भारतीय ज्वाइँलाई छोरा बनाएर नेपाली नागरिकता दिलाएपछि – Nagarikabhiyan : National News

भारतीय ज्वाइँलाई छोरा बनाएर नेपाली नागरिकता दिलाएपछि

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको खुलेको छ ।

महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ जेठी छोरीका पति भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको खुलेको हो । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन तथा अनुसन्धान शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले बताउनुभयो ।

नागरिकता पाउने धरमविर भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईका छोरा हुन् । उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम गर्दै आएका छन् ।

राधेश्याम बरईले महाराजगञ्ज–३ बा धरमविरको जन्मदर्ता बनाएका थिए । त्यही जन्मदर्ताको आधारमा राधेश्यामले झुटो विवरण पेस गरी आफ्ना ज्वाईँलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको आरोप लागेको छ ।