एमाले अध्यक्ष ओली आज विराटनगर आउदै – Nagarikabhiyan : National News

एमाले अध्यक्ष ओली आज विराटनगर आउदै

काठमाडौं :नेकपा एमालेका अध्यक्ष आज विराटनगर जाँदैछन्। ​
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुन ओली आज विराटनगर जान लागेका हुन्।

एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार मध्यान्ह १२ बजे अध्यक्ष ओली विराटनगर अवतरण गर्ने कार्यक्रम छ। त्यसपछि भेडियारीमा रहेको विराट राजाको दरबार निरीक्षणमा जाने कार्यक्रम रहेको छ।

त्यसपछि दिउसो पार्टी कार्यकर्ताहरुसँग आन्तरिक भेटघाट र साँझ पाँच बजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम रहेको छ।

पोखरेलका अनुसार भोलि हुने सचिवालय बैठकमा सहभागी हुन अन्य नेताहरुसहित बिहान अध्यक्ष ओली सिराहातर्फ जानेछन्। सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म यही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो। महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो।