएका उच्च पदस्थ भने दोष अरूलाई पन्छाएर उम्किएका छन् । तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौड्याल अनुसन्धानकै चरणबाट उम्किएका हुन् ।

सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उनीहरूलाई प्रतिवादी बनाइएको छैन । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा छन्  ।तत्कालीन उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, भूमिसुधारमन्त्री डम्बर

श्रेष्ठ र चन्द्रदेव जोशी, सचिवहरु दीप बस्न्यात, नारायणगोपाल मलेगो, छविराज पन्त, दिनेश अधिकारी, युवराज भुसाल र रविन्द्रमान जोसीसहितका कर्मचारीलाई कीर्ते कागजका आधारमा टिप्पणी उठाउने, सदर गर्ने र मन्त्रिपरिषदमा पेस गरेको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

सीआईबीको अनुसन्धानमा पञ्चायतकालमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेरका परिवारलाई मुआब्जा दिएर अधिग्रहण गरिएकोमध्ये ०४९ देखि ०६९ सम्म मालपोत र गुठीदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट सङ्गठित समूह खडा गरी जग्गा हडपिएको निष्कर्ष निकालिएको छ । सरकारी वकिल कार्यालयले यो मुद्दाको जिल्ला अदालत काठमाण्डौमा अभियोजन गर्नेछ ।

ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा

काठमाण्डाै – वेस्टह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्यामले ब्राइटनलाई ३–१ गोलले हरायो ।
जितसँगै वेस्टह्यामको ३ खेलमा ७ अङ्क भएको छ । समान ७ अङ्क नै रहेको टोटनह्याम दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेका छन् ।

हिजो भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हरायो । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एकरएक तथा आर्सनल र फुलह्यामले २र२ गोलको बराबरी खेले । अर्को खेलमा एभर्टन उल्भ्ससँग १–० गोलले पराजित भएको छ ।

मोटरसाईकल दूर्घटनामा परि हर्कको गयो ज्यान

नारायणगढ–मुग्लिन सडक खण्डमा दूध बोक्ने ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको दुर्लाङ–१ धौलागिरी बस्ने ५८ वर्षीय हर्क बहादुर सुनार रहेका छन् ।

हिजो दिउँसो करिब २ बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थितमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग १६ प ६९६८ नम्बरको मोटरसाइकल बा प्र ०१–००४ क ०५७३ नम्बरको ट्यांकरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सुनारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा करिब साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मोटरसाइकल पछाडि सवार नुवाकोट शिवपुरी गाउँपालिका–६ बस्ने वर्ष २९ को सुबास तामाङ मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को दिपक लाखेमरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्कर पक्राउ गर्न उडेको हेलिकप्टर दुर्घटना, १४ सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।

राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिका समक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाण्डौ –चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।
आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो ।

मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो।
एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो ।

त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् ।
त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् ।

वर्षा अत्यधिक भएपछि खेल पुनः शुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।
यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एकरएक विकेट लिइन् ।

फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो ।
यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो ।

उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।
महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले सिरिज खेलेको हो ।

 

शिक्षिका दार्चुलाकी राजेश्वरीको सपना अधुरै यो संसारमा रहिनन् उनि

धनगढी । धनगढीमा बिहिवार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन्।

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन्। ‘म पनि उसको हरेक कुरालाई साचो मान्दै गए, उपहार पाए मृत्यु। सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन। बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरुको राम्रो चिताउछु तर मैले के गरे ’

धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् । दार्चुलाको मार्मा गाउँपालिका९६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका ३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार राजेश्वरी फेसबुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् । करिब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्वादबाट दुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् । रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।

पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदिशलाई फोन गरेर हप्काउदै सम्झाइ९बुझाई गर्छन् भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भन्छन् । नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदिश विवाहित पनि हुन् । दुवै जनाको सम्बन्धबारे थाहा पाएपछि सिमगार्ड परिवर्तन गरेर छोरीलाई बर्खे विदा मनाउन डडेल्धुरास्थित माइलो भाई गोपालसिंह डडालकोमा पठाउँछन् । ‘जेठो छोरीले दुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाइ९बुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए,’ राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’

३ भदौँमा बर्खे विदा सकिएर विद्यालय सञ्चालन भएकाले राजेश्वरी डडेल्धुराबाट सोझै धनगढी आउँछिन् । ४ गते विद्यालय जाने बेला महेन्द्रनगरबाट धनगढी आएका जगदिश राजेश्वरीलाई स्कुल नजिकै भेटाउछन् । राजेश्वरीले परिवारलाई बताए अनुसार जगदिशले आफूहरुको सम्बन्धबारे सबैलाई थाहा भइसकेकाले गोदावरी धाममा गएर सिन्दुर हाल्ने वाचा गर्छन् । ‘यो बीचमा दुई जनाबीच सम्पर्क भएको थिएन तर केटा धनगढी आएर सिन्दुर हालेर विवाह नै गर्ने भनेपछि ४ गते छोरी उनीसँगै गोदावरी गएकी रहेछिन्,’ राजेन्द्र भन्छन्, ‘तर त्यहाँ सिन्दुर हालेन । कता बसेछन् त्यो पनि थाहा भएन । ५ गते दुवै जनालाई धनगढी चौराहमा भेटिएका थिए ।’ दार्चुलामै रहेका राजेन्द्रले दुवै जनालाई प्रहरीको जिम्मा लगाइदिन भनेका थिए ।

 

किन फैलियो प्रेमको जालमा फसाएर बालिकामाथि बलात्कार

भारतको कानपुरमा युवतीहरूलाई प्रेमको जालमा पारेर बलात्कार गर्ने गरेका घटनाहरू रोकिएका छैनन्।
अहिले यस्तै अर्को घटना बाहिर आएको छ । जहिर नामका युवकले राहुलको नक्कली फेसबुक बनाएर १७ वर्षीया नाबालिगलाई प्रेमको जालमा फसाएका छन्।

भेट्न बोलाएर उनलाई नाबालिगलाई बलात्कार गरेका छन्। पीडितले आरोपीको वास्तविकता थाहा पाएपछि उनीसँग बोल्न बन्द गरेकी थिइन् ।
तर, अहिले आरोपीले नाबालिगलाई धर्म परिवर्तन गर्न दबाब दिइरहेका छन् । आरोपितले इस्लाम धर्म ग्रहण नगरेको खण्डमा पीडितको अश्लील भिडियो भाइरल गर्ने बताएको प्रहरीले जनाएको छ।

ती १७ वर्षीया पीडित नाबालिगले प्रहरी चौकीमा गएर उजुरी दिएकी छ थिइन्। प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

सुसाइड नोट :पिउदिन भन्दा भन्दै पिलायो साथिले श्रीमतीले रक्सी खान निषेध गरेपछि श्रीमानले गरे आत्महत्या

भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्।

रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ।

श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ।

मृतकका आफन्तले उनले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन्। घटनापछि परिवारका सदस्यहरूबीच हंगामा मच्चिएको छ। प्रहरी थप अनुसन्धानमा जुटेको छ। मृतकले मजदुरी गरेर परिवार चलाउने गरेका थिए।

पहिरोले दुई वटा घर भत्किए, दर्जनभन्दा बढी घर उच्च जोखिममा

बाग्लुङ –भारी वर्षापछि पहिरो जाँदा बाग्लुङमा दुई वटा घर भत्किएका छन् । एक दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेका छन् ।

बाग्लुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बाग्लुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेका छन् ।

घर भत्किँदा नारायणको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जमुनाको छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा भएको वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि पहल गरेका  अध्यक्ष केसीले भन्नुभयो, ुबर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जनभन्दा बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भइ रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।ु

विस्थापित परिवारले बाग्लुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताउनुभयो ।

 

भारतको तमिलनाडुमा रेलमा आगलागी, आठजनाको मृत्यु

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। तीर्थयात्रीले नै ग्यास सिलिण्डर प्रयोग गरी चिया पकाउन खोज्दा रेलमा आगो लागेको आशंका गरिएको छ।

तमिलनाडुको मदुरै रेल्वे स्टेशन नजिक रोकिएको रेलमा आगलागी भएको आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रेलमा दक्षिण भारतका विभिन्न तीर्थस्थल घुम्न निस्केका लखनउका यात्री थिए। बिहान मदुरैमा पुगेका तीर्थयात्री मध्ये केही नजिकै नागरकोइलमा रहेको पद्मानभा स्वामी मन्दिरमा दर्शनका लागि निस्किएका थिए। केही भने रेलमै थिए।

उनीहरुले ग्यास सिलिण्डर प्रयोग गरी रेलभित्रै चिया बनाइरहेको देखेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि प्रहरीले भने रेलमा आगलागी हुनुको कारण सार्वजनिक गरिसकेको छैन।

निषेधाज्ञासँगै धरानमा झडपको जोखिम रोक्न कडा सुरक्षा

विराटनगर :सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ।
आज अर्थात् शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो।

गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन्।
र्‍यालीले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको हो।

धरानमा सामाजिक सद्भावको लागि सबैको पहल, राति १२ बजेसम्म निषेधाज्ञा

काठमाण्डाै –धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा लगाएको छ।

धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग अनुरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न आग्रह गरेका छन् ।

दलहरुले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगर्न अनुरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उहाँले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपिल गर्नुभएको हो ।

प्रदेश एक पुनस् नामाङ्कन सङ्घर्ष समितिले पनि सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ । प्रदेशको नाम पुनस् नामाङ्कनको लागि गठन भएका पाँच वटा सङ्घर्ष समितिका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।

धरानका पाँच जना पूर्व मेयरहरुले पनि संयुक्त विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन् । विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।

टी(२० अन्तर्राष्ट्रिय शृंखला फाइनलमा आज नेपाल र हङकङ खेल्ने

काठमाडौं :मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ।
अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो।
नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०।८५३ छ।

अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।
हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०।१९२ छ।

हङकङले कुवेत र मलेसियालाई हराएको थियो।
मलेसिया तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा पुग्यो। मलेसियाको नेटरनरेट ०।००७ रह्यो ।
कुवेत तीन खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

तनहुँ :भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ।
लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बालकलाई अन्दाजी ८०० मिटर तल भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मनका लहर साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला भारत को गुजरातमा सञ्चालन हुँदै

भाद्र ८भारत-मनका लहर साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला भारत को गुजरात राज्य को सुरतमा सञ्चालन गर्ने भएको छ।।
यसै क्रममा नेपाली भाषा कला, साहित्य र संस्कृतिको संरक्षण एवम् संम्बद्धन गर्दै आएको मनका लहर साहित्य मञ्च भारतले बताए को छ।
हाल सम्म मुम्बईमा महफिलका दुईवटा शृङ्खला पनि सम्पन्न गरेको थियो ।

जसमा पहिलो शृङ्खला अछाम जिल्लामा जन्मिएका चर्चित तथा लोकप्रिय गजलकार कमल सङ्गर्ष सँगै उहाँको बिगत १ बर्ष अगाडि प्रकाशित भएको गजल सङ्ग्रह खुडी परिचर्चा तथा सम्मान कार्यक्रम मुम्बइको साएन क्यफे स्तामा महफिल कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियोे।

दोस्रो शृङ्खला पनि मुम्बई साएनमा सम्पन्न गरिएको थियोे दोस्रो शृङ्खला मा भने भारतको तीनवटा राज्यबाट तीनवटा गजलकार हरू लाई राखेर कार्यक्रम सम्पन्न गरिएको थियोे

गरेर तीन जनालाई स्टेज दिईएको र कार्यक्रम मा अन्य साहित्य प्रेमि साथीहरू को बाक्लो उपस्थिति रहेको ।
मनका लहर साहित्य मञ्चका संस्थापक अध्यक्ष सागर विश्वकर्मा ले जानकारी दिएका छन् ।
अब को तेस्रो शृङ्खला भने गुजरात राज्यको सुरतमा आयोजना भैरहेको आयोजक टिमले जानकारी दिएको छ।
जन्मभूमि नेपालमा भएपनि कर्मभूमि भारत भएकाले आफ्नै ठाउँवाट हामीले हाम्रा मौलिक कला,साहित्य र संस्कृतिहरुको जर्गेना गर्नुपर्छ भनेर मनका लहर साहित्य मञ्च को स्थापना गरेका हौं उनले भने ।

नेपाली प्रवासी श्रष्टाहरू एकठाउँमा जम्मा भएर दुःख सुःख साटासाट गर्दै कार्यक्रमहरु गरिरहेको अध्यक्ष विश्वकर्मा ले बताए ।
महफिल विशेष कार्यक्रममा यसपालि आफ्नो प्रस्तुति लिएर भारत भ्रमणमा रहेका नेपाल झापा दमक का अत्यन्तै लोकप्रिय तथा चर्चित गजलकार लोकेन्द्र बञ्जारा पनि सहभागी हुने भएका छन् ।

नेपालवाट चर्चित गजलकार बञ्जारा सँगै भारत मा बसेर लामो समय देखि नेपाली गजल लाई राम्रो लेख लेखिरहेका अन्य तीनजना गजलकारहरुको पनि प्रस्तुति रहने आयोजक मनका लहरसाहित्य मञ्च भारतले जनाएको छ ।

यसपटक चार जना गजलकारहरूलाई एउटै स्टेजमा सुन्ने वातावरण बनाउने कोसिस गरिएको छ।
भारत बाट पनि तीनजना गजलकारहरू अलगअलग ठाउँबाट रहेको कार्यक्रम संयोजक खेमराज अविरल ले जानकारी दिएका छन्।
जसमा

दीर्घराज प्रियसी मुम्बई महाराष्ट्र बाट लक्ष्मण मिलनु विष्ट नवि मुम्बई सुरत सम्राटु राजस्थान बाट
कार्यक्रम यहीँ मिति २४ सेप्टेम्बर २०२३ मा सरदार पटेल स्मृति भवन वराछा रोड सुरत गुजरातमा हुनेछ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैलाई सक्रिय सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ । सो कार्यक्रममा मदिरा सेवन गरेर जान निषेद गरिएको छ ।।

जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको छ प्रधानमन्त्री प्रचण्ड

पर्सा –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज शुक्रवार आयोजित सन्देश सभामा उहाँले भन्नुभयो, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।’ यो बडो दुःखद कुरा भएको र यसलाई आफूहरूले गम्भीररूपमा लिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिगामी शक्तिका विरुद्ध र नागरिकलाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेन्डाका साथ अघि बढेको बताउनुभयो । ‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।’

विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्‍याइएको भन्दै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई पनि सरकारले निष्कर्षमा पुर्‍याउने उहाँले दाबी गर्नुभयो ।

यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रूपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्यालाई ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीवार नै मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो ।

मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक–दुई दिनभित्रै त्यो निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निजगढ–काठमाण्डौ फास्ट ट्र्याकको काम छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसदबाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीन वटै ऐन पारित गराई कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो ।