८ भाद्र २०८०, शुक्रबार १८:२१ – Page 7 – Nagarikabhiyan : National News

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कुरा ऐनमा राख्न सरकारले खुट्टा कमायो बाबुराम भट्टराई

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले राज्यले संविधानमा लेखिसकेको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आउँदै गरेको सङ्घीय शिक्षा ऐनबाट पनि यस कुरालाई सरकारले कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने बताउनुभयो । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने कुरा सङ्घीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमाएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘ कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्छ । शिक्षा ऐनमा त्यो ढङ्गको कुरा आउन सकिरहेको छैन भन्ने सुनेको छु, आउन खोजेको कुरालाई पनि विरोध भयो भनेर सरकारले खुट्टा कमाएपछि हट्दैछ भन्ने सुनेको छु, त्यसो गर्न हुँदैन, मिल्दैन । कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेर संविधानमै लेखिसकेपछि कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन सकिँदैन । उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिन्छ ।’

भट्टराईले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने बताउनुभयो । राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्त्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वेध शिक्षा नीति अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

शान्ति सुरक्षाको कारण देखाउँदै धरानमा राति १२ बजेदेखि निषेधाज्ञा जारी

काठमाण्डाै –जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी आज राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । यस्तै प्रदर्शनको प्रतिकारसमेत हुने सम्भावना बढेपछि धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउन्जेल स्वास्थ्य आपत्काल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा भोलि धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

८ वर्षीया लिनाले एक वर्षमै ८ सय ६७ वटा किताब पढिन्

स्याङ्जा – नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा रहेको यो विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लिना पाण्डे । आठ वर्षीया लिनाले एक वर्षको अवधिमा आठ सय ६७ वटा पुस्तक पढेर सबैलाई चकित पार्नुभएको छ ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्तकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन । अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयकी व्यवस्थापक रुपा न्यौपानेले बताउनुभयो ।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उहाँले जानकारी दिनुभयो । ‘बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला–रमाइला बालकथाका पुस्तक पढ्न शुरु गरेका छन्’, व्यवस्थापक न्यौपानेले भन्नुभयो, ‘विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मनपर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन् ।’ उहाँले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताउनुभयो ।

यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लिनालाई पनि किताबसँग रमाउने बानी परेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षक–शिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताउनुभयो । ‘लिनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ वटा पुस्तक पढेको रेकर्ड छ’, उहाँले भन्नुभयो । न्यौपानेका अनुसार कक्षा ३ की कृतिका न्यौपाने र कक्षा २ की विभा भट्टराई पनि लिनाले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन् ।

लिनाकी आमा रेनुका डुम्रेले लिनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताउनुभयो ।

धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, प्रेमी पक्राउ

धनगढीःकैलालीको धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन्। विहिबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा परेकी हुन्। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिका धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै थिइन।

घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए।

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन्। मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा थिए। कोट्टारी विवाहित हुन्। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए।

प्रधानमन्त्री कार्यालयमा २०० रुपैयाँको खाजा, बोटलको सट्टा जारको पानी

८ भदौ, काठमाडौं ।मितव्ययिताको नारा लगाउने सरकारले चालु खर्च घटाउने गरी मितव्ययी व्यवहार देखाएको उदाहरण खासै भेटिंदैन । यसपटक भने अचम्मै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै खर्च कटौती र मितव्ययिताका लागि विभिन्न प्रयास थालेको छ ।

हरेक वर्ष बजेटपछि अर्थ मन्त्रालयले मितव्ययिताको मार्गदर्शन त जारी गर्छ, तर उसले नै नमान्ने मार्गदर्शनलाई अरु सार्वजनिक निकायले पालना गर्ने कुरै भएन । यसैकारण धेरै चालु खर्च गर्ने सूचीमा रहेको प्रधानमन्त्री कार्यालयले यसपटक भने अर्थमन्त्रालयले ल्याएको मितव्ययिताको मार्गदर्शनभन्दा पनि उन्नत तबरले खर्च कटौतीको प्रयास थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खाजा तथा बोतलको पानीबाटै मितव्ययिताको लागि प्रयत्न थालेको हो । यसैगरी ल्यान्डलाइन टेलिफोनको व्यवस्थापनको योजना समेत बनाइएको छ । इन्टरनेट समेत सेयिरिङ सिस्टमबाट व्यवस्थापन गरेर खर्च घटाउन खोजिएको छ ।

अनावश्यक र जथाभावी तवरले भइरहेको ठूलो खर्च नियन्त्रण गर्न सकिने निष्कर्ष निकालेर प्रधानमन्त्री कार्यालय प्रशासनले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । स्रोतका अनुसार कार्यालयले दिउँसो १ बजेदेखि ३ बजेसम्म बस्ने बैठकमा मात्रै कार्यालयका तर्फबाट खाजा खुवाउने भएको छ । कार्यालय समयको अन्य अवधिमा बैठक बस्दा १ घण्टाभन्दा बढीको बैठक भएमा मात्रै चिया र बिस्कुट खुवाउने प्रबन्ध गर्ने निर्णय पनि भएको छ ।

दिउँसो १ बजेदेखि ३ बजेको बीचमा खाजा २०० रुपैयाँसम्मको मात्रै हुने गरी खर्च व्यवस्थापन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्णयमा उल्लेख छ ।
कार्यालयले बैठक हलमा मात्रै बोतलको पानी प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रालयका सबै शाखा तथा महाशाखाहरुमा बोतलको सट्टा ‘गुणस्तरीय जार’कै पानी प्रयोग गर्ने निर्णय पनि भएको छ । सो व्यवस्थापनका लागि सचिवस्तरीय निर्णयबाट प्रशासन महाशाखालाई निर्देशन दिइएको छ । बोतलको पानीमा बढी खर्च हुने भएकाले जारकै पानी प्रयोगलाई अनिवार्य गर्न लागिएको हो ।

 

नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाण्डौ –चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि शनिवार हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।

त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन हङकङ कुवेत म्यानमार र थाइल्यान्ड छन् ।

 

धरानवासीलाई मेयर हर्क राईको अपिल सामाजिक र धार्मिक सद्भाव कायम राखौँ

काठमाण्डाै – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ ।

पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै मेयर राईले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबै जना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न उहाँले धरानवासीलाई अपिल गर्नुभएको हो ।

पछिल्लो समय धरानमा धार्मिक र सामाजिक विवाद बढ्दै गएको छ । हिजो बिहीवार पनि पाँच जना पूर्वमेयरहरूले विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।

चार देशीय महिला टी–२० शृङ्खलामा आज नेपालले घरेलु टोली मलेसिया खेल्दै

काठमाण्डाै –चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे बायोमास ओभलमा शुरु हुनेछ ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि खेल्नेछन् । त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

धारिलो हतियार प्रहार हुँदा झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षक घाइते

झापा – इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते हुनुभएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलो हतियार प्रहार भएको हो । तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी गाडी जाँचमा खटिनु भएको थियो ।

उहाँको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ ।

खोटाङको हलेसी तुवाचुङमा ६ वटा घर पहिरोको जोखिममा

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ६ वटा घर पहिरोको जोखिममा परेका छन् ।
कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार, दीपक परियार र रमेश बस्नेतको घर पहिरोको जोखिममा परेको हो ।
यस्तै झरीका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

शुक्रवार आज बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा गाडी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा खोटाङबाट काठमाण्डौ तथा पूर्वी सहर आवतजावत गर्ने गाडी बीच बाटोमा रोकिएका छन् । एक्स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको छ । सडक खुलाउनका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ ।

असार १५ गतेदेखि जिल्लाको सबै कच्ची सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा महिला पक्राउ

नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसी खड्का पक्राउ परेकी हुन्। खड्काले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा आफूलाई पैसा आवश्यक परेकाले आफूसँग भएका गरगहाना दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरीले बताएको छ।

मिनाले फेरि पनि पैसा आवश्यक परेकोले थप गरगहना राखेर दुई लाख रुपैयाँ दिन भन्दै २०७९ फागुनमा सूर्यसँग पैसा मागेकी थिइन्। फेरि पनि गहना दिएर पैसा सापटी लिन खोजेपछि सूर्यले गरगहना सुनका नहुन सक्ने अनुमान गर्दै सुनचाँदी पसलमा जाँच गराएका थिए। १८ लाख रुपैयाँ दिने वेलासम्मका गहनासहित थप दुई लाख रुपैयाँ माग्ने वेलाका गहनासमेत नक्कली भएको पाएपछि सूर्यले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका थिए।

त्यसैको आधारमा मिनालाई गत भदौ छ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

 

गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खेल्दै गर्दा लक्ष्मी होटेलबाट पक्राउ

लेखनाथ :मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो।

पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए। उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिए।

अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन्।

कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाइते

नवलपुर :पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क।प्रदेश ०२–००१ ख ०७३७ नंम्बर को बस र विपरीत दिशामा गुडिरहेको प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका–५ का २५ वर्षीया मोनिका विक र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल घाइते भएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

घाइतेहरूको मध्य विन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बसका चालक र बसलाई नियन्त्रणमा लिएको जनाएको छ।

एमाले अध्यक्ष ओली आज विराटनगर आउदै

काठमाडौं :नेकपा एमालेका अध्यक्ष आज विराटनगर जाँदैछन्। ​
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुन ओली आज विराटनगर जान लागेका हुन्।

एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार मध्यान्ह १२ बजे अध्यक्ष ओली विराटनगर अवतरण गर्ने कार्यक्रम छ। त्यसपछि भेडियारीमा रहेको विराट राजाको दरबार निरीक्षणमा जाने कार्यक्रम रहेको छ।

त्यसपछि दिउसो पार्टी कार्यकर्ताहरुसँग आन्तरिक भेटघाट र साँझ पाँच बजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम रहेको छ।

पोखरेलका अनुसार भोलि हुने सचिवालय बैठकमा सहभागी हुन अन्य नेताहरुसहित बिहान अध्यक्ष ओली सिराहातर्फ जानेछन्। सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म यही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो। महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो।

स्थानीय तह टुक्रे विकास र छोटा डनहरू

छोटो समयको कालखण्डमा अनेकन् उतारचढाव खेपेको छ मेरो देशले। एक शताब्दीभित्र राणाले रजाइँ गरे, राजाले हुकुमत गरे, अब अत्ति भो भन्दै भरुवा बन्दुक लिएर केही पात्रले १० वर्ष जङ्गल सफारी गरे। जे–जे गरे देशका खातिर गरे। अहँ! तर भएन। देश ज्यूँका त्यूँ! आफूले शिरोपर गरिल्याएको ‘वाद’को मर्म र अभ्यासमा एकरूपता ल्याउन नसकेपछि दोष कसलाई त!

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ आदरणीय भूपी शेरचनलाई उसबखत वर्तमान वस्तुस्थितिबारे अलिकति सुराक मिल्थ्यो भने सायद यो हरफ सिर्जना गर्नुअघि धेरै सोच्नुहुन्थ्यो होला।

पञ्चायत विरुद्ध, राजतन्त्र विरुद्ध प्राणको आहुति दिने सपुतहरू एक वा दुई दर्जन मात्रै होइनन्। गणितीय आँकडामा हजारौं देखिन्छ। रक्तक्रान्ति पश्चात् देश बन्दछ भन्ने भाष्य यहाँनेर आएर गलत साबित भइदियो।

इतिहासको पानामा लेख्न छुटेका ज्ञात–अज्ञात शहीदहरूको बलिदान जोड्दा समेत मुलुक बनेन। यो अर्थमा महान् नेपाली कविको हरफ नेपालकै सन्दर्भमा अपवाद बनिदियो। एवम् रितले झिनामसिना परिवर्तनहरू आउँदै गए।

अन्ततः सबैको चाहना अनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्वरूप संस्थागत भो। केन्द्रीकृत सिंहदरबार छरपस्ट हुँदै गाउँ छिर्‍यो। एकफेर समृद्ध नेपालको नारा घन्कियो। विकासको छालले डाँडाकाँडासम्म छुने अड्कल काटियो। विकासको स्वाद चाख्न जिब्रो तिखारियो।

तर अहँ! गाउँ छिरेका ‘राजा’हरूले फलाक्ने विकासको परिभाषाभित्र भौतिक निर्माण बाहेक अर्थोकलाई विकास भनिंदो रहेनछ। सामान्य अर्थमा सकारात्मक परिवर्तनको प्रक्रियालाई विकास भनिंदो हो– भौतिक, सामाजिक-आर्थिक, शैक्षिक।

खैर जेहोस्, भौतिक परिवर्तन पहिलो प्राथमिकतामा पर्‍यो। संरचनाहरू बन्ने होडबाजी चल्यो। चलिरा’छ। ८० मिटर सोलिङ, २० फुट अग्लो ग्याबिन वाल, ४० मिटर लामो मेसिनरी वाल, फलानोको घर मुन्तिरको बारी हुँदै जाने उपशाखा सडक, बाँदर हनुमान, आलु प्याज हुँदै खोयाको सालिक, डाँडाको टुप्पोमा रमिते टावर, इत्यादि।

कुल बजेटको अधिकांश हिस्सा यस्तै उरन्ठेउलो शीर्षकमा। भिन्नता त देखियो, जिब्रोले विकास चाख्न पाएन। शैक्षिक उपलब्धि उस्तै।
गाउँका स्कुलमा विद्यार्थी भन्दा मास्टर धेरै। ‘एक घर, ६० कटेका एक जोडी’ कार्यक्रम ल्याए जस्तो। एकदम फितलो विकास। कसका लागि खेतबारी भत्काएर बनेको सडक? कसले हेर्ने रमिते टावरमा चढेर! चोकको गैंडाजत्रो लसुन के पकाउँदा हाल्ने!

संघीय सरकारबाट प्राप्त निश्चित बजेटलाई त्यस्ता अनुत्पादक योजनामा खर्चेर कुन खाले समृद्धिको आभास गर्ने ! यो सब भनिरहँदा नकारात्मक सन्देश मात्र प्रवाह गर्ने जमर्को गरेजस्तो देखिंदो हो, तर जुन कुप्रवृत्ति राम्रोमाथि हावी हुँदै जान्छ त्यसैमाथि ज्यादा प्रहार हुने कुरा अकाट्य छ। उसो त केही स्थानीय तहहरूको अभ्यास जति तारीफ गरे पनि कम लाग्छ।

असार मध्यतिर। गाउँको एक किस्सा सम्झन्छु। ५० मिटरजति रोड ढलानको योजना। मङ्सिर महिनामा योजना सम्झौता भए पनि असार लागेपछि बल्ल काम थालेछन्। छोटो समयमा काम सम्पन्न भो। भुक्तानी लिनेबेला प्राविधिक मूल्यांकन ५० वटा हजार जति कम आएपछि योजना अध्यक्ष दाजुको ओठतालु सुक्यो। गुहार माग्न वडाध्यक्षकहाँ पुगे।

प्राविधिक टोली, जनप्रतिनिधि सहित पुनः योजना अनुगमन हुन्छ। आधाजति कंक्रिट पानीले बगाएर गुहे खोल्सा पुगिसकेको स्पष्ट छ। अनि सुरु हुन्छ पावरको खेल। योजना अध्यक्षले चुनावको बेला आफूलाई भरपुर सहयोग गरेको कुरा वडाध्यक्षले कसरी बिर्सन सक्थे र!

नुनको सोझो गर्न भए पनि प्राविधिकलाई सम्झौता रकम अनुसारको मूल्यांकन गरिदिन आग्रह हुन्छ, नमानेपछि धम्की, गालीगलौज, हातपातै हुन्छ। अन्त्यमा योजना पास। सम्झौता रकम पूर्ण भुक्तानी।

यो एउटा प्रतिनिधि घटना मात्रै हो। यसरी जनप्रतिनिधिको आसेपासेले कर्मचारीलाई झिंगो जति पनि नगन्नु अनि जनप्रतिनिधिले नैतिक दायरा भुलेर कदम चाल्नु डनगिरीको नमूना हो भन्दा फरक नपर्ला। करार कर्मचारी नियुक्तिमा हुनुपर्ने स्वस्थ प्रतिस्पर्धामा भाँजो हाल्ने, टेन्डरका विषयमा कालो खेल खेल्ने, कर्मचारीमाथि दुर्व्यवहार गर्ने जस्ता कर्तुतहरू हिजोआज सामान्य बनिसकेका छन्।

तर कतिपय योजनाहरूमा स्वयं कर्मचारीले नै किर्ते गर्ने कुरा पनि नौलो भने होइन। यसरी समग्रमा हेर्दा विकास ओझेल पर्ने कारणहरू स्पष्ट छ।

करोडौंको बेरुजु, कमिसनको खेल, करार कर्मचारी भर्तीमा हानथाप, विलासी गाडी, आकाश छुने सवारी मर्मत र इन्धन खर्च, टुक्रे योजना आदि कुराहरूलाई स्थानीय तहको विशेषता भन्दा नाजायज आरोप नहुने अवस्था सिर्जना भएको छ।

यही गतिमा यस्तै चर्तिकलाहरू देखिइरहे, यस्तै प्रवृत्ति मौलाउँदै गइरहे नेपाल देशले चाँडै नै अर्को शासन व्यवस्था हात पार्नु पर्दैन भनेर कसरी भन्ने ?

[लेखक: अमन बस्नेत श्री अमरसिंह मावि देवानगञ्ज गाउँपालिका ५ साहेवगंजमा कार्यरत शिक्षक हुन । ]

पोखरामा जुवा खेल्दै गरेका ७ जना पक्राउ, ४ लाख ४७ हजार रुपैयाँ बरामद

कास्की –कास्कीमा जुवा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार पोखरा महानगरपालिका–८ मा रहेको लक्ष्मी होटलको भुइँ तलामा जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेकाे वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली, पोखरा–८ का शंकर ज्वारचन, पोखरा–९ का गुन्ज हिराचन, पोखरा–१० का राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् । उनीहरूकाे साथबाट चार लाख ४७ हजार रुपैयाँ बरामद गरेकाे डीएसपी जाेशीले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट चार बुक तास पनि बरामद गरेकाे छ ।